Shyamal – Dushta Gatha

ध्यानमुद्रामा
जसले देख्न सक्छ
बलात्कारको सपना
र मन्दिरको देवतासामु उभिएर
जसले वर माग्न सक्छ
आफ्नो दीर्घायुको
जसलाई थाहा छ—कतै छैन ईश्वर
तर जसले किरिया खान्छ
ईश्वरका नाममा सयौं पटक
जसको महलको जगमा छन्
करौडौ मानिसका
कङक्रिट भइसकेका खप्परहरु
र जसले उभ्यायो बङ्गला
अरुका ससाना घरका भित्ताहरुबाट
झिकेर ईटहरु
सुन्नोस् दुष्टगाथा ।
यो सुन्दर पृथ्वी
र यसका जङ्गलका हरिया फाँटहरु
अग्ला—अग्ला हिउँका पहाड,
जोडले बन्ने नदीहरु
र खेतका पहेंलपुर फाँटहरु,
सबैको सौन्दर्य निचोरेर
जसले पिउन सक्छ
गर्मी याममा चिसो सर्बत
जसले जाडो छल्न सक्छ
ओढेर ज्याना कम्बलहरु
जसले सुटुक्क चोर्न सक्छ
अरुका आँखाका नानीहरु
र जसले गाउन सक्छ सन्ध्याकालमा भजन
जसले आफ्ना तीखा नङले झिकेर फाल्छ
आफ्नो पुरानो काँचुली
तपाईहरु पनि सुन्नोस्
दुष्टगाथा !
जहाँतहीं
गाउँ—सहर, जताततै
फैलिन्छ दुष्टगाथा हरेक प्रहर
मानिसको शरीरमा पढ्न सकिन्छ—दुष्टगाथा
वायुतरङ्गबाट सुन्न सकिन्छ—दुष्टगाथा ।
रेडियोलाई थाहा छ
यो कुन दुष्टको मौसम हो
क्यासेटमा सुरक्षित हजारौं दुष्टहरु
अर्को नयाँ दुष्टको प्रतिक्षामा छन्—दराजमा
र अर्को दुष्ट नयाँ काँचुलीमा प्रकट हुन्छ
अखबारको सम्पादक
अफिसको हाकिम
र अरु—अरु
लिपिबद्ध गर्दै छन् दुष्टगाथा
कृपया सुन्नोस्—दुष्टगाथा ।
यो बन्द गर्न
अघि बढेको जुलुस
तितरबितर भइसक्यो
र चालू छ, सुन्नोस्—दुष्टगाथा ।