Kulchandra Wagle – Lekh Bhanda Lekhak Bhinna

कुलचन्द्र वाग्ले – लेखभन्दा लेखक भिन्न
(मधुपर्क)

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो भने, यही कारण संस्कृतमा ‘विद्वान् सर्वत्र पुज्यते’ भनिएको हुनुपर्छ । विश्वव्यापी तहमा उचाइ प्राप्त लेखकका तद्नुकूल पाठक एवं प्रशंसक पनि हुनसक्छन् । यिनीहरू सम्मानित मात्र होइनन्, कतिपय सन्दर्भ वा विषयमा आलोचितसमेत हुन्छन् । यसो हुनु व्यक्तित्व र प्रभावका कारण पनि हो, जसको विचार एवं चरित्रलाई समेत पाठकले सक्दो पर्यवेक्षण गरेका हुन्छन् र यसरी पनि प्रतिक्रिया व्यक्त गर्छन् ।

लेखक भन्नेबित्तिकै कवि वा साहित्यकार र समसामयिक विषयका लेखनधर्मी मानिस जसले ग्रन्थ, पुस्तक, रचना र लेखबाट सम्बन्धित भाषा शैलीमा आफूलाई प्रस्तुत गर्छन् वा समाजलाई चित्रण गर्छन् भन्ने एकप्रकारको व्यक्ति परिचयको चित्र हरकोही सचेत मानिसको विचारमा उत्पन्न हुनपुग्छ । यस्ता व्यक्तित्वको आलोचना विभिन्न विषयमा हुनसक्छ । जस्तै- लेखकबाट व्यक्त विचार, भाषा, शैली र भाव आदिका विषयमा आलोचना र समालोचना हुनेगर्छ । वैचारिक धरातलका आधारमा सहमत, असहमत पक्षबीच राजनीतिक सिद्धान्तवादले प्रभावित साहित्य वा साहित्यकै विविधवादहरूका कारण पनि सर्जक आलोचनाको घेरामा पर्न सक्छन् तर यहाँ ती विषयमा केही भन्न खोजिएको होइन । बरु प्रायः लेखकहरू लेखभन्दा भिन्न व्यवहार र चरित्र प्रदर्शन गर्छन् भन्ने आरोप वा यथार्थका पक्षमा मात्र केही व्यक्त गर्न खोजिएको छ । मानिसहरू अर्थात् सचेत पाठक जसले साहित्यकारको आनिबानीमा पनि केही रुचि राख्छन् र थाहा पाएका हुन्छन्, तिनीहरू प्रायः भन्ने गर्छन् -लेखकहरू आदर्श र नैतिकताको जस्तो कुरा लेख्छन् तर त्यही आफ्नो लेखाइको मर्म र निर्देशअनुसार धेरैले व्यवहार गर्दैनन्, किन ? आरोप मिश्रति जिज्ञासा पनि हो यो ।

एकैछिन, कथ्य वा आख्यान साहित्यमा हुने कतिपय सन्दर्भका काल्पनिक कुरा जीवनमा प्रयोग गर्न र व्यवहारमा उतार्न नसकिने अथवा दुरुह कल्पना वा कवितामा पाइने असम्भव सोचलाई थाँती राखेर सोच्ने हो भने धेरै लेखकहरूले अत्यन्त उपदेशात्मक र निर्देशनात्मक विचार नै अभिव्यक्त गरेका हुन्छन् । जसलाई व्यवहारमा उतार्न पनि सकिन्छ र सक्नुसमेत पर्छ तर यथार्थमा स्वयं लेखक आफ्नो लेखनीभन्दा भिन्न चरित्र प्रस्तुत गर्ने प्रकृतिका पनि हुन्छन् भनिन्छ । यो भनाइ शतप्रतिशत सही नहोला तर सत्यको नजिक धेरै छ ।

हामीलाई याद हुनुपर्छ, कतिपय देशी, विदेशी लेखकहरूको साहित्य वा लेखनी पढ्दा उसको चित्र औपदेशिक र एकप्रकारले शालीन देखिन्छ तर उसैको जीवनी र आनीबानी नियालियो वा पढियो भने ठीक उल्टो अर्थात् अर्कै प्रकारको भेटिन्छ । यसलाई माध्यम बनाएर व्यक्तिको लेखनी र व्यवहार समान नहुनसक्छ भनिदिँदा पूर्णतः अमान्य हुँदैन । अर्को कुरा लेखक जसले चाकरी, चाप्लुसी, शोषण र नातावादजस्ता विकृतिका विरुद्ध अनि न्यायको पक्षमा समाजलाई प्रेरित गर्छन्, राज्यलाई हकार्छन् तर त्यस्ता लेखक नै केही प्राप्तिका लागि राज्यको वा सम्भ्रान्त व्यक्ति र केही नामाधारी कम्पनीको सामु घुँडा टेकेर चाकर मुद्रामा उभिएका भेटिन्छन् वा सुनिन्छन्, त्यसबेला साहित्यकारलाई सम्मान गर्ने समाज, पाठक वा प्रशङ्सकलाई कस्तो अनुभूति होला ? यस्तो प्रवृत्ति सबैमा नभए पनि हाम्रो लेखकीय समाजमा पाइने चरित्र भने पक्कै हो ।

उदाहरणका लागि, धेरै व्यक्तिले केही साहित्यकार एवं पत्रकार अर्थात् लेखक व्यक्तिका विषयमा यस्ता टिप्पणी नामै लिएर गरेको सम्झना भए पनि त्यहाँ निजी विषय छ, परत्व छ । त्यसैले अरूका कुरालाई भन्दा अनुभवकै प्रसंगमा नेपाली लेखक सङ्घसँग गाँसिएको आफ्नै अनुभूति यहाँ थपिदिँदा सायद् सबै अर्थमा नभए पनि केही अंशमा सान्दर्भिक होला र पूर्णतः न्यायोचित पनि । लाग्छ, २०५२ सालतिरको कुरा हो, तिथिमिति याद छैन तर एउटा घटना याद छ, जतिबेला मूर्धन्य आख्यानकार डा.ध्रुवचन्द्र गौतम नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य-सचिव हुनुहुन्थ्यो । नेपाली लेखक सङ्घ २००८ सालमा साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको अध्यक्षतामा गठन र क्रियाशील भएको हो । त्यसपछिका वर्षहरूमा यो संस्था इतिहासका पानामा निहित थियो । ०५२ सालतिर नै होला नेपाली लेखक सङ्घलाई जीवन्तता दिने प्रयत्न भयो । विधान लेखनदेखि दर्ता र समयसमेतको लगानीसम्मका कुरा पूरा गर्ने सुयोग मलाई जुर्‍यो । दर्ता गरिएको कमिटीमा दुःख गरेबापत मलाई सह-सचिवको सम्मान दिइयो । यस्तो ऐतिहासिक संस्थालाई पुनःस्थापित गर्ने मौका मिल्नु त्यो पनि विशिष्ट साहित्यकारहरूको बीचमा मेरालागि हौसलाकै कुरा भयो ।

नेपाली लेखक सङ्घ २०५२ का नाममा दर्ता भयो । केही महिनापछि लेखक सङ्घको प्रतिनिधि मण्डल भारत भ्रमणमा भन्ने तस्बिरसहितको समाचार आयो । दर्ताका बेला नरहेका व्यक्ति पदाधिकारी बनेको थाहा भयो । सोधपूछ गर्दा सङ्क्षिप्तमा थाहा भयो, केही व्यक्ति तर ती त्यस्ता व्यक्ति जो सधैँ न्याय र पारदर्शीता वा माथि भनिएझैँ आदर्शका विषयमा लेख्छन्, उनीहरू केही बसेर सङ्घ पुनर्गठन गरिदिएछन् । कमिटीमा रहेका हामी थुप्रै साथी त्यसमा रहनु-नरहनु खासगरी मेरालागि त्यो अपेक्षाको विषय होइन, तर सामान्य जानकारी पनि नदिएको गुनासो भने कलमबाट आदर्श छाँट्ने त्यस्ता विशिष्टहरूप्रति रहिरहृयो । पदको कुरा होइन, श्रमको सामान्य सम्मान पनि गर्न त्यो वर्गले जानेन, यत्ति हो ।

यो अनुभव यस्तो बन्यो कि लेखकहरू लेखभन्दा भिन्न हुन्छन् भन्ने सार्वजनिक आरोपप्रति ढुङ्गामा कोरिएको अमिट रेखाको अंशजस्तो उदाहरण बन्यो, प्रमाण भएर तेर्सियो । सबै भिन्न हुँदैनन् भन्न सकिए पनि केही लेखक आफ्नै लेखको आदर्शभन्दा चरित्रमा फरक पाइन्छन् भन्ने कुरालाई आत्मसात् गर्न करै लाग्यो ।

मधुपर्क पुष, २०६५

Kulchandra Wagle – Sahitya Ma Shram Bishaya

कुलचन्द्र वाग्ले – साहित्यमा श्रम विषय
(मधुपर्क २०६५ फागुन)

साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना हुनसक्छ भन्ने होइन । जुनसुकै श्रम र काम एकाकी अर्थात् बौद्धिक वा शारीरिकमध्ये कुनै एउटाको श्रमदानबाट मात्र पूरा हुन सम्भव छैन । यी दुवै श्रमको योगदान कुनै पनि कार्य सम्पादनका लागि अपरिहार्य छ, प्रधानता दुईमध्ये जसको रहे पनि । बौद्धिक र शारीरिक क्रियाशीलताको धेरथोर तर अनिवार्य संयोजनबाट नै श्रमको परिणामदायी रूपान्तरण सम्भव छ तर साहित्यबाट मिल्ने र लिने प्रथम सन्तुष्टि चाहिँ मानसिक वा बौद्धिक नै हुन्छ ।

साहित्य सर्जकले गर्ने परिश्रम एकप्रकारको हो भने साहित्यमा श्रमशीलताले नै स्थान ओगट्नुपर्छ भन्ने अर्को मान्यता हो । श्रम, श्रमिक र सीमान्तकृत वर्गको अनुभूति, भोगाइ वा व्यवहार मात्र साहित्यका लागि निश्चित सीमा र निर्दिष्ट विषय हो भन्ने मान्यतासँग सहमति गर्न दुनियाँको प्रकृति वा स्थितिले पनि सम्भव छैन । किन कि साहित्य विचार हो र विचारमा विविधता प्रकृतिको शाश्वत विविधता जस्तै अकाट्य सत्य समेत हो । श्रम र पीडित वर्गको भोगाइले साहित्यमा स्थान पाउनु जति न्यायसङ्गत कुरा हो, त्यति नै अन्यायसङ्गत कुरा हो साहित्यको विषय यो भन्दा पर छैन वा हुनुहुँदैन भन्नु ।

साहित्य अर्थात् हितले सहित वा हितले युक्त भन्ने अर्थमा बुझियोस् अथवा सहितलाई साथै रहेको भन्ने अर्थ दिइयोस्, जसरी बुझ्दा पनि साहित्य सामाज वा व्यक्तिसँगै र यिनकै हितमा प्रयुक्त हुने विषय हो भनी बुझ्न कठिन हुदैन । कल्पना, तर्क र विचार साहित्यको आधारभूत प्राण हो र लिखित वा प्रकाशित कृति त्यसको शारीरिक संरचना । यस कारण गर्भस्थ विविध विचारयुक्त साहित्यको प्राकृत स्वरूपलाई अस्वीकृत गरेर निर्दिष्ट कुनै पनि प्रकारको वर्गीय सीमा सङ्कुचनमा साहित्यलाई हेर्नु स्वाभाविक हुदैन ।

साहित्य विचार हो । विचार विविधता पनि हो । स्वामी विवेकानन्दले विचारलाई नै शक्ति भनेका छन् । शक्तिको स्रोत विचारलाई मान्ने बित्तिकै शक्ति मानसिक पनि हुन्छ र शारीरिक पनि । शक्ति व्यष्टिमा हुन्छ, समष्टिमा हुन्छ । प्रकृति वा प्रकृतिजन्य सबै विषयमा आ-आफ्नो शक्ति हुन्छ । शक्ति विचारजन्य विषय हो भने साहित्यले विचारको फराकिलो सबै विषयमा स्वतन्त्रताका साथ शक्तिको उत्खनन् गर्नसक्छ । सबै विषयमा पस्न पाउँछ । शक्तिको भन्नोस् वा स्थितिकोे विविधताले पनि साहित्य वा विचार कुनै विषयमा मात्र निश्चित गरिनुपर्छ भनी ठान्नु प्राकृत न्याय विपरीत कुरा हो ।

अर्कोतर्फ साहित्य आफैँमा अप्रगतिशील हुँदैन । लेखकीय प्रवृत्ति र प्रतिनिधिको सोच एवं स्वभावको प्रभाव साहित्यमा भेटिनु अनौठो होइन । निश्चय पनि एक्काइसौँ शताब्दीको आखाँबाट अठारौँ वा त्योभन्दा पनि परको साहित्यलाई आधुनिक कुसनमा बसेर समीक्षा गरियो भने त्यहाँ तथाकथित अप्रगतिशीलता भेटिनसक्छ । अस्वाभाविक र आश्चर्यजनक पहेलीहरू देखिनसक्छन् । तर साहित्यले समाजको र समयको प्रतिनिधित्व बढी गर्ने भएकाले त्यही समयको चस्मा वा विवेक प्रयोग गरियो भने तिनमा प्रगतिशीलता पनि पढ्न सकिने छ । अधुना साहित्यमा पनि तिरस्कार गर्न लायक कैयन् विषय हुन सक्छन् । त्यस्तै तिनमा पनि ।

कुनै वर्गीय विषयमा बोल्नु वा श्रमशीलतालाई भित्र्याउनु मात्र साहित्यको प्रगतिशीलता होइन । साहित्य स्वयंमा सामन्त र श्रमजीवी हुदैन, त्यो त समयको बोधन र परिवर्तनशील हुन्छ । कसैले प्रवृत्तिगत शैलीमा गरेको भजनकीर्तनलाई साहित्य स्वरूपमा अध्ययन गरियो भने साहित्यको गन्तव्यप्रति अन्याय हुन्छ । त्यसो त स्वच्छन्द वा स्वतन्त्र लेखनधर्मीताले मात्र साहित्यको भार बहन गर्न सकेको छ, सबै विषयलाई मिसाएर, अटाएर । अन्यथा कुनै राजनीतिक दर्शनबाट प्रेरित वर्गीय सङ्कुचनको साहित्य सीमा भजनकीर्तन भन्दा कति नै माथि छ र ? उही वर्गीयहीतमा लेख्यौँ भन्ने आत्मतुष्टि बाहेक । साहित्यको गतिशीलता वा प्रगतिशीलता त त्यसको विशाल फाँटमा छ, विषय विविधतामा छ र स्वतन्त्रतामा छ । यस कारण भन्न सकिन्छ, साहित्यमा सुखदुःख बात मार्छन् । प्रकृति बोल्छ र सुसाउँछ । पूणिर्मा र औँसीको उज्यालो र रातमा हिड्नुपर्छ । सूर्य र जुनको संगम सम्भव छ । त्यसैले भनिएको होला, सूर्य नपुग्ने ठाउँमा कवि पुग्छ । धेरै अघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने उद्देश्य राख्न दुनियाँलाई साहित्यका माध्यमबाट प्रेरित गरेका थिए ।

यहाँनिर साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको केही भनाइ उद्धृत गर्नु सान्दर्भिक छ । साहित्यकार कोइरालाले भनेका छन्- दिनभरि काम गरेको किसान खेतबाट बेलुका घर र्फकदा कानमा वा चुल्ठोमा फूल सिउरेर गीत गाउँदै, ठट्टा र मस्किदै हिँडेका पनि देखिन्छन् । त्यहाँ साहित्य छ र त्यसको विविधता पनि । प्रश्न उठ्छ श्रम नै सबैथोक हुन्थ्यो भने त्यस्तो मनोरञ्जक भाव-साहित्य ती किसानमा कसरी प्रस्फुटित हुन्थ्यो, किन त्यो चाहिन्थ्यो ? राजनीतिक दर्शन वा सत्ताको सुरक्षा होइन, साहित्यलाई स्वतन्त्रता चाहिन्छ भन्ने कोइराला राजनीतिमा आफू समाजवादी र साहित्यमा अराजकतावादी भएको बताउँछन् । अराजकतावादी याने राजकीय सत्ता, शक्ति र सीमाभन्दा पर, स्वतन्त्र साहित्य जसमा सम्राट पनि नाङ्गै हुन्छ भनेका छन् राजनीतिज्ञ एवं साहित्यकार बीपीले । यसरी हेर्दा साहित्य स्वच्छन्द विषय हो, जो स्वतन्त्रतापूर्वक बोल्छ । त्यसले प्रकृति मात्र होइन, मान्छे र समग्र जीवनका पाटा र दर्शन खोल्छ । साहित्यबाहेक यति विशाल भाव भाषामा स्थिति र सभ्यतामाथि बोल्नसक्ने अर्को कुनै भाषा भन्नोस् वा प्रक्रिया अथवा विकल्प नै भन्नोस् छैन मानव सभ्यतासँग । त्यसैले साहित्यको विषयलाई श्रम भन्नोस् वा विषयगत सीमा दिनोस् तर यही सीमा र वर्गीय सोचको साँघुरो लक्ष्मण रेखामा मात्र साहित्य पढिन सम्भव छैन । अथवा खास कुनै रंगको माटोमा मात्र सीमित गर्न खोजियोस्, यसबाट त साहित्यको समग्रता होइन, अपाङ्गताको उद्भव मात्र हुनसक्छ ।

Kulchandra Wagle – Sambidhan Ma Sahitya

कुलचन्द्र वाग्ले – संविधानमा साहित्य
(मधुपर्क २०६६ बैशाख)

अब बन्ने लोकतान्त्रिक संविधानमा साहित्यको स्थान र मान के हुने ? यसका लागि बोलिदिने कसले ? सङ्घीय संरचनामा मुलुकको रूपान्तरण हुँदा साहित्यको सङ्घीय स्वरूपको विस्तार र स्थापना कसरी हुनसक्छ ? साहित्य स्वयंमा सिर्जना हो, त्यो प्रतिकूल र अनुकूल दुवै अवस्थामा प्रस्फुटित, विकसित र विस्तारित हुन्छ । यही मान्यतालाई आत्मसात् गरेर निस्पृह रहने हो भने पनि साहित्य त ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, भनेझैँ उमि्ररहने छ । यसको गति जुनसुकै शैलीमा होस् भइरहने छ तर अवरुद्ध भने हुने छैन । यसो भन्दैमा साहित्यको स्थान र मानको खोजी वा स्थापना हुनुपर्छ कि पर्दैन ? पर्छ भने यसका लागि बोलिदिने, लेखिदिने कसले ? के राज्यको यस विषयमा जिम्मेवारी हुन्छ वा हँुदैन ? झन् प्रादेशिक अवधारणामा साहित्यको पनि प्रादेशिक विभाजन हुने हो वा केन्द्र र प्रदेशहरूले साहित्यका लागि गर्ने के ? सायद यस्ता विषयमा साहित्यिक क्षेत्र, साहित्यकार र साहित्य अनुरागीहरूले सोच्नुपर्छ ।

यतिबेला सबैले आ-आफ्नो पहिचान र अस्तित्व खोजेको सन्दर्भ छ । साहित्यकार समयसँगै एउटा खास भूमिमा जन्मन्छ । मानिसका रूपमा उसको भूगोल र भाषाको सीमा हुन्छ तर सीमाबद्ध त्यही मानिसबाट सिर्जित साहित्य सीमाहीन, अनन्त र स्वतन्त्र रहन्छ । सम्झनाका लागि, झण्डै चार सय वर्षअघिका बेलायती साहित्यकार विलियम शेक्सपियरतिर फर्कियौँ भने तिनका सिर्जनाले समय र भूगोलको दुवै सीमालाई उल्लङ्घन गरेका छन् । साहित्यिक व्यक्तित्व सीमा सङ्कुचनमा अड्दैन भन्ने प्रमाणित भइसकेको छ । दुनियाँका धेरै जातजाति एवं कृत्य र कर्ममा जुन प्रकारको विविधता छ, त्यो विविधताभित्र साहित्यले कर्मको हैसियतमा एउटा अलग्गै अर्थात् सर्जक भनिने जात वा जातिको प्रतिनिधित्व गर्छ । औजार कलम र विचार एवं कल्पनामा खेल्ने, जीवन र जगत्लाई उद्घाटित गर्ने, भोगाइ, रोजाइ एवं दुःखाइजस्ता असीमित विषयमा पनि अभिव्यक्त हुने, मूर्त-अमूर्तको शील्पकार हो सर्जक, अनि सिर्जना । जो अक्षरहरूको प्रतीक र प्रतिबिम्बमा उद्भाषित हुन्छ, पर्छ वा प्रविधिमा त्यसको अङ्ग, अनुहार देखिन्छ ।

यस्ता यथार्थहरूका बीच पनि साहित्यको उत्थान, विकास र विस्तारमा राज्यको दायित्व हुन्छ कि

हुँदैन ? जरुर हुन्छ तर त्यसको खोजी गर्ने कसरी, कुन बेला, कसले ? हो, साहित्यले संरक्षण चाहँदैन र खोज्नु पनि हँुदैन । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको-साहित्यले संरक्षण होइन, स्वतन्त्रता चाहन्छ, भन्ने विचारसँग असहमत हुनुपर्ने कारण छैन, किन कि उहाँ थप भन्नुहुन्छ- साहित्यमा सम्राट् पनि नाङ्गै हुन्छ । यसबाट बुझिने कुरा राज्यले संरक्षण वा सीमा होइन, साहित्यको स्वतन्त्र अस्तित्वलाई सम्मान र सघाउ पुर्‍याउनुपर्छ भन्ने नै हो । त्यो कसरी ?

नेपाल यतिखेर संविधान निर्माणको प्रक्रियामा छ । सबै पहिचानको खोजीमा छन् । पहिचान खोज्दा पहिचान खोज्ने ठाउँ नै नरहने अवस्था नआओस् भन्ने सबैले सोच्नैपर्छ । पहिचान खोज्ने माटो रहँदा मात्र त्यस्तो खोजी सार्थक हुन्छ । यही सन्दर्भका बीच साहित्यले आफ्नो स्थान, मान किन नखोज्ने ? प्रश्न सजिलो छ तर प्रक्रिया जटील हुनसक्छ । केन्द्र र -प्रस्तावित) सङ्घहरूले साहित्यका प्रति कस्तो दायित्व निर्वाह गर्नुपर्छ ? यस विषयमा संविधानले निर्देश गर्न जरुरी छ र साहित्यिक क्षेत्रले बहस र मागसमेत गर्नुपर्छ ।

साहित्यले सीमानिहीत संरक्षण खोज्ने नै होइन । स्वतन्त्रता र सम्मान भने छोड्नु हँुदैन । यसका लागि राज्यले धेरै कामकुरा गर्नसक्छ । जस्तै नेपालले साहित्यिक क्षेत्रको विश्वस्तरीय पुरस्कार र सम्मान स्थापना गर्नसक्छ । यदि त्यसो हुन नसके एसिया वा दक्षिण एसियालाई सम्बोधित गर्ने पुरस्कार हुनसक्छ । अर्थात् विदेशीलाई पनि आकषिर्त गर्ने काम राज्यले चाहृयो भने साहित्यिक क्षेत्रमा गर्न सकिन्छ । मुलुकभित्र पनि यस्ता कार्य हुनसक्छन् । अब नेपाल र नेपालीको सम्पर्क भाषामा नेपाली नै स्थापित भइसकेको छ । यसमा कञ्जुस्याइँ गर्नुको अर्थ छैन तर राज्यले नेपालका अन्य भाषा, भाषिका सम्बद्ध साहित्यको विकास एवं विस्तारमा पनि ध्यान दिनैपर्छ, योगदान पुर्‍याउनै पर्छ । यस्तो कुरा गरिरहँदा, एकातिर स्वतन्त्रता र सम्मानको कुरा, अर्कोतिर राज्यसँग पुरस्कार र सम्मानको माग गर्ने ? कतै विरोधाभाष भयो कि ? यस्तो लाग्न सक्छ तर यी कुरा समानजस्ता भएर पनि भिन्न छन् । यस्तो काम राज्यले गर्ने तरिकामा निर्भर रहन्छ ।

प्रज्ञा-प्रतिष्ठानहरू छन् । तिनलाई स्वायत्त एवं स्वतन्त्र बनाउनुपर्छ । जसका लागि बहुसङ्ख्यक प्राज्ञ निर्वाचित र एक/दुई सङ्ख्या मनोनितको राख्न सकिन्छ । तिनीहरूबाटै कुलपतिलगायत सदस्य सचिवको चयन गर्ने प्रणाली विकसित गर्न सकिन्छ । राज्यले एकमुष्ठ आर्थिक सहयोग देओस् वा अक्षयकोष बनाइदेओस् तर त्यसको मूल्यमा कुनै पनि हस्तक्षेपकारी नीति नराखोस् । भाषाभाषीका साहित्यको विकासका लागि ट्रस्ट बनाएर वर्षमा विभिन्न भाषाका कमसे कम एक वा आधा दर्जन कृतिलाई प्रकाशित हुने अवसर मिलोस्, अध्ययन र अनुसन्धानवृत्ति स्थापना गरियोस् । भाषाभाषिकाको साहित्यलाई हेर्ने अलग निकाय प्रतिष्ठानअन्तर्गत राखेर राज्यले अहस्तक्षेपकारी शैलीमा साहित्यको विकासमा ध्यान देओस् ।

राज्यको सोच पुग्यो र चाहृयो भने यस्ता केही महìवपूर्ण काम गर्न नसकिने होइन । साहित्यको विकासका लागि कुनै स्वतन्त्र एवं स्वायत्त निकाय गठन गरेर यो काम पूरा गर्न सम्भव छ । तदनुरूप ऐन कानुन र नियमको व्यवस्था गर्न सकिन्छ । जसका लागि संविधानमा सरकारी निकायको हस्तक्षेप नचल्ने स्वतन्त्र साहित्यिक निकायहरूका लागि आवश्यक संयन्त्र-संरचनाको प्रत्याभूति हुनुपर्छ । आवश्यक सुझाव विशेषज्ञहरूबाट प्राप्त गर्न सकिन्छ तर राज्यको प्रतिबद्धता चाहियो । यसका लागि साहित्यिक क्षेत्रमा क्रियाशील व्यक्ति, व्यक्तित्व र संस्थाहरूको माग र सहयोग ढिला नगरी उमि्रनुपर्‍यो ।