Bhupi Sherchan – Naya Barsha

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक्
निस्तेज Continue reading “Bhupi Sherchan – Naya Barsha”

Laxmi Prasad Devkota – Saghan Tamisra Prati

क.
ए आलोक–विलोपिनी ! घन–कजली निशि !
लाश दिवसकी निस्पद !
रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई,
ध्वान्तजटा बाक्ला बिखरी,
विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध,
विलीन हिमाली डाँडामा ?
महामृत्युकी छाया सरि ए !
विशाल शून्य झैं साकार !

ख.
त्रासोत्पादक छायाहरुको तहबह मिसीकन बाक्लो तमको
पारावार सदृश तिमी, आनाकधरा,
हाम्रा चेतन–चट्टानहरुमा ठक्कर दिन्छयौ, प्रतिक्षण, प्रतिक्षण,
झस्काई बराबर,
भूबालब बिचरा !

ग.
ए महानिद्रा झरेकी, निश्चल पदमा, जग ढाकी !
यमलोकी ए शून्यालोक !
तिम्रो भीषणताका समक्ष आँखा चिम्ली जीवहरु
मूर्छा पार्छन् चैतन्य !

घ.
यत्तिकै हो रङ्गीचङ्गी विविधतायुत जग इतिहास ?
अनुसन्धान आशा, अभिलाषा ?
मूक रहस्यकी मुटु ! ए अदुष्य !
बोल ! तमिस्रा ! निश्वास !
महाशून्य मात्रका अश्रुत छालले ठोस किनारा खान्छन् सारा ?
बैरी, उक्ली, तमका धारा ?
जीवनको यो भाँडोभरि के ? शून्य भरिन्छ ?
आह ! सारा ?

ङ.
ओ मट्टी ! ओ मट्टी !
रायो–दाना थिचिएँ ! थिचिएँ ! किचिएँ ! लौन !
तालुपट्ट छु ! निस्पट्टी !

च.
आलोककणी झैं स्वकीय पिलपिल–अस्तित्व उपर अशङ्क,
निसास्सीँदो छु, तिमिरक्षारमा,
त्यो क्षुद्र उडु झैं घन–धाँजामा, सानो, मानो
आशाहीन !

छ.
ए मेरा हराएका धनकी चोर्नी !
गतवस्तुकी ए काली कारा !
चिरिई फुट् तँ निजी, निठुर उर
फारी !
हेर् तँ ! तमिस्रा निश्चेता !
भित्र छ तारा, तारा !!!

Bikram Subba – Basanta

खैँचेर ताँदो हिमालले
शिशिरका सिरेटा फटाफट प्रहार गर्‍यो
वृन्दावनका पहेँला पातहरु पटापट ढले..
बोट विरुवाहरु बेवस्त्र नाङ्गा भए
घात प्रतिघातपछि हारेका रुखका हाँगा-हाँगा…
र उमेर पुगेका यौवना विरुवाहरुलाई Continue reading “Bikram Subba – Basanta”

Shyamal – Cosmos Koniya

गुडबाई कोनिया
फेरी भटौंला ।
फेरि भेट हुनु अघि
ओहो, केही ठेगान छैन
के—के हुने हो
तिम्रो—मेरो फेरि भेट हुनुअघि !
सरकारले दिएको पानीले
म मर्न सक्छु
म मर्न सक्छु
बजारमा राखिएका विषाक्त
औषधीहरुले
पुस्तक पसलमा सजाइएका
कानुनका किताबहरुमा
लेखिएको छ मृत्युदण्ड !
आफ्नो कोटको खल्तीभित्र लुकाएको छ
सरकारले ‘मृत्यु‘
डलरझै बिलकुल डलरझै
यद्यपि तिम्रो शुभकामना लिएको छु
कोनिया, म गायब हुन सक्छु ।
गुडवाई कोनिया,
फेरि भेटौला ।
फेरिन थालेका छन् मेरा शब्दहरु
निःशब्द उभिएका
क्रूद्ध जेलका अमानवीय ढोकाहरुमा
गएर बज्रनेछ
शब्दहरुको आवाज
ज्वरमग्न छु म
अग्निशमन गर्न असमर्थ
न्यू ओतानीको पच्चीसौ तलाको
एउटा कोठामा ।
गुडबाई कोनिया,
फेरि भेटौला ।
उदाङ्ग परेका रहस्यहरुमाझ
भित्तामा नारा कोर्दैछ एउटा युवक
परम्पराले हिर्काएर
छियाछिया भइसकेको उसको अनुहारमा
तिम्रो पनि अनुहार छ
डलरले हिर्काउँदा—हिर्काउँदै कुरुप पारेको
पपुआ न्यूगिनी झैं
के भन्न सकिन्छ र
फेरि भेट हुनुअघि ?
गुडवाई कोनिया,
फेरि भेटौंला ।
खोज्दैछु अर्थहरु
कि देश भनेको के हो ?
के हो प्रजातन्त्र ?
पुलिसले चुट्तै लगेकी एक युवतीको
चिच्याहटमा लुकेको
कुनै कविताको शीर्षक के हो ?
अर्थविहीन शब्दहरुविरुद्ध चालू छ युद्ध
चालू छ निरन्तर एक धर्मयुद्ध
म कहाँ छु कुन्नि, भयानक अग्निमा छु
जहाँ छु म भाउन्नमा छु
कोनिया,
चलाख छ प्रजातन्त्रको बन्दुक
हाम्रो भेट हुनुअघि
म निदाउन सक्छु ।
गुडवाई कोनिया,
संसारको कुनै पनि छेउमा
भरसक फेरि भेटौंला ।

Bimal Nibha – Ek Dui Tin Char Panch

एक, स्पर्श गर्छ
दुई, फुसफुसाउँछ
तीन, बात मार्छ
चार, मुस्कुराउँछ
र पाँच ? पाँच बरबराउँछ
एक, विचार गर्छ
दुई, काम गर्छ
तीन, मद्दत गर्छ
चार, आविष्कार गर्छ
र पाँच ? पाँच षडयन्त्र गर्छ
एक, कविता लेख्छ
दुई, चित्र कोर्छ
तीन, मूर्ति कुँद्छ
चार, बाजा बजाउँछ
र पाँच ? पाँच क्रुद्ध हुन्छ
एक, प्रेम गर्छ
दुई, विश्वास गर्छ
तीन, हर्षित हुन्छ
चार, रोमाञ्चित हुन्छ
र पाँच ? पाँच विक्षिप्त हुन्छ
एक, चिन्दछ
दुई, बुझ्दछ
तीन, हेर्दछ
चार, महसूस गर्दछ
र पाँच ? पाँच केही पनि गर्दैन
एक, दुई, तीन, चार, पाँच
यो पाँचमा पुगेर
हो, पाँचमा पुगेर
किन सबै हिसाब
गोलमाल हुन्छ ?
(२०४४)

Bhupi Sherchan – Ye Joon

मेरो जस्तै ए जून !
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
कि तिमी रुन्छौ र तिम्रो आँशु शीत बन्छ
म रुन्छु र मेरो आँशु गीत बन्छ ।

Bhupi Sherchan – Mero Saathi Haru

‘मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ !!’

Harihar Dahal – Bighatit Nahunu Parne Thiyo Timi

आशाले बाँचेका मनका भित्ताहरुमा-
झुटा आश्वासनका पर्चाहरु टाँगेर,
भाबाबेशमा-संबन्धका सर्तहरु बिर्सिएर
नयाँ गन्तब्य,
नितान्त फरक यात्रा थालिछौ।

बाटाहरुमा,
आहात् नेत्रले निर्निमेश हेरिरहेछु।
समय,ओईलिएर चाउरिरहेछ।
म त सम्झौतापूर्ण अनुक्रममा थिएँ।
किन भङगालिनु पर्थ्यो यात्रामा ?

अभाब र गरीबि मात्र,
जीवन कहाँ हुन्थ्यो होला र!
भरोशा गर्नु पर्थ्यो-मेरा कोशिसहरुमा।
विश्वाश गर्नु पर्थ्यो-मेरा परिश्रमहरुमा !
आत्मासँयमतालाई अलिकति,
बढाएकै भए पनी त हुन्थ्यो |
महत्वाकांक्षालाई थोरै,
दबाएकै भए पनि त हुन्थ्यो |

बिभक्त मनहरु- घायल छन
पुराना चोटहरु-
आलो घाऊ बनेर चर्किरहेछन्।
असम्मतीपूर्ण प्रस्थानले,
पिंडा भोगिरहेछु।

जीवन-दरिद्रतामा बाँच्ने निस्चितता नै के थियो र!
भबिस्य-उन्माद हाँसो हाँस्थ्यो होला!
भबिस्य-सफलताको उत्सब मनाँउथ्यो होला!
कती हाँसिन्थ्यो होला खुशीहरुमा-सँसगैं!

बिचलित् नहुनु पर्ने थियो बचनमा|
न भङ्गालिनु पर्थ्यो यात्रामा।
बिघठित् नहुनु पर्ने थियो तिमी जीवनमा ।

Gopal Prasad Rimal – Jangi Nishan Hamro

रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।
हिमालझैं अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो ।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा ।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।

Nawaraj Subba – Chhati : Dui Abhibyakti


सबैको यो छाती भित्र
केही रहर हुनसक्छ
कस्तै हुरी बतासमा पनि
यही छाती भित्रै अँटाई दिनु
सायद यही छातीले नै
हरेक प्रहार छेक्न सक्छ ।


कसैको पीरको तीर
लागेको छ यो छातीमा
फेरि, तिमी को हौ ?
कसैको प्यारो तस्वीर
लुकाएको छु यो छातीमा ।

Krishna Bahadur Chhetri – Meri Dharti Lai

आरामदायक निद्राको सपनामा पनि
मेरी धर्तीलाई म खोज्छु
अस्थिर भएर मुटुभरि ममता सल्बलाउँछ
पातलो स्मृतिमा छुन खोज्छु

कैले हुन्छ र पानीबाट टाढा माछा !
फूलबाट सौन्दर्य सुवास खासा !
धर्ती मेरी हुन् म धर्तीको
छुट्टिन सम्भव छैन, दुई हृदयको एक भाषा

हजार जन्म मिल्छ भने पनि मलाई
मेरी धर्तीको भएर म जन्मिऊँ
पिएर आँखाले दृश्य यहींको शीतल
मानब भई म बाचूँ

के छ र दिऊँ तिमीलाई धर्ती
हृदय मात्र छ मेरो मसंग
अरु जे छ अर्काको ऋणमा अडेको
भएको हृदय तिमीलाई दिएको छु, अपनाऊ खुशीसंग

Shyamal – Dushta Gatha

ध्यानमुद्रामा
जसले देख्न सक्छ
बलात्कारको सपना
र मन्दिरको देवतासामु उभिएर
जसले वर माग्न सक्छ
आफ्नो दीर्घायुको
जसलाई थाहा छ—कतै छैन ईश्वर
तर जसले किरिया खान्छ
ईश्वरका नाममा सयौं पटक
जसको महलको जगमा छन्
करौडौ मानिसका
कङक्रिट भइसकेका खप्परहरु
र जसले उभ्यायो बङ्गला
अरुका ससाना घरका भित्ताहरुबाट
झिकेर ईटहरु
सुन्नोस् दुष्टगाथा ।
यो सुन्दर पृथ्वी
र यसका जङ्गलका हरिया फाँटहरु
अग्ला—अग्ला हिउँका पहाड,
जोडले बन्ने नदीहरु
र खेतका पहेंलपुर फाँटहरु,
सबैको सौन्दर्य निचोरेर
जसले पिउन सक्छ
गर्मी याममा चिसो सर्बत
जसले जाडो छल्न सक्छ
ओढेर ज्याना कम्बलहरु
जसले सुटुक्क चोर्न सक्छ
अरुका आँखाका नानीहरु
र जसले गाउन सक्छ सन्ध्याकालमा भजन
जसले आफ्ना तीखा नङले झिकेर फाल्छ
आफ्नो पुरानो काँचुली
तपाईहरु पनि सुन्नोस्
दुष्टगाथा !
जहाँतहीं
गाउँ—सहर, जताततै
फैलिन्छ दुष्टगाथा हरेक प्रहर
मानिसको शरीरमा पढ्न सकिन्छ—दुष्टगाथा
वायुतरङ्गबाट सुन्न सकिन्छ—दुष्टगाथा ।
रेडियोलाई थाहा छ
यो कुन दुष्टको मौसम हो
क्यासेटमा सुरक्षित हजारौं दुष्टहरु
अर्को नयाँ दुष्टको प्रतिक्षामा छन्—दराजमा
र अर्को दुष्ट नयाँ काँचुलीमा प्रकट हुन्छ
अखबारको सम्पादक
अफिसको हाकिम
र अरु—अरु
लिपिबद्ध गर्दै छन् दुष्टगाथा
कृपया सुन्नोस्—दुष्टगाथा ।
यो बन्द गर्न
अघि बढेको जुलुस
तितरबितर भइसक्यो
र चालू छ, सुन्नोस्—दुष्टगाथा ।

Bimal Nibha – Prawesh

नारायणहिटीमा प्रवेश गर्न
मलाई लाग्नेछ
पाँच रुपियाँ
पाँच सय वर्ष
पाँच हजार छटपटी
पाँच लाख भोक
र पाँच करोड अँध्यारो नाघेर
म प्रवेश गर्नेछु
नारायणहिटीको द्वार
पाँच अरब बाधा–व्यवधानले पनि
मेरो मार्ग
अवरुद्ध गर्न सक्ने छैन
जब पहरेदारले माग्नेछ
देऊ पाँच रुपियाँ
म भन्नेछु
मसँग त छन् केवल
पाँच वटा अभेद्य साहसहरु
म अवश्य प्रवेश गर्नेछु
नारायणहिटी
पाँच अक्षौहिणी प्रयत्नसहित
विजय नामको साथी
मेरो स्वागतका लागि
आतुर छ त्यहाँ
(२०५४)

Abhi Subedi – Shabda Ko Kinarai Kinar

राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।

Bimal Nibha – Shabdakosh

हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणका लागि
तपाईं संसद्लाई संसद् भन्नोस्
अथवा सुपरमार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका
मनीषीलाई मनीषी भन्नोस्
अथवा गँड्यौला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला
साहूकारलाई साहूकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा वीर्यपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झन्डालाई झन्डा भन्नोस्
अथवा मखुन्डो
सिंहदरबारलाई सिहंदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भन्नोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा बधस्थल
कुनै फरक पर्नेछैन
चलाखी, महल, सिद्धान्त,
जननायक, साइकल, लामखुट्टे,
बहुमत, घूस, घाँस,
ढुङ्गा, कफ्र्यू, पूmल,
पहलमान, वंशावली, रात,
बारुद, लाइसेन्स, जय नेपाल,
समीकरण, गमला, गीत,
मन, कमरेड, दमकल,
पासपोर्ट, मानिस, हिमाल,
पार्टी, श्रीपेच, खेल,
दलबदल, आलोचना, पैसा,
अभिनय, बल, समाजवाद,
अमेरिका, भकारी, अविश्वास,
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन
म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरुले अर्थ हराएका छन्
(२०५५)

Abhas – Sonu Main Batti Nibhla Hai

आकाशले
भरखर घुम्टो खोलेको छ
क्षितिजबाट
भरखर बास्ना ओर्लेको छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मैले
मैन नजिकै
सपनाको फाइल राखेको छु
फाइलभरि
असङ्ख्य सपना सँगालेको छु
सपना देख्नु
कमजोरी हो भने
मैले
धेरै कमजोरी साँचेको छु
ती सबैलाई पढ्न
आखिर उज्यालो नै चाहिन्छ
अहिले
झ्यालको चुकुल खुलै छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मन
अँध्यारो गुफा हो
यस भित्र
करूणा र घृणा सँगसँगै अट्न सक्छन्
यदि
मनबाट
करूणा हराइ भने
मान्छे पशु हुनेछ
हेक्का राख
मनको कुनाबाट
करूणा हराउली
मनबाट
घृणा हरायो भने
असल र खराबमा भेद रहने छैन
सम्झना राख
मनको कुनाबाट
घृणा हराउला
हेर त !
अहिले कोठामा मैन छ
र त उज्यालो छ
नजिकै
मैनको फेदमै
अँध्यारो पनि सँगै छ
सोनु
यही मैनको जलन, जीवन हो
अँध्यारो
उज्यालो
यो सबै यात्रा हो
सोनु
तिमीलाई थाहा छ
यात्रामा निस्कनेको कुनै टुङ्गो हुँदैन
यात्रा
अनन्त युद्ध हो
म अहिले
युद्धमा निस्कँदै छु
गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है ।

Bhimnidhi Tiwari – Gajal (Ishkabaaji Ma)

नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा
र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।

नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा
र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा
र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा

नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा
र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा

नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा
र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा

नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा
र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।

Bikram Subba – Ful

दुइचार माना माटो
एकदुइ मुठी मल
र मायाको घाम-पानी दिए
तिमीलाई फुलले
गमला साइजको स्वर्ग दिन्छ ।

Acharya Prabha – Bandhaki Hanso

उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म ,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र रु
अनी —सेता अग्ला हिमालहरुको
द्रीश्यले किन मोहित थिइन र Continue reading “Acharya Prabha – Bandhaki Hanso”

Lakshmi Mali – Gham Sanga

भालेको डाँकसँगै
आज बच्चाहरुसँग खेल्न
झिसमिसेमै
घाम चोकमा आइपुगेछ
उज्यालोसँगसँगै
घामसँग खेल्न
म्याउँम्याउँ गर्दै
छाउरा–छाउरीहरु
विस्तारै खोरबाट निस्केछन्
म्याँ–म्याँ गर्दै
पाठा–पाठीहरु
बुर्लुक्क उफ्रेछन्
भंगेरा–भंगेरीहरु
चिरबिर गर्दै भुर्भुर् उड्दै
खुसी भएछन् ।
बाँ बाँ गर्दै
बाच्छा–बाच्छीहरु
गोठबाहिर चियाउन थालेछन् ।
क्याँ क्याँ गर्दै
टिउरा टिउरीहरु
पखेटा फट्फटाउन लागेछन् ।
भुनभुन गर्दै रमाउँदै
भँवराहरु
फूलको डालीडाली डुलेछन् ।
घामसँग खेल्न
सबैलाई खुशी लाग्दोरहेछ ।