Mani Raj Singh – Tenjing Haru Sadak Ma Orleka Chhan

मणिराज सिंह – तेन्जिङ्गहरू सडकमा ओर्लेका छन्

पौरखी मन उचालेर
स्वाभिमानी आस्था संगालेर
घोडचढीहरू युद्धमा होमिएको बेला
मुकुण्डो भिरेका जोकरहरू
बाटो चौबाटो ढुकेर
नौटङ्की गरिरहेको देखेर
कुण्ठा र निराशाका चट्टानहरू खोपेर
हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू
फगत नामका लागि सगरमाथा चढ्न छाडेर
सडक र चोकमा ओर्लेका छन् ।
गाईजात्रे उज्यालो च्यातेर
परिवर्तनका तमसुकमा सहीछाप गर्दै
अचकल्टो संविधानको हुक्का गुडगुडाउँदै
उपबुज्रुक बन्न खोजेका बहादुरहरूलाई
घोक्रेठ्याक लगाउन
लेखिएका र नलेखिएका चोटहरू स्याहार्दै
अधुरा आकाङ्क्षाहरू बाँच्दा बाँच्दै
अनुदानको भरमा अलमलिएर
मन तलाउसरि भरिलो बनाएका छन्
कठीन यात्राक्रममा
रातमा पनि हाँसेजस्तै जून
आडम्बरी संस्कारहरू कुल्चेर
नयाँ क्षितिज खोतल्न
तेन्जिङ्गहरू सडकमा ओर्लेका छन् ।

Mani Raj Singh – Timro Sapana Ra Ma

मणिराज सिंह – तिम्रो सपना र म

आलुबारीमा गोडेको
तिम्रो सपना
र रातको अन्धकारमा भौतारिएको
तिम्रो यौवनको लाली
बाँसको झ्याङ्बाट बगेको
बतासको गाढा सुसाई
हत्केलामा नअटेको
गुँरासको रंग
एकविहानै चियाएर हेरे आँखीझ्यालबाट
डाँडापारि रगतको होली खेलेर
घुरझैँ सम्पूर्ण परिवेश तताउँदै
अनन्त ज्योतिका लप्काहरू उचाल्दै
घाँटीमा सुर्केनी कसेझैँ
छङ्छङ झरिरहेको झरनाको पानी
मेघको गर्जन र विजुलीको उज्यालोमा
त्यो परिचित देउरालीमा मयूरको नृत्य
तिमी नै तिमी पोखिएकी रहिछौ
पानी–पानी भएर ।

पसिनाले सुम्सुम्साएर
हातका ज्यावलहरू
एक टुक्रा अध्याँरोसँग
पत्रैपत्र पट्याएर
सम्झनाका चिनोहरू
सिँचेर राखेको छु
मनको अगेनीमा
तिमीलाई पर्खेर रङ्गहरू पोतेको छु
सपनाहरू उघारेर सिरानीमा थापेको छु
तिमी आउछ्यौ कि भनी
घरि–घरि चियाएको छु ।

Mani Raj Singh – Shahar

मणिराज सिंह – शहर

जताततै झिङ्गै झिङ्गा भन्किरहने
भित्रभित्रै धमिराले खाएर
आत्मग्लानीको ओढ्नेले मुख छोपेर
अग्निदहमा जलिरहेको
यो शहर
कंक्रिटको महलै महलको थुप्रोमा
कति समृद्ध
कति सुन्दर
र कति भव्य देखिन्छ ।

हृदयका भित्री सुन्दुकमा
उम्लिरहेको पानीझैँ
भँुवरी र सुनामीका भेलहरूमा
प्रवृत्ति र दृष्प्रवृत्तिले चिरा–चिरा परेर
एक मुठी हावा
र एक घुट्को पानी नपाएर
काकाकूलझैँ भौतारिदै
आत्मग्लानीले छट्पटाइरहेछ
भतभत पोलिरहेछ
इटाभट्टीको रापमा
अधकल्चा सपनाहरू काखी च्याप्दै
लथालिङ्ग जिजीविषा गाउँदै
छल कपटको बिकृतिले रङबङ्गिएर ।

पटक पटक भाँसिरहेछ
बेथितिहरूको अन्धकारमा
लाटोकोसेरोझैँ पखेटा फटफटाएर
लोडसेडिङ्को मारमा पिल्सिएर
फोहोर पानीमा डुबुल्की मार्दै
छताछुल्ल पोखिरहन्छ
शोकमा डुबिरहन्छ
भोकमा हराइरहन्छ ।

यो शहर
बनावटी लालसा छर्दै
इन्द्रेणीझैँ मुस्कुराइरहन्छ
रित्याएर आफैँलाई
प्रत्येक क्षण अग्लिरहन्छ
अभावैअभावले भत्किएर
लड्छ र उठ्छ पटक–पटक
मातेर वेस्सरी
आँधिवेरीको मुस्लोमा
रिस, राग र ईष्र्या देखाउँदै
विसङ्गति र व्यभिचारको पसल थापेर
आँगन, चोक र गल्लीहरूमा
निस्फिीक्री निदाइरहन्छ
फुस्रोधुस्रो अनुहार टाँसेर
रगतको छालमा नुहाइरहन्छ
निरासा, आक्रोस र असन्तुष्टीको
पर्खाल ठड्याएर
हड्ताल र जुलुशहरू जन्माइरहन्छ ।

Mani Raj Singh – Satee Le Sarapeko Desh

मणिराज सिंह – सतीले सरापेको देश

टेक्दै मसानका ढिस्काहरू
खेल्दै रगतका फाल्साहरू सित
झण्डा उचालेर वीरताको
फर्कदै थिए जब भीम मल्ल
आफ्नै आमाको काखमा
साँगुरो सुरुङ्गभित्र
कोलाहलका विक्षिप्ततामा रन्थनिएका
प्रताप मल्लहरू
पिचासझैँ भौँतारिएर
घृणाका काँडाहरू उमारेर आँखामा
टाउको छप्काएर आफ्नै भाइको
विद्रुप हाँसो हाँसिरहँदा
सतीले सरापेको
शोकमग्न बस्तीझैँ
अभिशप्त जीवन बाँचिरहेको छ यो देश
टिलपिल टिलपिल चम्किरहेका
ताराहरूका असह्य पीडाबीच
रणबहादुरको बौलेहट्टीपनको
कुरूपतामा रगताम्य
बहादुर शाहको बलिदानको
गर्जनमा उन्मत्त
कङ्कालमय यो देश ।

हुरी बतासको चर्को सुसेलीमा हल्लिएर
भूँइचालोको सम्भावित खतरामा आतङ्कित
अपमानको पीडा सहन नसकेर
भीमसेनझैँ आत्महत्याको प्रयास गर्दै
गोसाइकुण्डतिर भौतारिन्छ
दुर्घटना, अन्र्तघात
र आतङ्कको छायाँमा
लोडसेडिङ्गले गतिहीन र निरर्थक
चौबाटोमा हाहाकार गर्दै
चकमन्नताको मैलो च्यादर ओढेर
दिउँसै आँखा तिर्मिराउने उज्यालोमा पनि
लाटोकोसेरोझैँ झुण्डिएको छ
घरको मूलढोकामा
समयको झापड खाँदाखाँदै
थिलथिलो भएको
सतीले सरापेको देश ।

Mani Raj Singh – Sapana

मणिराज सिंह – सपना

विचार
स्वतन्त्रता
र समर्पण
सपनामा पनि नाचिरहेको हुन्छ
सपना नहुदो हो त
मान्छेको
धर्म,
कर्म
र वंश
कसरी लहलहाइ रहन्थ्यो ।

विचारले,
मनहरू डो¥याइरहन्छ
सपनाले त्यसरी नै
मनहरू कोट्याइरहन्छ, घच्घचाइरहन्छ
र त इतिहासमा पनि
सपनाहरू नाचिरहेका हुन्छन्
बुख्याँचाहरू बाँचिरहेका हुन्छन्
नङ्ग्राहरूले कोपरेर आफ्नै अनुहार कुरुप बनाइरहेका हुन्छन्
अन्धकार घचेटिरहेका हुन्छन्
एउटा सुन्दर भविष्यको खोजीमा
विचारहरू गुटमुटिएर
समयसँग लुकामारी खेल्दै
सपनाहरूलाई म्वाइँ खाँदै
तगाराहरू पन्छयाउँदै बाटो कोरिरहेका हुन्छन्
पर्खाल ढालिरहेका हुन्छन्
चुकुल खोलिरहेका हुन्छन् ।

Mani Raj Singh – Bishwasghaati Samaya

मणिराज सिंह – विश्वासघाती समय

चारैतिर उज्यालो छ र पनि
किन केही देखिँदैन कतै पनि
सून्य केबल सून्य फिँजिएझैँ
सबैतिर एकनाश छाएको छ सन्नाटा
भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी
रेबजिग्रस्त बहुला कुकुरझैँ
पानीसँग डराएर
भीर–भीर ढुन्मुनिदै
आत्महत्याको प्रयासमा
बमसँग वसन्त साटिरहेछ
आफ्नै लाशमाथि कात्रो
सजाइरहेछ ।

रित्ता पेटहरूको युद्ध
र नाङ्गा आङ्हरूको हड्तालले
तिमी र ऊ बीचको अन्तर
झन–झन फराकिलो हुँदैछ
अन्धकारमा हुरी–बतास सँगसँगै
बाढी र पहिरोले गाजेझैँ
कोर्रा, सुम्सुम्याउँदै समय
ह्वाहर्वार्ती बलिरहेछ
आफैँभित्र गुम्साएर संवेदना
सपनासँग बम साटिरहेझैँ लाग्छ
आफैँलाई आश्वास्त पार्न
थपथपाएर आफ्नै बिद्रोह
विश्वासघात गरिहेझैँ लाग्छ ।

Mani Raj Singh – Samjhana Bethan Chowk Yatra Ko

मणिराज सिंह – सम्झना बेथानचोक यात्राको

बेथानचोक
हाम्रा पाइलाहरू
एकपछि अर्को गर्दै
छापिएका छन् बादलको शिरकभित्र
सिमसिमे वर्षात्ले रूझाएर
नयाँ नयाँ आयाम उघार्दै
ढुङ्गा–ढुङ्गामा कोरिएर
बतासझैँ भूगोलको दुर्गम छातीमा
घामजस्तै फुलेर
चित्रमय कोरिँदै
हर्षका चुचुराहरूमा
पसिनामा धारा पुछ्ने
शीतल, शान्त, स्वच्छ
ज्ञानी, मुनिजस्तै
महाभारतकै माउ डाँडो
कुखुराले चल्ला छोपेजस्तै
स–साना डाँडाहरूलाई आफ्नै छायाँमा लुकाउँछ ।

निष्काम, नैसर्गिक, अविनाशी
कामिडाँडा
दुई हत्केला जोडेर
ढ़िडो, गुन्द्रुक र सिस्नुमा
आत्मीय मुस्कान घोलेर
अग्यानिक चियाको तात्तातो घुट्कोसँग
स्वादिलो मालपुवामा चुर्लुम्म डुबेर हाँस्छ
सत्रवर्षे युवतीजस्तै
हजारौँ सपनाहरू सजाएर चञ्चल नयनमा
निर्दोष स्वाभिमानको सुवास फिजाउँदै
न फुर्सदिलो, नहतारिलो समयको बर्को ओढेर
नयाँ नौलो क्यानभासमा
सालिम्बो घाँसजस्तै फैलिएर
मोहक गुराँस भई फक्रन्छ
सम्भावनाका अनन्त मुहान बोकेर
खोला, नाला र हरिया फाँटहरूमा सुसाउँछ
बेथानचोक ।

ढुङ्खर्कको सुन्दर आँगनमा
मायालु सयपत्रीहरू सजाउँदै
स्वागतका जोडी परेवाहरु उडाउँदै
सम्बन्धका नयाँ–नयाँ साँघु कोर्दै
वेदनाका राप लुकाएर
चिटिक्कको च्याल्टीबजारमा
आत्मविकासको सुन्दर प्राङ्गण
कविताको राग घन्काउँछ
महाभारतकै माउ चुचुरो
बेथानचोक ।

बेथानचोक,
इमान जमानको स्तम्भ
पौरख र स्वाभिमानको दुर्ग
विचार, र शिल्प
अनि, घाम–पानीको इन्द्रेणी लर्को

कृष्णगोपालको भब्य स्वागतमा फुर्किएर
हृदयको तोतेबोलीमा
चञ्चल लच्छु र रज्जुहरू
सुन्दर हरफहरूमा लफ्रक्कै भिज्छन्
कमरेड ताराका स्वप्निल इच्छाहरू
कुटो कोदालोसँग झ्याङ्गिएर
कपेरडाँडालाई मुटुमा साँचेर
बाँझो मनको डल्ला फुटाल्न
बाक्लो हुस्सुभित्र चियाउदै
सल्लाका पत्करहरू पन्छाउछे
सम्पूर्ण शक्ति लगाएर
छिनो र घन बोकेर
तन, मन र त्यो सौन्दर्यमय मुस्कानमा
जीवनसँग लय उचाल्दै
रजत–रश्मि शिखरहरूमा
पवित्रता छरिरहेछन् सुन्दर, शालीन
बादलु बर्को र कुहिरोको ओडारमा
छाती चिरेर आफ्नै नङ्ग्राले
चहकिला किरणसँग
उज्यालो लेखिरहेछन्
निश्छ्ल गुँड बुनिरहेछन्
जाही, जुही र लालुपातेका संवेदना सहित

दिगु, पलपल, नरेन्द,्र ओझल, सुरेश
उज्वल सम्भावनाका हातेमालो गर्दै
गतिशील पहाड बोकेर मुटुमा
हावा, पानी र माटोसित
कालोको विरुद्ध छ्याल्ल–ब्याल्ल पोखिएर
बिजुलीझैँ चम्कन्छन्
बादलझैँ गर्जन्छन्
तुफानझै हँल्लन्छन्
सरस्वती, पार्वतीजस्ता ज्ञान मन्दिरहरूको
सपनाको सुन्दर नगर ढुंखर्क
यात्राको आमन्त्रण बोकेर भावनामा
प्रस्थानको स्वधन साँचेर उत्थानमा
मधुर सुवास छरेर वाणीमा
प्रकृतिको काखमा कुरिरहेकी छिन्
मायाको खास्टो ओढेर
महाभारतको माउ डाँडो बेथानचोक ।

Mani Raj Singh – Kati Khera

मणिराज सिंह – कति खेर

तिम्रो आँखाको डिलमा
टलपलाएका ती आँसुले
बगाएर
कति खेर मेरा रहरहरू
वाफभैmँ उडेर अनन्त समयसँगै विलाए
मलाई
पत्तै भएन ।

तिमीले मन खोलेर
दुःख साटेको बेला
मरूभूमिमा लाम लागेर Continue reading “Mani Raj Singh – Kati Khera”

Mani Raj Singh – Chetana Ka Mutthi Haru

मणिराज सिंह – चेतनाका मुट्ठीहरू

निस्तब्ध अँध्यारो परिवेशभित्र
जूनको कलिलो आभा
सुसाइरहेकै थियो
तर आफ्नै परिधिभित्र
आगो सल्काएर
क्षितिजभरि नाङ्गो
आक्रोश छरेपछि
कतै केही चर्केजस्तो
कतै केही भत्केजस्तो
चीत्कारका स्वरहरू
पटक–पटक निस्सासिएर
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मन पनि
चिरा–चिरा पर्दोरहेछ
अभिमानी पहाड पनि
गल्र्याम–गुर्लम ढल्दो रहेछ
निरङ्कुश पर्खाल पनि
अपराधीझैँ रुँदो रहेछ ।

बादल, झरी, बतास
अनिँदो रात अनि धिपधिपे तारासँग
घर, आँगन र फलैंचामा
चिउराझैँ छरिएको स्वाभिमान बोकेर
माथिमाथि आकाशिने चाहनासँग
चुच्चोमा कङ्कालमय वर्तमान च्यापेर
ढुकढुकीमा वासनामय ममता सँगालेर
कल्कलाउँदो, भर्भराउँदो जवानीका रङ्गले
पोटिला, रसिला विहानी सजाउन
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ………………।

पाखा, पखेरा र भिरमा पनि फस्टाउँने
पहराको काप कापमा जुर्मुराउँने
विषालु सिस्नुको झ्याङ् ताछेर
अवरुद्ध निकास सफा गर्दा
कुमारी युवतीको भर्भराउँदो जवानी
संक्रमित बस्तीमा फर्फराएको सूचना
उद्घोष गर्न
शान्ति र सद्भावसहित
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ……………।

Mani Raj Singh – Das Gaja

मणिराज सिंह – दसगजा
(असोज मधुपर्क, २०६८)

मेरो खेतको आली मुन्तिर
मेरो स्वाभिमानको प्रतीक
शिर ठाडो पारी
निर्भिक उभिरहेको दसगजा
हिजो मात्रै
वर्षमा भिजेर हो कि
शत्रुले खोस्रेर हो
गल्र्याम्म गुर्लुम Continue reading “Mani Raj Singh – Das Gaja”

Maniraj Singh – Tundikhel

मणिराज सिंह – टुँडिखेल

नचाहँदा नचाहँदै फुलेका
तितेपानीको पूmलझैँ
सून्य हृदय र रित्तो आकाश छामेर
गरीब बाबुको
तरुनी छोरीले
यौवनको उन्माद
थाम्न नसकेर
आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ
चुपचाप निस्सासिरहेछ
सिंगो टुँडिखेल ।

बाक्लो अन्यौल पहिरेर
बिरुपाक्षले आर्यघाट कुरिरहेझैँ
मकैबारीमा गाडिएको मचानमा उक्लेर
धपाइरहेछ स्याल र बाँदरहरू
र दिन गनिरहेछ एक एक गर्दै
मकैका गेडाहरू छोडाउँदै
बिद्रुप हाँसो हाँसिरहेछ
एक्लो, नाङ्गो र हताश टुँडिखेल ।

अधुरा सपनाका टुक्राटुक्रीहरू
छातीको ओढारमा लुकाएर
प्रेमीकाको अत्यास लाग्दा चाहनाको
जोहो गर्दागर्दै
पत्नीको स्तन क्यान्सरको
ओखती गर्न नसकेर
किंकर्तव्य विमुढ भै
आफैँसँग तर्सिरहेछ टुँडिखेल
शायद
स्वामित्व हराएको खेतको आलीमा उभिएर
आफैँलाई नियालिरहेको कृषकझैँ
घाँटीमै अडकिएको क्रन्दनको हिक्का
अस्पष्ट सीत्कार र आँखाको डिलमा टल्किएको आँशु
निलेर मनका खोकिलाहरूमा
भक्कानिरहेछ टुँडिखेल ।

मसानका ढिस्काहरूमाथि टेकेर
रगतका फाल्साहरू फिँजाएर जताततै
साउती गरिरहेछ साँघुरा गल्लीहरूमा
अस्ताउँदो सर्यको मलामी जान तम्सेर
मृत्यु उत्सव आयोजन गर्दैछ
स्वयम्भूको तश्रो नेत्र मुन्तिर
बारुद्धको तन्ना फिँजाएर
बागमतीको दुर्घन्धित बगरमा
एकतमासले कुरिहरेछ टुँडिखेल ।