Damodar Pudsainee – Dunai

दामोदर पुडासैनी किशोर – दुनै

डाँडाका छालहरूमा
कुहिरोको टोपि पहिरेर
जूनेली चित्रमा
अनुबाद हुन खोज्दैछन् पहाडहरू
नदीका महान मूर्च्छनाहरू सुँघेर
खोजिरहेछु मैले कसैको
पहाडभन्दा अग्लो बिश्वास

साँझहरू सर्बस्व सुम्पेर
सपना देख्न लालायित छन्
जीवन भित्रका पिलपिले ताराहरूको

हरेक साँझ
पिउँदा पिउँदै थकित बनेको शरीर
र, यारचा गुन्भुको जोड घटाउ
ठूली भेरीको बहाब जस्तै अनन्त बनेको छ
जसरी
गुमनाम भागेको
पतिको संझनालाई इख्याउँदै
पालैपालो जिल्लाका
ठूला हाकिमहरूलाई
स्कचका बोतलबाट
झिँगिन टि सर्ब गरेर
ईच्छा आकाँक्षाका सूचिहरू
सूचिकृत गराउँन
सफल हुन्छिन् सधैं
सहरकै सर्बोत्कृष्ठ मैतालु मैसाब

शहरका
घरका छानामाथि ठड्याइएका लिँगाहरूमा
मायाका नेजा फेर्ने हतारो छ हरेक नीला शरदहरूमा

लुकिचोरी लाएको मायाको मोल
नौ लाख चुक्ता गरेको छ भर्खरै
भियाग्राको पारखी यारचा ब्यापारीले
हरेक क्षण चुकुलको चाँजोपाँजोमा तम्सिरहेका
सरकारी कर्मचारीहरूबाट
तल्लो दुनैदेखि उपल्लो दुनैसम्मका होटलहरूमा
कटुवाल घोषणामा हुँदैछ
पाएको,लाएको र खाएको
अमिलो पारदर्शन

जागिरमा भर्खर छिरेका लोक सेवाका प्रियपात्रहरू
‘यसमा के छ ?’ र ‘ यो के कुरा हो ? ‘ को जबाफ खोज्दै
भौतारिरहेछन् भेरीका किनारहरूमा

उता भर्खरैको निर्वाचनमा
जोड घटाउ बिगार्न सफल जनप्रतिनिधि
दफा उपदफा लेखेको पुस्तक नभेटेर
र, कर्मचारीको अपब्याख्यामा धर्मराएर
कुर्लेर भाषण गर्छ –
तालाकुचि बोक्न्याहरूलेनै यहाँ
ध्वस्त पारिरह्याछन् राष्ट्रको ढुकुटी

जुफाल ,मोतिपुर र कार्कीबाडाबाट
पाचघण्टा पैदल हिंडेर
दश रूपैयाँ दाना स्याउ बेचेका
रानीसाहेब र मैसाबहरूले
झिसमिसेमै सुरूप सुरूप पिएका छन्
सिन्के चाउचाउको पिरो झोल
र किनेका छन् साँझलाई
एक बोतल खोयाबिर्के
फर्कदा भेरीको झोलुँगे पुल तरेर
माग्दैछन् डाक्टर श्रीकान्त अग्रवालसंग
रातमा पसिना आउँने र दिनमा पेट फूल्ने
रोगको औषधि
भित्रभित्रै उगुच पल्टेका कयौ घाउहरूले
टनटनि दुखाइरहन्छ रात र दिनलाई
त्यो सबै डाक्टरलाई देखाउन
लाज लागिरहेछ उनीहरूलाई

जिल्लाको ब्यथा टुँगियोस् जिल्लामै
नआओस् राजधानीमा
एउटा गहन चिन्तनमा छ सिँहदरबार
उता छार्का ताँगसोँग,भिजेर,तिन्जे र सालदाँगमा
राज्य पुग्नै नसक्ने निर्णयमा पुग्यो
जिल्लाका भद्र भलाद्मी र कर्मचारीको बैठक

लावन,शहरतारा र धो तिरबाट झरेका
एकहूल घोडचढीहरू
भर्खर ओर्लेका छन् पहेला घोडाहरूबाट
ठूलीभेरीलाई कहाँनेर थिचेर
बिच्छ्याउन सकिन्छ एउटा आरामदायी ओछ्यान
कर्के नजरले हेर्दैछन् कुना कुनाका मान्छेहरू

हतारमा गाँसिएको एउटा दूनो
फनफनी घुमिरहेछ
भेरीको अलल्ले छालहरूमा

सुनको सिरानीमा मस्त निदाइरहेको राजकुमार
सपना देखिरहेछ ब्यूँझेपछि धामी पतुर्ने

दुनै,डोल्पा,२०७४ भाद्र ३० गते शनिबार ।