Bishnu Bhandari – Sahar Ma Comrade

सहरमा कामरेड

सरकारी नम्बर ल्पेटको गाडी सहरको पाँचतारे होटल अगाडि रोकियो । चालकले गाडीको ढोका खोलिदियो । गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो, जसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो । राजनीतिक नियुक्ति पाएपछिको यो पहिलो सार्वजनिक कार्यक्रम थियो उसको ।

गाडीबाट झर्दा चिसोले टोक्लाजस्तो गरी घोच्यो । मध्यपुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो । उसले आजै लगाएको टाइसुट मिलायो । कपाल ठिक छ छैन भनेर दुबै हातले कपाल स्याहा¥यो र होटलतिर हे¥यो । उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए । उनीहरू झन्डै एकघन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए । धेरैले झुकेर नमस्कार गरे । नवप्रवेशी कामरेडहरूले सिकारु मुठ्ठी सहितको हात उठाए । पुरानाले सलाम कमरेड भने । नवप्रवेशीले लालसलाम नै टक्र्याए । उसले स्मित हाँसो सहित अभिवादन फर्कायो ।

जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको नेता । कला साहित्यमा पनि राम्रै दख्खल थियो । लामो समय सांस्कृतिक फाँटमा काम गरेकोले होला ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो । सांस्कृतिक रूपान्तरण र समाजमा संस्कृतिले पार्ने प्रभावबारे राम्रै प्रशिक्षण दिन्थ्यो । सायद त्यही भएर होला उसका कवितामा पनि यो भाव मुखर भएर आउँथ्यो ।

‘हामी सहरमा छौँ भन्ने कुरा बिर्सनु हुन्न कमरेड । सहरमा काम गर्नेको सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई सांस्कृतिक विचलनबाट जोगाउन सक्नु हो,’ उसले प्रायः बैठक र छलफमा भन्ने गथ्र्यो– ‘सहर स्वभावैले अराजक र नैतिकहीन हुन्छ । गाउँमाजस्तो यहाँ काम गर्न सहज छैन । कमरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला ।’

पार्टी सरकारमा थियो । ऊ नेताको नजिकको मान्छे । पार्टीमा उसको हैसियत पनि माथि नै थियो । यही भएर होला दिनक्कै घेटघाट हुन्थे । छलफल र भेटघाटमा खानेपिउने विषय सँगै जोडिएर आउँथ्यो । बाध्यताले हो वा आवश्यकताले हो ऊ स्वयम् भने सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो ।

केही समय अगाडि ऊ सवार भएको गाडी नदी किनारा हुँदै गुड्दै थियो । नदी भन्ने कि ढल ? यसबारेमा पुनर्मूल्याङ्कन गर्नुपर्ने हुन्छ । पहिलेदेखि नदी भनिएकोले सबैले नदी नै भन्दा हुन् । तर त्यो नदी भन्दा पनि खुल्ला ढलजस्तै थियो । हावासँगै नदी किनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे । अझ चिसोमा भन्दा पनि गर्मी ऋतुमा यहाँ बस्नै नसक्ने हुन्थ्यो । तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई क¥याप्प पाथ्र्यो । त्यस्तो ठाउँमा पनि सुकुम्वासी भने मजाले बसेका थिए ।

नदी किनारामा लहरै सुकुम्वासीका छाप्रा थिए । छाप्रापछि बाटो र बाटोसँगै अग्ला अग्ला घर । अग्ला घरका झ्याल सबैजसो बन्द देखिन्थे । ती झ्यालहरू फोहोरको कारणले हो वा नाङ्गाभुतुङ्गा सुकुम्बासीको नजर पर्छ भनेर हो प्रायः बन्द नै हुन्थे । ती बन्द घरमा मान्छे बस्छन् कि भुत बस्छन् भन्ने सङ्का गर्ने ठाउँ प्रसस्तै थियो । त्यो बाटो हिँड्नेहरू यस्तै सोच्थे ।

सुकुम्बासी बस्तीमा भने चहलपहल प्रसस्तै थियो । त्यस्तो जाडोमा पनि नानीहरू नाङ्गैभुतुङगै यताउता दौडदै थिए । कोही रुँदै त कोही हाँस्दै थिए । प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो । लय सङ्गीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो । हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे । उनीहरू यस्तो सङ्गीतलाई हेपेर माग्नेहरूको चर्तिकला भन्थे ।

प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे । केटाकेटी र आइमाईहरू दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे । बेलुका यसैलाई बालेर चिसो भगाउने निरर्थक प्रयास गर्थे । आज पनि यही उपक्रम गर्दै थिए उनीहरू । ‘विचरा कस्तो विजोक !’ उसले दिक्क मान्दै सोच्यो– ‘सहरको बीचमा पनि कस्तो गरिबी ?’
हुन पनि त्यहाँको अवस्था दर्दनाक थियो । त्यस्तो कठ्याङ्ग्रिदो चिसोमा पनि वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए । चिसो स्याँठ चलेको थियो । चिसोबाट बच्न आगोको ओरिपरि झुम्मिएका थिए । उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिसक्नु भएन । उसले तुरुन्तै चालकलाई भन्यो– ‘गुरुजी गाडी रोक्नोस् त ।’ गाडी केही पर पुगेर रोकियोे । अपर्झट गाडी रोक्नु पर्नाको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हे¥यो ।

‘राम बहादुर गुरुङलाई भेटूँ कि भनेर ।’ जिएमले ढोका खोल्दै भन्यो– ‘उनको घर यहीँ होइन र ?’
सायद कुरो बुझेन गुरुले । ऊ अलमलियो ।

‘उही क्या सुकुम्बासी संगठनको नेता । अस्ति डेलिगेसन आएका थिए नि ।’ उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो– ‘बस्तीमा निमोनियाबाट धेरै बच्चा बिरामी भएका छन् । हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नु थियो ।’

‘हुन त हो हजुर ! तर कार्यक्रममा पुग्न ढिला भैसकेको छ । फेरि आए नहोला ।’ चालकले नम्र स्वरमा भन्यो । साथै समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो ।

‘हुन त हो,’ उसले अलिक गम खाँदै भन्यो– ‘जाउँ त उसो भए । बरू फर्किंदा सम्झाउनु होला । रकम मसँगै छ दिनुपर्छ ।’

‘कस्तो असल मान्छे ! सुकम्बासीलाई आफैँ रकम पु¥याउन चाहन्छ ।’ भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो उसमा । उसले मनमनै सोच्यो –‘साँच्चै ! अब हामी गरिबका दिन पनि आएछन् क्यारे !’

उसले रिवन काटेर कार्यक्रमको उद्घाटन ग¥यो ।

हल तालीले गुञ्जायमान भयो । पाँचतारे होटलको भव्य हल सहरका एक से एक सुन्दरीले खचाखच भरिएको थियो । नाम चलेका लेखक, कलाकार र वुद्धिजीवीको उस्तै जमघट । यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस ग¥यो उसले । पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भयो र हप्प भयो ।

हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिन्थ्यो । यी सबै गुहुका किरा हुन् । के थाहा छ यिनलाई भनेझैँ गथ्र्यो । ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जान्नथ्यो । फेरि प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए हुन्नथ्यो । कथंकथाचित यस्तै भैहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्कन्थ्यो र टाप ठोक्थ्यो । कसैले यस्तो प्रवृत्तिको प्रसङ्ग उठायो भने सिधासिधा भन्थ्यो– ‘आफूलाई मेन्टेन गर्नुपर्छ । हामी भनेका दस वर्ष युद्ध लडेर आएका हौँ । यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि ?’

हुन त जान्नेसुन्नेहरू भन्थे ऊ युद्ध नै लडेको हैन । छाला बचाउन युद्धमा लागेको हो । तर पार्टीमा भने उसको रवाफ राम्रै थियो ।

कार्यक्रमको बिचमा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रायः सबै वक्ताले उसको प्रशंसा गरे । कतिले अहिलेका महान् योद्धाको उपमा दिए । कतिले अहिलेका महान् कलाकार भने । कतिले यो दशककै अग्रणी कवि ! एक किसिमले उसलाई उडाए । उसले एकपटक हलमा सरर नजर दौडायो । ‘ओहो कति भव्य ! कति सभ्य ! यस्तो पो कार्यक्रम !’ ऊ रोमाञ्चित भयो । उसले यस कार्यक्रमलाई विगतमा दूरदराजमा हुने कार्यक्रमसँग दाँजेर हे¥यो । कति फरक ! हेर्दा हेर्दै हिन्दी र अङ्ग्रेजी नृत्य प्रस्तुत भयो । उसलाई अलि अप्ठेरो लाग्यो क्यारे । छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हे¥यो । अध्यक्षले अरूले नसुन्नेगरी भन्यो– ‘क्यार्नु र हजुर ठाउँ अनुसार चल्नै प¥यो ।’
‘हो त नि है !’ उसले चित्त बुझायो ।

कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो । भर्खरै युद्धबाट आएको युवा । उसमा बोल्ने कला भरपुर थियो । सांस्कृतिक क्षेत्रमा काम गर्ने मान्छे । उसलाई कला, साहित्य र संस्कृतिको ज्ञान राम्रो थियो । यस्तो महत्वपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुवी पदर्शन गर्न पाउनु भनेको मौका पनि हो । नभन्दै कला, साहित्य र संस्कृतिका बारेमा गहन मन्तव्य दियो उसले । अझ सांस्कृतिक रूपान्तरणका बारेमा बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो । उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो– ‘हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नु हुन्न ।’ उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन ग¥यो ।

कार्यक्रमको पहिलो चरण सकियो ।

ऊ मञ्चबाट झर्दै गर्दा किशोरीहरूको ठूलो हुलले उसको अटोग्राफ माग्न थाल्यो । धेरैजसो त ऊसँगै टाँसिदै भन्न थाले– ‘वाह ! तपाईंले त कमालै गर्नु भयो ।’ उसले जीवनमा पहिलो पल्ट यति नजिकबाट यति कामूक सुन्दरीलाई स्पर्श ग¥यो । र, जीवनमा पहिलो पल्ट आफ्नो अटोग्राफ दियो । यो चिसो ऋतुमा पनि उसको निधारमा चिटचिट पसिना आए । हुन त एसीको कारणले पनि यस्तो भएहोला । फेरि एसीभन्दा पनि बढी त अरु नै कारणले काम गरेको थियो सायद । पहिलो पल्ट भएर हो वा कागको बीचमा वकुल्ला देखिँए कि भन्ने लागेर हो, यहाँबाट कतिखेर भागूँ भागूँ लाग्योे । उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो– ‘अब जाने हैन ?’ अध्यक्षले मुुस्कुराउँदै भन्यो– ‘भर्खर त कार्यक्रम सुरु भएको छ हजुर ।’

‘भर्खर कार्यक्रम सुरु भएको छ रे !’ उसले अचम्म मान्दै हे¥यो ।

‘हो त हजुर ! डिनर र गीतसङ्गीत त बाँकी नै छ ।’ अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमको बारेमा जानकारी गरायो ।

‘ए हो ! ल ठिक छ । बरू जाँदा सुकुम्बासी बस्तीमा पस्नु छ । छिटो गर्नु है ।’ उसले सहमति जनाउँदै भन्यो ।
केही छिनमै ऊ षोडशी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो । वेटर ह्विस्की, वियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए । सबैले रुचिअनुसारका प्याला उठाए । उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह ग¥यो ।

‘हैन, यो लिने हो र !’ ऊ अनकनायो ।

हुन त सहरमा आएपछि लुकिछिपी खान थालेको थियो उसले । युद्धकालको त कुरै बेग्लै । युद्धकालमा रक्सी बनाउने र खाने दुबैलाई भाटे कारबाही हुन्थ्यो । कतिलाई भाटे मात्रै हैन आर्थिक कारबाही पनि हुन्थ्यो । ऊ लड्नभिड्न भन्दा पनि यस्ता कारबाही गर्न मन पराउने मान्छे । युद्धको बेला सबैभन्दा बढी भाटे कारबाही गर्नेमध्ये ऊ पनि पथ्र्यो । तर सानैदेखि लाएको बानी त्यति सजिलै कहाँ सुध्रिन्थ्यो र ! सहर आएपछि फेरि लिन थालेको थियो उसले ।

‘हजुर पनि ! पाँचतारे होटलमा नलिएर कहाँ लिने त !’ सहयोगीले कर ग¥यो । सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकोले उसलाई सल्लाह लिन सजिलो थियो । ऊ भर्खर प्रवेश गरेको कामरेड थियो । व्यवहारमा जस्तो भए पनि बोली मिजासमा अब्बल थियो ऊ । चाकडी चाप्लुसीमा पनि होनहार । सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो थियो । सहरमा उसलाई धेरैले चिन्थे । ऊ जहाँ पुग्थ्यो तर उसैले माथ्र्यो । यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो । त्यसैले पनि उसले नयाँ नेतृत्वलाई खुसी पार्न यो कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो ।

जिएम सा’ब अझै पनि अनकनाउँदै थियो । तर एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाईहाली । उसले पहिल्यैदेखि उसलाई पछ्याउँदै थिई । सबैले हर्षोल्लासपूर्वक चियर्स गरे ।
रात ढल्किँदै थियो । रातसँगै कामूक नृत्य र गीत–सङ्गीतको धुनमा सुन्दरीहरू पनि मस्किँदै थिए । उसलाई असैह्य हुन लाग्यो । एकातिर ह्विस्कीको रमरम अर्कोतिर सुन्दरीको कटाक्ष । ऊ विह्वल भयो ।

उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले । कसरी भोकभोकै बाँदरजस्तै कुँदेको थियो ऊ ? दुई कोस टाढा बन्दुक पट्किँदा पनि कसरी भागेको थियो ? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो ? कसरी उसको साथीले आपूm मरेरै भए पनि उसलाई बचाएको थियो ? दुश्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो ? जेलका चिसा छिडी र भूमिगत कालको सम्झनाले मात्र पनि उसको मुटु हल्लियो ।

सोच्दासोच्दै फेरि विगतको रङ्गीन दुनियाँमा पुग्यो । कसरी भर्खरकी किशोरीसँग प्रेमको प्रस्ताव राखेको थियो उसले ? प्रेम झाङ्गिन नपाउँदै कसरी एकपछि अर्को गर्दै सबै प्रेमिकाहरू मारिएका थिए ? प्रेमिकाहरू मारिने क्रम नरोकिएपछि ऊ आजित भएको थियो । त्यसपछि उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो । यो बाध्यता थियो कि आवश्यकता । आज उक्त प्रसङ्ग सम्झिँदा पनि वडो उदेक लागेर आयो । कसरी लहसिए होला ऊ विना स्वादकी ग्रामिण युवतीको प्रेममा ? ऊ फेरि फर्किएर वर्तमानमा आयो । आज ऊ कुन दुनियाँमा छ भन्ने छुट्याउन सकेन उसले । कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा । कहाँ यो पाँचतारे होटलको रङ्गीन लीला !

केही समयपछि उही सुन्दरी आएर उसलाई च्याप्प समाई । उसको स्पर्शले एकपल्ट उसको शरीर सर्वाङ्ग रोमाञ्चित भयो । ‘हजुर त कस्तो हेनसम ? मलाई त हजुरजस्तै हिरो मन पर्छ ।’ भएन फसाद ! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो बाः । उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो ।

‘हैन म विपनामा त छु !’ उसले घोरिएर सोच्यो । जसरी सोचे पनि उसले आफूलाई विपनामै पायो । ‘अनि फेरि के भनेकी यो केटीले ?’ ऊ तिनछक परेर उसलाई एकनास हेरिरह्यो । लाटोले केरा हेरेजस्तै । हेर्दाहेर्दै आँखा चार भए । युवतीले लजाएको नखरा पार्दै नजर झुकाई ।

त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी । किंकर्तव्यविमूढ भयो ऊ । कहिल्यै ननाचेको मान्छे । कसरी नाच्ने होला आज ? सुन्दरीले छोडेकी हैन । उसका मुलायम करकमलको न्यानो स्पर्शले ऊ आजित भयो । कहिल्यै ननाचेकोले आपूm नाच्न नसक्ने कुरा व्यक्त ग¥यो उसले । तर त्यो सुन्दरी त ज्याद्रो पो निस्किई । ‘के भयो त पहिले ननाचेर ? आज नाचे भैहाल्यो नि ।’ सुन्दरीले कर गरी । उसले सुन्दरीको आग्रहलाई लत्याउन सकेन ।

राती अवेरसम्म पार्टीे चल्यो ।

उसले हुन्न हुन्न भन्दा भन्दै पनि निकै पियो । पियो भन्दा पनि पिलाइयो । सम्मानका लागि, इज्जतका लागि अथवा मायाले भरिएका नयनका लागि उसले पियो । पिउँदा पिउँदा बोली नै लरवरिएको थियो उसको । पार्टी सकियो । उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए ।
अब ऊ सुनसान सडक हुँदै निवास फर्कंदै थियो । सबैतिर शून्यता व्याप्त थियो । फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए । बाटोमा उही सुकुम्बासी बस्ती देखियो । यतिखेर बस्ती पनि सुनसान र चकमन्न थियो । निस्पट्ट चिसो रात, सबैतिर सन्नाटा छाएको थियो । अब भने चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थलिसकेका थिए ।

चालकले गाडीको गति कम गरेर पछाडि हे¥यो । हुनत यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन । तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो । चालकले उक्त विषयको जानकारी गराउन चाह्यो । तर समयले त फन्को मारिसकेको थियो । विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ ? उसलाई त केवल गाडीको गति थाहा थियो । उसलाई लाग्दो हो समयको चक्र भनेको चौविस घन्टा हो । उसले घडी हे¥यो । आज पनि समय घुमिसकेको थियो । र, समयसँगै क्रान्तिकारी जिएम नसाले लठ्ठिएर पछिल्लो सिटमा पल्टिएको थियो ।

(नागरिक दैनिकः १५ असोज, २०७३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *