Purna Munankarmi – Sarpa Udhhyog

पूर्ण मुनंकर्मी – सर्प उद्योग

एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो ।
‘गोमन हाम्रो शत्रु होइन मित्र हो’, सपेराले चटक हेरिरहेका सबैलाई विश्वास दिलायो । एउटै गोमनको मूल्य लाखौँ पर्ने र गोमनको खेती अरू सबै खेती वा ब्यावसाय भन्दा आर्थिक दृष्टिले उच्च रहेका पनि जानकारी दिए । मनोरजन र आर्थिक दुबै दृष्टिले दर्शकहरू नजानिँदो रूपमा गोमन प्रति आकर्षित हुन पुग्यो । सपेराले गोमनलाई आफ्नो हात, घाँटी र जीउमा बेर्ने चलाउने आदि पनि गरी दर्शकको भरपूर मनोरन्जन गराइरहेको थियो । दर्शकमध्ये केही साहसीहरूलाई पनि गोमन जीउमा बेर्न प्रोत्साहित गरे र एक दुई जनाले आफ्नो जीउमा लगाए पनि ।
गोमनलाई जीउमा बेर्ने युवा त्यस गाउँमा ‘नामी’ भए, ‘बहादुर’ कहलाइए र गाउँका ‘अगुवा’ भए ।

सर्पले डस्न सक्छ भन्नेहरू पनि निस्किए, दर्शकमा । तर ती बहादुर अगुवाहरूबाट ‘कायर’मा गनिए, सपेराले पनि तिनिहरूलाई ‘डरपोक’को संज्ञा भिडाए । उनिहरू धपाइए ।
गाउँमा सर्प प्रति राम्रो धारणा बन्यो र गोमन जीउमा बेर्ने युवा अगुवाको नेतृत्वमा सर्प उद्योग गरी गाउँलाई सम्पन्न बनाउने योजना बन्यो । छिट्टै नै गाउँलाई धन र नाम दुवैबाट प्रख्यात बनाउने संकल्प गरियो । सर्पदेखि डराउने ‘डरपोक’हरूलाई गाउँलेहरूबाट बहिस्कार गरायो । र उनिहरू विस्थापित भए ।

सर्पको बानी ब्यहोरा खानपान तथा वातावरण थाहा भएका सपेरालाई नै सर्प उद्योगको सल्लाहकारमा नियुक्त भए । केहि सर्प सल्लाहकारबाट पनि अनुदानमा प्राप्त भयो । विदेशी पाहुना समेतलाई निम्त्याएर भव्यताका साथ सर्प उद्योग संचालन भयो ।

सर्पको संख्या बढ्दै गयो । सपेरा र ‘बहादुर’ ‘अगुवा’हरूको पनि आय तथा मान दुवै बढ्दै गयो । गाउँका मानिसलाई सर्पसँग परिचित गराए । गाउँमा सर्पहरूको व्यापक जनसंख्या बृद्धि भयो । सर्प उद्योगमा गाउँलेहरूले आफ्नो लगानी बृद्धि गर्दै गए ।

सर्पलाई गाउँलेहरूले अब ‘मित्र’ भन्ने निर्णय भयो । नागपंचमीमा जस्तै सर्पलाई हरेक दिन दुध खुवाउने गर्न थाले ।

सर्पले पनि गाउँलेलाई गुन तिरे । अन्न खाएर दुःख दिने सबै मुसा सर्पको शिकार भए । गाउँलेहरू दङ्ग भए । मुसा बिहीन गाउँको घोषणा भयो । सर्प उद्योगको नेतृत्व लिने सपेरा र ‘अगुवा’हरूको भव्य सम्मान भयो, धेरै खादा बुने र फूलको धेरै माला गांसे ।

सर्पको जनसंख्या बृद्धिले गर्दा गाउँमा मुसा मात्र होइन अन्य साना पशुपंक्षी सबै शिकार भए । गाउँमा कुनै कुखरा र चराचुरुंगी रहेनन् । बिराला र साना पशुहरू पनि सर्पको खानामा परिणत भयो । विस्तारै-विस्तारै ठूला घरपालुवा पशुका पाडाहरू पनि सर्पको शिकार भए । गाउँका सबै पशुपंक्षीको वंश लोप भयो ।

गाउँलेको प्रमुख आय आर्जन खेती किसानीमा यसले निकै ठूलो नोक्सानी भयो । चराचुरुंगी नहुँदा किरा फट्यांग्रा र ढुसीको प्रकोप बढ्यो । खेतमा लगाइएका सबै बाली रोगले सखाप भए । गाउँमा भोकमरी भयो । खाने कुनै जनावर पंक्षी नभए पछि सर्पले मानिसलाई पनि डस्न थाल्यो । सर्पको डरले गाउँलेहरू गाउँ छोडी अन्यत्र पलायन भयो ।
* * *
कथामा वर्णित सपेरा र अगुवाहरू कहाँ छन् र उनिहरू को हुन् मलाई थाहा छैन । गाउँ छोड्न बाध्य पारिएका ती गाउँले दाजुभाइहरू कहाँ छन् ? कतै तपाइहरू त पर्नु भएन ? वा ती ‘अगुवा’हरू तपाईँ कै छिमेकमा त छैनन् ? यदि तपाइहरू मध्ये कसैलाई थाहा भए त्यस पछिको कथा पनि लेख्ने मौका हुने थियो । कृपया जानकारी दिए अनुगृहित हुने थिएँ ।