Bhimnidhi Tiwari – Gajal (Ishkabaaji Ma)

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा
र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।

नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा
र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा
र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा

नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा
र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा

नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा
र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा

नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा
र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 010 – Laun Laun Ra Khaun Khaun Baya Mai

‘यो टाढा परदेशबाट घरमा चाँडै तिमी जाउली
डोर्याईकन शान्ति कान्ति सुखले बा’लाइ देखाउली
पाहाडी चिडिया उडी रहरको पहाडमै जाउली’
भन्दैमा सखि ! गैसक्यौ, अब कहाँ के गर्न हे पाउली

साँचेको किन त्यत्ति मात्र रुपियाँ आफ्नै लुकाईकन
के के गर्न थियो, गयौ नि ! मनको धोको नफोईकन
चौतारी म बनाइदिन्छु त्यसले संसारको मार्गमा
फोई बन्धन गुप्त त्यो रहरको, जाऊ सखी ! स्वर्गमा

अर्काको नझुकी अगाडि घरको मर्का लुकायौ कति
तिम्रो धैर्य र मुस्कुराहट मिली गर्दै गएँ उन्नति
मेरो आज फल्यो कमाइ, तर हा ! तिम्रो ढल्यो देह यो
हे मेरी सखि ! दुःखको समयकी, छोडी गयौ खोप यो

लक्ष्मी भै धनधान्यपूर्ण घरमा बस्नै तिमी पाइनौ
हुर्काईकन लालबाल सुखले जानै तिमी पाइनौ
लाऊँ लाउँ र खाउँ खाउँ वयमै आफू कसोरी गयौ
बन्दैमा कति हाइ हाइ सबकी, सारा रुलाई गयौ

तिम्रो बाइस वर्षको रहर यो बोल्ने सखी बाँकि छन्
छातीको दश धार प्यार पिउने छोरी दुवै बाँकि छन्
यो तिम्रो म छु, चित्तभित्र प्रतिमा तिम्रो अझै बाँकि छ
छैनौ किन्तु तिमी ! यहाँ हृदयको तिम्रो सबै बाँकि छ

मान्छे जन्मिन आउलान् तर तिमी रानी कहाँ पाउँला
त्यो बान्की अनुहारको, नजरको पानी कहाँ पाउँला
मान्छेमा छलले छिपीकन तिमी छाया पनी पाउँला
त्यो बानी, दिल त्यो, त्यही किसिमको माया कहाँ पाउँला

सानो मानिसलाई भूमितलमा हुर्काइदिन्छौ किन
सानो त्यो दिलभित्र विश्वभरिको माया बसाल्छौ किन
लैजान्छौ नि ! उमेरमै रहर त्यो पुग्नै नपाई किन
लैजान्छौ वरदान फेरि भगवन ! भोग्नै नपाई किन

छातीलाई फुलाउने कुसुम यी फुस्की कहाँ झर्दछन्
टाढा टेक्न उचालिने चरण यी खुस्की कहाँ पर्दछन्
मान्छे हिँड्दछ सुख्ख खोज्न, कसरी त्यो दुखःमै पर्दछ

आत्मा आउँछ हाँस्नलाइ, कसरी रोएर त्यो मर्दछ

वैली यो मधुमास जान्छ, बिउँझी क्वैली जसै बोल्दछ
उड्छन् बादलमा भुवा, सिमलले कोया जसै खोल्दछ
ब्यूँझी जीवन, घाम जूनमनि यो केही फुकेको मन
फुस्काई कसले लग्यो कुन दिशा, मेरी कहाँ छौ ? भन

छोई भूतललाइ इन्द्रधनुले लाखौँ सिँगारे पनि
रातीका सपना बिहान बिउँझी साँचा बनाए पनि
मान्छेलाइ मिले पनी अजमरी खोजेर सञ्जिवनी
फर्कन्नौ यस लोकमा, जुन गयो यो गैगयो जीवनी

गैह्री खेत ! फलेर धान नझुला बाला सुनौला तल
टुप्पाबाट लदाबदी नफलिदे वैशाखको काफल
आउन्नन् वनभात खान वनकी रानी छहारीमनि
नाघी पर्वत स्वर्गमा गइसकिन् आनन्दकी इन्द्र्रिनी

बेहानीपख उठ्तिनन् अब उनी आई नबोला चरी !
टाढा देवलमा नबज्न शहना ! नाना बिलौना गरी
कल्ले हेर्छ र झुल्किएर चुचुरा पाखा सिँगार्छन् रवि
छन् खुल्ला अब रुप रङ्ग रमिता उल्लास छाया–छवि

डालाबाट नबोल कोइलि ! झुली, वैलिन्छ रे यो वन
काला केश नबाट है युवति हो ! फुस्कन्छ रे जीवन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पीरती
देवी स्वर्ग गईसकिन् नगर है यो साँझमा आरती !

Shiva Prakash – Sahamati

सहमति !
सहमतिका लागि
सहमतिबाट सुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।

सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो ।

सहमति !
सरकार बनाउँन चाहिन्छ
सरकार चलाउँन चाहिन्छ
सरकार बचाउँन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।

सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
सहमति वेश्या-वेश्याबीच
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।

सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।

चलेको छ –
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पुर्ण सहमतिमा !

Upendra Shrestha – Hamro Laagi Yo Hinsa Ra Hatya Kina?

उपेन्द्र श्रेष्ठ – हाम्रो लागि यो हिंसा र हत्या किन ?
(मधुपर्क असार, २०६७)

हाम्रो लागि
कहाँ छ खोइ एउटा गाँस ?
कहाँ छ खोइ एउटा बास ?
कहाँ छ खोइ एकटुक्रा कपास ?
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई वासको
यहाँ खाँचो छ हामीलाई गाँसको
यहाँ खाँचो छ हामीलाइ कपासको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको,
हाम्रो लागि
यो परम्पराको पुनरावृत्ति किन ?
यो ढुङ्गो सभ्यत्ता र संस्कृति किन ?
यो हिंसा र हत्या किन ?
हाम्रो लागि
यो आतङ्कवादको
कुनै अर्थ छैन,
हाम्रो लागि
यो हिंसा र हत्याको
कुनै मूल्य छैन,
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई बाँच्ने हक,
र बाँच्ने अधिकारको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको
हाम्रो लागि
यो हिंसा र हत्या किन ?
हाम्रो लासिग
यो धार्मिक सम्प्रदाय किन ?
हाम्रो लागि
यहाँ खाँचो छ एउटा गाँस
एउटा बास
र एउटा स्वतन्त्रताको

Bikram Subba – Ful

दुइचार माना माटो
एकदुइ मुठी मल
र मायाको घाम-पानी दिए
तिमीलाई फुलले
गमला साइजको स्वर्ग दिन्छ ।

Binod Roka – Kata

बिनोद रोका – कता ?

जन्मायो येही धर्तीले तिमीलाई
बढायो झर्दै आँशुका ढिका
कर्म त गर्ने पर्ने हो यो देशमा
किन जान्छु कोस्टारिका
परिबर्तन र बिकासका खातिर
देखाऊ बल तन्नेरीका
पढ लेख येही देशमा
किन जान्छु अमेरिका
दुख गर आफ्नै देशमा
बरु बन ड्राइभर ट्याक्सीको
अन्यथा नसोच नेपाली
किन बेर्थ जान्छु मेक्सिको
बन्छ मिले हामी यो देश
नगरौ बिकासको लागि हतार
ऋणै ऋण थाप्लोमा बोकी
किन जानु साउदी कतार
काम गर्दा चौबिसै घण्टा
परदेशमा हामी हुन्छौ घयेल
सोच फेरी राष्ट्र भक्तहो
कि जान्छौ त इज्रायेल
दुख गरि अर्काको देशमा
किन बच्नु आफ्नो देश बिना
पैसा टिप्न मिल्दैन थिताहो
किन जान्छौ अर्जेन्टिना
परिश्रम गर आफ्नै माटोमा
कुर आफ्नै देशमा काल
गौरब गर नेपाली हुनुमा
भन प्यारो देश नेपाल
भन प्यारो देश नेपाल ||

Mani Raj Singh – Timro Sapana Ra Ma

मणिराज सिंह – तिम्रो सपना र म

आलुबारीमा गोडेको
तिम्रो सपना
र रातको अन्धकारमा भौतारिएको
तिम्रो यौवनको लाली
बाँसको झ्याङ्बाट बगेको
बतासको गाढा सुसाई
हत्केलामा नअटेको
गुँरासको रंग
एकविहानै चियाएर हेरे आँखीझ्यालबाट
डाँडापारि रगतको होली खेलेर
घुरझैँ सम्पूर्ण परिवेश तताउँदै
अनन्त ज्योतिका लप्काहरू उचाल्दै
घाँटीमा सुर्केनी कसेझैँ
छङ्छङ झरिरहेको झरनाको पानी
मेघको गर्जन र विजुलीको उज्यालोमा
त्यो परिचित देउरालीमा मयूरको नृत्य
तिमी नै तिमी पोखिएकी रहिछौ
पानी–पानी भएर ।

पसिनाले सुम्सुम्साएर
हातका ज्यावलहरू
एक टुक्रा अध्याँरोसँग
पत्रैपत्र पट्याएर
सम्झनाका चिनोहरू
सिँचेर राखेको छु
मनको अगेनीमा
तिमीलाई पर्खेर रङ्गहरू पोतेको छु
सपनाहरू उघारेर सिरानीमा थापेको छु
तिमी आउछ्यौ कि भनी
घरि–घरि चियाएको छु ।

Acharya Prabha – Bandhaki Hanso

उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म ,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र रु
अनी —सेता अग्ला हिमालहरुको
द्रीश्यले किन मोहित थिइन र Continue reading “Acharya Prabha – Bandhaki Hanso”

Shree Purush Dhakal – Samjhana

श्रीपुरुष ढकाल – सम्झना
(मधुपर्क २०६६ असोज)

सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

काफल टिप्न रूख चढ्थ्यौँ
गाई चराउन जाँदा हामी
ऐँसेलु टिप्दै खान्थ्यौँ
काँडेदार हाँगा तानी
गर्मी हुँदा पौडी खेल्थ्यौँ
जाडोमा धुनी बाल्थ्यौँ
खोला पुग्दा बल्छी हाल्दै
माछा पोली खान्थ्यौँ ।

कपर्दी र डण्डीबियो
खेल्ने गथ्र्यौ हामी
कहिलेकाहीँ रिसाएर
कुस्ती लड्थ्यौँ हामी
रिसाएको एकैछिनमा
भेटी हालौँ लाग्थो
अँगालेर आपसमा
बोली हालौँ लाग्थ्यो ।

असार पन्ध्र हिलो खेल्दै
दहीचिउरा खान्थ्यौँ हामी
साउने सङ्क्रान्तिमा
लुतो फाल्ने गथ्र्यौ हामी
दसैँ तिहारमा पिङ खेल्थ्यौँ
टीका पनि लाउँथ्यौ
पुसको पन्ध्र घिउखुट्टे
माघमा खिच्रो खान्थ्यौँ
सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

-ल.पु.,सानेपा

Saroj Dhital – Peeda Ko Chitra (Nepali short Poem)

सरोज धिताल – पीडाको चित्र

ढुङ्गामा बुट्टा !
पीडाको सुन्दर चित्र–
मेरो मनजस्तै ।

फरवरी, २००४

Komal Shrestha – Rahanchha Rahanna

कोमल श्रेष्ठ – रहन्छ रहन्न ?

बिना उत्सव पनि
गुरास फूल्थ्यो
मेचीकालीमा
अब यसरी फुल्छ फूल्दैन ..?.
जात जाती भाषा भाषी
मिलेथ्यो नङमासु झै
अब यसरी
मिल्छ मिल्दैन …. ??
मान्छेहरु
कन्चन कलकल नदीका Continue reading “Komal Shrestha – Rahanchha Rahanna”

Shrawan Mukarung – Aanshu

आँसु नआउँदै–
तस्वीर आउँछ
आँसु पलाउँदा–
सम्झना झाँगिन्छ/क्षितिज धमिलिन्छ
आँसु झर्दा–
आँखामा खस्छ/बालक चलमलाउँछ
आँसु पुछ्दा–
चुरा बज्छ/आँखामै खरानी पस्छ
आँसु सुक्दा–
उज्यालो हुन्छ/ दैलो उघ्रिन्छ

यसरी आँसु बाहिरियो भने त ठीकै हुन्छ
भित्रै रहिरह्यो भने के–के हुन्छ/ के–के हुन्छ
आँसु सम्हाल्ने त मन हुन्छ
नसके रुमाल हुन्छ

भन ए परदेशी !
तिमीले पसिना पुछ्ने रुमाल
सपनामा फूल हुन्छ ?!

Binod Khadka – Ma Pani Rajniti Ma Lagne Bhaye

बिनोद खड्का -म पनि राजनितिमा लाग्ने भए

तल्ला गाँउको दानविर मात्र होइन
माथ्ला गाँउको गोरुचोर पनि राजनितीमा लाग्यो
पल्ला गाँउको मुखिया मात्र होईन
जमिन्दारको कान्छो छोरो पनि राजनितीमा आयो

पद नपाउन्जेल जनताका नेता रे
पद पाएपछि जनताका मालिक हुन पाईने
अर्को नेता र पार्र्टीको पेलाई आयो की
जनताकोमा जान्छु भनि घुर्र्की लाउँन पाईने

कस्तो राम्रो पेशा यो न त पढ्नु पर्ने
कस्तो फलदायी पेशा यो न त दूख गर्नुु पर्ने
प्रजातन्त्रको दुहाई दिदै पद र गाडी फर्ेन पाईने
बीसौं बर्षराजनितीमै नेता भई जम्न पाईने

देशमा व्यवस्था फेरिए मुखुण्डो फेरे पुग्ने
जुन व्यवस्था आउँछ उसकै भक्ति गाए हुने
वन्द हडताल र चक्काजाम गोजीमा राखी चल्ने
अर्काको कुरा मन परेन की सडकमा झोसिदिने

आश्वासनको भेलमात्र होईन
छुठै छुठको बषर्ा बषर्ाए पनि हुने
महंगी र अभावका कुरा आए
अन्तर्रराष्ट्रिय बजार देखाई दिए पुग्ने

सरकारी खर्चमा चम्चा जम्मा गर्न पाईने
राजनैतिक अपठ्यारो पर्यो की
टायर बोकिहिड्ने चम्चाहरुको भीड
सडकमा ओराली दिए पुग्ने

मुखैले मेलम्ची झारिदिए हुने
बोलीले गरिबी हर्टाईदिए पुग्ने
तथ्यांकै तथ्यांकको जालभित्र
देश विकासको हावा फुके पनि हुने
कस्तो राम्रो पेशा यो राजनिति
छटृँहरुलाई त असाध्यै सुहाउने

त्यसैले
जनता झुक्कयाउने खेल सिक्नको लागी
म पनि नेताको घर धाउँने भए
यस्तो राम्रो पेशा छोडेर
म अन्त नलाग्ने भए
त्यसैले हजुर
म पनि राजनितिमा लाग्ने भए ।

(२३ जुलाई २००८)

Sunil Limbu – Barkha Aayeko Chha

सुनिल लिम्बु – बर्खा आएको छ

मेरो एउटा सम्झना छ,
नाङ्गो खुट्टा, चप्पल फालिएको छ,
कपाल च्याप्प, साँस मेरो आधा छ,
रित्तो घाँसको मैदान, सुनसान छ,
र म एक्लो छु ।

पश्चिममा डुब्दै गएको घाम छ,
सेतो अकाश निभ्दै छ,
काला काला बादल उडेर आउदै छ…. एउटा ठुलो गर्जन छ,
फुटेर ती बादलहरूबाट, झरेको शीतल थोपाहरू छ,
….बर्खा आएको छ ।

(Sent to Sanjaal Corps via Email)

Lakshmi Mali – Gham Sanga

भालेको डाँकसँगै
आज बच्चाहरुसँग खेल्न
झिसमिसेमै
घाम चोकमा आइपुगेछ
उज्यालोसँगसँगै
घामसँग खेल्न
म्याउँम्याउँ गर्दै
छाउरा–छाउरीहरु
विस्तारै खोरबाट निस्केछन्
म्याँ–म्याँ गर्दै
पाठा–पाठीहरु
बुर्लुक्क उफ्रेछन्
भंगेरा–भंगेरीहरु
चिरबिर गर्दै भुर्भुर् उड्दै
खुसी भएछन् ।
बाँ बाँ गर्दै
बाच्छा–बाच्छीहरु
गोठबाहिर चियाउन थालेछन् ।
क्याँ क्याँ गर्दै
टिउरा टिउरीहरु
पखेटा फट्फटाउन लागेछन् ।
भुनभुन गर्दै रमाउँदै
भँवराहरु
फूलको डालीडाली डुलेछन् ।
घामसँग खेल्न
सबैलाई खुशी लाग्दोरहेछ ।

Lakshmi Mali – Pratifal

यसपालिको तिहारमा
कजीनी दंग पर्दै भन्न थालिन् ‘रातै राम्रो’
गोमा बज्यै छक्क पर्दै भन्न थालिन्
‘रातो भनेको त सौभाग्य हो !’
किनकि
बारीको सयपत्री फुल रातो रंगमा फुलेछ
गोदावरी पूmल पनि रातै रंगमा फुलेछ
काजीसाबले त सेतो गोदावरी
सार्नु भाको थियो ।
पण्डितले पनि पहेंलो सयपत्री
लगाउनु भाको थियो ।
रातो भएर कसरी फुलेछ ?
माटोको धर्म
कजिनीलाई थाहा छैन क्यारे
गोमा बजैलाई पनि थाहा भएन क्यारे
गएको साउनमा
लेकबाट बगेको पानी रातै थियो
मल भएर पानीसँगै बगेको
पतकर पनि रातै थियो
रातो मलजल खाएको माटोले
सेतो र पहेंलो फुल
कसरी फुलाउन सक्ला ?

Rakesh Karki – Swarga Ko Khoji

राकेश कार्की – स्वर्गको खोजी

सगरमाथाको टोपी थाम्न सकिँन
दौरा सुरूवालभित्र अटाउन सकिँन
बुद्धको दृष्टिले हेर्न सकिँन
मादलको भाखा बुझ्न सकिँन

ढुङ्गेधाराको चिसो पानीले पनि
मन भित्रको तीर्खा मेट्न सकिन
शितल चौतारीमा मायालुसंग
गाँसेको मायाप्रीति सँगाल्न सकिन

बामे सर्दै लडीबुडी खेलेको
आमाको काख भुलिसकेँ
सुख दुखमा होष्टे हैँसे गर्ने
गाउँका साथी बिर्सी सकेँ

ती अतीत भए सारा अतीत
केवल म मात्र छु वर्तमान
मेरो बोली अर्कै मेरो घर अर्कै
केवल म मात्र मेरो पहिचान

धेरै सोचेँ धेरै विचार गरेँ
एक्लै आफ्नो हस्तरेखा पढेँ
आज आफैलाई थाहा छैन
म स्वर्गमा चढेँ या स्वर्गबाट झरेँ ।।

अस्तु

– लस् एन्जेलस्

Biwash Bipra – Khabar Sodhne Haru Lai

बिवश बिप्र – खबर सोध्नेहरुलाई

केही छैन मेरो
म छु
बस
त्यही हो !
काफी छ !!

खै,
नयाँ खबर पनि बन्न सकिन
म प्रत्येक दिन
गरेनन
सम्भोग मलाई कसैले

नाँगिदा पनि



जस्ताको तस्तै छु !!

वाक्क लाग्छ
कुमारी म !!

अचेल मान्छेहरु विश्वास गर्दैनन
किनकी
मुखपृष्ठमा
भाषण-तस्वीर हरु हुन्छन
बस आँखाका लागि !!

बिचरा,
मेरो मन
आज
आँफै
कुमारीत्व भंग गर्ने
प्रयासमा छ !!

म,
बधाई भन्दैछु !!

Sushma Manandhar – Timi Chhau Tyasaile Ma Chhu

सुषमा मानन्धर – तिमी छौ, त्यसैले म छु (गद्य कविता)
(प्रणय कविता)

के तिमीलाई थाहा छ?
म किन यहाँ छु
तिमी छौ यहाँ त्यसैले ।
मेरो अस्तित्वको
शुरुआत तिमीदेखि
र अन्त्य पनि तिमीमै ।
तिमीविनाको म
मेरो Continue reading “Sushma Manandhar – Timi Chhau Tyasaile Ma Chhu”

Rupesh Rai – Repairing Jindagi Ko

रुपेश राई- रिपेरिङ जिन्दगीको

कलाले सायद
सृजन गरेका,
कल्कलाउँदा जिन्दगीहरू,
स्तनपान भूलेर
‘सेरलेक्स’ चुसिरहेछन् ।

यूरिया डेफीले हलक्कै बढ़ेका
‘लेक्टोजन वेवी’हरू
ब्ल्याकमा तेल हालिरहेछन् ।

मृत्यु Continue reading “Rupesh Rai – Repairing Jindagi Ko”