Basanta Mohan Adhikari – Ama Ko Bani (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आमाको वाणी

वसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यही देह सँगै
सबै जना बास बस म नेपालसँगै ।

घैया कोदो जौ फापर तीन महिना सधैं
हिमालका नेपालीलाई जोड तराई सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँसँगै
दुःख पीडा हर्ष आँशु साट सँग-सँगै ।

जन्म हाम्रो मानवको मानव धर्मसँगै
बुद्ध सीता भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ-साथै
धान चामल स्याउ साट साट आफ्नो सँगै ।

तराईको गर्मी छल्न उक्ल चामलसँगै
जडीबुटी औषधी लिई झर तराईतिरै ।

दूध दही बाख्रापालन गर पहाडसँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

ऐंचोपैंचो आफूभित्र तिनै जनासँगै
हिमाल पहाड तराईको नाता गाँस सधैं ।

प्रकृति र कला कृति संरक्षणमा सधैं
मेल मिलाप गरी बस जन्म दातासँगै ।

चेतनाको प्रयोग गर मानव धर्मसँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमासँगै ।

Gopi Krishna Prasain – Kina Yesari Batas Chalchha

गोपीकृष्ण प्रसाईं – किन यसरी बतास चल्छ

मनै चसक्क छुने गरि
मुटुनैं दुख्ने गरि
यो बतास चलिरहेछ
प्रकृतिको उपहार नैं होला
शान्त भएर बसुँ भन्छु
शुशेली हान्दै आउँछ हतासमा

कोठाको छेउमा
झोक्का दिएर आउँछ
त्रास दिनलाई छाउँछ
यो वतास,
कुनै स्वरुप विनाको
कनै आकार बिनाको
स्पष्ट आवाज पनि छैन
चैतन्यलाई पनि देखेको छैन
तर पनि अस्तित्वमा छ
यो त एउटा विज्ञानको सिद्धान्त हो
भूमण्डलीय चक्र
ठाउँ पिच्छेकै भिन्नताहरु
यसरी छिल्लिएर आज वतास आईरहेछ
मनको सन्नाटा
धेरै धरै तर्कनाहरु
राक्षसी रुपमा मलाई गिज्याईरहेछ
मेरो मन यसले मोडिदिन्छ
मलाई यस दुनियाँमा एक्लै एक्लै छोडिदिन्छ
म गम्भीर हुन्छु
बाहिर रुखका हाँगाहरु भाँचिन खोजेका छन्
वस्तीका सुन्दर फूलहरुको समेत छहारी खोजेका छन्
तर उन्मक्त साँढेजस्तो
यो एक तमाससीत छाडा भइरहेछ
बिभिषिकाले चपेटामा पारेर
ती पंक्षीहरु कति रुँदै होलान्
आफ्नो छहारी र बासस्थान अलपत्र हुँदा
प्राणीहरु कति आँशुले मन धुँदै होलान्
प्रकृतिको एउटा अपसकुन,
एउटा अनर्थले बतास चलिरहेछ
प्रकृति भित्रकै म मान्छे
बताससँगै यो मन गलिरहेछ
झरि पनि परेको छ
प्यास मेटाउन घरि घरि पानी पिउँछु
तरै पनि यो म जलिरहेछ

देशमा कोशी बाढीले मनहरु दुखेका छन्र्
दर्दनाक पीडाले बस्तीहरु छट्पटाएका छन्
यही परिवेशमा यो मन आज दुखिरहेथ्यो
मेरो जिजीविषा आज झुकिरहेथ्यो
तिनै आफन्तहरुको आँशुको
तिनै जीवनहरुको गुनासोमा
मैले यी हातहरु बढाउन नसकिरहेको बेला
मेरो ध्यान अनायासै मोडिन्छ
म झस्कन्छु, कोल्टो फेर्छु उपद्रया बतासले मेरो निन्द्रा भंग गर्छ
यसले मेरो नियमित चक्रलाई ऐठन गर्छ
मेरो विचलित मन
र अस्तव्यस्त जीवन देखेर
छिल्लिदै यो बतास दंग पर्छ
सुन्दर बर्खा बहारमा हुर्केका मुजुराहरुलाई लुटेर
आतकंको उसैको दुनियाँमा यसले नयाँ रँग भर्छ ।
त्यसैले यो छाडा बतास अनायासै जन्मिने पीडा रहेछ
मनभित्र उब्जिरहने एउटा चिडचिडा रहेछ
रातभरि यो आफ्नै जीवन छ
यो यसरी युक्तिवान, वीर्यवान भएर बलिरह्यो
एउटा अनिच्छा एउटा त्रास
मेरो मन नचाहेरै गलिरह्यो
यो बर्खाको बेला
भदौरे भरिको झमेला
जीवनहरु गाउँबस्ती भित्र घोटिएका छन्
अनाज फलाउन धर्तीमा
सबै सबै किसानहरु
खेतबारिमा परीक्षा चलेको छ
एकाग्र चित्तले जोतिएका छन्
एकातिर बारी पैह्रोको चपेटा
अर्कातिर अतिवृष्टि, अनावृष्टि अनि हुरी बतास
म सवै सवै सम्झिहाल्छु
आज नौटंकी गर्दै बतास चलेको छ
म लण्डनमा छु
मेरो देशबाट टाढा
पश्चिमी गोलार्धमा
तर मन आठर्राई हाङ्गपाङ्गमै डुलिरहेछ
तर मन ताप्लेजुङ्गमै दुखिरहेछ ।

किन किन यो बतास उग्र रुपमा प्रस्तुत भईदिन्छ
सुस्त सुस्त भएको भए मनै छुन्थ्यो होला
सरर बहेको भए मलहम पट्टी बन्थ्यो होला
तर उल्टो यसले आला घाउहरु बढाउने भयो
खाटा बसेका घाउहरु समेत यसले बल्झाई गयो
नयाँ गोरेटो खोजेर अघि वढ्दै थिए यी पाइलाहरु
यस मध्यरात्रीमा यसले मलाई काँडाघारी तिर अल्झाइरह्यो ।

यो वतास अविछिन्न रुपमा चलेको छ
बताससँग पानी पनि परेको छ
यो हाङ्गपाङ्गको बस्ती
यो बिजुली सहित आकाश गर्जेको समय
यो अत्यासलाग्दो कालो रात
सँगसँगै मुसलधारे बर्षा
बेरिएर, हान्निएर हुरी बतास चलिरहेछ
जसै भरेका किरणहरु पृथ्वीमा पर्छन्
स्थिति साम्य भईसकेको हुन्छ
हामी र हाम्रो परिवार
खेतवारीमा नजर डुलार्इर्र्हेका हुन्थ्यौं
गाई वस्तु अनि बाख्राहरु……..
आशा क्षितिज अनि प्रकृति
यिनै विवरणहरु सँगालेर हामी हाम्रो जिन्दगी जिउँथ्यौ ।

बतासले व्यास नजन्माओस
बतासले वस्तीमा नयाँ दुलही नअन्माओस
बतास भित्र हामी यथार्थलाई स्वागत गरौं
प्रकृति हो,
विध्न बाधाहरु सहन जानुपर्छ
हामी बाँचेको यो धरती अनि डार्विनको सिद्धान्त
प्रकृतिको अकाट्य सिद्धान्तलाई पनि मान्नुपर्छ ।
संझौता, जिन्दगी र फरक प्रकृतिहरु
जीवनलाई यसैविच खोज्नुपर्छ
हुरी वतासबाट जोगिएर
हिउँ अनि बर्षको नृत्य पनि रुझ्नुपर्छ
के यही जीवन हो त ?
घरभित्र आज म यस्तै यस्तै कल्पनामा छु
संझनामा छु
तमोर खोलाको तीरै तीरै मन डुलिरहन्छ
मेवा खोलाको दोभानतिर मन पौडिरहन्छ
ताप्लेजुङ्ग हरियालीमा यो मन झुलिरहन्छ
ठिकै छ, अव बतास सँगै मन पनि डुल्न जान्ने भो
बताससँगै मनले पनि बाँच्न जान्ने भो
आहा
प्रकृति कति सुन्दर छ
जीव, जंगल र चराचर
वताससँगै मनले पनि हाँस्न जान्ने भो ।

Asha Gurung – Narou Nepal Aama

आशा गुरुङ – नरोउ नेपाल आमा

हे नेपाल आमा ! सुनेकी छु तिमी दिनहुँ रुन्छौ रे
तिम्रा सन्तानहरुले तिम्रो पुकार नसुनिदिदाँ
कति लाचार हुँदै हेरेउ होला तिमी
भाईभाईमा आपसी लडाईं भइरहदाँ
तिमी चिरा चिरा भइकन फाटी बाचेउँ होला
तिम्रो छातीमा सधैंजसो आन्दोलनको त्यो चर्को धुवाँ बल्दा
कति मन रोयो होला तिम्रो
तिमीलाई पटक पटक मरेको लास झै जलाईदा
कसरी तिमी छट्पटायौ होला एक्लै
तिम्रो छात्तीमा निरन्तर गोली, बारुद पड्किदा
कसरी सहयौ होला त्यो आमा हुँदाको पीडा
जसले तिम्रै ब्रक्षस्थलमा यसरी लात मारिदिदाँ
किन होला बुझेर पनि नबुझे जस्तो गरे तिम्रा सिदान्तहरु
र भड्किए कोलाहल,आशान्ती अनि अराजकता छर्न
कहाँ गल्ती हुन पुग्यो र तिम्रो भरणपोषण मा
त्यसैले त तम्सिए तिम्रो अस्तित्व चकनाचुर पार्न
कुन चाँही रगत मिसियो होला तिम्रो सन्तानमा
र त हिंडे लाज नमानि तिम्रो बिरुद्दमा
तिमीले पढाएका ती स्वाभिमानको पाठहरु
एउटा कुनामा फ्याँकी
कति सजिलै मानी चुम्छन् बरु बिदेशीका गोडाहरु
तिम्रो ईतिहासको बहादुर कथाहरु पलटन्नन् अब
पलटिन्छन् त मात्र दस बर्षे युद्दका ती क्रुर चित्रणहरु
देश चलाऊने हरुले पनि कहाँ अङाले र ?

तिम्रा मुल्य र मान्यताहरु
केबल स्वीकारे त आफ्नै स्वार्थका पोकाहरु
बिर्सिदैछन् हिजोका दिनहरुलाई
आश्वासनका ती बोलीहरुलाई
कुर्सीका घोर प्रेममा मग्न भैरहेकाहरु
आँज साचै साकार भए लक्ष्मी प्रसाद देवकोटाका यी शब्दहरु
“मै खाउँ,मै लाउँ सुख सयल वा मोज मै गरु
मै हासुँ, मै नाँच् अरु सबै मरुन दुर्बलहरु ”
तर,
अब नरोउ नेपाल आमा
किनकि तिमी गलत हुन सक्दिनौ
तिमीले डोराएका हात हरु झुटो हुन सक्दैनन्
तिम्रा सबै सन्तानहरुले तिम्रो टाउकोमा टेक्न सक्दैनन्
अझै छन् यहाँ तिमीलाई अगाध प्रेम गर्नेहरु
तिम्रो आसुँहरुलाई पुछ्न हरतरह प्रयास गर्नेहरु
तिम्रो दुधका धारा मेटाउन समर्पित भैरहेका छन्
त्यसैले तिमी अझै अलिबेर पर्ख आमा,
तिम्रा कुशल सन्तानहरुले तिमीलाई पूर्ण बनाउन आईरहेछन्
चाहे उनीहरु क्षितिजपारी नै किन नहोस्
तर तिम्रो अस्मिताको लागि उनीहरु लड्दैछन्
आत्माभरि मात्र तिम्रो तस्बिर साँची अघी बढिरहेका छन्

चाहे त्यो शान्तिपूर्ण शब्दबाट होस् या साहित्य बाट
त्यसैले अब तिमी नरोउ नेपाल आमा
किनकि अझै तिम्रा सन्तानहरुले होस् गुमाएका छैनन ।।

Bibek Dulal Chhetri ‘Damak’ – Hardai Gayeko Kheladi Ko (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – हार्दै गएको खेलाडीको (गजल)

हार्दै गएको खेलाडीको स्कोर थिए म
प्रियशीको हृदय लुट्ने चोर थिए म

थिए सबै राम्रा राम्रा सुकिला सुकिला
एकाबिहानै फ्यालेको फोहर थिए म

अरूकै उमंग धेरै हुन्थे जोड्दा खेरी
गहुँबारीमा उम्रिएको तोर थिए म

सफलताको चुचुरो बैरीले चढेका थे
हमेसा रुपैयाभन्दा मोहोर थिए म

कोहि आइ बिबेकको नाम लिएन छ
वर्तमानले बिर्सिएको पोहोर थिए म

Renuka Bhatta – Desh Bato Khojirahechha

रेनुका भट्ट – देश बाटो खोजीरहेछ

बनाउँनेले बाटो
टेकेर कहिल्यै त्यहाँ हिड्न पाएनन्
हिड्नेहरुले कहिल्यै आफ्नो बाटो बनाएनन्
आफ्ना बलिया मेरुदण्डझैँ
हाम्रा बाबु बाजेले निर्माण गरेका बाटाहरु टेकेर
हिँडिरहे राजा-महाराजा र ठूल्ठूला शासकहरु
जंगलतिर शिकार हान्न
र गाउँ-गाउँ सुसारे यूवती खोज्न
अथवा गौँडा र कुमारी चोकतिर
रैतीहरुको थैलीबाट तिरो असुल्न
तिनीहरू कसरी पुग्थे
हाम्रा पुर्खाले नखनेका भए बाटाहरु
पटक पटक हाम्रा पूर्खाले खने मात्र
तर, सुखको भारी बोकेर आफैँ
नाँच्दै गाउँदै कहिल्यै हिँड्न पाएनन्
टेक्न पाएनन् आफ्नै पसिनाले भिजेका बाटामा
हामी पनि खनिरहेका छौं नयाँ बाटाहरू
को को हिँड्लान् हामीले खनेका बाटाहरूमा?
खेत बारी जोत्ने किसान कि गाउँका मुखियाहरू?
मायालु जोडीहरू कि कसैलाई लुट्न हिँडेका डाकाहरू?
तीरो तिर्ने जनता कि भ्रष्ट सरकारी हाकीमहरू?
गाउँ फर्किरहेका लाहुरेहरू कि अरब हिँडेका लेबरहरू?
आन्दोलनलाई ठोक्ने बुट-लाठीहरू कि इन्क्लाबी जुलुस?
को को हिँडलान् हामीले खन्दै गरेका नयाँ बाटाहरूमा?

Biplav Pratik – Birodh

बिप्लव प्रतिक – विरोध

तिमी बारम्बार
हाँस भन्छौ मलाई
तर, यता म आफू हाँस्नुको कुनै महत्व देख्तिनँ ।
म आफू आफैँलाई पोलिरहेछु
आफ्नै नङ्ग्राहरू चिथोर्दैछन् आफ्नो छातीलाई
कति बीभत्स हुन्छन् हगि रगताम्य Continue reading “Biplav Pratik – Birodh”

Kundan Kumar Panta – Bhranti (Nepali Muktak)

कुन्दनकुमार पन्त – भ्रान्ति (मुक्तक)
(मधुपर्क माघ, २०६७)

कसैको कुरा सुन्दा अब यो देशमा शान्ति हुन्छ
कसैको कुरा सुन्दा अझै यो देशमा क्रान्ति हुन्छ
यस्तैयस्तै अन्योल र अनिश्चित कुराहरूले गर्दा
जनतामा सधैँ सधैँ नै अनेकौं भ्रान्ति हुन्छ ।

Ratna Shamsher Thapa – Abhilasha

रत्नशमशेर थापा – अभिलाषा

वसन्त भै फुलीदिन्छु नयाँ रङ्ग छरी
सुगन्ध भै फैलीदिन्छु तिम्रै वरिपरि
व्यर्थै लिन्छ्यौ माया किन ? पीर जिन्दगीमा
छामी हेर छुन्छु म त तिमै्र ढुकढुकीमा ।

घाम बनी झुल्कीदिन्छु तिम्रै बिहानीमा
जून बनी मुस्काइदिन्छु तिम्रै शिरानीमा
तन टाढा भए पनि मन हुन्न पर
त्यसैले म भन्छु पि्रया विलौना नगर ।

कैले भेट्छौ उकालीमा कैले ओरालीमा
हामीसँग सँगै हुन्छौ कैले द्यौरालीमा
मेटिँदैन युगौँसम्म मायालु यो गीत
छुट्दैन जन्मजन्म तिम्रो हाम्रो प्रीत ।

Krishna Prasai – Duryodhan Satsang Ma Bhijeka Chhan

कृष्ण प्रसाई – दुर्योधन सत्संगमा भिजेका छन्

देशमा विभिषणहरू ज्यूदैं छन् ।
देशमा जालन्धरहरू पनि छन् ।
जे जति अर्जुनहरू छन्-
ती अब कुनै हालतमा,
कृष्णको बहकाउमा,
अर्को महाभारत लड्न चाहँदैनन् ।
र पश्चतापको भाषामा-
उल्टै सम्झाइरहेछन् कृष्णलाई ,
फेरि अर्को युद्धको तयारी-
अब कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको ?
उनले चाहेका भए ,
विगतमा पनि –
युद्ध टाल्न सकिन्थ्यो भनेर ।
निरीह धृतराष्टहरूले –
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
दुरद्रष्टा भनिने,
सञ्जयहरू पनि हड्तालमा जुटेका छन्
उनीहरू अब ,
कुनै द्रृष्टिहीनको पाउभक्तिमा,
आफ्नो समय उर्त्र्सग गर्नर् चाहँदैनन् ।

चाहँदैनन् –
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नाशियोस् ।
दाउको राजनीति छोडेर,
शकुनी पनि सुध्रिएका छन् ।
सभ्यता टिकिरहनु पर्छ भनेर-
दुर्योधन सत्संगमा भिजेका छन् ।
इच्छा छैन कसैलाई-
अब कुनै युद्ध चम्कियोस-

खरानी बनोस् कुरुक्षेत्र ।
म, मेरै देशको अगम शिखरको चौतारीमा बसेर,
तल समथर सम्पदा हेरिरहेछु –
मेरो देश-
आजभोलि जहाँ ,
हस्तिनापुरमा नभएका-
केही पुराना लेन्डुपहरू छन्-
केही लेन्डुप हुन खोज्दैछन्-

भर्खर जन्मेका नयाँ लेन्डुपहरूलाई-
स्कुले नानीहरू,
पुतला बनाएर जलाउँदैछन् ।

Homnath Pathak – Chhori (Nepali Bal Kabita)

होमनाथ पाठक – छोरी

भृकुटी र सीता जस्तै म नेपालकी छोरी
नेपाली राष्ट्रियता मेरो छातीभरि

विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ
गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ

वीर, वीरंगना सहिदको म पार्छु सपना Continue reading “Homnath Pathak – Chhori (Nepali Bal Kabita)”

Manoj Bogati – Gaun Naayeko Sadak

मनोज बोगटी – गाउँ नआएको सडक

गाउँ पुग्दैन सड़क।

गाउँमा जहिलेसुकै चिप्लो बाटो पुग्छ
सॉंघुरो र खाल्डाखुल्डी भएर।

लड्दै हिँड्छ सह त्यहॉं।

सड़क गाउँ पुगेको भए त बिल्डिङ पुग्थ्यो होला।
बिल्डिङ Continue reading “Manoj Bogati – Gaun Naayeko Sadak”

Shreeshisha Rai – Bhabishya Express

श्रीशीशा राई – भविष्य एक्सप्रेस

मेरो छोरा
उ जस्तै करोडौँ आँखाहरुवाट बगेर
छालहरुले खडेरी किनारामा वेवारिस
मिल्काउने दिन पर्खेर कसरी बस्न सक्छ ?
उ पनि
यौवनले भरिएका लाखौँ विस्वासहरु जस्तै
तिम्रो भविष्य एक्सप्रेसवाट
जीवनमा पहिलो पल्ट
निश्चिन्त यात्रा गर्न खोज्नेछ

तिम्रै गाडीमा ऊ
यसकारण चढ्नेछ की
राजमार्गका अशान्त खाल्डाहरुलाई छिचोल्दै
प्रथम प्रहरमै शान्तिचौक उतार्ने
तिम्रो बाचा उसलाई पनि मिठो लाग्नेछ
दुर्घटनाको कल्पना समेत गर्नेछैन उ
बरु गन्तव्यमा
उसको मुक्ति र पहिचानलाई
ठिक समयमा भेट्छु भन्ने
विस्वास उसलाई लाग्नेछ

तिम्रै गाडीमा चढ्न ऊ
यसकारण बाध्य हुनेछ की
उसको त्यति महँगो विस्वासको इन्धन भरिएको
गाडीको चालक तिमी नै हुनेछौ

गाडीको अस्तव्यस्त चाप छ
अनियन्त्रित गति छ
जेव्राक्रस आफै चक्काले किचिएर लर्बराउँदैछ
तर कतै ट्राफिक देखिदैन
यद्धपि तिम्रा अगाडी
स्कुले नानीहरु बाटो पार गरिरहनेछन्
तिम्रा पछाडी म
मेरो छोराको कुशल यात्राको कामनामा
छुटेको गाडी हेरिरहनेछु
शान्तिचौक पुग्न उसले
तिम्रै सडक यसरी छान्नेछ कि
उसलाई लाग्नेछ – चालक तिमी नै हो भने
यी सबै आस्थाहरु सुरक्षित रहनेछन्

मेरो यात्राका लागि
मैले रोजेको एक्सप्रेसले मलाई
धोका दिएकै हो
मेरा विस्वासका चालकहरु
हाँक्न नजानेर, नसकेर वा खिँचातानीमा ठोक्किएर
म चढेका थुप्रै गाडी त्रिशुलीमा खसेकै हुन्
नयाँ नेपालको ढोकैमा पुग्ने मेरो चाहना
भाँचिएर म अपाङ्ग बनेकै हुँ
यी यसरी अहिले
सँधैका लागि ओछ्याउनमै ग्लानीमात्र सुतीरहेछु
म चाहन्छु–
अब जन्मने मेरो छोराको छनौटमा
यस्तो धोका नहोस
बरु
जन्मदै गर्दा उसको शरिरमा
मेरो खराब विगतको
छायाँ समेत नपरोस
आखिर
महँगो विस्वासको इन्धन भरिएको
गाडीको चालक नै तिमी हौ

उ जस्तै करोडौँ आँखाहरुवाट बगेर
छालहरुले खडेरी किनारामा वेवारिस
मिल्काउने दिन पर्खेर कसरी बस्न सक्छ ?
मेरो छोरा

तरहरा, सुनसरी

Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi

दिगेश राउत – म अनी मेरो फुर्सदको कवी

भाग-दौडको मेरो जिन्दगीबाट
एकैछिनको बिस्राम लिन पाँउदाको कवी म
एकान्तमा बस्दाको बेला कहिले-काहीँ
अफैँ सँग गरेका भलकुसारी कोर्ने गर्दछु।।
जीवनका तिता-मिठा भोगत्याइँका
देखासिखी Continue reading “Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi”

Biplav Pratik – Shaishab

बिप्लव प्रतिक – शैशव

एउटा गुथुमुने बालक थिएँ म
मायाले उचाल्ने र म्वाइँ खाने थुप्रै थिए
इच्छाको अँगालो र म्वाइँमै मेरो शैशव कठै सकियो ।
थुप्रै इच्छाका नौघोडे रथको सारथी म एक्लै थिएँ ।
तर, मेरी आमा र मेरा बाबाको इच्छायुद्धमा
आज म न आमाको इच्छाजस्तै छु
न बाबाको चाहनाजस्तै छु
यहाँसम्म कि म मेरो सपनाजस्तो पनि छैन ।

बालकहरू देख्नेबित्तिकै
त्यसैले, म सोचमग्न हुन्छु ।
आँखा रसाएर आउँछ
फेरि एउटा इच्छाको मृत्युलाई महसुस गरेर,
अनि यही कारणले गर्दा नै
म बालकहरूलाई कुनै इच्छाको आँखाले हेर्दिनँ
उनीहरूलाई आफ्नो इच्छाको बदला कहिल्यै बन्धक राख्दिनँ ।

एउटा गुथुमुने बालक थिएँ म
मायाले उचाल्ने र म्वाइँ खाने थुप्रै थिए
इच्छाको अँगालो र म्वाइँमै मेरो शैशव कठै रित्तियो ।

नयाँसडक, ६ सेप्टेम्बर १९८७

Rajeshwor Karki – Dantya Katha Ko Rakshas

राजेश्वर कार्की – दन्त्यकथाको राक्षस

उहिले-उहिलेको दन्त्यकथामा
पहाड उखेल्दै
नदी सुकाउँदै
सखाप पाथ्र्यो रे
यस धरतीको राक्षसले
तर अहिले
यी सबै गर्नेकै बस्तीमा उभिएर
म कविता पढिरहेछु
र कवितामा आफ्नो परिचय खोजिरहेछु…।

Rakesh Karki – Devkota Hamro Sandhai Maajha

इन्जिनियर राकेश कार्की – देवकोटा हाम्रो सधैँ माझ

लक्ष्मीका प्रसाद बिद्याका सागर
तिम्रो जन्मले रमझम तिहार
देउसी भैलोमा एउटै भाषा
नेपाली नेपाली बिच संगम खासा

हिमाल पहाड तराईका हामी
राष्ट्रियताको ढुकढुकी छामी
धोबिधारा देखि हलिउडसम्म
महाकवि तिमी हरेक मुटुमा टम्म

हरेक सोचाइको मिलन बिन्दु
शिक्षाको प्रकाश भाइ र बन्धु
साहित्य थलमा हाम्रो एउटै बोली
जोड्दै अँगाल्दै सारा नेपाली

मोबाइल कम्प्युटरमा नेपाली बाजा
संस्कृति चाडबाड सबैमा साझा
कृति कृतिमा दिपावली साँझ
धन्य देवकोटा हाम्रो सधैँ माझ

– लस् एन्जेलस्

Manoj Bogati – Naak

मनोज बोगटी – नाक

यसपालि पनि कुहियो त्यसको नाक।

त्यसको वरिपरि उडिबस्ने झीङ्गाहरूले
वर्षौंदेखि देख्दै आएको सपना
त्यसको नाकैमा बसेर फुल्यो।

दुर्गन्धदेखि रमाउने झीङ्गाहरू
हेर न गिज्याउँदै गाइरहेको
बिजय गीत।

गीतले त वर्ग छुट्याउँदैन भन्थे
तर झीङ्गाहरूले जुन गीत हातमा बोकेको छ
त्यसले उनीहरू कै झण्डा बोकेको छ।

त्यसको नाकमाथि बसेर
तिनीहरूले गाउने गीतमा
हाम्रो मादल छैन
त्यसैमा सन्तोष छ त्यसलाई।

त्यसको कुहिएको नाकलाई छोएर आउने हावा
हतियार बोकेर गाउँ पसेको छ।
दुर्गन्धहरूको सेनापतिले
रूख छप्कायो, खोला छप्कायो, पहाड नै छप्कायो
टोपी छप्कायो, टोउको छप्कायो र झर्‍यो इतिहासको सिरान गाउँमा
अनि पालैपालो अक्षर छप्कायो।

टाउको गेंडिएका अक्षरहरू, विचरा…!
वाक्यविहीन भए
त्यसपछि ध्वनिले पनि छोड्यो साथ।
हन, एउटा युगै पो लडिबस्यो मूर्दा जस्तो
सयपत्रीको पेदमा।

निक्कै समय ह्वास्स ह्वास्स आइरह्यो
औपनिवेशिकता।

खडेरी लाग्यो
बीऊ पनि बॉंचेन।

त्यत्तिबेलै गयो बिजुली
निक्कै ढियो घर पस्यो त्यो।

त्यो आउँदा
अक्षरहरू फेदैबाट टुसाउँदै थिए
नाकमा मासु भरिँदै थियो।

अचानक गयो पैह्रो
डॉंडा नै झर्‍यो
कता पुरियोपुरियो नाक।

कस्तो हॉंस उठ्‌दो हुन्छ नी यो
नाकको फेन्टसी?

Purna Biram – Khorsani Baari Ma

पूर्ण विराम – खोर्सानी बारीमा
(मधुपर्क माघ, २०६७)

बाबरका मनहरू लिएका जस्ता गरेर खोर्सानी बारीमा
जेन्टाइलहरू पो देखिएका रहेछन्
बारीलाई अन्दिजान जस्तै सुन्दर बनाउँछौ भनेर
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू
केही समय बलिका बोका बने मानिसहरू
र चढे अन्त्यमा उही पुरानो आर्तिमिसकै मन्दिरमा
अहिले देखिएका भेँडाहरूलाई
कुन तान्त्रिकले तन्त्र गर्दै कुन कथित देउताको नाममा
महा-बलिको आयोजना गर्ने हो ?
कुन सुचिकारले जेन्टाइलका आदेशहरू पालना गर्दै
सिउने हो तेरानलाई तेरान नदेखिने बस्त्र
र फेरि उत्पात्ले यहाँ शिखरतर्फ आरोहण गर्ने हो ?
बाबरका मनहरू लिएकाजस्ता जेन्टाइलहरू देखिएका खोर्सानी
बारीमा एकपछि अर्को गर्दै
धूवाँ मात्र उत्पादन गर्ने कारखानाको विस्तार भइरहेछ
एउटा गमलामा धान रोपेर
सबैको निम्ति चामल ओइरिने कुरा भइरहेछ
यो वर्ष कहाँ मारिए र हिंस्रक जन्तुहरू
सिंह नै पनि चाँहिदोरहेनछ मानिसहरूलाई मार्न
धूवाँभित्र जेन्टाइलका माझमा भोलि नदेखेर
आत्महत्याको शरणमा परेका छन् मानिसहरू
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
धूवाँ फैलाउँदै धूवाँ भित्र पहारिलो घाम तापिरहेका छन् जेन्टाइलहरू
भर्खरै पलाएको मुसोलोनीको नङले च्यातिदिएको छ महान् पर्दालाई ?
च्यातिएको महान् पर्दालाई सम्मानित धागोले सिउन
अब कति वर्ष लाग्ने हो ?
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू
व्यभिचार खप्दै र पालामा थाप्दै अपमानका थोपाहरू
अब महान् कविताहरू लेखेर शीर्षकहरू राख्न
कति हिउँद छातीमा गुटमुटाउनु पर्ने हो ?
तुहिइसकेको छ खोर्सानी बारीमा नयाँ शासकको प्रतिष्ठा
चढे तापनि नयाँ शासकले नयाँ बग्गी
त्यसले बग्गीबाट ओर्लेर सम्मान् गर्दै जाडोमा कामिरहेकोलाई
आफ्नो बख्खु फुकालेर दिने योजना बनाएको छैन
त्यस्तो योजना नयाँ शासकले बनाएको भए
धूवाँ महासागर बन्थ्यो र महासागरलाई पिउने
अगस्ति खोज्न युगले लामो कसला भोग्नु पथ्र्यो
सिद्धान्तले लोप्पा खाएको छ खोर्सानी बारीमा
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
बोल्न सिकेको कुनै सुगालेझैँ कण्ठ गरेर मुमुक्षाकास्तोत्रहरू
बन्दुक बोकेर छल्न आएका रहेछन्
कप्तानी भेषमा खोर्सानी बारीमा
आफूले सुसज्जित पोसाक लगाएर
आफ्नो निम्ति मात्र तान चलाउन जेन्टाइली अनुहारहरू
आगो भनेर मजाले आफूले चाटेको रहेछु धूवाँलाई
दसौं कुम्भकर्ण लिएर म नै पो सुतेको रहेछु
निद्रामै पनि लेखिँदोरहेछ कविताका शीर्षकहरू र हरफहरू
धूवाँमा कसरी देखेँ मैले
शीतलाले भरिएको अनुहारमा क्लियोपेट्राको मुहार
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
धन्य म उभिएको जमिन भासिएको छैन
र आँधीले जेन्टाइलहरूलाई बेलुन बनाएर
खोर्सानी बारीमा कहिल्यै उडाउन सक्दिन भनेको छैन
बेलुन भएर कुनै न कुनै दिन उड्ने छन्
जेन्टाइलहरू खोर्सानी बारीमा
र कोही न कोही बाबरकै मन लिएर
आउने छ खोर्सानी बारीमा
र उसले आफ्ना चाकरका सट्टामा
कविताका शीर्षकहरूलाई सम्मान गर्दै
कविताका हरफहरूलाई सम्मानित गर्ने छ ।

– ३३ काठमाडौँ

Dhundi Bairagi – Bainsle Thageko Manchhe Ma

ढुन्डी वैरागी – वैसले ठगेको मान्छे म …

सजिलै सहर पसेर
रहर बेचेको मान्छे म
चिन्दा नचिन्दै आफैलाई
बेच्न पुगेको म
हेर्दा हेर्दै जुनतारा
दिन ढलेको मान्छे म
खै कसरि परिभाषा दिउ आफैलाई
वैसले ठगेको मान्छे म
निहारिका संगै
नियति डुबेको इतिहास
न आश न बनबास
तिम्रो क्यन्भाशमा न कोरिदै बिक्रि लागेको
निरिह आकृति म
खै कसरि परिभाषा दिउ
वैसमा वैसले ठगेको मान्छे म
हेर्दा हेर्दै जुनतारा
दिन ढलेको मान्छे म .

Dilip Yonjan – Jindagi

उज्यालो र कोलाहलमा बिलाउन
सधैँ-सधैँ म आशाको त्यान्द्रो लिएर
अभावको समाधान खोज्दा खोज्दै
मिरमिरेदेखि गोधुली रक्तिम किरणसम्म
बाटो…. दोबाटो…… अनि गल्ली हुँदै
वारि छितिजबाट……… पारि छितिजसम्म
भड्किरहन्छु………….दौडिरहन्छु……..
आवश्यकताको गहिरो धरातलमा
अतालिदै…….. कहालिदै……….. खोजि हिँड्छु
त्यही भीडहरुको बीचमा
गन्तब्यको थकाइ पछि फर्किन्छु
खालिहात लामो सुस्केरा बोकेर
पोल्टोभरि झुटो बिश्वास दिएर
वर्षौ वर्षसम्म धैर्यतामा बाँचिन्
कल्पनाभरि खुसीयाली समेटेर
खालिपेट पटुका कस्दै हाँस्छिन
जवानी फिर्ता मागेर रोइन
सम्पति र मोजमस्ति मागिन्
नौलो आशा र उमङ्ग बोकेकी हुन्छिन्
आँखाभरि आँसु झारेर खुसी दिन हाँस्छिन्
मुटुभरि पीडा लुकायर भावनमा बाँच्छिन्
मैले एकमुठि खुसी दिन सकिन्
फुल्छन् मनका कुनामा रुन्चे खुसिहरु
न मैले दिन सकेँ…………..
न उनले अधिकार मागिन्
अभावको खाडलमा होमिएको
जिन्दगी……….. !

अस्टिन, अमेरिका