Ratna Shamsher Thapa – Christmas Ko Raat

रत्नशमशेर थापा – क्रिसमसको रात

डिसेम्बरको चिसो रात
ठाँटिएका क्रिसमसका रुखहरू
धर्तीका समस्थ मानवजातिलाई
विश्वशान्तिको सन्देश दिन
झिम्काउँछन् आँखा
मुख मिठ्याउँदै

रंगीचंगी विस्फोटहरूका
आफ्ना हात हाँगाका औँलाहरू
भव्य स्वागतका लागि
बिस्तारै बिस्तारै फैलाएर ।

Ratna Shamsher Thapa – Andhakar Fissa Hanschha

रत्नशमशेर थापा – अन्धकार फिस्स हाँस्छ

अस्पतालको सस्तो खालको
ह्वास्स केही-केही गह्नाउने
आङ्गै सिरिंग गराउने
एउटा कोठामा
दिउँसै रात पर्छ
अन्धकार फिस्स हाँस्छ ।

प्यासाले तृप्ति माग्छ
पर कुखुरा बास्छ
नाडी सजाउने चुराको
एक टुक्रा लाचार भई
भूइँमा फ्यात्त झर्छ
अन्धकार फिस्स हाँस्छ ।

एउटा फूल सड्छ
एउटा भूल गड्छ
जन्माई हुर्काउने
टन्टा झन्झट सबै
एकै पल्ट मर्छ
अन्धकार फिस्स हाँस्छ ।
फेरि अन्धकार फिस्स हाँस्छ ।

Ratna Shamsher Thapa – Kamana

रत्नशमशेर थापा – कामना
(मधुपर्क २०६६ भदौ)

मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।
आगोको तातो असिना खन्या बादल कुर्लेर
क्षितिज चिर्ने आवाज सुना सागर उर्लेर
बदलिनुपर्छ धमिलो नक्सा सम्पूर्ण धर्तीको
गुञ्जिनुपर्छ एउटै गीत विश्वमा प्रीतिको ।
रगतको रङ चिन्न निर्मल आँखा चाहिन्छ
जीवनको अर्थ बुझ्न सरल भाका चाहिन्छ
उमि्रनुपर्छ मुटुमुटुमा पवित्र भावना
बर्सिनुपर्छ शान्तिको ज्योति मेट्न तिर्सना ।
मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।

Ratna Shamsher Thapa – Neelo Sapana Nirwastra Baila Haruko

रत्नशमशेर थापा – नीलो सपना निर्वस्त्र बैलाहरूको

माछाको आलो पित्तको धूप सुँघेर
बोसोको पत्रहरू पगाली पाठेघर भरिको
अबिर सिंदुरको रेखी भित्रको बुटी
निलेर सात गेडा सिंगो अक्षतासँगै
भोक मेट्न ऋतुदानको
जाग्राम बस्छन् बैलाहरू
निर्वस्त्र वरको रुखमुनि
नीलो किरणको प्रतीक्षामा
आँखा चिम्ली मुख बाएर ।

Ratna Shamsher Thapa – Bainsh Futi Rahechha Dhungako Kaai Ma Chiplera

रत्नशमशेर थापा – वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर

टक्टकिएर बकुल्ले बादलको
प्वाँख-प्वाँखको दूधे जराबाट
केशदेखि खुट्टाको बुढी औँलासम्म
ओढाउन सेतो बर्को हरियालीलाई
अर्घ चढाउँदै सूर्यलाई
आरती उतार्न बालिएका
मन्दिर, आँगन र चोक चोकमा
कातेका बत्तीहरू निलेर सलक्क
फुलिरहेछन् हिउँका फूलहरू झपक्क

चहुरका जाँघ भरी
नर्सरीका झ्यांग भरी
पाखा र भन्ज्यांग भरी
फुसफुसाउँदै बेसुरा राग फुकेर ।

नियालेर प्रतिविम्ब
बैँश ।
निलो पोखरीमा
फुटी रहेछ
ढुंगाको काईमा चिप्लेर ।

Ratna Shamsher Thapa – Abhilasha

रत्नशमशेर थापा – अभिलाषा

वसन्त भै फुलीदिन्छु नयाँ रङ्ग छरी
सुगन्ध भै फैलीदिन्छु तिम्रै वरिपरि
व्यर्थै लिन्छ्यौ माया किन ? पीर जिन्दगीमा
छामी हेर छुन्छु म त तिमै्र ढुकढुकीमा ।

घाम बनी झुल्कीदिन्छु तिम्रै बिहानीमा
जून बनी मुस्काइदिन्छु तिम्रै शिरानीमा
तन टाढा भए पनि मन हुन्न पर
त्यसैले म भन्छु पि्रया विलौना नगर ।

कैले भेट्छौ उकालीमा कैले ओरालीमा
हामीसँग सँगै हुन्छौ कैले द्यौरालीमा
मेटिँदैन युगौँसम्म मायालु यो गीत
छुट्दैन जन्मजन्म तिम्रो हाम्रो प्रीत ।

Ratna Shamsher Thapa – Bedana

रत्नशमशेर थापा – वेदना
(मधुपर्क असार, २०६७)

छिटै नै आँउछु भनेर गएको
निर्दयी आएन फर्केर ।
वाचा त्यो सम्झेर आँखा यी रसाइ
दुख्छ नि यो मन चर्केर ।
डुब्ने भो मेरो मायाका तारा
गहिरो दहमा ।
रुझ्ने भो मेरो चाहना सारा
ओसिलो गहमा ।
सुसाइरहेछ एकनास आँधी
मेरो चारै सूर ।
विझाइरहेछ हररात छाती
हुँदै चूरचूर ।

Ratna Shamsher Thapa – Bhutte Bancharo

रत्नशमशेर थापा – भुत्ते बन्चरो
(रूपरेखा २०२१)

यहाँ मानिस
आफ्नै खुट्टामा
भुत्ते बन्चरो चलाएर
पुरुषार्थी बन्छ ।

फाट्टफुट्ट-फाट्टफुट्ट
अमिला मुस्कानका
दुईचार रेखा देखाएर
आफूलाई आशावादी भन्छ ।

आक्कल झुक्कल जोशमा
शान्ति रुचाउने
तटस्थ नीति अपनाएर
आफूलाई ठूलो गन्छ ।

अनि !
आफूलाई नापेर
आफ्नै मिहिनेतले
आफैलाई पुर्न
एउटा खाल्डो खन्छ ।

अनि मानिस
आफ्नै खुट्टामा…

Ratna Shamsher Thapa – Joon Ko Chapari

रत्नशमशेर थापा – जूनको चपरी

सपना देख्छु तिर्खालु बाज
बकैनाको बुढो रुखमुनि
मेरो पैताला ठुँगिरहेछ ।

ब्युँझेर हेर्छु दलिनको कापामा
माकुरा निली जालो ओढेर
कालो माउसुली उँघिरहेछ ।

बाहिर तरकारी बारीमा
जूनको चपरी जुरोमा बोकी
कन्फट्टा साँढे रुँगिरहेछ ।