Lakshmi Mali – Gham Sanga

भालेको डाँकसँगै
आज बच्चाहरुसँग खेल्न
झिसमिसेमै
घाम चोकमा आइपुगेछ
उज्यालोसँगसँगै
घामसँग खेल्न
म्याउँम्याउँ गर्दै
छाउरा–छाउरीहरु
विस्तारै खोरबाट निस्केछन्
म्याँ–म्याँ गर्दै
पाठा–पाठीहरु
बुर्लुक्क उफ्रेछन्
भंगेरा–भंगेरीहरु
चिरबिर गर्दै भुर्भुर् उड्दै
खुसी भएछन् ।
बाँ बाँ गर्दै
बाच्छा–बाच्छीहरु
गोठबाहिर चियाउन थालेछन् ।
क्याँ क्याँ गर्दै
टिउरा टिउरीहरु
पखेटा फट्फटाउन लागेछन् ।
भुनभुन गर्दै रमाउँदै
भँवराहरु
फूलको डालीडाली डुलेछन् ।
घामसँग खेल्न
सबैलाई खुशी लाग्दोरहेछ ।