Madhab Sayapatri – Raato Phool

माधव सयपत्री – रातो फूल

देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ ।

हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा हुर्किएको एउटा धर्मजीव हो । ऊ त्यो सामाजिक संस्कारबाट बाहिर निस्कन सक्दैन वा चाँहदैन । उसलाई पनि धर्मकर्मप्रति असीम आस्था छ । ऊ त्यो आस्थाको धरहरा अझै ठड्याउन चाहन्छ ।

हितबहादुरलाई भगवतीको मन्दिरमा फूल चढाउनुछ । जसरी पनि चढाउनुछ । त्यसैले ऊ खल्तीमा रातोफूल बोकेर बिहानै मन्दिर परिसरबाहिर देखा परेको छ । कथित उपल्लो जातका मानिसहरु हितबहादुरको क्रियाकलापलाई हेरिरहेका छन् । उपल्लो जातकालाई हितबहादुर मन्दिर प्रवेश गरी मन्दिर अपवित्र पारिदिन्छ कि भन्ने संसय छ । हितबहादुरलाई मन्दिर प्रवेश गरी फूल चढाउनुछ ।

त्यहाँ एउटा द्वन्द छ । मन्दिर प्रवेश गर्न पाउनेको हठ छ– ‘दलितले मन्दिरमा पस्न हुंदैहुंदैन ।’ हितबहादुरको हठ छ– ‘जसरी पनि मन्दिरमा फूल चढाउनुछ ।’ त्यहाँ धर्मद्वन्दको अघोषित शीत युद्ध चर्केको छ ।

पुजारी मन्दिरको ढोकामा छ । ऊ हितबहादुर विश्वकर्मालाई कुनै हालतमा पनि मन्दिर पस्न नदिने पक्षमा छ । उपल्लो जातको मानिसको उर्दी छ– ‘हितबहादुरलाई फूल चढाउन नदिनू !’ हितबहादुर मन्दिरको पर्खाल वरिपरि घुम्छ । यसो मन्दिरभित्र चियाउँछ । अस्तिमात्र उसैले बनाएका त्रिशूल देवीको मूर्ति छेउमा गाडिएका छन् । सोच्छ– ‘ओ हो, मेरो पसिनाले बनाएको त्रिशूल देवीको मन्दिरमा सजिएका छन्, तर म भने कम्पाउण्ड छिर्न नपाउने ? कतिसम्मको अन्याय यो ! यो अन्याय सहेरै बसूँ । मैले सहेरै बसेँ भने म पछिका पुस्ताले पनि मन्दिर पस्न पाउदैनन् ।’ अलिकति बिद्रोह ।

हितबहादुर मन्दिरको पर्खाल पटकपटक परिक्रमा गर्छ । आज उसलाई आस्थाको फूल चढाउनुछ जसरी पनि । उसको गोजीको रातोफूल । ऊ गोजी छाम्छ– ‘अहो १ फूल ओइलाउन लागेको छ । ओइलाएको फूल देवीलाई के चढाउनु ।’

मान्छेहरु ठेलमठेल गरिहेछन् । उसको मनले भन्छ– ‘यै मौकामा सुटुक्क भित्र छिर्न पाए फूल चढाएर हिँडिहाल्थेँ । यी अधर्मीहरु के धर्म गर्छन् ! मनमा कालो ध्वाँसो बोकेर ।’ ऊ भीडसंगै ढोकाबाट छिर्न खोज्छ । ढोकामा पाले बसेका मानबहादुर शाही र दानबहादुर शाहीले उसलाई भकुण्ड्याउँछन् । ऊ मान्छेलाई लछार्दै चउरमा पल्टिन पुग्छ । केही बोल्दैन । मनमनमा भन्छ– ‘तेरिमा गधाहरु, मन्दिर यिनको मात्रै पेवा हो ? पख म एकदिन ।’

एक्कासि हितबहादुर माथि लाठी बर्सन्छन् । ऊ गुहार छोड्छ– ‘गुहार, गुहार १ बचाओ । मलाई मारे ।’ उसको आर्तपुकारलाई कसैले वास्ता गर्दैन । लाठामाथि लाठा, लात्तीमाथि लात्ती । दशपन्ध्र जनाले उसलाई लात्ती हानेर पालो पु¥याउछन् । ऊ थिलथिलो हुन्छ । त्यहाँ बस्न सक्दैन । चेतावनी दिएर हिड्छ –‘पख म मन्दिर नपसी छाडिदन । मन्दिर तिमर्को मात्रै हो !’ केही युवाहरु उसलाई लखेटेर पर पु¥याउछन् – मानौ ऊ खुँखार चोर हो, डाँका हो । रमिते केटाकेटी पनि उसलाई लखेट्दै पर पुग्छन् ।

हितबहादुर ज्यान बचेको महशुस गर्छ । गोजीको फूल हेर्छ । त्यो ओइलाइसकेको छ । वर बाटोबाटै फूल मन्दिरतिर फालिदिन्छ र कुढिएको मन लिएर घर फर्कन्छ ।

फूलपातीको दिन छ । सखारै एकगोजी रातो फूल बटुल्छ । आप्mना दुइटा केटाकेटी लिएर ऊ मन्दिरतिर लाग्छ । आफूले नसके केटाकेटीलाई मन्दिर छिराउने उसको अभीष्ट छ । ‘केटाकेटीलाई त कसैले पिट्दैन होला नि १’

अरु नपुग्दै मन्दिर पुग्छु भनेर सोचेको थियो तर ऊ पुग्दा पूजा थालिसकिएछ । आज पनि रातो फूल त्यसै फर्किने भयो । मन कुँडिन्छ । भारीभारी मन लिएर ऊ मन्दिर बाहिर देखा पर्छ । सबैका आँखा उसैतिर सोझिन्छन् । ढोकामा उनै मानबहादुर र दानबहादुर उभिएको देख्छ । दानबहादुर बोल्छ– ‘आज पनि मुन्टिएछ डाङ्ग्रो । यसका फिलाको मासु नझारेसम्म नचेत्ने भो । कामीले मन्दिरभित्र पस्नु हुँदैन भन्ने यसलाई थाह छैन । हिकाहा कहाँको ? पवित्र मन्दिर अपवित्र पार्ने यसको हरकत । आज यो बाँचेर जाँदैन ।’

हितबहादुर ओइलाउँछ । उसको गोजीको रातो फूल ओइलाउँदै गएजस्तै । हितबहादुर नदीपट्टि फर्किन्छ । गोजीबाट रुमाल झिक्छ र मुख बाँध्छ । मुख छोपेपछि कसैले चिन्दैनन् भन्ने छ उसलाई । केटाकेटीलाई वरै राखी ऊ मन्दिरछेऊ जान्छ । हुलमुलभित्र पस्छ । पर्खालको ढोकामा पुग्छ । ठेलिएर कम्पाउण्ड छिर्छ ( ‘आज त फूल चढाउँछु, चढाउँछु’ उसको दृढता मनमनै बोल्छ । उसलाई फूल चढाउनुछ । झगडा गर्नु छैन । गल्फती गर्नु छैन । धर्मको धरहरा उँचो बनाउनुछ ।

कसैको लात्तीले ऊ मन्दिर कम्पाउण्डमा ढल्छ । दानबहादर र मानबहादुर मन्दिरबाट उसैले बनाएका त्रिशूल लिएर आउँछन् । निदर्यी जीवहरु उसलाई त्रिशूलले घोच्न थाल्छन् । मन्दिर परिसरमा खैलाबैला मचिन्छ । सुनिन्छ– ‘हिते डाङग्रो मन्दिरमा आएछ । नकचरोलाई हान् हान् !’ भीड उत्तेजित बन्दै जान्छ । निरंकुश बन्दै जान्छ । धेरैले उसलाई मुक्का बजाउँछन् । ऊ बोल्छ– ‘मलाई एक पटक फूल चढाउन देऊ । मेरो रातो फूल ओइलियो । मेरो आत्मा भतभती पोलेको छ । म रातो फूल चढाउछु ।’

उसको अनुनयले कसैको हृदय पग्लिदैन बरु कठोर पाषाण बन्छ । एउटा बोल्छ– ‘यतिको सडेको डाङ्ग्रोलाई त यहीं मारेर बगरमा गाड्न सकिन्छ ।’ हितबहादुरको मन आगोमा रापिन्छ । विद्रोह उब्जिन्छ । ‘ए पाजीहरु हो १ मन्दिर तिर्मेको मात्रै हो ? लेउ मेरो त्रिशूल, म लैजान्छु । ’

ऊ माथि त्रिशूलका भाला बर्सिन्छन् । दानबहादुर र मानबहादुरले उसलाई त्रिशूलले छेड्न थाल्छन् । उसको शरीरबाट भलभली रगत बग्छ । आवाज आउँछ– ‘ठिक पा¥यौ भाइ, मातेको डाङ्ग्रालाई । यसलाई त मार्नै पर्छ ।’ ऊ चित्कार छोड्छ– ‘ठूले मलाई बचा । तँ भित्र आइज न ।’ छोराहरुले बाउको चित्कार सुन्छन् । उनीहरु कता जाऊँ र कसो गरुँ गर्छन् । मन्दिरतिर कुद्छन् । हिबहादुरको शरीर बाहिर फ्याँकिन्छ । बाउको शरीर छोराहरुमाथि बज्रिन्छ । उनीहरु पनि ढल्छन् ।

मालबहादुर त्रिशूल लिएरै बाहिर आउँछ र भुँडीमा घोच्छ । ठूले डराउँछ– ‘गुहार, गुहार, बालाई मारे !’ उसको शरीरमा त्रिशूल रोप्ने क्रम जारी छ । दानबहादुर आउँछ, अर्को त्रिशूल ढाडमा रोप्छ । केटाकेटीलाई लघार्दै पर पु¥याउँछन् । –‘तिमीहरुलाई मर्न मन छ ?’

हितबहादुर सासले– ‘रातो फूल, देवी, मन्दिर’ भन्दैछ । त्रिशूल रोपिदैछ । टाढा आँखा हेरेर हितबहादुर अन्तिम सास फेर्छ । सबै भागाभाग गर्छन् । दानबहादुर र मालबहादुर मात्रै बाँकी रहन्छन् । हितबहादुरको लास घिसार्दै बगरमा लगी गाड्छन् । उनीहरु पनि भाग्छन् । मन्दिर सुनसान बन्छ । पुलिस आउँछ । लास खोतल्छ र पोष्टमार्टम गर्न लैजान्छ ।

अष्टमीको दिन बिहान मन्दिर जानेहरुले देख्छन्– मन्दिर त खरानी र अँगारको थुप्रोमा बदलिएछ । उता बगरमा हितबहादुरको रातो फूल ओइलाएर सुुक्नै लागेको देखिन्छ । पूरै गाउँ भय, त्रासले आतङ्कित बन्छ । मान्छे मरेको भन्दा पनि मन्दिर जलेको पीडाले गाउँलेको मन जलिरहेको छ ।

Madhab Sayapatri – Khadal

माधव सयपत्री – खाडल

म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा भयो मैले थाहा पाइनँ। चिया पिएपछि उनीहरू गए। उनीहरू गएपछि बुबा-आमाले मलाई बैठकमै बोलाउनुभयो। बुबाले सोध्नुभयो, ‘सरु, केटा तिमीलाई कस्तो लाग्यो त ?’मैले भनें, ‘अनुहार हेर्दैमा मानिस चिनिन्छ र ? मेरो विवाहको कुरा अहिले नठाउनुहोस् बुबा ! म एम.ए. नसकी विवाह गर्दिनँ।’ बुबाले दबाबको भाषा बोल्नुभयो, ‘धनीमानी र सभ्य परिवारको केटा माग्न आएका बेला पनि मानिनौ भने हरिकङ्गालसँग परौली, विचार गर। तिमी कति पढ्छ्यौ, पढाउने जिम्मा उहाँहरूले नै लिनुभएको छ।’ आमाले केटाका परिवारका विषयमा सामान्य सोधपुछ गर्दा बुबाले भन्नुभयो, ‘तिमीलाई भन्दा मलाई छोरीको बढी चिन्ता छ। त्यस्तो राम्रो परिवार खोजेर पनि पाइँदैन।’

बुबाको त्यो छोटो उत्तरले आमा प्रत्युत्तरविहीन हुनुभएको थियो। एकछिनपछि आमाले भन्नुभयो, ‘छोरीले जिन्दगी बिताउने घर र केटाका बारेमा राम्रोसँग बुझ्नुपर्छ।’ बुबाले कडा उत्तर दिनुभयो, ‘आइमाई धेरै जान्ने भएको सुहाउँदैन। मैले सबै बुझिसकेँ।’ आमाको मुखमा बुझो लाग्यो। बुबाको विश्वास नगर्नु यो पुरुषप्रधान समाजमा पाच्य हुँदैनथ्यो। आमाले पराइघरमा गएपछि गर्नुपर्ने सबै कामका विषयमा मलाई बताउनुभयो।

अन्त्यमा मेरो विवाह भएरै छाड्यो। बुबाले आडम्बरी समाजमा इज्जतको सगरमाथा अझ अग्लो बनाउनुभयो। धक फुकाएर दाइजो दिनुभयो।

नयाँ घरमा आएपछि सुरुदेखि नै मलाई आफू ठूलो खाडलमा जाकिएझै लागेको छ। यो खाडलबाहिरको संसार सोच्नु पनि मेरा लागि असम्भवजस्तै भएको छ। मेरा बुबा सोच्नुहुँदो हो, ‘छोरीलाई राम्रो परिवारमा जिम्मा लगाएँ।’ मैले आजसम्म राम्रो र नराम्रोको भेद पाउन सकेकी छैन। म राम्रो र सभ्य परिवार भनाउँदाबाटै प्रताडित भैरहेकी छु। यस्तो पनि सभ्यता हुन्छ ? यस्ता मान्छेलाई पनि सभ्य भन्छन् ?

परिवारका सबै सदस्य पढे-लेखेका छन्। सासूबाहेक सबै स्नातकमाथि। सभ्य परिवार भनाउँदो यो जमात अचम्मकै छ। हरेकमा फरक-फरक किसिमको घटिया स्वभाव छ। ससुराले शिक्षण पेसाबाट अवकाश लिनुभएको छ। सासूले पनि आइ.ए. गर्नुभएको छ। नन्दहरू स्नातकोत्तर सकेर विद्यावारिधिको तयारीमा छन्। मेरा श्रीमान् समाजशास्त्रमा स्नातकोत्तर गरी सामाजिक क्षेत्रमा काम गर्ने एउटा एनजिओ प्रमुख हुनुहुन्छ। उहाँ सरकारी अधिकृतका लागि लोकसेवाको तयारी गर्दै हुनुहुन्छ।

आर्थिक रूपमा पनि परिवार सम्पन्न छ। मान्छेपिच्छे बाइक र स्कुटर छन्। सबैसँग ल्यापटप छन्। हातमा महँगा आइप्याड छन्। सुन-चाँदीको त के कुरा ? एउटा कार र एउटा ल्यान्डक्रुजर जिप छ। सहरको केन्द्र भागमा तीनवटा बंगला छन्। घरमा काम गर्ने मान्छे तीनजना छन्। भान्साको काम गर्ने एउटी केटी छे। किनमेल र बाहिरी काम गर्ने एउटा केटो छ-गोपाल। लुगा धुने, फूलबारीमा पानी हाल्ने, गोडमेल गर्ने अर्को केटो छ-रामु।

भान्से केटीको नाम सुमित्रा हो। ऊ लोग्नेसँग कुरा नमिलेर छोडपत्र गरी हाम्रोमा काम गर्न आएकी रै’छ। ऊ मलाई बेलाबेलामा लोग्नेमान्छेको स्वभावका बारेमा बताउँछे। उसमा लोग्नेमान्छेप्रति घृणा रहेछ। लोग्नेका कारण ऊ सबै लोग्नेमान्छेहरूलाई गोमन साँपजस्तै देख्छे। मलाई भने सुमित्रा ज्यादै राम्री लाग्छे-अनुहार र व्यवहारमा पनि। होइन, कस्ता स्वास्नी पाए लोग्नेमान्छे खुसी हुन्छन् हँ ? उनीहरू मात्र खुसी भए पुग्ने रहेछ ? स्वास्नीचाहिँ खुसी हुनु नपर्ने ? के स्वास्नीमान्छे झुम्राका पुतली हुन् र ? लोग्नेसित सुत्न पाउनु मात्र स्वास्नीमान्छेको सबै कुरा हो र ?

सुमित्राको कुराले अझ नमीठो अनुभव भएको छ। मुखमा रामराम बगलीमा छुरा धस्ने यी कृतघ्न पुरुषप्रति म पनि क्षुब्ध छु। मेरा श्रीमान् भन्नुहुन्छ, ‘आइमाईको आँसु आत्मसमर्पणको प्रतीक हो।’ कति तल्लो स्तरको सोचाइ ! चाहे भने आइमाईले आफ्नो हातमा बम र बन्दुक बोक्न सक्छन्। प्रमाण यिनीहरू सामु छैन र ?

मेरो परिवार ठालु पृष्ठभूमिको छ। म पनि यस्तै परिवारकी बुहारी हुँ। मैले यस्तो कुरा गर्नु सान्दर्भिक नहोला, तर यो घरको व्यवहार मलाई पटक्कै मन परेको छैन। सायद यो दृष्टिकोणको भिन्नता होला। ठालुहरू ब्वाँसो चरित्रका हुन्छन्। बाहिर-बाहिर मीठा कुरा गर्ने, भित्रभित्र आन्द्राभुँडी झिक्ने।

म सुरुमा बेहुली भएर भित्रिएको केही दिनपछि सुमित्राले आफ्नो मनको बह पोखेकी थिई। उसको बेलीबिस्तार सुन्दा मेरो जिउभरि काँढा उमि्रएका थिए। लागेथ्यो, म काँढाको ओछ्यानमा काँढै ओढेर सुत्दैछु। सुमित्राले भनेको र मेरा श्रीमान्ले मलाई गरेको व्यवहार सतप्रतिशत मिल्यो। साँच्चै लोग्नेमान्छे अचम्मका हुँदा रहेछन्। कुनै कुरा श्रीमतीसित खुलेर नगर्ने, रहस्यमय। मनको कुरा चाल नपाइने। के गर्दैछन्, थाहै नपाइने। कामकुरा बिगि्रयो भने श्रीमतीलाई दु:ख दिने।

जसरी सुमित्रा लोग्नेको प्रताडना सहन नसकेर परिवारमा विद्रोह गरी बाहिरिई त्यसरी नै म पनि विद्रोह गर्न सक्दिन र ? म पनि पढेलेखेकी मान्छे। एउटा पेट त पाल्न सक्छु। भलै यो परिवार र समाज लोग्नेमान्छेकै बिर्ता भएछ रे, नारीले परिवारमा विद्रोह गरी भने लोग्नेमान्छेले भात होइन चामल खानुपर्ने अवस्था आउँछ।

मेरो बुबाको हठको कारण मैले आज कत्ति पनि खुसी महसुस गर्न सकेकी छैन। समाजको अगुवा भएर पनि परम्परागत मान्यताप्रति आफ्नो दृष्टिकोण छैन मेरा बुबामा। आमाले ‘छोरीले जिन्दगी बिताउने घर राम्रोसँग बुझ्नुपर्छ।’ भन्दा बुबाले टेरपुच्छर लगाउनुभएन। बुबाकै अभिमान र आडम्बरको सिकार भएकी छु म। नराम्रोसँग खाडलमा जाकिएकी छु। स्वनिर्णय गर्न सक्ने अवस्थामा पनि छैन। म सधैँ कथित सभ्य श्रीमान्बाट वैध बलात्कृत भैरहेकी छु।

समाज, संस्कृति, मूल्य, परम्परा धान्ने निहुँमा जडसंस्कारलाई प्रोत्साहन दिनु कति मूर्खता हो ! समाजशास्त्र पढेको भए पनि मेरा श्रीमान्को बुझाइ पश्चगामी छ। सासू-ससुरा त पुराना मान्छे, उनीहरूको नसा-नसामा परम्पराको रगत बग्नु कुनै नौलो कुरा होइन। तर त्यत्रो पढेको मान्छेको विचार कति निकृष्ट ? मैले ‘सामाजिक संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्छ।’ भन्दा जवाफ आयो, ‘तिमी धेरै जान्ने नहोऊ है ! पोथी बासेको सुहाउँदैन।’ सधैँ मेरो खाँचो हुने तर मेरा कुरा एउटा कानले पनि सुन्न नचाहने। कस्तो स्वभाव ?

लाग्छ, मेरा श्रीमान्भन्दा फूलबारीमा काम गर्ने गोपालको विचार निकै उन्नत छ। उसले कम पढेको छ, सम्पत्ति छैन। सम्पत्ति र पढाइले मात्र विचार बदल्न सक्दो रहेनछ। आहालको पानीझै सडेर गन्हाएको अकूत सम्पत्तिले के गर्नु ? मभन्दा सुमित्रा धेरै खुसी छे। सम्पत्तिवालकी श्रीमती भएर पनि मेरो विचारमा खिया लाग्दै गएको छ। विवाह नहुँदासम्म ममा जुन उन्नत विचार थियो, त्यो आज करिब-करिब मरिसकेको छ। विचार मर्नु भनेको वैचारिक रूपले मान्छे मर्नु हो।

बिहान झिसमिसेमै उठेर श्रीमान्का खुट्टामा टाउको जोताउनुपर्ने। खाना खानुअघि उनको खुट्टाको पानी खानुपर्ने। श्रीमान्को जूठो खानुपर्ने। यही हो त नारी अधिकार र समावेशिताको नमूना ? फोहोर कुल्चिएको खुट्टाको पानी खानु कति जायज छ, कसैले विश्लेषण गर्दैनन्। गर्छन् त केवल फलानाकी स्वास्नीले श्रीमान्का खुट्टाको पानी खान्छे कि खान्न ? घिनलाग्दो गरी मुछेको जूठो भात खान्छे कि खान्न ?

ज्यादै दिगमिग लागेपछि मैले एकदिन मुख खोलेँ, ‘हजुर, म खुट्टाको पानी खान्न। अचाउँछु मात्र। खुट्टाको पानी खाँदा मात्र माया गाढा हुने हो र ?’ उहाँले भन्नुभयो, ‘त्यसो भनेर कहाँ हुन्छ ? आमाले सधैँ चियो गर्नुहुन्छ। फेरि लोग्नेस्वास्नीको सम्बन्ध केमा नै रह्यो र’ मैले अलि कडा प्रतिवाद गरेँ, ‘मैले मेरो शरीर तपाईंलाई सुम्पिएकै छु। भएभरको माया दिएकै छु। अब हजुरलाई कस्तो माया र सम्बन्ध चाहियो ?’ मेरो प्रतिवादले उहाँको पुरुष अहम्मा ठूलै चोट परेछ। भन्नुभयो, ‘बढी जान्ने हुने होइन है सरु इष्टमित्र र जोरीपारीले के भन्लान् ?’

कसले के भन्छ भन्दा पनि के ठीक र के बेठीक पो हेर्नुपर्छ। यो धर्मभीरु समाज र जीर्ण संस्कारलाई मलजल गरिरहने ! अरू त ठीकै छ, खुट्टाको पानी खानुपर्ने र इच्छाविपरीत लोग्नेमान्छेको खेलौना बनिदिनुपर्ने कुराले मलाई ज्यादै पीडाबोध भएको छ। मन कुँडिएपछि भौतिक सम्पन्नताले केही राहत दिँदो रहेनछ। आहत पार्दो रहेछ। बेलुका सधैँ उनको खुट्टामा तेल दल्नुपर्ने, सिँगारपटार गरेर चिरिच्याट्ट बनी ओछ्यानमा जानुपर्ने। श्रीमान्चाहिँ चुरोट र रक्सीको उबि्रगन्ध छाड्दै मसँग लपेटिने !

मैले एक रात भनेँ, ‘हजुर, यता सुन्नुहोस् त।’ उहाँ बोल्नुभयो, ‘के भन्नु छ, भन।’ मैले भनेँ, ‘नारी पुरुष बराबरी भन्छन्, व्यवहारमा त्यो देखिएन। अब हामी यो समाजकै उदाहरण बनौँ। हजुरको खुट्टा म मिच्छु, मेरो खुट्टा हजुर मिच्नुहोस्। घरको काम पनि हामी दुवै मिलेर आधा-आधा गरौँ।’

मेरो वचन भुइँमा खस्न नपाउँदै उहाँले मेरो केश जगल्ट्याउनुभयो। ढाडमा लात्ती जम्यो। म खाटबाट लडेँ। उहाँले दराजबाट हि्वस्की झिकेर पिउनुभयो। बर्बराउँदै श्रीमान् बाहिरिनुभयो। म झन्झन् गहिरो खाडलमा जाकिँदै छु। किन-किन हिजोआज मलाई गोपालसँग मन खोलेर कुण्ठा पोख्न मन लागेको छ।

श्रावण १, २०७१

(स्रोत : कान्तिपुर – नारी मासिक)

Madhab Sayapatri – Aafno Aafno Kaam [Nepali Baal Katha]

माधव सयपत्री – बाल कथा : आफ्नो आफ्नो काम

‘दिदी, हेर्नुस् त, कमिलाको ताँती। भित्तामा कमिला, भुइँमा कमिला। जताततै कमिलैकमिला। यी कमिला कहाँ जान हिँडेका होलान्?’ दमनले सोधे। दीक्षाले भनिन्, ‘उनीहरूको पनि आफ्नो काम हुन्छ नि भाइ, हेर न, कसरी मिलेर काम गर्छन् कमिलाले।’

दीक्षा र दमन टहरोमा बसी दसैँ बिदाको होमवर्क गर्दै थिए। भूकम्पले घर भत्काइदिएपछि बाबाले बारीको पाटामा जस्तापाताको टहरो बनाउनुभएको थियो। भित्तामा कमिलाको ताँती थियो। कमिलाको लर्को परसम्म पुगेको थियो। दमनले छेस्कोले कमिलाको ताँतीमा छोइदिए। कमिला तितरबितर भए। फेरि ताँती मिलेर हिँडे। अर्को पटक पनि छोइदिए। कमिला यता र उता भए। केही छिनमा कमिला ताँतीमै मिले।

दमनले भने, ‘म सबै कमिला भगाइदिन्छु। यी कमिला हामी बस्ने ठाउँमा किन आएका?’ दीक्षाले सम्झाइन्, ‘हामी बस्ने ठाउँमा कमिला आएका होइनन्। उनीहरू बस्ने ठाउँमा चाहिँ हामी आएका हौँ। टहरो बनाउनुअघि कमिला कहाँ बस्थे, हामीले याद गरेका थियौँ?’

दमनले दिदीले भनेको टेर्दै टेरेनन्। उनले कमिलाको ताँती छोइदिएर खाटमा आए। होमवर्क गर्न लागे। दिदीले भनिन्,
‘तिमी कमिलासँग धेरै नजिस्क है १ तिनीहरू रिसाइसके।’ उनले भने, ‘जाबो कमिला रिसाएर के हुन्छ र? मिचेर सबैलाई मारिदिन्छु म।’ दिदीले भनिन्, ‘ल ल, सबै कमिला भागिसके। छिटो लेख। भात खाने बेला भैसक्यो।’

ल मार्‍यो है १ कमिलाको ताँती त खाटमै आएछ। कमिला कापीमै चढ्न लागे। कापीमा कमिला देखेर दमन झनै रिसाए। ‘लौ न दिदी, कमिलाले हामीलाई साह्रै हेपे। यिनीहरूलाई तपाईं तह लगाउनु न। जे गरे पनि कमिलाले खेदो गर्न छाडेनन्।’

दिदीले भनिन्, ‘कमिलाले हाम्रो खेदो गरेका हैनन्, हामीले कमिलाको खेदो गरेका हौँ। सबै जीव जनावरहरूलाई यो पृथ्वीमा बस्ने अधिकार छ। उनीहरूको अधिकार हामीले मिचेका हौँ। भन त भाइ, कमिला, कीराफट्यांग्रा बस्ने ठाउँमा हामीले टहरो बनाइदिएपछि उनीहरू कहाँ जान्छन्?’

दमनले ठुस्स परेर भने, ‘दिदी पनि कमिलातिरै लाग्नुहुन्छ। भन्नुस् न, अब कमिलालाई खाटबाट कसरी हटाउने? यिनीहरूले हामीलाई टोक्छन्।’ दिदीले भनिन्, ‘कमिलालाई चलाउनु हुँदैन। यिनीहरूले हामीलाई केही गर्दैनन्। कमिला आफ्नो बाटो हिँड्छन्। हामी आफ्नो बाटो हिँडौँ। कमिलालाई हटाउने हैन, हामी हट्नुपर्छ।’ दमनले भने, ‘आ, दिदी पनि जिस्किनुहुन्छ। हामी हटेर कहाँ जाने? कमिलासँग पनि डराएर भाग्ने?’ दिदीले भनिन्, ‘हामी एकछिन बाहिर गएर बसौँ। कमिला कता जाँदा रैछन्।’

दीक्षाले भनेको दमनले मानेका थिएनन्। दीक्षाले भाइको हात समातेर बाहिर ल्याइन्। दुवैजना खेततिर गए। खेतको आलीमा बसेर दिदीले भनिन्, ‘भाइ, उ: त्यो कान्लामा राम्ररी हेर। अनि भुइँमा पनि हेर।’ दमनले भने, ‘किन र दिदी? के छ त्यहाँ? म हेर्छु है त १’

दमनले खेतको कान्लामा हेरे। भुईंतिर पनि हेरे। उनले त्यहाँ कमिला र अरू कीरा देखे। उनले भने, ‘यहाँ पनि कमिला, कीराफट्यांग्रा मात्रै छन् दिदी। मलाई किन कान्लो र भुइँ हेर्न लगाएको तपाईंले?’ दिदीले भनिन्, ‘अब तल्लो कान्लामा पनि गएर हेर। अनि म भनुँला।’

दमनले तल्लो कान्लामा गएर हेरे। गह्रातिर पनि हेरे। त्यहाँ पनि कमिला, कीराफट्यांग्रा देखे। उनले भने, ‘हैन दिदी, कमिलाहरू जहाँ पनि हुँदा रैछन् त १’ दिदीले भनिन्, ‘हो, सबै जीव जनावरलाई यही जमिनमा बस्ने अधिकार छ। हामीले रिस गरेर हुँदैन।’ दमनको चित्त बुझ्यो। उनले भने,

‘हो रैछ दिदी। टहरोमा कमिला आउँदा हामीले उनीहरूको रिस गर्न नहुने रहेछ। ल, अब टहरोमै जाऊँ।’

उनीहरू टहरोभित्र पसे। खाटमा कमिला थिएनन्। भित्तातिर ताँती लागेर हिँडिरहेका थिए। दिदीले सोधिन्, ‘खाटमा कमिला छन् त भाइ?’ उनले भने, ‘छैनन् दिदी। खाटबाट झरेर भित्तातिर गैसकेछन्। अब म कमिलालाई चलाउँदिनँ दिदी। उनीहरू आफ्नो काम गर्छन्। हामी आफ्नो गरौँ।’

भाइका कुरा सुनेर दिदी मुसुक्क हाँसिन्। दिदीभाइ आफ्नो काम गर्न लागे। कमिला पनि आफ्नो काम गरिरहेका थिए।

प्रकाशित: पुस ५, २०७२

(स्रोत :कान्तिपुर – कोपिला )

Madhab Sayapatri – Yesari Bhatkiye Kabi Ji

माधव सयपत्री – यसरी भत्किए कविजी

अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् र मसित अन्तरङ्ग कुरा गर्न पनि भ्याएका छन् । बाइक हकाइबाट थाहा लाग्थ्यो– उनी एक कुशल, अभ्यस्त बाइक चालक हुन् ।

त्यो दिन कविजीले मलाई आफ्नै घरमा बोलाए नरेफाँटमा । एकचोटि मात्र म उनको घरमा गएको थिएँ । घर पत्तो लाग्दैन न कि भन्ने संशयबाट मैले बेलैमा मुक्ति पाएँ । एउटा मन्दिर मेरो तारो थियो । त्यही मन्दिरलाई ताकेर गएँ । सजिलै भेटेँ कविजीको कवि निवास ।

छायाँजी अत्यन्त सरल लाग्छ मलाई । अघिल्लो भेटमा महेशजी र छायाँजीको उमेर सोध्दा जुन अन्तराल सुने मैले, मैले जिज्ञासा राखिहाले । उनले जीवनमा एकपटक भत्किएको कुरा गरे । मैले कविजीको व्यञ्जनासय राम्ररी बुझिन । सुनेको चाँहि थिएँ महेशजीको दोश्रो घरजम हो यो । तर पहिलेको को थियो । कविजी कसरी र कति भत्किए मलाई पत्तो थिएन । जब कविजीले दुईघण्टा लामो हाम्रो बसाईमा उनको फाइल मलाई पल्टाइदिए तब मैले थाहा पाएँ– कविजीलाई कस्ले भत्काएछ, कसरी भत्किएछन्, कति भत्किछन् सबै कुराको जानकारी भयो मलाई ।

यसपालि कविजीले आफ्नो भत्किएको भौतिक संसारलाई पूनसम्भार गरेछन् । कोठा चोटा व्यवस्थित पारेछन् । सानो घरमा कम्पाउण्ड घेरेछन् । उनले सूर्तीमा माडिएको चुना उडाउँदै भने– “माधव जी आफ्नो जग्गा कति छ थाहा पाउन पनि कम्पाउण्ड लगाउन बाध्य भएँ । चोरको उपस्थिति बाक्लो छ यहाँ, उहाँहरुलाई दुःख नहोस् भनेर पनि कम्पाउण्ड र गेट बनाउनै प¥यो ।” म हाँसे । त्यसपछि कविजी हाँस्नुभयो । अलि पर छायाँजी हाँस्नुभयो । चोरलाई पनि कति आदर गर्दा रहेछन् कविजी । साँच्चै, चोरीकाम अपराध भए पनि काम त साहसी नै हो नि ।

छायाँजीको हातको मीठो चियापछाडि उनले मलाई यसपालिका छायाँ प्रकाशनबाट प्रकाशित मूल्यवान पुस्तकहरु थिए । मानौँ मैले एकतोला सुन पाएँ । खुशी हुँदै झोलामा हाले । बिहान मात्र कवि ठाकुर बेलबासेले रमेश श्रेष्ठको कविता सङ्ग्रह ‘अक्षरको खेत‘ र गीता पन्तको ‘साँझ ढलेपछि‘ दिएका थिए । अघिल्लो दिन नकुलजीले दिएका बगर र नदीको शृङखलाहरु पनि झोलामा हालेको थिएँ । झोलैमा थिए । महेशजीले ‘स्रष्टा र सिर्जना’, ‘म को हुँ’ दिएपछि मेरो झोलाको भार बीस किलोबाट मास्तिरै गयो । झोला चुँडिएला, भत्किएला भन्ने डर लाग्यो । ओ हो ! भत्काइ पनि फरक फरक । महेशजीलाई घर व्यवहार तहसनहस भई भत्किएको पीर । मलाई त्यो दिन झोला भत्किएला कि भन्ने पीर ।

कविजीले खाजा नखाई उम्किनै दिएनन् । उनले भने ‘आज म तपाईलाई कताकता जानुछ त्यतैत्यतै पु¥याइदिन्छु । गाउँको स्रष्टा आउनु भएको छ । अनि तपाइँ कथा लेख्नुहुन्छ, तपाइँलाई कथा लेख्न एउटा ‘टिप्स’ दिन्छु ।’

मलाई बढी नै खुशी लाग्यो । घुम्न पनि पाइने । एउटा कथा पनि जन्मने, त्यै पनि कवि महेश प्रसाईको सौजन्यबाट । त्यसैले पनि म उनले जाउँ नभनुन्जेल बसी रहेँ ।

महेशजी उठे, छायाँजीसँग बिदा माग्न बिर्सिएछु । छोरी अभिलाई भने एउटा बालउपन्यास उपहार छाडिसकेको थिएँ । महेशजीले बाइकमा जीवन दिए, चढ्न संकेत गरे । म चढेँ । उनले आफ्नो बाइकलाई एयरपोर्टतिर मोडेर केएमसी हुँदै पुरानो बानेश्वर पु-याए । बिजुली शुल्क असुली अड्डामा छिराए । टोकन लिए उनले र शुल्क बुझाउन समय पर्खे । अड्डामै उनका साथीले चिया खुवाए । त्यहाँ पनि भत्कनु–बन्नुको चर्चा चल्यो । त्यो चर्चा चाँहि सरकार र राजनीति लक्षित थियो । भारतको चुनावको परिणाम बाहिर नआई यहाँ सरकार बन्दैन । काम चलाउ सरकारले नै काम चलाइरहन्छ । त्यहाँका एक वरिष्ठ कर्मचारीको राजनैतिक भविष्यवाणी थियो त्यो । म चुप रहन सकिन । प्याच्च बोलिहालेँ– ‘राजनीतिमा भविष्यवाणी समयसापेक्ष हुँदैन । राजनीतिमा सम्भावनाको अन्त पनि हुँदैन । जे पनि हुन सक्छ ।’ ती कर्मचारी मलाई हेरेर महेशजीतिर राजनैतिक विश्लेषणमा लागे ।

हामी छिट्टै उठ्यौँ । कविजीलाई एउटा कम्प्युटर चाहिएको रहेछ, त्यै पनि छोरीलाई । मलाई कविजीले भने– ‘माधवजी तपाईं कम्प्युटर पसल हेर्दै गर्नुहोला ।’ उनको तीव्र गतिको बाइकमा बसेर कतिबेला मैले साइन बोर्ड पढ्न भ्याउनु । मैले कम्प्युटर पसल देखिन । तीनचार ठाउँमा त टी. भी पसलमा पो म झुक्किएछु । त्यहाँ मेरै आँखा भत्किएछन् अथवा एउटा गाउँलेले टी.भी र कम्प्युटर छुट्टयाउन नसकेर त्यस्तो भएको हो ।

पुतलीसडक नपुगी खास्सा कम्प्युटर सोरुम भेटेनौँ । कम्प्युटर सोरुम देखेपछि कविजीले बाइक रोके र मलाई ओर्लिन संकेत गरे । म ओर्र्लिएपछि उनले बाइकलाई पार्किङमा राखे ।

उनी र म सोरुममा पस्यौँ । क्याटलग माग्यौँ । दियो पसलेको कारिन्दले तर फसाद प¥यो । एउटा कम्प्युटरलाई पूरा जिउँदो बनाउन के के चाहिन्छ त्यैत्यै सामानमा चिनो लगाउनु पर्ने रहेछ । उनी सहरबासी, प्रशस्तै पुस्तक निकालेका, प्रकाशकलाई समेत त्यस सम्बन्धी ज्ञान रहेनछ । म त दूरबस्तीमा, सल्लाको फेदमा विद्यार्थीलाई धुलौटोमा अक्षर कोर्न सिकाउने मास्टर न परेँ । कम्प्युटर चलाउन त के माउसमा हातै नपुगेको । मैले के आइडिया दिने कविजीलाई । तैपनि भनेँ– ‘महेशजी, तपाईंलाई पनि यस सम्बन्धी ज्ञान त्यति रहेनछ । एकजना कम्प्युटरमा दख्खल भएको साथी लिएर मात्र कम्प्युटर हेरे राम्रो होला कि !’

मेरो सल्लाह, सुझावलाई उनले पोजिटिभ्ली लिए र भने ‘ठीक भन्नु भो माधवजी, कम्प्युटर किन्दा मुर्गा भइन्छ । ज्ञानै नभएको विषयमा हात हाल्नु ठीक छैन ।’ क्याटलग बोकेर हामी भोलि आउने बाचा गरी निस्क्यिौ ।

मलाई त कविजीबाट कथाको प्लट चाहिएको थियो । कविजीले बिर्सन्छन् कि भन्ने संशय प¥यो तर उनैले प्रस्ताव राखे– ‘माधवजी, चिया पिऔँ । आउनुस् उ त्यो रेस्टुरेन्टमा जाउँ । उनैले रेस्टुरेन्ट छाने । हामी गयौँ । वेटरले मेनु तेस्र्यायो । मेनुसेनुको हामीलाई वास्ता परेन । कविजीले चिया अर्डर गरे । चिया नआउन्जेल कविजीले भत्किने र बन्ने दार्शनिक कुरा गरे । भने– ‘हेनुस् माधवजी, भत्कनु र बन्नु एउटा क्रम हो । भत्केपछि बन्न सुरु भैहाल्छ अथवा परोक्ष कतै बन्दै गरेको हुन्छ । एकपटक म भत्किएँ, तर म अहिले मानसिक र भौतिक दुवै रुपले मेन्टेन हुँदैछु । तपार्इं पनि भत्कनु भएको छ । प्रकाशकले तपाईंलाई नराम्ररी भत्काइदिएका छन् । गाँस काटेर तपाईं पुस्तक निकाल्न प्रकाशकलाई पैसा दिनुहुन्छ । कति पटक तपाईंका पुस्तक छापिन्छन त्यो कुरा तपाईलाई के थाहा । उल्टो आफ्नै किताब किनेर बाड्नुहुन्छ । सके बेच्नुहुन्छ र पैसा प्रकाशकलाई नै ल्याइदिनुहुन्छ । तपाई भत्कनु हुन्छ । माधवजी, त्यो मात्र सबै कुरा हैन नि ! प्रकाशकले तपाईंलाई जति भत्काए पनि तपाईं बन्दै हुनुहुन्छ । प्रकाशक पैसाको उचाइले चुलिन्छन् । तपाईंका कथाहरु सबैतिर पुगिरहेका हुन्छन् ।’

वेटरले चिया ल्यायो । पिउन थाल्यौँ । महेशजी फेरि बोले ‘सारा समस्याको निदान गर्ने बोधिवृक्षको जरा राजनीति नै दिनहुँ भत्किरहेको छ त अरु कुरा वा हामी भत्कनुमा कुनै नौलो कुरै भएन ।’

मेरो आशय वा चाहना ओझेल पर्न लागेको ठानेँ मैले र भनिहालेँ– ‘कविजी मलाई कथाको टिप्स खै त !’ उनी बोले ‘यै बिग्रे भत्केका कथा लेख्नुस् न । लेख्नेलाई यति भए पुगेन र !’ मैले भनेँ– ‘भत्केका कथा कति लेख्नु । तपाईंकै टिप्सअनुसार एउटा कथा लेख्नुछ मलाई ।’ उनलाई मैले कक्र्याएँ अर्थात् भत्काएँ । उनी भत्कदै गएँ, म बन्दै गएँ कथामा स्थान– तीनतोलिया विराटनगर मोरङ्गको धनाढ्यहरु जम्मा हुने एक्जिक्युटिभ क्लव । समयकाल पन्ध्र वर्षअगाडि । दिन भत्एिकर रात बलियो हुदैछ । औद्योगिक घरानाका धनाढ्यहरुको जम्मा हुने क्रमउपक्रम जारी छ क्लवमा । पार्किङस्थलमा महङ्गा गाडीहरु प्रवेश भैरहेछन् । मद, मात्र्सय, उन्मादको स्वर उरालिइरहेको छ क्लवमा । उत्तेजित हाँसो थपिइरहेछ । जति आउँछन् नशाले रङ्बङ्गिएर आउँछन् । कामुक आँखा बोकेर आउँछन् । आ–आफ्ना कारका साँचाका झुप्पाहरु राउण्ड टेबुलमा फालिन्छ । जसले जुन झुप्पो भेट्छ त्यसले त्यै टिप्छ । जसको भागमा जसको साँचो पर्छ, एक घण्टाका लागि साँचोवालाकी श्रीमती साँचो भेट्टाउनेकी भइदिने नियम नै बनिसकेको छ । पश्चिम मुलुकमा यो सामान्य मानिन्छ । पन्ध्र वर्षअगाडि विराटनगरमा त्यस्तो थियो । अहिले काठमाण्डौँमा कस्तो होला । यो त झन बौलाइसकेको छ । नैतिकता स्खलित, विनिर्मित भैसकेको छ । यहाँ त किशोर किशोरी र जनावरका बीच केके कुराहरु सुनिन्छन् ।

क्लव नाङ्गो नाँच नाच्न थाल्यो । श्रीमान्का अगाडि श्रीमती नाङ्गिए, श्रीमतीका अगाडि श्रीमान नाङ्गगिए । लाज सबै नाङ्गियो । साँचोवालाकी श्रीमतीसित साँचो पाउने कामुक नाँच नाच्न थाल्यो । के के भयो भयो । नयाँ नयाँ जोडी बनेर कोठातिर पसे एक घण्टाका लागि ।

एकघण्टाको अवधिमा एउटा उद्योगपति पुरै भत्किएछ । टाटै भएर भत्किएछ । एकसुका पनि नराखी भत्किएछ । उसको दश लाखको बिटो भत्किएछ । भत्काउने आईमाई आँखै अगाडि हुँदा पनि उसले चुँसम्म बोल्न सकेन । म भत्किए भन्न सकेन । सधैँ लेनदेनको व्यवहार गरेको, चिनेको आईमाईबाट ऊ भत्कियो । उसले उसको श्रीमानलाई केही भन्न सकेन । कारण सबै स्वेच्छाले भत्किन तयार भएर भत्केका थिए ।

आफ्ना आफ्ना कारका साँचाहरु फिर्ता गरिए । लागे गन्तव्यतिर । भत्कने त भत्केको भत्क्यै भयो । ऊ आधी म¥यो आधी बाँच्यो ।

महेशजीको कथा सकियो । चिया पनि सकियो । उनले पार्किङ्ग फि रु ५ तिरे । मलाई फेरि बस्न संकेत गरे र बाइक हुँइक्याए बागबजारतिर । साँझ पर्न लागेकोले स्पिड बढाए तर के बढाउनु सडकभरि मुर्दाहरुको जिउँदो लस्कर । कविजीले बाइकको स्टार्ट बन्द गरे । त्यो यन्त्र सास फेर्न छाड्यो । कविजीले आकाशे पुलको एउटा साइडमा उभिएकी एउटी युवती र अर्को साइडमा उभिएको एउटा युवकको आँखा नियालेछन् । मलाई उनले भने– ‘माधवजी, यतैकतै हेर्नुस् त यौवनाहरु भत्कने क्रम शुरु हुन लागेको छ । देख्नुभो यो शहर संसाँझै यसरी नै भत्कन्छ र बन्ने उपक्रममा लाग्छ ।’

मुर्दाहरुको जिउँदो लस्कर चल्यो । मलाई ठूलो चोकमा छाडी कविजी पूर्वतिर भत्किए । म त्यो रातको भत्किने र बन्ने बास खोज्न लागेँ । गाँस, बास र कपास मेरो पहिलो प्राथमिकता थियो । समय चिप्लिएर चन्दागिरि कटिसकेको थियो ।

रामेछाप, नेपाल

Madhab Sayapatri – Digbhram

माधव सयपत्री – दिग्भ्रम

नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, “आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म उहाँकै खोकिलामा लुक्न पुगिहाल्छु नि !”

नीरकलालाई चार वर्षभन्दा ती चार रात र चार दिन लमतन्न लागिरहेका थिए। चार वर्षअगाडिको उसको बिहे लुकीलुकी, डराईडराई गरिएको थियो। रातको १२ बजे आयो नीरकलाको बेहुलो उसको काका लिएर। हतारहतार एक घन्टामा बिहे सकी २ बजेतिर नीरकलालाई घर पुर्‍याएर राती नै चम्पट कसेको थियो। साँच्चै भन्ने हो भने नीरकलालाई उसको लोग्नेको अनुहारको पनि राम्रो याद थिएन।

उनीहरू जम्माजम्मी चार घन्टाजति मात्र सँगै बसेका थिए। आनीबानी, व्यवहार दुवैको कस्तो थियो थाहा भएन। अति छोटो समयको सुहागरात त्यसै त्यसै खल्लोखल्लो गरी बितेको थियो। हिँड्ने बेलामा उसको लोग्नेले बाआमासित बिदाबारी भइसकेर पनि भनेथ्यो, “नीरकला ! देशमा छिट्टै केही परविर्तन भएछ भने हाम्रो भेट होला। छिट्टै पनि हुन सक्छ। कहिल्यै नहुन पनि सक्छ। बाआमालाई राम्रो हेरविचार गर ! भाइबैनीलाई पढ्ने वातावरण बनाइदेऊ। तिमी आफू पनि पढाइलाई नरोक। मबाट खर्चले रोकिने छैन। पीर, चिन्ता नलिनू। सेनाको जागिर। देशै युद्धमा होमिएका बेला, म एउटाको के महत्त्व हुन्छ? बाँचिएछ भने भेट होला। म हिँडेँ।”

मर्मभेदी कुरा गरेर ऊ ढोकाबाट बाहिरियो। नीरकलालाई भनभनी रँिगटा लागेर आएथ्यो। तैपनि, सम्हालिएर ऊ लोग्नेसँगै बाहिर निस्की। पँधेरासम्म पुर्‍याइदिई। युद्धकालभरि नीरकला डराईडराई सेनाको सुरक्षा कवचभित्रबाट लोग्नेसँग एकाध महिनाको फरकमा फोन सम्पर्क गर्थी। लोग्नेको स्वर उसले फोनमा मात्र याद गरेकी थिई। लोग्नेले गोप्य माध्यमबाट आफ्नो फोटो पठायो। आवाज र फोटोको आधारमा मात्र नीरकलालाई लोग्ने पहिचान गर्नु थियो। नीरकलाले फेरि सोची, “उस्तैउस्तै अनुहार भएका मानिस धेरै हुन्छन्। कतै आफू पनि झुक्किएर आफ्नै श्रीमान् नचिन्ने त हैन !”

फोटो त नीरकलाले पनि पठाएकी हो। पक्कै उसको लोग्नेलाई पनि आफ्नी स्वास्नीको अनुहार राम्ररी याद हुनुपर्छ। निसाना गलत ठाउँमा पर्‍यो भने त बर्बादै भइहाल्यो नि ! द्वन्द्वको त्यो त्रासदीपूर्ण समयमा नीरकला मानसिक, शारीरकि रूपले धेरै पीडित भई। विद्रोहीहरूले नीरकलालाई आफ्नो घोषणासभामा तीन दिनको बाटो शैलुङको घनघोर जंगलमा पुर्‍याए। तर, ऊ सकुशल घर फर्की।

पछि नीरकलालाई यस्तो कडा दबाब आयो, सातादिनभित्र उसले लोग्ने झिकाउनुपर्ने। नझिकाए नीरकलाको घरबाट एक जना जनसेनामा लाग्नुपर्ने। विद्रोहीहरूले नीरकलालाई नै लाने जोड गरे। यदि नगए घरमा बम पड्काइदिने र अन्तिम कारबाही भौतिक सफाया गर्ने। बिहेको एक वर्षसम्म नीरकला ज्यादै तनावमा रही। तर, उसले हार खाइन। विद्रोहीसित दरो तर्कले प्रतिवाद गरी। नीरकलाजस्ता तार्किक, सभ्य मानिसको अझ महिला छापामारको खाँचो युद्धमा बढी भएको कुरा आयो।

एकदिन एक डफ्फा छापामार उसको आँगनमा छिरे। आएकामध्ये बढी अधिकारसम्पन्न छापामारले भन्यो, “तपाईंको श्रीमान् घर फिर्ता गर्नुहुन्छ कि आफैँ पार्टीमा लाग्नुहुन्छ? तपाईंले तुरुन्त निर्णय दिनुपर्छ। हैन भने हामी यसको सूचना हाइकमान्डमा पठाउँछौँ। त्यहाँबाट आएको निर्देशन अनुसार गर्छौं। यसलाई ख्यालख्याल नसोच्नुहोला। जनता आपmनो मुक्तिका लागि टाउकामा कात्रो बाँधी मुट्ठी कसेर मर्नमार्न तयार भइरहेका बेला तपाईंको श्रीमान् शाही सरकारको भाट टट्टु बनेर जागिर खाइरहेका छन्। अझ सुनिन्छ, हाम्रो सूचना शाही सेनाको उच्चालयमा पुर्‍याइरहेका छन् रे ! तपाईंहरूलाई बाँच्न मन छ कि छैन? के यो जनयुद्धलाई तपाईंहरूले ठट्टा सोच्नुभएको?”

नीरकला हत्तपत्त गल्ने खालकी थिइन। उसले छापामारहरूलाई नै तिलमिल पार्ने तर्क पेस गरी, “कमरेड महोदय ! मेरो परिवार सम्पन्न भइदिएको भए मेरा श्रीमान्ले तुच्छ वचन सहीसही सिपाहीमा जागिर खानु पर्दैनथ्यो। उहाँको रोजगारको ग्यारेन्टी गर्नूस्। म तुरुन्त मेरो श्रीमान् झिकाउँछु। हैन भने एउटा परिवार चलाउन कोही जागिर खान जान्छ भने तपाईंहरूलाई किन आपत्ति ! फरक विचार राखेकै भरमा तपाईंहरू सामान्य मानिसलाई विस्थापन गराउनुहुन्छ। विस्थापित भएर गएपछि राज्यकै ढिकुटीबाट भत्ता खाइरहेको हुन्छ। तपाईंहरूकै कारणले राज्य झनै कंगाल भइरहेको कुराप्रति अलि गहिरिएर सोच्नूस्। यो कुरा तपाईंका माथिल्लो तहका नेतालाई सुनाइदिनूस्।”

त्यस छापामारले अनौठो मानेर हेर्‍यो। थप तर्क गर्न नसकेर होला। एकछिनको मौनतापछि ऊ बोल्यो, “तपाईंले हाम्रो युद्धको आवश्यकता, गति, प्रगतिलाई नजरअन्दाज गर्दै हुनुहुन्छ। तपाईं र तपाईंको परिवारले सामन्तवादी, प्रतिक्रियावादीको पक्षपोषण गररिहेछ र हाम्रो पार्टीलाई जुनसुकै समयमा पनि खतरा छ। त्यसैले छिट्टै गाउँ छाड्नुहोला।” नीरकलाको निडरता, तर्कशक्ति देखेर देवर, नन्द र सासू-ससुरासमेत छक्क परेका थिए।

नीरकलाको परिवारले गाउँ छाड्नुपर्ने चिट्ठी हात पर्‍यो। त्यसको जानकारी उसले श्रीमान्लाई गराई। उसले ‘मर्नुभन्दा दुःखै गर्नु राम्रो हुन्छ, यतै आउनू’ भनेर खबर पठायो। सारा जिन्सी सामान सस्तोमा बेचबिखन गरेर उनीहरू गाउँ छाड्ने तयारीमा थिए।

संयोगवश उनीहरूको परिवारले गाउँ छाड्नुपरेन। दिल्लीमा दल र माओवादीबीच १२ बुँदे समझदारी भयो। नीरकलाले ठूलो राहत मात्र होइन, नवजीवन पाएको अनुभव गरी। त्यसपछिका दिनमा नीरकलाले आफ्नो पढाइलाई निरन्तरता दिई। राम्रैसँग परिवार चलाई। देवर, नन्दको पढाइ अगाडि बढाउन राम्रोसँग भरथेग गरी। श्रीमान्ले बरोबर खर्च पठाइरहेको थियो। दुई वर्षको अवधिमा पनि नीरकलाले आफ्नो श्रीमान्सित भेट गर्न पाइन। उसको श्रीमान् संयुक्त राष्ट्रसंघीय मिसनमा सेयरालियोन गयो। नीरकला श्रीमान्समक्ष प्रस्तुत हुन सकिन।

अब पक्कापक्की भयो, नीरकला श्रीमान्सँग मन साट्न, यौवन साट्न, माया साट्न सहर जाने भई। त्यता जाने दिन आउन लाग्यो। आफू भेट्न आउन लागेको कुरा राम्ररी पुर्‍याउन सकिन फोनमा। मात्र उसले ‘राम्ररी आउनू, बसपार्कमा उत्रेपछि फोन गर्नू’ भन्यो।

भोलि गाउँ छाडेर उता जाने दिन नीरकलाको। घ्यू, कुराउनीदेखि लिएर गाउँमा पाइने मीठामीठा खानेकुराका कोसेली जम्मा गरी। लुगाफाटो मिलाउने तयारी गर्दागर्दै रातको १० बजिहाल्यो। ११ बजे ऊ ओछ्यानमा गई। उसलाई मनमा कस्तोकस्तो सुखद अनुभूति भइरहेको थियो। धेरै खुसी, रोमाञ्चका कारण ऊ निदाउन सकिन। राती १ बजे बल्ल निद्रा परेछ।

बिहानै घरबाट बिदा भई। देवर साथ लिई तल सडकसम्म झरी। अँध्यारैमा नीरकला बस चढी। उसको देवर घर फर्कियो।

३ बजेतिर नीरकला बसपार्क झरी। उसले श्रीमान्लाई फोन सम्पर्क गर्ने प्रयास गरी। फोन लाग्दै लागेन। धेरैबेरको फोनको व्यस्ततापछि फोन लाग्यो। नीरकलाले आफ्नो श्रीमान्को नाम दिई। रिसेप्सनिस्टले एकछिन कुर्न भन्यो। ऊ नीरकलाको लोग्ने बोलाउन गयो। नीरकला रिसिभर कानमा राखेर निकैबेर पर्खी बसी। फोनबाट आवाज आयो, “ए तिमी आयौ! ल ठीक छ, म १५ मिनेटमा त्यहाँ आइपुग्छु। फोन राखौँ ल !”

दुवैतिरका फोन राखिए। शरीर र मनमा रोमाञ्चक कौतूहलसाथ ऊ बसपार्कमा कुरी रही। भनेकै समयभित्र ऊ आइपुग्यो। उसले नजिकै गएर भन्यो, “शशीकला, बोर भयो होला। ल जाउँ !” उसले झोला बोक्यो। नीरकला ठूलो चक्रव्यूहीय शंकाको घेरामा परी। त्यो लोग्नेमान्छे आफ्नो लोग्ने हो कि होइन, ठ्याक्कै अन्दाज लगाउन सकिन। ऊ रोकिँदैरोकिँदै पछि लागी। त्यो मान्छेले फर्केर हेरेन। नीरकलालाई झनै औडाह भयो। लोकसेवाको वैकल्पिक उत्तरजस्तै लाग्यो त्यो लोग्नेमान्छे। नीरकलालाई आफू कसको पछि लागेर हिँडेकी छु सोच्न गाह्रो भयो। ऊ भ्रमित मात्र होइन, दिग्भ्रमित भई।

अचम्म ! नीरकलाको लोग्नेले सीधा उसको मुखमा हेर्दै हेरेन। स्पष्टसँग नीरकलाले अनुहार हेर्नै पाइन। केवल पछिपछि डोरिइरही। अर्कै लोग्नेमानिसले उसलाई डोर्‍याइरहेको त छैन? कसैद्वारा बलात्कृत हुने त होइन? आशंका नीरकलाका अगाडि ठूलो पहाड बनेर उभियो। पहाड चढ्ने वा झर्ने केही विचार गर्न सकिन। ऊ बाख्रो डोरिएझैँ डोरिइरही।

एकान्त ठाउँ आयो, लोग्नेमानिस बोल्यो, “शशीकला ! घरमा सबैलाई सञ्चै छ?” नीरकला झनै सशंकित भई। घरमा सबै कोको छन्, उसको श्रीमान्लाई थाहा छैन र? बुबाआमा, भाइबहिनीलाई सञ्चै छ भनेर किन भन्न सकेन उसले ! नीरकलालाई त्यो लोग्नेमानिस आफ्नो लोग्ने होइन कि भन्ने लाग्यो।

नीरकलाले तपाईं को हो, तपाईंको नाम के हो भन्न पनि सकिन। मेरो नाम शशीकला होइन, नीरकला हो भन्न पनि सकिन। लोग्नेमानिसले बोकेको उसको झोला तानेर आफैँ बोक्न पनि सकिन।

नीरकला नीरजस्तै नीली भई। लोग्नेमानिस थोरै पछाडि फर्कियो तर नीरकलालाई राम्ररी हेरेन। नीरकलाले हेरी। हो वा होइनको शंकामा परी। फोटोसँग दाँजी। अनुहार मिल्छ पनि मिल्दैन पनि। स्वर मिलेको जस्तो पनि लाग्छ, फेरि फरकजस्तो पनि लाग्छ।

लोग्नेमानिस एउटा घरमा छिर्‍यो। भुइँतलामै तेस्रो कोठाको ढोका खोल्यो र भित्र पस्यो। नीरकला बल्लबल्ल कोठाभित्र छिरी। उसका पाइला गह्रौँगह्रौँ भएका थिए ।

(श्रोत : नेपाल साप्ताहिक ५६५)