Rakesh Karki – Swarga Ko Khoji

राकेश कार्की – स्वर्गको खोजी

सगरमाथाको टोपी थाम्न सकिँन
दौरा सुरूवालभित्र अटाउन सकिँन
बुद्धको दृष्टिले हेर्न सकिँन
मादलको भाखा बुझ्न सकिँन

ढुङ्गेधाराको चिसो पानीले पनि
मन भित्रको तीर्खा मेट्न सकिन
शितल चौतारीमा मायालुसंग
गाँसेको मायाप्रीति सँगाल्न सकिन

बामे सर्दै लडीबुडी खेलेको
आमाको काख भुलिसकेँ
सुख दुखमा होष्टे हैँसे गर्ने
गाउँका साथी बिर्सी सकेँ

ती अतीत भए सारा अतीत
केवल म मात्र छु वर्तमान
मेरो बोली अर्कै मेरो घर अर्कै
केवल म मात्र मेरो पहिचान

धेरै सोचेँ धेरै विचार गरेँ
एक्लै आफ्नो हस्तरेखा पढेँ
आज आफैलाई थाहा छैन
म स्वर्गमा चढेँ या स्वर्गबाट झरेँ ।।

अस्तु

– लस् एन्जेलस्