Kulchandra Wagle – Lekh Bhanda Lekhak Bhinna

कुलचन्द्र वाग्ले – लेखभन्दा लेखक भिन्न
(मधुपर्क)

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो भने, यही कारण संस्कृतमा ‘विद्वान् सर्वत्र पुज्यते’ भनिएको हुनुपर्छ । विश्वव्यापी तहमा उचाइ प्राप्त लेखकका तद्नुकूल पाठक एवं प्रशंसक पनि हुनसक्छन् । यिनीहरू सम्मानित मात्र होइनन्, कतिपय सन्दर्भ वा विषयमा आलोचितसमेत हुन्छन् । यसो हुनु व्यक्तित्व र प्रभावका कारण पनि हो, जसको विचार एवं चरित्रलाई समेत पाठकले सक्दो पर्यवेक्षण गरेका हुन्छन् र यसरी पनि प्रतिक्रिया व्यक्त गर्छन् ।

लेखक भन्नेबित्तिकै कवि वा साहित्यकार र समसामयिक विषयका लेखनधर्मी मानिस जसले ग्रन्थ, पुस्तक, रचना र लेखबाट सम्बन्धित भाषा शैलीमा आफूलाई प्रस्तुत गर्छन् वा समाजलाई चित्रण गर्छन् भन्ने एकप्रकारको व्यक्ति परिचयको चित्र हरकोही सचेत मानिसको विचारमा उत्पन्न हुनपुग्छ । यस्ता व्यक्तित्वको आलोचना विभिन्न विषयमा हुनसक्छ । जस्तै- लेखकबाट व्यक्त विचार, भाषा, शैली र भाव आदिका विषयमा आलोचना र समालोचना हुनेगर्छ । वैचारिक धरातलका आधारमा सहमत, असहमत पक्षबीच राजनीतिक सिद्धान्तवादले प्रभावित साहित्य वा साहित्यकै विविधवादहरूका कारण पनि सर्जक आलोचनाको घेरामा पर्न सक्छन् तर यहाँ ती विषयमा केही भन्न खोजिएको होइन । बरु प्रायः लेखकहरू लेखभन्दा भिन्न व्यवहार र चरित्र प्रदर्शन गर्छन् भन्ने आरोप वा यथार्थका पक्षमा मात्र केही व्यक्त गर्न खोजिएको छ । मानिसहरू अर्थात् सचेत पाठक जसले साहित्यकारको आनिबानीमा पनि केही रुचि राख्छन् र थाहा पाएका हुन्छन्, तिनीहरू प्रायः भन्ने गर्छन् -लेखकहरू आदर्श र नैतिकताको जस्तो कुरा लेख्छन् तर त्यही आफ्नो लेखाइको मर्म र निर्देशअनुसार धेरैले व्यवहार गर्दैनन्, किन ? आरोप मिश्रति जिज्ञासा पनि हो यो ।

एकैछिन, कथ्य वा आख्यान साहित्यमा हुने कतिपय सन्दर्भका काल्पनिक कुरा जीवनमा प्रयोग गर्न र व्यवहारमा उतार्न नसकिने अथवा दुरुह कल्पना वा कवितामा पाइने असम्भव सोचलाई थाँती राखेर सोच्ने हो भने धेरै लेखकहरूले अत्यन्त उपदेशात्मक र निर्देशनात्मक विचार नै अभिव्यक्त गरेका हुन्छन् । जसलाई व्यवहारमा उतार्न पनि सकिन्छ र सक्नुसमेत पर्छ तर यथार्थमा स्वयं लेखक आफ्नो लेखनीभन्दा भिन्न चरित्र प्रस्तुत गर्ने प्रकृतिका पनि हुन्छन् भनिन्छ । यो भनाइ शतप्रतिशत सही नहोला तर सत्यको नजिक धेरै छ ।

हामीलाई याद हुनुपर्छ, कतिपय देशी, विदेशी लेखकहरूको साहित्य वा लेखनी पढ्दा उसको चित्र औपदेशिक र एकप्रकारले शालीन देखिन्छ तर उसैको जीवनी र आनीबानी नियालियो वा पढियो भने ठीक उल्टो अर्थात् अर्कै प्रकारको भेटिन्छ । यसलाई माध्यम बनाएर व्यक्तिको लेखनी र व्यवहार समान नहुनसक्छ भनिदिँदा पूर्णतः अमान्य हुँदैन । अर्को कुरा लेखक जसले चाकरी, चाप्लुसी, शोषण र नातावादजस्ता विकृतिका विरुद्ध अनि न्यायको पक्षमा समाजलाई प्रेरित गर्छन्, राज्यलाई हकार्छन् तर त्यस्ता लेखक नै केही प्राप्तिका लागि राज्यको वा सम्भ्रान्त व्यक्ति र केही नामाधारी कम्पनीको सामु घुँडा टेकेर चाकर मुद्रामा उभिएका भेटिन्छन् वा सुनिन्छन्, त्यसबेला साहित्यकारलाई सम्मान गर्ने समाज, पाठक वा प्रशङ्सकलाई कस्तो अनुभूति होला ? यस्तो प्रवृत्ति सबैमा नभए पनि हाम्रो लेखकीय समाजमा पाइने चरित्र भने पक्कै हो ।

उदाहरणका लागि, धेरै व्यक्तिले केही साहित्यकार एवं पत्रकार अर्थात् लेखक व्यक्तिका विषयमा यस्ता टिप्पणी नामै लिएर गरेको सम्झना भए पनि त्यहाँ निजी विषय छ, परत्व छ । त्यसैले अरूका कुरालाई भन्दा अनुभवकै प्रसंगमा नेपाली लेखक सङ्घसँग गाँसिएको आफ्नै अनुभूति यहाँ थपिदिँदा सायद् सबै अर्थमा नभए पनि केही अंशमा सान्दर्भिक होला र पूर्णतः न्यायोचित पनि । लाग्छ, २०५२ सालतिरको कुरा हो, तिथिमिति याद छैन तर एउटा घटना याद छ, जतिबेला मूर्धन्य आख्यानकार डा.ध्रुवचन्द्र गौतम नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य-सचिव हुनुहुन्थ्यो । नेपाली लेखक सङ्घ २००८ सालमा साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको अध्यक्षतामा गठन र क्रियाशील भएको हो । त्यसपछिका वर्षहरूमा यो संस्था इतिहासका पानामा निहित थियो । ०५२ सालतिर नै होला नेपाली लेखक सङ्घलाई जीवन्तता दिने प्रयत्न भयो । विधान लेखनदेखि दर्ता र समयसमेतको लगानीसम्मका कुरा पूरा गर्ने सुयोग मलाई जुर्‍यो । दर्ता गरिएको कमिटीमा दुःख गरेबापत मलाई सह-सचिवको सम्मान दिइयो । यस्तो ऐतिहासिक संस्थालाई पुनःस्थापित गर्ने मौका मिल्नु त्यो पनि विशिष्ट साहित्यकारहरूको बीचमा मेरालागि हौसलाकै कुरा भयो ।

नेपाली लेखक सङ्घ २०५२ का नाममा दर्ता भयो । केही महिनापछि लेखक सङ्घको प्रतिनिधि मण्डल भारत भ्रमणमा भन्ने तस्बिरसहितको समाचार आयो । दर्ताका बेला नरहेका व्यक्ति पदाधिकारी बनेको थाहा भयो । सोधपूछ गर्दा सङ्क्षिप्तमा थाहा भयो, केही व्यक्ति तर ती त्यस्ता व्यक्ति जो सधैँ न्याय र पारदर्शीता वा माथि भनिएझैँ आदर्शका विषयमा लेख्छन्, उनीहरू केही बसेर सङ्घ पुनर्गठन गरिदिएछन् । कमिटीमा रहेका हामी थुप्रै साथी त्यसमा रहनु-नरहनु खासगरी मेरालागि त्यो अपेक्षाको विषय होइन, तर सामान्य जानकारी पनि नदिएको गुनासो भने कलमबाट आदर्श छाँट्ने त्यस्ता विशिष्टहरूप्रति रहिरहृयो । पदको कुरा होइन, श्रमको सामान्य सम्मान पनि गर्न त्यो वर्गले जानेन, यत्ति हो ।

यो अनुभव यस्तो बन्यो कि लेखकहरू लेखभन्दा भिन्न हुन्छन् भन्ने सार्वजनिक आरोपप्रति ढुङ्गामा कोरिएको अमिट रेखाको अंशजस्तो उदाहरण बन्यो, प्रमाण भएर तेर्सियो । सबै भिन्न हुँदैनन् भन्न सकिए पनि केही लेखक आफ्नै लेखको आदर्शभन्दा चरित्रमा फरक पाइन्छन् भन्ने कुरालाई आत्मसात् गर्न करै लाग्यो ।

मधुपर्क पुष, २०६५

Leave a Reply