Kulchandra Wagle – Sahitya Ma Shram Bishaya

कुलचन्द्र वाग्ले – साहित्यमा श्रम विषय
(मधुपर्क २०६५ फागुन)

साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना हुनसक्छ भन्ने होइन । जुनसुकै श्रम र काम एकाकी अर्थात् बौद्धिक वा शारीरिकमध्ये कुनै एउटाको श्रमदानबाट मात्र पूरा हुन सम्भव छैन । यी दुवै श्रमको योगदान कुनै पनि कार्य सम्पादनका लागि अपरिहार्य छ, प्रधानता दुईमध्ये जसको रहे पनि । बौद्धिक र शारीरिक क्रियाशीलताको धेरथोर तर अनिवार्य संयोजनबाट नै श्रमको परिणामदायी रूपान्तरण सम्भव छ तर साहित्यबाट मिल्ने र लिने प्रथम सन्तुष्टि चाहिँ मानसिक वा बौद्धिक नै हुन्छ ।

साहित्य सर्जकले गर्ने परिश्रम एकप्रकारको हो भने साहित्यमा श्रमशीलताले नै स्थान ओगट्नुपर्छ भन्ने अर्को मान्यता हो । श्रम, श्रमिक र सीमान्तकृत वर्गको अनुभूति, भोगाइ वा व्यवहार मात्र साहित्यका लागि निश्चित सीमा र निर्दिष्ट विषय हो भन्ने मान्यतासँग सहमति गर्न दुनियाँको प्रकृति वा स्थितिले पनि सम्भव छैन । किन कि साहित्य विचार हो र विचारमा विविधता प्रकृतिको शाश्वत विविधता जस्तै अकाट्य सत्य समेत हो । श्रम र पीडित वर्गको भोगाइले साहित्यमा स्थान पाउनु जति न्यायसङ्गत कुरा हो, त्यति नै अन्यायसङ्गत कुरा हो साहित्यको विषय यो भन्दा पर छैन वा हुनुहुँदैन भन्नु ।

साहित्य अर्थात् हितले सहित वा हितले युक्त भन्ने अर्थमा बुझियोस् अथवा सहितलाई साथै रहेको भन्ने अर्थ दिइयोस्, जसरी बुझ्दा पनि साहित्य सामाज वा व्यक्तिसँगै र यिनकै हितमा प्रयुक्त हुने विषय हो भनी बुझ्न कठिन हुदैन । कल्पना, तर्क र विचार साहित्यको आधारभूत प्राण हो र लिखित वा प्रकाशित कृति त्यसको शारीरिक संरचना । यस कारण गर्भस्थ विविध विचारयुक्त साहित्यको प्राकृत स्वरूपलाई अस्वीकृत गरेर निर्दिष्ट कुनै पनि प्रकारको वर्गीय सीमा सङ्कुचनमा साहित्यलाई हेर्नु स्वाभाविक हुदैन ।

साहित्य विचार हो । विचार विविधता पनि हो । स्वामी विवेकानन्दले विचारलाई नै शक्ति भनेका छन् । शक्तिको स्रोत विचारलाई मान्ने बित्तिकै शक्ति मानसिक पनि हुन्छ र शारीरिक पनि । शक्ति व्यष्टिमा हुन्छ, समष्टिमा हुन्छ । प्रकृति वा प्रकृतिजन्य सबै विषयमा आ-आफ्नो शक्ति हुन्छ । शक्ति विचारजन्य विषय हो भने साहित्यले विचारको फराकिलो सबै विषयमा स्वतन्त्रताका साथ शक्तिको उत्खनन् गर्नसक्छ । सबै विषयमा पस्न पाउँछ । शक्तिको भन्नोस् वा स्थितिकोे विविधताले पनि साहित्य वा विचार कुनै विषयमा मात्र निश्चित गरिनुपर्छ भनी ठान्नु प्राकृत न्याय विपरीत कुरा हो ।

अर्कोतर्फ साहित्य आफैँमा अप्रगतिशील हुँदैन । लेखकीय प्रवृत्ति र प्रतिनिधिको सोच एवं स्वभावको प्रभाव साहित्यमा भेटिनु अनौठो होइन । निश्चय पनि एक्काइसौँ शताब्दीको आखाँबाट अठारौँ वा त्योभन्दा पनि परको साहित्यलाई आधुनिक कुसनमा बसेर समीक्षा गरियो भने त्यहाँ तथाकथित अप्रगतिशीलता भेटिनसक्छ । अस्वाभाविक र आश्चर्यजनक पहेलीहरू देखिनसक्छन् । तर साहित्यले समाजको र समयको प्रतिनिधित्व बढी गर्ने भएकाले त्यही समयको चस्मा वा विवेक प्रयोग गरियो भने तिनमा प्रगतिशीलता पनि पढ्न सकिने छ । अधुना साहित्यमा पनि तिरस्कार गर्न लायक कैयन् विषय हुन सक्छन् । त्यस्तै तिनमा पनि ।

कुनै वर्गीय विषयमा बोल्नु वा श्रमशीलतालाई भित्र्याउनु मात्र साहित्यको प्रगतिशीलता होइन । साहित्य स्वयंमा सामन्त र श्रमजीवी हुदैन, त्यो त समयको बोधन र परिवर्तनशील हुन्छ । कसैले प्रवृत्तिगत शैलीमा गरेको भजनकीर्तनलाई साहित्य स्वरूपमा अध्ययन गरियो भने साहित्यको गन्तव्यप्रति अन्याय हुन्छ । त्यसो त स्वच्छन्द वा स्वतन्त्र लेखनधर्मीताले मात्र साहित्यको भार बहन गर्न सकेको छ, सबै विषयलाई मिसाएर, अटाएर । अन्यथा कुनै राजनीतिक दर्शनबाट प्रेरित वर्गीय सङ्कुचनको साहित्य सीमा भजनकीर्तन भन्दा कति नै माथि छ र ? उही वर्गीयहीतमा लेख्यौँ भन्ने आत्मतुष्टि बाहेक । साहित्यको गतिशीलता वा प्रगतिशीलता त त्यसको विशाल फाँटमा छ, विषय विविधतामा छ र स्वतन्त्रतामा छ । यस कारण भन्न सकिन्छ, साहित्यमा सुखदुःख बात मार्छन् । प्रकृति बोल्छ र सुसाउँछ । पूणिर्मा र औँसीको उज्यालो र रातमा हिड्नुपर्छ । सूर्य र जुनको संगम सम्भव छ । त्यसैले भनिएको होला, सूर्य नपुग्ने ठाउँमा कवि पुग्छ । धेरै अघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने उद्देश्य राख्न दुनियाँलाई साहित्यका माध्यमबाट प्रेरित गरेका थिए ।

यहाँनिर साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको केही भनाइ उद्धृत गर्नु सान्दर्भिक छ । साहित्यकार कोइरालाले भनेका छन्- दिनभरि काम गरेको किसान खेतबाट बेलुका घर र्फकदा कानमा वा चुल्ठोमा फूल सिउरेर गीत गाउँदै, ठट्टा र मस्किदै हिँडेका पनि देखिन्छन् । त्यहाँ साहित्य छ र त्यसको विविधता पनि । प्रश्न उठ्छ श्रम नै सबैथोक हुन्थ्यो भने त्यस्तो मनोरञ्जक भाव-साहित्य ती किसानमा कसरी प्रस्फुटित हुन्थ्यो, किन त्यो चाहिन्थ्यो ? राजनीतिक दर्शन वा सत्ताको सुरक्षा होइन, साहित्यलाई स्वतन्त्रता चाहिन्छ भन्ने कोइराला राजनीतिमा आफू समाजवादी र साहित्यमा अराजकतावादी भएको बताउँछन् । अराजकतावादी याने राजकीय सत्ता, शक्ति र सीमाभन्दा पर, स्वतन्त्र साहित्य जसमा सम्राट पनि नाङ्गै हुन्छ भनेका छन् राजनीतिज्ञ एवं साहित्यकार बीपीले । यसरी हेर्दा साहित्य स्वच्छन्द विषय हो, जो स्वतन्त्रतापूर्वक बोल्छ । त्यसले प्रकृति मात्र होइन, मान्छे र समग्र जीवनका पाटा र दर्शन खोल्छ । साहित्यबाहेक यति विशाल भाव भाषामा स्थिति र सभ्यतामाथि बोल्नसक्ने अर्को कुनै भाषा भन्नोस् वा प्रक्रिया अथवा विकल्प नै भन्नोस् छैन मानव सभ्यतासँग । त्यसैले साहित्यको विषयलाई श्रम भन्नोस् वा विषयगत सीमा दिनोस् तर यही सीमा र वर्गीय सोचको साँघुरो लक्ष्मण रेखामा मात्र साहित्य पढिन सम्भव छैन । अथवा खास कुनै रंगको माटोमा मात्र सीमित गर्न खोजियोस्, यसबाट त साहित्यको समग्रता होइन, अपाङ्गताको उद्भव मात्र हुनसक्छ ।

Leave a Reply