Abhas – Sonu Main Batti Nibhla Hai

आकाशले
भरखर घुम्टो खोलेको छ
क्षितिजबाट
भरखर बास्ना ओर्लेको छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मैले
मैन नजिकै
सपनाको फाइल राखेको छु
फाइलभरि
असङ्ख्य सपना सँगालेको छु
सपना देख्नु
कमजोरी हो भने
मैले
धेरै कमजोरी साँचेको छु
ती सबैलाई पढ्न
आखिर उज्यालो नै चाहिन्छ
अहिले
झ्यालको चुकुल खुलै छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मन
अँध्यारो गुफा हो
यस भित्र
करूणा र घृणा सँगसँगै अट्न सक्छन्
यदि
मनबाट
करूणा हराइ भने
मान्छे पशु हुनेछ
हेक्का राख
मनको कुनाबाट
करूणा हराउली
मनबाट
घृणा हरायो भने
असल र खराबमा भेद रहने छैन
सम्झना राख
मनको कुनाबाट
घृणा हराउला
हेर त !
अहिले कोठामा मैन छ
र त उज्यालो छ
नजिकै
मैनको फेदमै
अँध्यारो पनि सँगै छ
सोनु
यही मैनको जलन, जीवन हो
अँध्यारो
उज्यालो
यो सबै यात्रा हो
सोनु
तिमीलाई थाहा छ
यात्रामा निस्कनेको कुनै टुङ्गो हुँदैन
यात्रा
अनन्त युद्ध हो
म अहिले
युद्धमा निस्कँदै छु
गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है ।