Kulchandra Wagle – Adhyayan Ra Samarpan

कुलचन्द्र वाग्ले – अध्ययन र समर्पण
(मधुपर्क २०६६ जेठ)

अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् ।

नेपालमा अध्ययनशीलताको कमी छ भन्ने टिप्पणी धेरैले गरेको सुनिन्छ । यही कारण मानिसको सोच पनि साँघुरो, ससानो कुरामा मन खुम्च्याउने र बढी मात्रामा व्यक्तिगत स्वार्थभन्दा विस्तारमा कुनै कुरा सोच्न नसक्ने नेपालीको सङ्ख्या अधिक भएको मान्नेहरू पनि छन् । यहाँ त कसैसँग बोल्नु र मिल्नु वा सहकर्मीलाई समान व्यवहार गर्नु पनि अर्काका लागि ईष्र्यावश अपाच्य हुने गरेको गुनासो प्रशस्त हुन्छ । यस्तो हुनुको मुख्य कारणमा बुझक्कडहरू अध्ययनको अभाव र मानिस हुनुको संस्कारमा कमी ठान्दछन् । यसै कारण तेरो र मेरो, अनि राम्रोभन्दा हाम्रो भन्ने अपसंस्कार बढी नै स्थापित हुनपुगेको मान्नेहरू पनि छन् । क्षमताको कमी वा आफ्नै क्षमताप्रति अविश्वस्त र भविष्यसँग भयभीत लोभीहरूले चाकरी एवं चाप्लुसीलाई बढावा दिएको निष्कर्ष निकाल्नेहरूसँग असहमत हुनुपर्ने ठाउँ पनि देखिँदैन । भनिन्छ, अध्ययन र क्षमताशील समाज हुने हो भने यस्ता अपकृति निवारण हुन्छन्, यो तर्कसँग अत्यधिक सहमत हुनसकिन्छ ।

यस्ता गुनासा भनियोस् वा आरोप, के यही र यस्तै मात्रै छ त हाम्रो मुलुकमा ? होइन, यसको अर्को पक्ष र पाटो पनि छ । ती पक्षलाई जुनसुकै विचारवान मानिसले अलिकति सोच्यो भने सजिलै अनुभूति गर्नसक्छ । माथि लेखिएको नकारात्मक पाटो होस् वा अब लेखिने सकारात्मक पाटो -आखाँ चिम्लिएर हेर्यो भने पनि देखिन्छ, जसलाई ज्ञानचक्षु भन्ने गरिन्छ, त्यसका माध्यमले ।

उदाहरणका लागि धेरै भनिरहनु पर्दैन । हामीले प्रशस्त सुनेका र पढेका छौँ कि पुस्तक प्रदर्शनीहरूमा निकै किताब बिके, बढीजसो युवाले किने । किताब बिक्नुको अर्थ हो समाज अध्ययनशील भएको छ । यस्तो थाहा पाउँदा निश्चय पनि अध्ययनशीलता बढेको पुष्टि हुन्छ । केही होटल र रेस्टुरेन्टमा चुरोट तानेर गप\mफिएका युवक-युवतीले मात्र वा नपढ्ने जमातले मात्र समग्र समाजको प्रतिनिधित्व पनि गर्दैन । यसरी हेर्दा अध्ययनशील समाजको प्रभुत्व बढेको छ । खासगरी राजनीतिकर्मीहरूलाई नपढ्ने आरोप लगाइन्छ तर राजनीति वा अन्य क्षेत्रका मानिसमा पनि पढ्ने र नपढ्ने दुवै वर्ग छन् । वर्ग विश्लेषण गर्दा आर्थिक र सामाजिक मात्र होइन, अध्ययन गर्ने र नगर्नेको वर्ग पनि कायम हुँदै गएको देखिन्छ ।

कहिले काहीँ मानिसलाई अत्यन्त ठूलो मानिएको घटना र कार्यक्रमले समेत खासै प्रभाव पार्दैन तर त्यसको ठीक उल्टो, सानो र सामान्य ठानिएको प्रयत्नमा साक्षात्कार मानिसलाई सोच्दै नसोचेको प्रभाव पनि पर्छ । जस्तै-पुस्तक प्रदर्शनीको उदाहरण । यस्तै अर्को एउटा सानो उदाहरण पनि छ । जो कला, खासगरी ललितकलासँग सम्बन्धित छ । भर्खरका कलिला युवक, उनको सिर्जनात्मक समर्पणको कथा । साक्षात्कारमा थाहा भयो- ती युवकले काठमाडौँमा मात्र होइन, केही जिल्लामा पनि कला अभियान चलाएका छन्, यसै विषयको मासिक प्रकाशन पनि र निःशुल्क कलाकक्षा । उनी हुन्- नगेनसिंह ठकुरी । तिनले बनाएको युवतीको नग्नचित्र कलासमाजमा चर्चित रहेछ । यो कुरा कुनै बखान होइन, समर्पणको तस्बिर हो । यस्ता धेरै उदाहरण छन्, व्यक्ति, व्यक्तित्व छन् जसले समाजको संस्कार एवं संस्कृति निर्माणमा योगदान गरेका छन् । टुट्दै गएको समाजलाई जोड्ने काम गरेका छन् । निराश समाजमा आशाको किरण छरेका छन् र अन्ततः राष्ट्रिय पहिचानलाई गुन लगाएका छन् । यस्ता मानिसले लिपिबद्ध हुने हक राख्छन्, लिपि त्यस्ता कर्मप्रति समर्पित मानिसका लागि प्रेरणा र पहिचानको अर्थमा अनूदित हुन्छ, यस्तो लिपिले अन्ततः राष्ट्रिय पुँजीको सञ्चय पनि ।

समर्पण र अध्ययनको यो उदाहरणसँगै पढ्ने विषयको पनि वर्ग छ कि वा विभेद ? सुन्दरीजलको जेलजीवन व्यतित गर्दा पढाइको विषयमा वीपी कोइराला र गणेशमान सिंहबीच कुराकानी भएको प्रसङ्ग वीपीले आत्मवृत्तान्तमा लेख्नुभएको छ । वीपीले भन्नुभएको छ- खासगरी किताब ज्ञानका लागि र पत्रपत्रिका जानकारीका लागि हुन्छ । पढ्ने विषयबाट पर्ने प्रभावप्रति उहाँ दुईबीच भएको यो प्रसङ्गले पढाइको विषय छनोट र त्यसको प्रेरणाबारे धेरै अर्थमा बुझ्न सकिन्छ ।

समाजको अध्ययनशीलता अभिवृद्धि गर्न राज्यसत्ताले खासै काम गरेको छैन, स्कुल, क्याम्पस र विश्वविद्यालयबाहेक । यहाँ भनिएको अध्ययन पाठ्यक्रमको मात्र होइन र अहिले विद्युतीय पुस्तकालय आइसकेको जमानासमेत हो । विद्युतीय माध्यमका कारण अध्ययन गर्ने बानीमा रास आउने सम्भावना बढ्दो छ, जसले भावी पुस्तालाई गाँज्न सक्छ । यदि अध्ययनशील समाज निर्माण गर्ने हो भने देशभरका विद्यालयहरूमा व्यवस्थित पुस्तकालय स्थापना गरिनुपर्छ र पाठ्यक्रमका भन्दा अतिरिक्त पुस्तक सानैदेखि पढ्न विद्यार्थीलाई शिक्षकमार्फत अभिप्रेरित गर्नुपर्छ । यसबाट शिक्षक र अभिभावकसमेत लाभान्वित हुन्छन्, त्यो लाभको प्रभाव विद्यार्थीमा पर्नेछ ।

निश्चय पनि, हाम्रोसामु अँध्यारा र उज्याला दुवै तस्बिर छन् । समाजमा अध्ययनशील मानिसहरू छन् र समर्पित कर्मयोद्धाहरू पनि । यिनीहरूले नै हामीलाई पहिचान दिनेछन्, एकसूत्रमा बाँध्नेछन् । हो, तिनले नै समाजमा आशा भन्ने जीजिविषालाई जीवित राख्नेछन् ।

Leave a Reply