Purna Biram – Khorsani Baari Ma

पूर्ण विराम – खोर्सानी बारीमा
(मधुपर्क माघ, २०६७)

बाबरका मनहरू लिएका जस्ता गरेर खोर्सानी बारीमा
जेन्टाइलहरू पो देखिएका रहेछन्
बारीलाई अन्दिजान जस्तै सुन्दर बनाउँछौ भनेर
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू
केही समय बलिका बोका बने मानिसहरू
र चढे अन्त्यमा उही पुरानो आर्तिमिसकै मन्दिरमा
अहिले देखिएका भेँडाहरूलाई
कुन तान्त्रिकले तन्त्र गर्दै कुन कथित देउताको नाममा
महा-बलिको आयोजना गर्ने हो ?
कुन सुचिकारले जेन्टाइलका आदेशहरू पालना गर्दै
सिउने हो तेरानलाई तेरान नदेखिने बस्त्र
र फेरि उत्पात्ले यहाँ शिखरतर्फ आरोहण गर्ने हो ?
बाबरका मनहरू लिएकाजस्ता जेन्टाइलहरू देखिएका खोर्सानी
बारीमा एकपछि अर्को गर्दै
धूवाँ मात्र उत्पादन गर्ने कारखानाको विस्तार भइरहेछ
एउटा गमलामा धान रोपेर
सबैको निम्ति चामल ओइरिने कुरा भइरहेछ
यो वर्ष कहाँ मारिए र हिंस्रक जन्तुहरू
सिंह नै पनि चाँहिदोरहेनछ मानिसहरूलाई मार्न
धूवाँभित्र जेन्टाइलका माझमा भोलि नदेखेर
आत्महत्याको शरणमा परेका छन् मानिसहरू
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
धूवाँ फैलाउँदै धूवाँ भित्र पहारिलो घाम तापिरहेका छन् जेन्टाइलहरू
भर्खरै पलाएको मुसोलोनीको नङले च्यातिदिएको छ महान् पर्दालाई ?
च्यातिएको महान् पर्दालाई सम्मानित धागोले सिउन
अब कति वर्ष लाग्ने हो ?
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू
व्यभिचार खप्दै र पालामा थाप्दै अपमानका थोपाहरू
अब महान् कविताहरू लेखेर शीर्षकहरू राख्न
कति हिउँद छातीमा गुटमुटाउनु पर्ने हो ?
तुहिइसकेको छ खोर्सानी बारीमा नयाँ शासकको प्रतिष्ठा
चढे तापनि नयाँ शासकले नयाँ बग्गी
त्यसले बग्गीबाट ओर्लेर सम्मान् गर्दै जाडोमा कामिरहेकोलाई
आफ्नो बख्खु फुकालेर दिने योजना बनाएको छैन
त्यस्तो योजना नयाँ शासकले बनाएको भए
धूवाँ महासागर बन्थ्यो र महासागरलाई पिउने
अगस्ति खोज्न युगले लामो कसला भोग्नु पथ्र्यो
सिद्धान्तले लोप्पा खाएको छ खोर्सानी बारीमा
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
बोल्न सिकेको कुनै सुगालेझैँ कण्ठ गरेर मुमुक्षाकास्तोत्रहरू
बन्दुक बोकेर छल्न आएका रहेछन्
कप्तानी भेषमा खोर्सानी बारीमा
आफूले सुसज्जित पोसाक लगाएर
आफ्नो निम्ति मात्र तान चलाउन जेन्टाइली अनुहारहरू
आगो भनेर मजाले आफूले चाटेको रहेछु धूवाँलाई
दसौं कुम्भकर्ण लिएर म नै पो सुतेको रहेछु
निद्रामै पनि लेखिँदोरहेछ कविताका शीर्षकहरू र हरफहरू
धूवाँमा कसरी देखेँ मैले
शीतलाले भरिएको अनुहारमा क्लियोपेट्राको मुहार
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
धन्य म उभिएको जमिन भासिएको छैन
र आँधीले जेन्टाइलहरूलाई बेलुन बनाएर
खोर्सानी बारीमा कहिल्यै उडाउन सक्दिन भनेको छैन
बेलुन भएर कुनै न कुनै दिन उड्ने छन्
जेन्टाइलहरू खोर्सानी बारीमा
र कोही न कोही बाबरकै मन लिएर
आउने छ खोर्सानी बारीमा
र उसले आफ्ना चाकरका सट्टामा
कविताका शीर्षकहरूलाई सम्मान गर्दै
कविताका हरफहरूलाई सम्मानित गर्ने छ ।

– ३३ काठमाडौँ