Shyamal – Cosmos Koniya

गुडबाई कोनिया
फेरी भटौंला ।
फेरि भेट हुनु अघि
ओहो, केही ठेगान छैन
के—के हुने हो
तिम्रो—मेरो फेरि भेट हुनुअघि !
सरकारले दिएको पानीले
म मर्न सक्छु
म मर्न सक्छु
बजारमा राखिएका विषाक्त
औषधीहरुले
पुस्तक पसलमा सजाइएका
कानुनका किताबहरुमा
लेखिएको छ मृत्युदण्ड !
आफ्नो कोटको खल्तीभित्र लुकाएको छ
सरकारले ‘मृत्यु‘
डलरझै बिलकुल डलरझै
यद्यपि तिम्रो शुभकामना लिएको छु
कोनिया, म गायब हुन सक्छु ।
गुडवाई कोनिया,
फेरि भेटौला ।
फेरिन थालेका छन् मेरा शब्दहरु
निःशब्द उभिएका
क्रूद्ध जेलका अमानवीय ढोकाहरुमा
गएर बज्रनेछ
शब्दहरुको आवाज
ज्वरमग्न छु म
अग्निशमन गर्न असमर्थ
न्यू ओतानीको पच्चीसौ तलाको
एउटा कोठामा ।
गुडबाई कोनिया,
फेरि भेटौला ।
उदाङ्ग परेका रहस्यहरुमाझ
भित्तामा नारा कोर्दैछ एउटा युवक
परम्पराले हिर्काएर
छियाछिया भइसकेको उसको अनुहारमा
तिम्रो पनि अनुहार छ
डलरले हिर्काउँदा—हिर्काउँदै कुरुप पारेको
पपुआ न्यूगिनी झैं
के भन्न सकिन्छ र
फेरि भेट हुनुअघि ?
गुडवाई कोनिया,
फेरि भेटौंला ।
खोज्दैछु अर्थहरु
कि देश भनेको के हो ?
के हो प्रजातन्त्र ?
पुलिसले चुट्तै लगेकी एक युवतीको
चिच्याहटमा लुकेको
कुनै कविताको शीर्षक के हो ?
अर्थविहीन शब्दहरुविरुद्ध चालू छ युद्ध
चालू छ निरन्तर एक धर्मयुद्ध
म कहाँ छु कुन्नि, भयानक अग्निमा छु
जहाँ छु म भाउन्नमा छु
कोनिया,
चलाख छ प्रजातन्त्रको बन्दुक
हाम्रो भेट हुनुअघि
म निदाउन सक्छु ।
गुडवाई कोनिया,
संसारको कुनै पनि छेउमा
भरसक फेरि भेटौंला ।