Bhimnidhi Tiwari – Gajal (Ishkabaaji Ma)

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा
र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।

नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा
र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा
र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा

नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा
र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा

नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा
र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा

नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा
र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।

Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)

भीमनिधि तिवारी – आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ
सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ

यो स्नेहको बिरुवा कैले पनि नसुकोस्
फूलबारीको म माली मधुमालिनी तिमी Continue reading “Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)”

Bhimnidhi Tiwari – Natyashala

भीमनिधि तिवारी – नाट्यशाला

संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन्
जीवनधारीहरू सारा कर्मचारी समान हुन्

छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी
यहाँ भेष लिई नाना आउँछन् नट औ नटी

अभिनीत यहीँ हुन्-विपत्तिया महीपति
अंक प्रलयको बेला, महाप्रलयमा ‘इति’

सुत्रधार भई, काल काम गर्छ निरन्तर
गुण दोष दुवै हेर्ने आलोचक छ ईश्वर !

Bhimnidhi Tiwari – Kamyo Lug Lug Tyo

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

Bhimnidhi Tiwari – Kopila

भीमनिधि तिवारी – कोपिला

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला
शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता
फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई
त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

सारा दुषित वायुमण्डलभरी घुम्ला जसै केसर
त्यल्ले शुद्ध पवित्र पार्दछ सबै, बाँकी अरू के छ र?
झिल्का ‘मानवता’ यहीँ मनुजमा सल्केर जाला अनि
स्वार्थी भाव विनाश हुन्छ, तब ता सर्वत्र शान्तिध्वनि !