Bishnu Bhandari – Sahar Ma Comrade

सहरमा कामरेड

सरकारी नम्बर ल्पेटको गाडी सहरको पाँचतारे होटल अगाडि रोकियो । चालकले गाडीको ढोका खोलिदियो । गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो, जसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो । राजनीतिक नियुक्ति पाएपछिको यो पहिलो सार्वजनिक कार्यक्रम थियो उसको ।

गाडीबाट झर्दा चिसोले टोक्लाजस्तो गरी घोच्यो । मध्यपुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो । उसले आजै लगाएको टाइसुट मिलायो । कपाल ठिक छ छैन भनेर दुबै हातले कपाल स्याहा¥यो र होटलतिर हे¥यो । उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए । उनीहरू झन्डै एकघन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए । धेरैले झुकेर नमस्कार गरे । नवप्रवेशी कामरेडहरूले सिकारु मुठ्ठी सहितको हात उठाए । पुरानाले सलाम कमरेड भने । नवप्रवेशीले लालसलाम नै टक्र्याए । उसले स्मित हाँसो सहित अभिवादन फर्कायो ।

जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको नेता । कला साहित्यमा पनि राम्रै दख्खल थियो । लामो समय सांस्कृतिक फाँटमा काम गरेकोले होला ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो । सांस्कृतिक रूपान्तरण र समाजमा संस्कृतिले पार्ने प्रभावबारे राम्रै प्रशिक्षण दिन्थ्यो । सायद त्यही भएर होला उसका कवितामा पनि यो भाव मुखर भएर आउँथ्यो ।

‘हामी सहरमा छौँ भन्ने कुरा बिर्सनु हुन्न कमरेड । सहरमा काम गर्नेको सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई सांस्कृतिक विचलनबाट जोगाउन सक्नु हो,’ उसले प्रायः बैठक र छलफमा भन्ने गथ्र्यो– ‘सहर स्वभावैले अराजक र नैतिकहीन हुन्छ । गाउँमाजस्तो यहाँ काम गर्न सहज छैन । कमरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला ।’

पार्टी सरकारमा थियो । ऊ नेताको नजिकको मान्छे । पार्टीमा उसको हैसियत पनि माथि नै थियो । यही भएर होला दिनक्कै घेटघाट हुन्थे । छलफल र भेटघाटमा खानेपिउने विषय सँगै जोडिएर आउँथ्यो । बाध्यताले हो वा आवश्यकताले हो ऊ स्वयम् भने सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो ।

केही समय अगाडि ऊ सवार भएको गाडी नदी किनारा हुँदै गुड्दै थियो । नदी भन्ने कि ढल ? यसबारेमा पुनर्मूल्याङ्कन गर्नुपर्ने हुन्छ । पहिलेदेखि नदी भनिएकोले सबैले नदी नै भन्दा हुन् । तर त्यो नदी भन्दा पनि खुल्ला ढलजस्तै थियो । हावासँगै नदी किनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे । अझ चिसोमा भन्दा पनि गर्मी ऋतुमा यहाँ बस्नै नसक्ने हुन्थ्यो । तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई क¥याप्प पाथ्र्यो । त्यस्तो ठाउँमा पनि सुकुम्वासी भने मजाले बसेका थिए ।

नदी किनारामा लहरै सुकुम्वासीका छाप्रा थिए । छाप्रापछि बाटो र बाटोसँगै अग्ला अग्ला घर । अग्ला घरका झ्याल सबैजसो बन्द देखिन्थे । ती झ्यालहरू फोहोरको कारणले हो वा नाङ्गाभुतुङ्गा सुकुम्बासीको नजर पर्छ भनेर हो प्रायः बन्द नै हुन्थे । ती बन्द घरमा मान्छे बस्छन् कि भुत बस्छन् भन्ने सङ्का गर्ने ठाउँ प्रसस्तै थियो । त्यो बाटो हिँड्नेहरू यस्तै सोच्थे ।

सुकुम्बासी बस्तीमा भने चहलपहल प्रसस्तै थियो । त्यस्तो जाडोमा पनि नानीहरू नाङ्गैभुतुङगै यताउता दौडदै थिए । कोही रुँदै त कोही हाँस्दै थिए । प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो । लय सङ्गीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो । हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे । उनीहरू यस्तो सङ्गीतलाई हेपेर माग्नेहरूको चर्तिकला भन्थे ।

प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे । केटाकेटी र आइमाईहरू दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे । बेलुका यसैलाई बालेर चिसो भगाउने निरर्थक प्रयास गर्थे । आज पनि यही उपक्रम गर्दै थिए उनीहरू । ‘विचरा कस्तो विजोक !’ उसले दिक्क मान्दै सोच्यो– ‘सहरको बीचमा पनि कस्तो गरिबी ?’
हुन पनि त्यहाँको अवस्था दर्दनाक थियो । त्यस्तो कठ्याङ्ग्रिदो चिसोमा पनि वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए । चिसो स्याँठ चलेको थियो । चिसोबाट बच्न आगोको ओरिपरि झुम्मिएका थिए । उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिसक्नु भएन । उसले तुरुन्तै चालकलाई भन्यो– ‘गुरुजी गाडी रोक्नोस् त ।’ गाडी केही पर पुगेर रोकियोे । अपर्झट गाडी रोक्नु पर्नाको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हे¥यो ।

‘राम बहादुर गुरुङलाई भेटूँ कि भनेर ।’ जिएमले ढोका खोल्दै भन्यो– ‘उनको घर यहीँ होइन र ?’
सायद कुरो बुझेन गुरुले । ऊ अलमलियो ।

‘उही क्या सुकुम्बासी संगठनको नेता । अस्ति डेलिगेसन आएका थिए नि ।’ उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो– ‘बस्तीमा निमोनियाबाट धेरै बच्चा बिरामी भएका छन् । हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नु थियो ।’

‘हुन त हो हजुर ! तर कार्यक्रममा पुग्न ढिला भैसकेको छ । फेरि आए नहोला ।’ चालकले नम्र स्वरमा भन्यो । साथै समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो ।

‘हुन त हो,’ उसले अलिक गम खाँदै भन्यो– ‘जाउँ त उसो भए । बरू फर्किंदा सम्झाउनु होला । रकम मसँगै छ दिनुपर्छ ।’

‘कस्तो असल मान्छे ! सुकम्बासीलाई आफैँ रकम पु¥याउन चाहन्छ ।’ भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो उसमा । उसले मनमनै सोच्यो –‘साँच्चै ! अब हामी गरिबका दिन पनि आएछन् क्यारे !’

उसले रिवन काटेर कार्यक्रमको उद्घाटन ग¥यो ।

हल तालीले गुञ्जायमान भयो । पाँचतारे होटलको भव्य हल सहरका एक से एक सुन्दरीले खचाखच भरिएको थियो । नाम चलेका लेखक, कलाकार र वुद्धिजीवीको उस्तै जमघट । यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस ग¥यो उसले । पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भयो र हप्प भयो ।

हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिन्थ्यो । यी सबै गुहुका किरा हुन् । के थाहा छ यिनलाई भनेझैँ गथ्र्यो । ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जान्नथ्यो । फेरि प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए हुन्नथ्यो । कथंकथाचित यस्तै भैहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्कन्थ्यो र टाप ठोक्थ्यो । कसैले यस्तो प्रवृत्तिको प्रसङ्ग उठायो भने सिधासिधा भन्थ्यो– ‘आफूलाई मेन्टेन गर्नुपर्छ । हामी भनेका दस वर्ष युद्ध लडेर आएका हौँ । यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि ?’

हुन त जान्नेसुन्नेहरू भन्थे ऊ युद्ध नै लडेको हैन । छाला बचाउन युद्धमा लागेको हो । तर पार्टीमा भने उसको रवाफ राम्रै थियो ।

कार्यक्रमको बिचमा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रायः सबै वक्ताले उसको प्रशंसा गरे । कतिले अहिलेका महान् योद्धाको उपमा दिए । कतिले अहिलेका महान् कलाकार भने । कतिले यो दशककै अग्रणी कवि ! एक किसिमले उसलाई उडाए । उसले एकपटक हलमा सरर नजर दौडायो । ‘ओहो कति भव्य ! कति सभ्य ! यस्तो पो कार्यक्रम !’ ऊ रोमाञ्चित भयो । उसले यस कार्यक्रमलाई विगतमा दूरदराजमा हुने कार्यक्रमसँग दाँजेर हे¥यो । कति फरक ! हेर्दा हेर्दै हिन्दी र अङ्ग्रेजी नृत्य प्रस्तुत भयो । उसलाई अलि अप्ठेरो लाग्यो क्यारे । छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हे¥यो । अध्यक्षले अरूले नसुन्नेगरी भन्यो– ‘क्यार्नु र हजुर ठाउँ अनुसार चल्नै प¥यो ।’
‘हो त नि है !’ उसले चित्त बुझायो ।

कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो । भर्खरै युद्धबाट आएको युवा । उसमा बोल्ने कला भरपुर थियो । सांस्कृतिक क्षेत्रमा काम गर्ने मान्छे । उसलाई कला, साहित्य र संस्कृतिको ज्ञान राम्रो थियो । यस्तो महत्वपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुवी पदर्शन गर्न पाउनु भनेको मौका पनि हो । नभन्दै कला, साहित्य र संस्कृतिका बारेमा गहन मन्तव्य दियो उसले । अझ सांस्कृतिक रूपान्तरणका बारेमा बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो । उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो– ‘हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नु हुन्न ।’ उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन ग¥यो ।

कार्यक्रमको पहिलो चरण सकियो ।

ऊ मञ्चबाट झर्दै गर्दा किशोरीहरूको ठूलो हुलले उसको अटोग्राफ माग्न थाल्यो । धेरैजसो त ऊसँगै टाँसिदै भन्न थाले– ‘वाह ! तपाईंले त कमालै गर्नु भयो ।’ उसले जीवनमा पहिलो पल्ट यति नजिकबाट यति कामूक सुन्दरीलाई स्पर्श ग¥यो । र, जीवनमा पहिलो पल्ट आफ्नो अटोग्राफ दियो । यो चिसो ऋतुमा पनि उसको निधारमा चिटचिट पसिना आए । हुन त एसीको कारणले पनि यस्तो भएहोला । फेरि एसीभन्दा पनि बढी त अरु नै कारणले काम गरेको थियो सायद । पहिलो पल्ट भएर हो वा कागको बीचमा वकुल्ला देखिँए कि भन्ने लागेर हो, यहाँबाट कतिखेर भागूँ भागूँ लाग्योे । उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो– ‘अब जाने हैन ?’ अध्यक्षले मुुस्कुराउँदै भन्यो– ‘भर्खर त कार्यक्रम सुरु भएको छ हजुर ।’

‘भर्खर कार्यक्रम सुरु भएको छ रे !’ उसले अचम्म मान्दै हे¥यो ।

‘हो त हजुर ! डिनर र गीतसङ्गीत त बाँकी नै छ ।’ अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमको बारेमा जानकारी गरायो ।

‘ए हो ! ल ठिक छ । बरू जाँदा सुकुम्बासी बस्तीमा पस्नु छ । छिटो गर्नु है ।’ उसले सहमति जनाउँदै भन्यो ।
केही छिनमै ऊ षोडशी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो । वेटर ह्विस्की, वियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए । सबैले रुचिअनुसारका प्याला उठाए । उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह ग¥यो ।

‘हैन, यो लिने हो र !’ ऊ अनकनायो ।

हुन त सहरमा आएपछि लुकिछिपी खान थालेको थियो उसले । युद्धकालको त कुरै बेग्लै । युद्धकालमा रक्सी बनाउने र खाने दुबैलाई भाटे कारबाही हुन्थ्यो । कतिलाई भाटे मात्रै हैन आर्थिक कारबाही पनि हुन्थ्यो । ऊ लड्नभिड्न भन्दा पनि यस्ता कारबाही गर्न मन पराउने मान्छे । युद्धको बेला सबैभन्दा बढी भाटे कारबाही गर्नेमध्ये ऊ पनि पथ्र्यो । तर सानैदेखि लाएको बानी त्यति सजिलै कहाँ सुध्रिन्थ्यो र ! सहर आएपछि फेरि लिन थालेको थियो उसले ।

‘हजुर पनि ! पाँचतारे होटलमा नलिएर कहाँ लिने त !’ सहयोगीले कर ग¥यो । सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकोले उसलाई सल्लाह लिन सजिलो थियो । ऊ भर्खर प्रवेश गरेको कामरेड थियो । व्यवहारमा जस्तो भए पनि बोली मिजासमा अब्बल थियो ऊ । चाकडी चाप्लुसीमा पनि होनहार । सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो थियो । सहरमा उसलाई धेरैले चिन्थे । ऊ जहाँ पुग्थ्यो तर उसैले माथ्र्यो । यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो । त्यसैले पनि उसले नयाँ नेतृत्वलाई खुसी पार्न यो कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो ।

जिएम सा’ब अझै पनि अनकनाउँदै थियो । तर एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाईहाली । उसले पहिल्यैदेखि उसलाई पछ्याउँदै थिई । सबैले हर्षोल्लासपूर्वक चियर्स गरे ।
रात ढल्किँदै थियो । रातसँगै कामूक नृत्य र गीत–सङ्गीतको धुनमा सुन्दरीहरू पनि मस्किँदै थिए । उसलाई असैह्य हुन लाग्यो । एकातिर ह्विस्कीको रमरम अर्कोतिर सुन्दरीको कटाक्ष । ऊ विह्वल भयो ।

उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले । कसरी भोकभोकै बाँदरजस्तै कुँदेको थियो ऊ ? दुई कोस टाढा बन्दुक पट्किँदा पनि कसरी भागेको थियो ? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो ? कसरी उसको साथीले आपूm मरेरै भए पनि उसलाई बचाएको थियो ? दुश्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो ? जेलका चिसा छिडी र भूमिगत कालको सम्झनाले मात्र पनि उसको मुटु हल्लियो ।

सोच्दासोच्दै फेरि विगतको रङ्गीन दुनियाँमा पुग्यो । कसरी भर्खरकी किशोरीसँग प्रेमको प्रस्ताव राखेको थियो उसले ? प्रेम झाङ्गिन नपाउँदै कसरी एकपछि अर्को गर्दै सबै प्रेमिकाहरू मारिएका थिए ? प्रेमिकाहरू मारिने क्रम नरोकिएपछि ऊ आजित भएको थियो । त्यसपछि उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो । यो बाध्यता थियो कि आवश्यकता । आज उक्त प्रसङ्ग सम्झिँदा पनि वडो उदेक लागेर आयो । कसरी लहसिए होला ऊ विना स्वादकी ग्रामिण युवतीको प्रेममा ? ऊ फेरि फर्किएर वर्तमानमा आयो । आज ऊ कुन दुनियाँमा छ भन्ने छुट्याउन सकेन उसले । कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा । कहाँ यो पाँचतारे होटलको रङ्गीन लीला !

केही समयपछि उही सुन्दरी आएर उसलाई च्याप्प समाई । उसको स्पर्शले एकपल्ट उसको शरीर सर्वाङ्ग रोमाञ्चित भयो । ‘हजुर त कस्तो हेनसम ? मलाई त हजुरजस्तै हिरो मन पर्छ ।’ भएन फसाद ! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो बाः । उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो ।

‘हैन म विपनामा त छु !’ उसले घोरिएर सोच्यो । जसरी सोचे पनि उसले आफूलाई विपनामै पायो । ‘अनि फेरि के भनेकी यो केटीले ?’ ऊ तिनछक परेर उसलाई एकनास हेरिरह्यो । लाटोले केरा हेरेजस्तै । हेर्दाहेर्दै आँखा चार भए । युवतीले लजाएको नखरा पार्दै नजर झुकाई ।

त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी । किंकर्तव्यविमूढ भयो ऊ । कहिल्यै ननाचेको मान्छे । कसरी नाच्ने होला आज ? सुन्दरीले छोडेकी हैन । उसका मुलायम करकमलको न्यानो स्पर्शले ऊ आजित भयो । कहिल्यै ननाचेकोले आपूm नाच्न नसक्ने कुरा व्यक्त ग¥यो उसले । तर त्यो सुन्दरी त ज्याद्रो पो निस्किई । ‘के भयो त पहिले ननाचेर ? आज नाचे भैहाल्यो नि ।’ सुन्दरीले कर गरी । उसले सुन्दरीको आग्रहलाई लत्याउन सकेन ।

राती अवेरसम्म पार्टीे चल्यो ।

उसले हुन्न हुन्न भन्दा भन्दै पनि निकै पियो । पियो भन्दा पनि पिलाइयो । सम्मानका लागि, इज्जतका लागि अथवा मायाले भरिएका नयनका लागि उसले पियो । पिउँदा पिउँदा बोली नै लरवरिएको थियो उसको । पार्टी सकियो । उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए ।
अब ऊ सुनसान सडक हुँदै निवास फर्कंदै थियो । सबैतिर शून्यता व्याप्त थियो । फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए । बाटोमा उही सुकुम्बासी बस्ती देखियो । यतिखेर बस्ती पनि सुनसान र चकमन्न थियो । निस्पट्ट चिसो रात, सबैतिर सन्नाटा छाएको थियो । अब भने चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थलिसकेका थिए ।

चालकले गाडीको गति कम गरेर पछाडि हे¥यो । हुनत यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन । तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो । चालकले उक्त विषयको जानकारी गराउन चाह्यो । तर समयले त फन्को मारिसकेको थियो । विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ ? उसलाई त केवल गाडीको गति थाहा थियो । उसलाई लाग्दो हो समयको चक्र भनेको चौविस घन्टा हो । उसले घडी हे¥यो । आज पनि समय घुमिसकेको थियो । र, समयसँगै क्रान्तिकारी जिएम नसाले लठ्ठिएर पछिल्लो सिटमा पल्टिएको थियो ।

(नागरिक दैनिकः १५ असोज, २०७३)

Bishnu Bhandari – Charkiyeko Ghar

बिष्णु भण्डारी – चर्किएको घर

ऊ जाग्दा घाम निकै माथि आइसकेको थियो ।
उसले बार्दलीबाट सुदूर पूर्वको आकाश हे¥यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा फैलिएको थियो । ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो । उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हे¥यो । हेर्दा हेर्दै हिजो मात्र बिताएका रमाइला क्षणको सम्झना आयो उसलाई । ती क्षण सम्झिँदा पनि भित्रभित्रै काउकुति लागेर आयो । तिन दिन पहिले अफिसको काम छ भनेर बाहिरिएको थियो ऊ । अफिसको काम त बहाना थियो । ऊ यसरी नै गर्लफ्रेन्ड च्यापेर रिसोर्टतिर लाग्थ्यो र मस्तरामको जिन्दगी बिताउँथ्यो ।
तिनदिन बिताएर हिजोमात्र घर आएको हो ऊ । घर आउँदा स्वास्नीले मुस्कुराउँदै स्वागत गरी । स्वास्नी खुट्टा भाँचिएर थला परेकी थिई । तरपनि हर्षित हुँदै बैशाखीको सहाराले उठी । सकिनसकी कान्छीसँगै मिलेर खाना बनाई । श्रीमानसँगै बसेर खाना खाई । लोग्नेको आगमनमा ऊ चञ्चल र रोमाञ्चित भएकी थिई । तर लोग्नेको अवस्था भने त्यस्तो थिएन । स्वास्नीलाई देख्दै निराश भएको थियो ऊ ।
उसको नागरिकताको नाम कृष्णहरि थियो । स्वास्नीले भने मायाले कृस भनेर संवोधन गर्थी । मोटो र थुलथुले शरीर त्यसमा पनि भाँचिएको खुट्टा । कृष्णहरिले आफ्नी प्रेमिकासँग स्वास्नीलाई दाँज्यो र नाक खुम्चायो । ऊ मोटी मात्र हैन कृष्णहरिभन्दा अग्ली र उमेरले जेठी पनि थिई । ऊ मोटी र जेठी भए पनि नराम्री भन्न मिल्ने खालकी भने थिइन । तर कृष्णहरिलाई लाग्थ्यो ‘काँ परीजस्ती गर्लफ्रेन्ड काँ यो ढेब्बरे ?’
तैपनि कृष्णहरिले सुत्नेबेलामा भनेको थियो– ‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय !’ उसले यसो भन्दा स्वास्नी मुस्कुराएकी थिई । स्वास्नी केही बेर नबोली बसी । उसले फेरि पनि यस्तै कुरा गरेपछि भने उसले लोग्नेको अनुहारमा हेर्दै भनेकी थिई– ‘भो भो चेपारे घस्नु पर्दैन । लोग्ने मान्छेको के भरोषा ?’ हुन त उसले स्वास्नीलाई यसैगरी फुर्काउँथ्यो सधैँ । यसैगरी चेपारे घस्थ्यो र प्रेमिकासँग मस्ती माथ्र्यो । तर यसपल्ट भने अलि बढी नै माया गरेको स्वाङ गर्दै थियो ।
अर्को बिहान ऊ ब्युझँदा स्वास्नी अर्कोतिर फर्किएर सुतेकी थिई । यतिखेर सधैँ उठिसक्थी । कान्छीलाई चिया बनाउन लगाउँथी र लोग्नेसँगै नारिएर चिया सुर्काउँथी । मिठा मिठा कुरा गर्थी र रमाउँथी । तर आज ऊ उठिन । उठाउँदा पनि उठिन । बरु अझै कुनातिर ढेपिएर सुती । उसले मनमनै सोच्यो– ‘साँझ खाना खाएर सुत्दा त ठिकै थिई । के भएछ यो ढेब्बरीलाई ?’
त्यसपछि ऊ बार्दलीमा निस्कियो । चुरोट सल्कायो र विगततिर विचरण गर्न लाग्यो ।
विवाह गर्दा नै मोटी थिई ऊ । उतिखेर यही आइमाई कृष्णहरिलाई परीजस्तै सुन्दर लागेकी थिई । ‘सुन्दरता शरीरको मोटाइ र उचाइमा हैन व्यवहारमा पो झल्किन्छ ।’ उसले यस्तै सोचेको थियो उतिखेर । फेरि मोटी भए पनि सुन्दरतामा कुनै कमी थिएन । गोरो अनुहारमा बैँसालु मात । एउटै कक्षा र स्वतन्त्र परिवेश । केही दिनमै ऊ त्यो केटीसँग नजिकिएको थियो । सँगै क्यान्टिनमा बसेर चिया खाएको थियो । सँगै घुमेको थियो र सँगै सिनेमाहलमा गएको थियो । अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान । यो रहस्य थाहा पाएपछि त ऊ पागलजस्तै उसको पछि लागेको थियो । देवीलाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो । नभन्दै उसको पूजाबाट देवी खुसी भइन् । स्वास्नीमात्र हैन अकूत दाइजो पनि हात पार्न सफल भयो ऊ । तर समयक्रममा आज त्यही आइमाई उसलाई ढेब्बरी लाग्न थालेकी थिई ।
शनिवारको दिन ब्रेकफास्ट अलि ढिलै हुन्थ्यो । स्वास्नीका कारण आज झनै ढिला भएको थियो । पहिले त ऊ सञ्चो छैन भन्दै उठ्न मानिन । तर कान्छीले कर गरेपछि ऊ बिस्तारै उठी र बैशाखीको सहाराले सौचालय छिरी । उसका आँखाका डिल सुन्निएका थिए । रातभर रोएको जस्तो अनुहार फुङ्ग उडेको थियो । आँखा राता र निन्याउरा थिए । निराश अनुहारमा उदासी छाएको थियो । नास्तामा जुस र कफीबाहेक केही लिइन उसले । कृष्णहरिले नास्ता खाएपछि पत्रिका पढ्न थाल्यो । बीचबीचमा उसलाई पनि पढ्दै थियो । ‘कतै मेरो राम कहानी त थाहा पाइन यसले ?’ उसलाई शङ्काले गाँज्दै थियो । मनमा अनेक तर्कना आए । अन्तिममा ‘हिजो साँझसम्म थाहा नपाएकीले कसरी नै थाहा पाईहोली र ?’ यही सोचेर ढुक्क भयो ऊ ।
खाना तयार गर्दै थिई कान्छी ।
कान्छी पहिले कृष्णहरिको ससुरालीमा बस्थी र घरको काम गर्थी । पछि छोरीलाई हातसारो होस् भनेर बाउआमाले यता पठाइदिएका थिए । उसले बिहान बेलुका घरको काम गर्थी । दिउसो पढ्न जान्थी । भान्सामा पाकेको मिष्ठान्नको वासना बेडरूमसम्म आउँदै थियो । मिष्ठान्नको वासनाले हो कि कान्छीको आकर्षणले हो ऊ घरी घरी भान्सामा जान्थ्यो । सहयोग गर्ने निहुँ पार्दै कान्छीको भर्खरै फक्रिँदै गरेको जवानीलाई अङ्गालोमा कस्थ्यो र फेरि कोठामा आउँथ्यो । स्वास्नी ठुस्सिएर बसेकी थिई । ऊ बोलेकी थिइन । कृष्णहरि ऊसँगै बसेर उसको घुङ्रिएको कपाल खेलाउँदै भन्यो– ‘किन नबोलेको ? के भयो मेरो प्रियालाई ? भन न मेरी रानी ! सञ्चो भएन कि ?’ ऊ बोलिन । उसले केहीबेर यस्तै अर्थ न बर्थका एकतर्फी संवाद ग¥यो । सुन्तलाका केस्राजस्ता ओठमा म्वाइँ खायो र फेरि भन्यो– ‘तिमी नबोल्दा मलाई संसारै नरमाइलो लाग्छ प्रिय । बोलन ।’
अब भने त्यो आइमाइले आफ्नो टाउको कृष्णहरितिर फर्काई र सिंहिनीले झैँ हेर्दै भनी– ‘यो संसारमा मजत्तिको प्यारो वस्तु अरू छैन, हैन ? तिमीले भन्न खोजेको यही हैन ?’
‘बाफ रे कस्ता डरलाग्दा आँखा ! कस्तो हान्ने गोरुलेझैँ हेरेकी ! निश्चय पनि मेरो कृष्णलीला थाहा पाई यसले ।’ कृष्णहरिले मनमनै सोच्यो । ऊ एक पटक भित्रैदेखि काँप्यो । स्वास्नीको डरलाग्दो हेराइले ऊ यति कमजोर र त्रसित भयो कि पहिले त बोल्नै सकेन । केही समय यसरी नै बित्यो । अन्तिममा उसले डराउँदै भन्यो– ‘हो प्रिय…..।’
वाक्य टुङ्ग्याउन नपाउँदै ऊ हुत्तिएर पर पुग्यो । ‘भुइँचालो !’ कान्छी चिच्याउँदै भ¥याङतिर भागी । कृष्णहरि पनि कान्छीलाई पछ्याउँदै एकै झट्कामा बाहिर निस्कियो । अपाङ्ग स्वास्नीले ऊ भाग्दै गर्दा चिच्याएर सहयोगको याचना गरी । तर उसको आवाज न लोग्नेले सुन्यो न कान्छीले । केही सेकेन्डमै घरका छाना खस्न लागे । हेर्दा हेर्दै उसको घर माटोढुङ्गाको थुप्रोमा परिणत भयो ।
‘दिदी ! खै दिदी ?’ कान्छी चिच्याई । उसको त्रासदीपूर्ण आवाजले बल्ल उसलाई आफ्नी स्वास्नीको सम्झना भयो । ऊ यतिञ्जेल घरको खण्डहरमा पुरिइसकेकी थिई ।
सबैतिर हाँहाकार मच्चियो । एकैछिनमा ऊ बस्ने टोल खण्डहर बनेको थियो । मान्छेहरू रुँदै र चिच्याउँदै थिए । कसैले राम नाम जप्दै थिए भने कोही आफन्तलाई खोज्दै थिए । भाग्न सक्ने भागे नसक्ने भित्रै पुरिए । भग्नावशेषमा पुरिएकालाई टोलका युवाहरूले निकाल्दैै थिए । कान्छी चिच्याउँदै भत्किएको घरतिर दगुरी । ऊ बारम्बार दिदी भन्दै चिच्याउँदै थिई । तर घर यसरी भत्किएको थियो कि दिदी कहाँनेर छ भन्ने पनि ठम्याउन गाह्रो थियो । कान्छी सँगसँगै कृष्णहरि पनि आयो र भत्किएको घरलाई नियाल्न लाग्यो । केही समय पहिलेका स्वास्नीका डरलाग्दा आँखा सम्झियो । दस वर्ष पहिलेको प्रेम कहानी सम्झियो ।
कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दा पढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो । सम्बन्ध बिस्तारै मायामा फेरियो । हेर्दा हेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो । वैंकको अफिसर बन्यो र कारमा हिँड्ने वर्गमा उक्लियो ।
‘नरो, रोएर आउने हैन क्यारे !’ उसले कान्छीलाई भन्यो र फेरि भग्नावशेषमा हेर्न लाग्यो । स्वास्नीलाई निकाल्न सक्ने संभावना कतै थिएन । केही समयमै माइती आए । आफन्त र छिमेकी आए । सबै रोए, चिच्याए । कसैले ढुङ्गा पन्छाए कसैले माटो । तर त्यो घरैघरले थिचिएको खण्डहरबाट बिचरीलाई निकाल्न सक्ने कसको औकात ! कृष्णहरि भग्नावशेषमा टुक्रुक्क बसेर ताजा स्मृतिमा हराउँदै थियो । एक मिनेटको धक्काले ऊ फेरि एक्लो र असहाय बनेको थियो । विगत सम्झिदा उसका आँखा रसाए । ऊ भग्नावशेषमा घोप्टिएर क्वाँ क्वाँ रोयो । त्यही ढेब्बरीले उसलाई राजधानीको बासिन्दा बनाएकी थिई । उसैको प्रयत्नले ऊ नाम चलेको बैंकको अफिसर भएको थियो । उसैको सम्पत्तिमा मोज गरेको थियो । र, ब्याचलर पढ्दै गरेकी चनमतेलाई गर्लफ्रेन्ड बनाएको थियो ।
उसलाई ससुराली, साथीभाइ र छिमेकीले सान्त्वना दिए । छोरीलाई भग्नावशेषमै छोडेर ज्वाइँनारानलाई साँझ घरमा लगेर राखे । तेस्रो दिन बल्ल उद्धार टोली आयो र भग्नावशेष पन्छाउन लाग्यो । यी तिन दिन कृष्णहरिका लागि तिन वर्षजस्तै भए । बीचबीचमा प्रेमिका आउँथी र नआत्तिन भन्थी । ‘किन निराश हुनु भएको ? म छु नि ।’ उसले ढाडस दिँदै भनेकी थिई । हुन पनि भूकम्प आएर राम्रै भएको थियो उसलाई । घर भत्किए पनि जग्गा र बैंक व्यालेन्स छँदै थियो । ससुरालीले दिएको महाराजगञ्जको घडेरी सुनजस्तै बहुमूल्य थियो । त्यही घडेरी बेचे पनि भव्य महल ठड्याउन सकिन्थ्यो । प्रेमिकाको मोडलको जस्तो सलक्क परेको शरीर र सम्पत्ति सम्झिँदा उसको मन बौरिएर आयो । उसले भूकम्प गएको अर्को दिनबाटै नयाँ सपना देख्न थाल्यो । उसले भत्किएको घरलाई पुनर्निमाण गर्ने छ । गर्लफ्रेन्डलाई नयाँ घरमा भित्र्याउने छ । आखिर एक दिन स्वास्नीसँग डिभोर्स त गर्नै पथ्र्यो । उसले यस्तै सोच्दै थियो । अकस्मात आएको हल्लाले उसको तन्द्रा भङ्ग भयो । छिमेकी, आफन्त र उद्धारकर्ताहरू ‘भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ’ भन्दै चिच्याउँदै थिए ।
हेर्दा हेर्दै छरछिमेकी र आफन्तहरूको भीड लाग्यो । नभन्दै पाँच घन्टाको प्रयत्नपछि भग्नावशेषबाट उसकी स्वास्नीको जिउँदै उद्धार भयो । यो देखेर सबै खुसीले पागलजस्तै चिच्याए ।
कृष्णहरिकी प्रेमिका भने कालो अनुहार लगाउँदै बाहिरिई ।
कृष्णहरिकी स्वास्नीलाई अस्पताल भर्ना गरियो । ऊ केही दिनमै पूर्ववत् अवस्थामा आई । उसलाई खासै ठूलो चोट लागेको थिएन । भूकम्पले हुत्याउँदा ऊ भ¥याङतिर लडेकी थिई । तिन दिनसम्मको भोक र प्यासले असमान्य अवस्थामा पुगे पनि ऊ बाँची । धेरैले भगवानको लीला भने । कसैले लोग्नेको मायाले उ बाँच्न सकी भने । तर धेरैजसोले बाउआमाको आँसु पुछ्न ऊ बाँचेकी हो भने ।
उसलाई केही दिनको उपचारपछि डिस्चार्च गरिँदै थियो । अस्पतालमा आफन्तको भीड लागेको थियो । अचम्म त यो बीचमा ऊ लोग्नेसँग एकपटक पनि बोलेकी थिइन । ऊ सबैजसो समय टोलाएर बस्थी । ‘यस्तो भवितव्यमा पनि लोग्नेसँग किन नबोलेकी होली ?’ आफन्तका बीचमा खासखुस नचलेको होइन । तर यसको रहस्य ऊ बाहेक कसैलाई पनि थाहा थिएन ।
घर जाने दिन भने ऊ प्रफुल्ल देखिई । ‘सायद आफू जन्मे हुर्केको घरमा जान पाउँदा उसमा खुसी फर्किएको होला ।’ सबैले उसको उज्यालो मुख देख्दा यस्तै सोचे । गाडी चढेपछि उसले आफ्नो लोग्नेलाई नजिक डाकी । के हुँदैछ भनेर सबैजना झिरिप्प जम्मा भए । उसले एक पटक सबैजनालाई हेरी र गम्भीर हुँदै लोग्नेलाई भनी– ‘ल, बाई ! कृष्णहरिजी ! म त बाबाको घर जाने भएँ । तपार्इं पनि आफ्नो घर जानु होला ।’
‘आफ्नो घर जानु होला रे !’ कृष्णहरिले स्वास्नीको भनाइ नबुझेर उही वाक्य दोहो¥यायो । अरूहरू पनि उसको भनाइको तात्पर्य बुझ्न नसकेर हैरान भए । ऊ वाल्ल परेर हेरेको हे¥यै भयो । केही समयको मौनतालाई तोड्दै उसकी स्वास्नीले फेरि भनी– ‘म मान्छेसँग मात्र प्रेम गर्छु कृष्णहरिजी ।’
‘अनि ! के म अब मान्छे पनि रहिन ?’
‘तपार्इंभित्र मान्छे होइन सैतानले बास गरेको रहेछ कृष्णहरिजी । जसले घरकी स्वास्नीलाई होइन अरू कसैलाई प्रेम गर्छ ।’
‘अरू कसैलाई प्रेम गर्छ !’ कृष्णहरि रातोपिरो हुँदै भकभकायो ।
‘हो कृष्णहरिजी ! भूकम्पको रात तपाईंको फोनमा गरिएको च्याट हेर्नुहोला । तपाईंको मोवाइलमा त्यो संवाद अझै पनि सुरक्षित हुनुपर्छ । अनि तिन दिन रिसोर्टमा बिताउँदाका तस्विर पनि अझै सुरक्षित होलान् ।’ उसले लोग्नेको अनुहारमा हेर्दै भनी । मानौँ उसले लोग्नेको हैन चोरको अनुहारमा हेर्दै छ ।
‘भूकम्पको रात म तिमीसँगको विछोडले अर्धचेत थिएँ । कोसँग गरेको संवाद हेरूँ मैले ।’ कृष्णहरिले सकभर आफूलाई इमान्दार देखाउने प्रयत्न गर्दै भन्यो । बाहिर त ऊ ठिकै देखिन्थ्यो । भित्र भने उसको सर्वाङ्ग चिसो भएको थियो । नजिकै आउँदै गरेको भयङ्कर त्रासदीको आशङ्काले ऊ यसरी गल्दै गएको थियो कि बोल्न पनि कठिन हुँदै थियो ।
मेरो जीवनमा भूकम्प एघार गते राती एघार बजेर छपन्न मिनट जाँदा गएको थियो कृृष्णहरिजी ।’ स्वास्नीले फेरि अर्को झटारो हानी ।
‘एघार गते ? त्यो पनि राती । तिमी होसमा त छौ ?’ कृष्णहरिले अलि टाठो आवाजमा प्रतिवाद गर्न खोज्यो । तर त्यो आवाज यति कमजोर प्रतीत हुँदै गयो कि मान्छेको सन्नाटामा तुरुन्तै गायब भयो । यसको ठाउँमा उसकी स्वास्नीको आवाज झनै बलसाली भयो । हुन त ऊ सुस्त सुस्त बोल्दै थिई तर उसका प्रत्येक शब्द बमजस्तै भयङ्कर आवाजमा पट्किँदै थिए ।
‘म पूर्ण होसमा छु ।’ उसले कृष्णहरिलाई एकटकले हेर्दै भनी । मानूँ लामो समयदेखि उसले लोग्नेलाई हेर्न पाएकी छैन । उसको हेराइमा रोषभन्दा पनि घृणा मिसिएको थियो । बोल्दै गर्दा उसका ओठ कहिले थरथराउँथे कहिले मुस्कुराउँथे । मुस्कान व्यङ्ग्यले भरिएको थियो । घृणा र व्यङ्ग्य मिश्रित अनुहार रापिएको थियो । उसले केहीबेर लोग्नेको अनुहारमा हेरी र फेरि भनी– ‘मेरो जीवनमा महा–भूकम्प बाह्र गते दिनको एघार बजेर छपन्न मिनेट जाँदा गएको थिएन । त्योभन्दा ठिक बाह्र घन्टा अघि गएको थियो । जतिखेर म तपाईंकी गर्लफ्रेन्डसँग च्याटमा थिएँ ।’
‘च्याटमा थिएँ !’
‘हो कृष्णहरिजी ! तपाईंको सेलफोनमा फेसबुक लग इन थियो । मलाई थाहा थिएन मान्छे यतिविघ्न नीच र बेइमान पनि हुनसक्छ भन्ने । उसले तपाईंलाई म्यासेज पठाएकी थिई । तर त्यसको प्रतिउत्तर मैले दिएँ र सारा रहस्य पत्ता लगाएँ । त्यो संवादले मेरो जीवनमा दश रेक्टरको भूकम्प गएको थियो ।’ ऊ यसरी बोल्दै गर्दा केहीबेर शान्त भई । उसलाई बोल्न पनि कठिन महसुस हुँदै थियो । सायद शारीरिक र मानसिक वेदनाले ऊ कमजोर भएकी थिई । तर पनि ऊ बोल्दै थिई । उसले लामो निश्वास छोडी र फेरि कृष्णहरिको अनुहारमा हेर्दै भनी– ‘भूकम्पले भत्किएको भन्दा चर्किएको घर बढी खतरनाक हुन्छ । चर्किएको घर आखिर छोड्नै पर्छ । हैन र कृष्णहरिजी ?’
‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय ! तिमीसँग संवाद गर्ने महिला तिम्रो दुश्मन पनि त हुन सक्छे ।’ कृष्णहरिले लत्रिएको स्वरमा आफ्नो बचाउ गर्दै भन्यो ।
‘हो, तपाईंले ठिक भन्नु भयो । त्यो मध्यरात मसँग संवाद गर्ने महिला मेरो दुश्मन हो भन्नेमा म पूर्ण सहमत छु । सौताभन्दा ठूलो दुश्मन महिलाका लागि अरू को नै हुन सक्छ र !’ उसले केहीबेर निवर्तमान हुँदै गरेको लोग्नेको अनुहारमा घृणापूर्वक हेरी र फेरि भनी– ‘भूकम्पले चर्किएको घर र सौता उस्तैउस्तै हुन् कृष्णहरिजी ।’
(नागरिक दैनिक ः जेठ, २०७२)