Chandra Gurung – Maile Bancheko Shahar

चन्द्र गुरुङ – मैले बाँचेको शहर-१

यो शहरको शरीरैभरि
च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू
सबका सब
-तन्काउँदै जीवन थाकेका ढाडहरू
-उचाल्दै शान झुकेका टाउकाहरू
-फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू
-उघार्दै सपना थुनिएका आँखाहरू
प्रदुषित आकासमा
गुनगुनाउँदै छन् कोरस, आफ्नो खोक्रो उँचाई ।

जीवनको अधबैँसे यौवन नाप्दै
हेरेको छु
-हरियो खेतबारी खाएर मोटाएका घरघडेरीहरू
-कुआँपँधेरो निलेर उभिएका पानीटैँकीहरू
-वल्लोपल्लो डाँडा छेल्दै बसेका घरहरू
-रुखहरूका सौर्न्दर्य मास्दै ठडिएका पर्खालहरू
-असंख्य पाउमुनि थिचिएका सडकहरू
यहाँ, मैले बाँचेको शहरमा ।

भेटेकोछु यहाँ
रोधीँहरू लखेट्दै आइपुगेका सिनेमाघरहरू
चियापसलको ठाउँमा पलाएका फाष्टफुड क्याफेहरू

सडकका वारिपारि
-दुइ हातहरूमा चित्ताकर्ष शो-रूम उचाल्दै
-काँधहरूमा रंगीन दोकानहरू बोक्दै
-अनुहारैभरि कृत्रिम मुस्कान कोर्दै
मानिसहरूका ‘टाइमपास’ हूललाई आकषिर्त गर्न
ठेल्ामठेल उभिएका स्योपिंग सेण्टरहरू ।

मैले बाँचेको शहर
यहाँ
-फलानो पार्टीलाई भोट दिए देशमा शान्ति
एउटा चुनावी घोषणा ।
-दुइ किने एक प|mी- नयाँ साबुनको जन्म ।
-गुप्तरोग पनि चवाट्टै पार्ने ‘छाडा’ आयुर्वेदीय औषधी ।
यीयस्ता विज्ञापनका
थरीथरी रंगीन लिपिस्टीकले ओँठ रंग्याएर
उभिएका फेशनदार पर्खालहरू
हाँस्दैछन् स्र्टाईल स्र्टाईलका वेश्या खित्काहरू ।

यहाँ,
भोकाएका झुप्राहरूअघि
तारे होटलहरू -बेहिच्चक)असभ्य थुक्छन् ।
ख्याउटिएका नाङ्गाबुङ्गाहरूलाई र्
इ˜˜˜खा इ˜˜˜खा गर्दै
छोटो पहिरानमा उखरमाउलो समय
हिँड्छ र्याम्पमाथि अत्याधुनिक क्याटवाक
र, यहाँका अग्ला घरहरू
इनामेलको रसायनिक सौर्न्दर्य बसाउँदै
कुममा कुम जोडेर उभिन्छन्
पाल्दै एकआपसमा नमिल्ने सप्तरंगी प्राणीहरू ।

मैले बाँचेको शहर-
चोकचोकमा असंख्य फर्सदिला सालिकहरू
उभेका छन् चुपचाप
नियाल्दै हाम्रा अस्त-व्यस्त जीवनहरू ।
यहाँ,
अल्पत्रे -अलकत्रे) सडकहरूमाथि
देखिन्छन् दुखाई चिच्याउँदै कुद्ने एम्बुलेँसहरू
र,
-यहाँका आकासे पुलहरूमाथि
-यहाँका एकान्त पार्कका कुनातिर
-यहाँका अँध्यारा सडकका छेउछाउमा
भेटिन्छन् भीडका अनुहारमा कारोबार खोज्ने नगरवधूहरू ।

यो…मैले बाँचेको शहर !
न त छोपिएको छ मायाको घुम्टोले
न त बाँधिएको छ मानवताको डोरीले
न त घेरिएको छ मेलमिलापको पर्खालले ।

चारैतिरबाट एक्लिएको…यो…मैले बाँचेको शहर ।

Biplav Pratik – Nagar Badhu

बिप्लव प्रतिक – नगरवधू

नाइँ त अवश्यै भन्छे
होला, बरु आफ्नै भाषामा
बगरेको हात परेकी
कुनै पनि बाख्रीले ।

तर, बगरेको नियत र धारिलो छुरा
त्यति दयावान् हुन कहाँ सम्भव छ र ?
उसले त जहाँबाट भए पनि सेरेर
बाख्रीको मासु ताछ्ने प्रक्रिया सुरु गर्छ ।

पछारिने, घिसारिने
रुने, कराउने प्रारब्ध
क्रमैसँग भोग्दै
बिचरी बाख्री प्रहारपिच्छे पटकपटक चोइटिँदै
एकएक टुक्रामा विभाजित
सम्पूर्ण बिक्री हुन्छे ।

आखिरमा सबैले उसलाई चाख्छन्
तर, उसको स्वाद चाख्ने सिकारीहरूको स्वाद
उसले कहिल्यै चाख्न पाउँदिन ।

Chanki Shrestha – Sankraman

मैले फेरि देखेँ
तिनीहरूका आँखामा
कुहिरोको बतासजस्तो कुरूपता
जहाँ एक्काइसौँ सताब्दीको
महान् षड्यन्त्रको घना जंगल फैलिन्छ
पानीजस्तो निर्मल गीत र फूलजस्तो मुलायम संगीतबीच
किन तालमेल छैन ?
त्यहाँ पशु र पारिजातको संवेदना तुलिन्छ ।
देख्छु- सन्त र निलकण्ठको पाखण्डमा
सामेल छन् हाम्रै मानिस
जो चढिरहेछन्
मिथ्या राजनीतिको बाइपंखी घोडा
जसमा महाराजको बिलासी रूपरङ देखिन्छ
जसका सफा लुगाभित्र छ
परपीडक सनातन धर्मको पोखरी
जहाँबाट निस्केको गोहीले
वियोगजस्तो दुःखी अनुहारमाथि
आँसु चुहाउँछ
त्यहीँबाट जारी हुन्छ दमनको अध्यादेश
हत्याराहरूका नाममा
त्यहीँबाट पुरस्कारको सिफारिशपत्र लेखिन्छ ।
सफा आकाशमा बिजुली चम्केजस्तो
समयको यो मोडमा
बारम्बार म आफैसँग सोधिरहेछु
यो देशमा शासक र चटकेमा
को बढी हाँस्यकलाकार छ ?
व्यवस्था र कुहिएको कागतीमा कुन बढी अमिलो छ ?
देख्छु, सत्ताको बिलासी गद्दामा
आन्दोलनको झण्डाको रङ धमिलो छ ।
सोध्छु- लोकतन्त्रको बगैँचामा
सप्रिएका महाराजहरूको संगीत र बलात्कारीको
सदाचारी भाषणमा कति अन्तर छ ?
औतारी नेताको किताब र
देशद्रोहीको राष्ट्रिय गीतमा कुन बढी परपीडक छ ?
सुरक्षा संयन्त्र र सुँगुरतन्त्रमा
कहाँ बढी सुशासन छ ?
देख्छु, द्रौपदीको यौवनमाथि कृष्णका आँखामा दुःशासन छ ।
देख्छु, पुना विश्वकर्मा र कान्छी मिजारका आँखामा आँधी
जसको आवेगमा हत्याराको दुस्साहस तुहिन्छ
देख्छु, अस्मिता र्घर्ती र झुमा किरातीको उत्तेजनामा ज्वालामुखी
जसको सामु बन्दुक स्वयं नुहिन्छ
देख्छु, देख्छु र देख्छु
अर्ढाई करोड मानिसका आँखा-आँखामा प्रचण्ड ज्वाला
जसको रापमा सपनाको इन्द्रेनी देखिन्छ
जसले भन्छ, आगामी इतिहासमा यही कुरा लेखिन्छ
कि तिनका आँखाका ज्वालाले भष्म भएथे
इश्वर, औतारी र महाराजहरू ।

Bimala Tumkhewa – Gulabi Akash Ra Ek Din

बिमला तुम्खेवा – गुलाबी आकास र एकदिन

एउटा जीवन–
जो औसत मोन्छेहरुको हूलमा
पानी–पानी पग्लिरहेछ
पहाड भएर अग्लिरहेछ
तिमीलाई थाहा छ ?
कस्तरी…….
भीडहरुलाई छिचोल्दै–छिचोल्दै
मसम्म–
आइपुगेका थिए Continue reading “Bimala Tumkhewa – Gulabi Akash Ra Ek Din”

Rajendra Shalav – Maaf Garnos Shreeman

राजेन्द्र शलभ – माफ गर्नोस् श्रीमान् !

खोल फेरेर
पुरानै समय बाँचिरहेको
यो समयलाई
म , कसरी मेरो समय भनौँ ?
मिनि – स्कर्टबाट
साडी लाउँदैमा
प्रेमिका श्रीमती बन्न सक्तिन ।

हामीले चाहेको त
एउटा घरजस्तो देश थियो
पिताजस्तो शासन थियो
छोराजस्तो अनुशासन
र , आमाजस्तो माया थियो ।
अब तपाईँ
आफै भन्नोस , श्रीमान् !
सँधियारझैँ झगडिरहेका छोराहरू
सौता भित्र्याउन
तम्सिरहेका पिताहरू
र पोइल जान लालायित
आमाहरूको जमघटलाई
म कसरी
आफ्नो देशको नाम दिऊँ ?

तथापि एउटा कुरा भन्छु –
सधैँ त , दुशासनहरू
सिंहासनमा नबस्लान्
सधैँ त, उज्यालोलाई
अँध्यारोले नछोप्ला !

आगोलाई
खरानीले छोपेर
कत्तिन्जेल
शीतलताको भ्रम
ताप्न सकिन्छ र !

Aman Maharjan – Aja

अमन महर्जन – आज

रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा
को कति बल्द्यांग खाए को कति उपहास बने
त्यो छटपटी मा जन्मेको प्रजातन्त्र
आक्रोशमा बिउझेको यो गणतन्त्र
तुँवालोले ढाकेको सुनसान बस्ति संगै
सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा
पराइ र आफन्तको भुमरीमा
मडारिएको मेरो यो नेपालको माया
न्यु योर्क को व्यस्ततामा पनि एकै छिन
आफैलाई सोध्ने गर्छु ” तँ को होस्”

आँगै सिरिङ्ग हुने दानबी परकास्टाका खबरहरु
लाजहिन सडक दुलुवा र पानी मरुवाहरुका जुलुसहरु
देस दुबिरहेछ भन्ने आभास सम्म पनि नभएका
निक्कै बुद्धिमान मानिने डाक्टर र नेताहरु
यान्त्रिक चालमा देस भाड्ने निर्दयी मोर्चाहरु
देस नै छैन भने तिमि कहाँ रहन्छौ
आमा नै लुटिए तिमो कसरि सहन्छौ
कुनै तन्त्र बचाउन होइन देस बचाउनुछ आज

कुरा र कुलो न हो जता ताने पनि तन्किंन्छ
देस को माया न हो जति पर रहे पनि झन माया लाग्छ
नौलो संग्रामको तयारी गर्ने नया पिद्धिहरु
देस आबादिको सपना बोकेका नब प्रतिभाहरु
सर्प ले लुगा फेरे झैं पुराना कुरा टुंग्याउनु छ आज
सिमा मिच्ने हातहरु भॉच्नु छ आज
देस कुल्चने बैरी हरु खेदनु छ आज

Pravin Rai Jumeli – Desh Unplugged

प्रवीण राई जुमेली – देश अनप्लग्ड

देश कति पछौटे छ हाम्रो भन्दै
र देश भनेको समाज हो थप्दै
अहा सुधारको शोध गर्ने एक दस्ता
जुर्मराइउठ्यो युवाहरुको एक संस्था

सहरमा पो देश त बस्छ भन्दै
फाइल-फाइलमा Continue reading “Pravin Rai Jumeli – Desh Unplugged”

Bishunu Nanda Chamling – Ghrina Gareko Biruwa

बिष्णुनन्द चाम्लिङ – घृणा गरेको बिरुवा

नहुँदा उर्बरा तिम्रो फूलबारीमा
खन्ने इसारा दियौ
तेसैले
तिम्रो फूलबारी मैले सुम्सुमाएँ
न मल
न जल
न स्याहार डङ्ग लडेको तिम्रो त्यो जमिन
लाग्थ्यौ बर्षे भेल बगेको बगर जस्तै
न बालुवा छ
न माटो छ
न चिस्यान
गिङ्गग्रीङ्ग साना देखि ठूल्ठुला ढुङ्गाहरु मात्र
मानौ मात्र बगर
उजाड हुनुको त्यो कथा
बगर हुनुको त्यो ब्याथा

सुनायौ मरुभुमि हुनुको त्यो पीडा
मलाई टिठ लागेर आयो
तेसैले
तिम्रो फूलबारि जोतेँ मैले,

सिँचे पसिनाहरुले
बनाएँ उर्बरा ब्याड मेरा पाखुरीहरुले
मेरो परिश्रम र तिम्रो मोह बीच नाता गाडा बन्यो
बिश्वाश र माया मौलाउदै जाँदा
छरेँ बिजन ब्याडेमा
उम्रियो राम्रो बेर्ना
बढ्दै थियो हाम्रो बिश्वाश र मायाको एउटा बिरुवा
सुनायौ उजाड हुनुको त्यो पीडा
बिछट्टै माया लागेर आयो
तेसैले
तिम्रो फूलबारी सजाएँ मैले,

आखिर
घृणा गरेउ मलाई र हुर्किरहेको त्यो बिरुवालाई
दिन्न भनेउ तिम्रो जमिन
बिर्सेउ हिजोको त्यो मरुभुमि
त्यो उजाड हुँदाको पिडाहरु
भोलि
तिम्रो बगैंचा फेरि त्यहि मरुभुमि हुनेछ
फेरि त्यहि बगर हुँदै छ
तिमीसँग मात्र त्यो जमिन
अनि
मात्र घमण्ड छ
फेरि खेताला खोज्नु पर्नेछ उकेरा लगाउन
अनि
बिरुवा उमारि फूल फुलाउन
तिम्रो खेताला
मात्र खेल्ने छन् तिम्रो फूलबारि भरि
मात्र खेल मैदान बनाइ दिने छन् तिम्रो जमिन
कहिलै सुकोमल फूल फुलाइ दिने छैनन् तिम्रो फूलबारिमा
सुनायौ बगर हुनुको त्यो ब्याथा
तसैले
तिम्रो फूलबारिमा उकेरा लगाएँ थेँ मैले,

तिमीले जितेनौ जमिन नदिएर
किनकि तिम्रो बगैंचा मरुभूमि बन्दैछ
फेरि बगर हुँदैछ
म हारिनँ तिम्ले जमिन नदिएर
म सधैँ हराभरा रहने छु
किन कि मसँग तिमीले घृणा गरेको बिरुवा छ

त्यो एक दिन फुल्ने छ ।

Amar Nembang Limbu – Ghantiharu

अमर नेम्बाङ लिम्बू – घन्टीहरू

धेरै वर्ष भयो एक दिन
तुम्लिङको उकालो बाटोमा
घत्र्याकघुत्रुक गर्दै
हिँडिरहेका थिए
तीनचार वटा खच्चरहरू ।
जति जति हिँड्दैजान्थे ती खच्चरहरू
उति उति ठोकिंदैजान्थे मेरा कानमा
तिनीहरूका घन्टीका आवाजहरू ।
आधा शरीर कुहिरोभित्र
आधा शरीर कुहिरोबाहिर पारेर
खुला ठाउँदेखि बाक्लो कुहिरोभित्र
क्रमिकरुपले
पसिरहेका थिए ती खच्चरहरू
मानुँ कुहिरोले
धमाधम निलिरहेका थिए तिनीहरूलाई
अजिङरले कुनै जनावरलाई निले झैँ।

त्यस दिन म कहाँ गइरहेको थिएँ ?
कोसँग गइरहेको थिएँ ?
केको लागि गइरहेको थिएँ ?
सबै बिर्सिसके अहिले ,
तर खच्चरहरूलाई चाहिँ
अझसम्म बिर्सेंको छैन मैले ।

सम्झनसाथ कस्तो उदासिलोरुपले
खुरहरू बजाउँदै कुहिरोभित्र
धमाधम पसिरहेका हुन्छन् ती खच्चरहरू !
कस्तो बिरहरुपले कुहिरोभित्र
बजिरहन्छन् ती घन्टीहरू !
त्यसरी नै आजतक यो सानो सम्झना
यो मनमा अझै टाँसिरहेको छ
कहिल्यै नमेटिने गरेर ।

Acharya Prabha – Badami Chhan Gala Mera

बदामी छन गाला मेरा नयन छन लट्ठ
मेरो रूप हेरि हेरि पर्छन सबै दंग

नागबेली केशराशी लहराउँदा झन
रूप मेरो देख्दा अझ मान्छ कस्को मन

पिपलपाते अधर् मेरो मुहार छ हिस्सी
चाल मेरो हेरेर नै सबै हिँड्छन् जिस्की

लचकदार हिँडाइ मेरो हाँसो छ मीठो
लजालुपन देख्दा मेरो फंस्छन् जवान ठिटो

Suwas Khanal – Antim Geet

सुवास खनाल – अन्तिम गीत

आफ्नो उचाइ नछुँदै फुटेको
एउटा हाइड्रोजन बेलुनझैँ
समयको कुनै आकृति
कहिलेदेखि यो भितामा झुन्डियो ?

कुनै रोबर्टजस्ता मान्छेहरू
ग्यालरीमा यही तस्वीर हेर्न
आइरहेछन्

बेपता छ
ध्यानमग्न ,शान्त र स्निग्ध बुद्धको आकृति

चौथो विश्वबाट झिकाइएजस्ता
लिलिपुट मान्छेहरू
शासन गरिरहेछन् समयमाथि

घण्टाघर
समय ढिलो नापिरहेछ
समय उल्टो नापिरहेछ

तेस्रा
लिलिपुटहरूको
एउटा विरोधजुलुस
कुनै विन्दुमा पुगेर
अकास्मात परिवर्तन हुन्छ
विजयजुलुसमा
यहाँ हार्नेहरू हामी छौँ

नयाँ छानो हाल्ने
गुलाबी सपना बुन्दाबुन्दै आएको
हूरीपछिको छानोविहीन घरको कथा हो समय
कुनै नयाँ मार्गको परिकल्पनामा
पहिरो गएको इतिहास हो समय
मानौँ
कहीँ कतै नभएको
एब्सेन्ट समय हो –यो समय

प्रारम्भकालीन पाठशालामा
कुनै अबोध बालकले लेख्ने
किरिङमिरिङ अक्षरजस्ता
सुकोमल र सुषुप्त
अनुहारहरू मान्छेका
खै कहाँ हराए ?
र,
उपस्थित छन्
स्क्यान नभएको
कम्प्युटर फाइलजस्तो दिमाग
बोकेका मानिसहरू

हो,
मलाई
परिभाषाका अन्तिम पृष्ठहरू सम्म पनि
मान्छेको परिभाषा मनपर्ने साँचो हो
र,
मान्छेकै अजीव सम्मोहनले
आजसम्म बाँचिरहेछु

आवाजहरूको
गाउँ ,सहर वा कुनै राजधानी हुँदो हो त
सायद म यतिखेर त्यहीँ हुने थिएँ
कुनै बर्बाद इतिहासको
सुल्टो कथा सुनाउादै
र,
गाउँदै हुने थिएँ
परिवर्तनको अन्तिम गीत ।

छतिवन –८,पावस,मकवानपुर; हाल: भरतपुर,चितवन

Somraj Shrestha – Sapanako Swadhin Satta

सोमराज श्रेष्ठ – सपनाको स्वाधीन सत्ता

सपनासँग,
सपनाको स्वाधीन सत्ता छैन ।
तासको महलजसरी
ठडिन्छन् र ढल्छन् सपनाहरू
हावाको झोंकाजसरी
आउँछन् र जान्छन् सपनाहरू
नदीको लहरजसरी
उठ्छन् र सुत्छन् सपनाहरू
यद्यपी
सपनाको ठडाइमा पनि कुनै उचाई छैन
सपनाको ढलाइमा पनि कुनै होचाई छैन
सपनाको उर्ठाईमा पनि कुनै नविनता छैन
सपनाको सुताईमा पनि कुनै मौलिकता छैन
सधैंसधैं
स्वागतका तालीहरू बज्नु अगावै आईपुग्छन् सपनाहरू
सधैंसधैं
बिदाइका हातहरू हल्लिनु अगावै गइसक्छन् सपनाहरू
कुनै बलियो प्रतिपक्षले थर्काएको सरकारजस्तो
कुनै भूतबंगलामा परिणत भैसकेको दरबारजस्तो
सपना छ तर सपना छैन
किनकी
सपनासँग
सपनाको स्वाधीन सत्ता छैन ।
जीवनमा
घरिघरि देख्छौं हामी सपनाहरू
र पनि भोग्छौं विपनाहरूलाई
हामीलाई थाहा छ
विपनाहरू सपनाजस्तो सुकोमल हुँदैन
हामीलाई यो पनि थाहा छ
सपनाहरू विपनाजस्तो निर्दयी हुँदैन
र पनि
बारम्बार खोसिन्छन् हाम्रा सपनाहरू
बारम्बार चोरिन्छन् हाम्रा सपनाहरू
सपनाहरू चोरिनुभन्दा अगावै
सपनाहरू खोसिनुभन्दा अगावै
हामीसँग
सपनालाई पूरा गर्ने सामर्थ्य छैन
किनकी हामीसँग
सपनाको कुनै स्वाधीन सत्ता छैन ।
संसारका उत्कृष्ठ सपनाहरू
सधैंसधैं यसरी नै चोरिएको छ
सधैंसधैं यसरी नै खोसिएको छ
त्यसैले
सपना देख्न खोज्नुभन्दा पहिले अब
जुट्नैपर्ने भएको छ
सपनाको स्वाधीन सत्ता निर्माण गर्न ।

Hari Govinda Luitel – Yesto Ra Usto [Nepali Bal Kabita]

मैले हाम्रो पिर्थिवीलाई
थालीजस्तै ठानेको
चेप्टोचेप्टो, थेप्चोथेप्चो
होला भन्ने ठानेको

तर यो त सुन्तलाको
दानाजस्तै रहेछ
सुन्तला र भोगटेझै
गोलोगोलो रहेछ

रातो सुर्जे उदाएर
पिर्थिवीलाई घुमेर
फन्का मार्छ होला भन्ने
मैले ठानेको

तर हाम्रै पिर्थिवीले
फन्का मार्दो रहेछ
बीचमा पारी सुर्जेलाई
यसले घुम्दो रहेछ

विज्ञानको रंगीचंगी
किताबमा हेरेर
आज मैले यत्ति कुरा
पढीगुनी जानेको

पढ्नुभन्दा अगाडि
मैले ‘उस्तो’ ठानेको
पढेपछि थाहा भो
कुरा ‘यस्तो’ रहेछ ।

Chanki Shrestha – Loktantra Ko Madhyantar Ma

सोह्र वर्षछि
मेरा प्रेमिला आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक ।

सोह्र वर्षछि
फेरि युद्धबन्दी छ दिमागको किल्ला
काटिएका छन् हातका औँलाहरू
गायब छ शिरमा केशको सौर्न्दर्य ।

ब्युँझिएर उठेका छन्
मृत संविधानका अक्षरहरू
र, टाँसिदैछन् नयाँ संविधानका अक्षरमाथि
जसरी अखबारको पेस्टरले
पुरानै नक्सामा टाँस्छ नयाँ तस्बिर ।

सुन्दर मुलायम बगैँचामा
सुँगुरहरूले गरिदिएका छन् र्सवत्र फोहोर
तमसुकमा तहविलदारले जाली अंक थपेजस्तै
शमशेर गणका मौसमी प्रेतहरूले
लेखिदिएका छन् त्यसमाथि- प्रजातन्त्र ।

भर्खरै प्रेमको नतिजामा
असफल युवतीजस्तै थकित समयको यो मोडमा
सोह्र वर्षछि
बारम्बार म आँफैँसग सोधिरहेछु-
लुटाह र राजामा कसले बढी चुसिरहेछ देशलाई –
सुँगुर र शासकमा को बढी फोहोरी छ यो देशमा –
सुरक्षाकर्मी र आतंककारीमा कसले बढी घाउ दिइरहेछ देशलाई –

तर, सोह्र वर्षीच, म सोच्दैछु
प्रेमका नाममा बेइमानी नगरेसम्म
दुष्ट प्रेमिकालाई त्यागेर सहृदय वेश्यासँग
सम्बन्ध गाँस्न म स्वतन्त्र छु
स्वतन्त्र छु, मेरो ब्रह्मसँगै स्वतन्त्र विचरण गर्न
र, राज्यको अनुहारमा फर्किएको जंगली आँखाविरुद्ध आँखा लडाउन ।

सोच्दैछु- औँला काटिएको चोट बिर्सेर
म कसरी भ्यालेन्टाइन डे कविता लेख्न सक्छु –
पाइतालामा किला बिझदा
प्रेमिकाका आँखामा कसरी आफ्नो अनुहार खोज्नसक्छु –

सोह्र वर्षछि
शासकका आँखाबाट एकाएक गायब छ निद्रा
र, तम्तयार हुनु छ कुनै पनि क्षण
जारी गर्न निषेधाज्ञा, कर्फ्र्यु र संकटकाल
तर, लोकतन्त्रको मध्यान्तरमा
च’नैाती दिन बन्दुकलाई
दन्किरहेछ सडकमा आगोका असम्भार जुलुस ।

सोह्र वर्षछि
मेरा प्रेमिला आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेका थिए काला कानुनका पुर्र्जीहरू ।

मानिसहरू भन्छन्-
सोह्र वर्षछि
खुबै सुहाएको छ- मेरा प्रेमिला आँखामा ज्वाला
र, तिम्रो संसारमाथि त्रि्रै अधिकारका नारा
हो, खुबै सुहाएको छ- टीका चौधरीको हातमा गुलेली
र, कालो गुलाफको फूल ।

Rabindra Nath Thakur – Madhur Swapna [From Geetanjali]

प्रियतम ! त्यहाँ सबै भन्दा पछि बसेर,
त्यो अँध्यारो छायाको आडमा किन उभिरहेछौ ?
तिनीहरुले तिमीलाई धूलाले पूर्ण बाटामा मिल्काइदिन्छन्, अघि बढ्छन् ।
म तिम्रो पूजा गर्नलाई पुष्प–पात्र लिएर यहाँ कहिलेदेखि प्रतीक्षा गर्दै बसिरहेछु !
यात्रीहर आउँछन् र मेरो पुष्प–पात्रबाट एक–एक फूल रोज्दै लान्छन् ।
मेरो पुष्प–पात्र रित्तो भएको छ !

प्रभातको समय बितिसक्यो, मध्यान्ह पनि बित्यो ।
संध्याको छायामा मेरा परेला निद्राले झुल्न थाले ।
घर फर्किरहेका मानिसहरुले मतिर हेर्छन् अनि व्यंग्यको हाँसो हाँसिदिन्छन् ।
म लाजले शिर निहुराउँदछु ।
म यहाँ एउटी भिक्षु–ठिटीझैं दरिद्रताको पछयौराले चेहरा ढाकेर बस्दछु ।
मानिसहरुले सोद्धछन्, ‘के चाहिन्छ ?’
म चुपचाप शिर निहुराउँछु, जवाफ दिन्न ।

हरे !मैले उसलाई ‘म तिम्रो प्रतीक्षा गर्न यहाँ बसिरहेछु’ पनि भन्न पाइनँ,
‘तिमीले आउने बचन दिएका थियौ ।’
यसो सुनाउँदा मलाई लाज लाग्दछ,
यो दरिद्रताले भरिएको झोला मैले बादशाहका सत्कारको लागि राखेको छु ।
हरे ! यो गौरवलाई म मेरो ह्दयमा,अन्तरलमा लुकाएर राख्नेछु ।

आज यी हरिया घांसका मैदानमा बसेर आकाशतिर एकोहोरो हेरिरहेछु
अनि तिमी एक्कासि आइपुगेकोमा यमि सपनाले मन खुशी पारिरहेछु :
सारा दीपक झिलिमिली भए, तिम्रो रथको स्वर्णध्वजा फरफरायो,
आफ्नो रथबाट ओह्र्लेर तिमीले मलाई धूला–मैला टारबाट उठाएर रथमा राख्यौ :
फाटेका लुगा लगाउने, मलिन, अभिमान र लाजले काम्दै गरेकी
भिक्षु–ठिटीलाई आफ्नो आँचलले छोपिदियौ,
यस्तो देखेर मानिसहरु चूप भए ।
तर यो स्वप्न, स्वप्न नै रह्यो ।
समय बित्दै गयो ।
तिम्रो रथका पांग्राका शब्द पनि सुनिएन ।
बाटामा सहस्र जुलूस जय–जयकारका युद्ध–कोलाहल गर्दै गए ।
केवल तिमी मात्र तिमीहरुका छायाका सबभन्दा पछाडि उभिएर
आफ्ना आँसुहरुमा ह्दयको व्यथालाई धोई–पखाल्नुलाई बसिरहेको छु !

Indra Kumar Sunuwar – Timlai Samjhirahos

ईन्द्र कुमार सुनुवार – तिमीलाई सम्झिरहोस्

फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि
कहीले नजोडिने हाम्रो बियोग भयो
जति नै देवी देवता भाके पनि

दोषी थिए म तिमीले हेर्ने नजरमा
निर्दोष Continue reading “Indra Kumar Sunuwar – Timlai Samjhirahos”

Seema Abhash – Ritu Ko Geet

घङ्गारुको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अन्जुलीभरि पानी उघाएर भन्छिन्-
फेरिएनन् यी रुखका पातहरु
संग्लिएन सप्तकोशी
चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार

बाबै !
आस्थाको तोरण चुँडियो
बिश्वासको छानो भत्कियो
फूलको रङ हरायो
रगतले नुहाएर देउराली रोयो
साँझको घामसँग गएका
नातिनातिना फर्किएनन्

लामो सास तान्दै भन्छिन्-
उफ !
ताराका लामसँगै
इतिहासका पाना फेरिए
लोककथा दन्त्यकथा गीतका धून श्लोक फेरिए
अँहँ ! फेरिएनन्
आँगनमै घोप्टिएका
चिसा काला अमिला…
ऋतु गीतहरु

सन्तान हराएको दलानमा बसेर
सुर्तीको लामो सर्को तान्दै भन्छिन्-
दैलाको सङ्घार लिप्ने रातोमाटोमा
छोराको रङ छ
तुलसीमठमा चढाउने पानीमा
छोरीको रङ छ

सम्झनाको नमिठो छाँया लिपेर
औँलाले तस्विर कोर्छिन्-
आँसुका गीतको
नफेरिएका ऋतुका गीतको

पूर्णचन्द्रमूनि उभिएर भन्छिन्-
बुझिराखेस् बाबै !
फूलको रङमा मेरा नातिनातिना छन्
जो हराए आँखाबाट
जो भेटिएनन् आजसम्म
यीनैलाई सम्झँदै
मेरो आँसुमा-फूल चरा झण्डा माटो…
रोईरहे
यी नभेट्टिउन्जेल
आँखामा सप्तकोशी छचल्किरहनेछ
सम्झिराखेस् बाबै !
आँखामा सप्तकोशी छचल्किरहनेछ ।

ओखलढुङ्गा
हालः- त्रिभुवन विश्वबिद्यालय किर्तिपुर
अङ्ग्रेजी केन्द्रीय विभाग

Yuddha Prasad Mishra – Mirmire Bho Ujyalo

युद्धप्रसाद मिश्र – मिर्मिरे भो उज्यालो

आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी
पर्ने भो यो धरतितलमा वर्गसंघर्ष भारी
लागेका छन् द्रूत कदम भै एकतातर्फसारा
जागेका छन् सजग युगका जोशिला र्सवहारा

ब्युँझेका Continue reading “Yuddha Prasad Mishra – Mirmire Bho Ujyalo”

Rakesh Karki – Hallayo

इन्जिनियर राकेश कार्की – हल्लायो

साथी
तिमी हल्लीयौ
म हल्लीएँ
जनता हल्लीए
देश हल्लीयो

पहिले दरबारले हल्लायो
अहिले पार्टी नेताले हल्लाए
छिमेकी राष्ट्रले हल्लाउँछ
विदेशी राजदुतले हल्लाउँछ

पेट आन्द्रा हल्लिए
बाँच्ने सास हल्लिए
प्राण प्रिय हल्लिइन
छोराछोरी हल्लिए

कोही रोक्दैनन्
कोही छेक्दैनन्
सोच्दैनन् कोही
बचाउदैनन् कोही
हल्लाउने मात्र छन्
कोही बाहिरबाट
कोही भित्रबाट
हल्लाइरहन्छन्

देशको गति
सही बाटोमा छैन
देशको लगाम
आफ्नो माटोमा छैन

साथी
मनपरी देश हांकेपछि
तिमीले हल्लिनु छ
मैले हल्लिनु छ
देशले हल्लिनु छ
-लस एन्जेलस्

Chanki Shrestha – Bhairab Rath Yatra

एउटा गौरवमय
परम्पराको प्रदर्शनी चलिरहेछ
अनौठो प्रतिष्ठा र प्रतिस्पर्धाको
साक्षी छन् बाबा भैरव र अष्टमातृका
र, छन् रथका गजुर र ध्वजापताकाहरू ।

सडकमा/झयालमा/बार्दलीमा बसेर
असीम उत्साह जगाइरहेछन् दर्शकहरू
रथ तान्नेहरूको अदम्य जोश
ध्वजापताकाले सजिएको रथ
मानौ पौराणिक युग नै फर्किएको छ यहाँ ।

विधिपुर्वक सुरु गर्‍यौँ रथ तान्न हामीले
कहिले तलतिर
कहिले माथितिर
कहिले दुवैतिरको तानातानमा स्थिर र क्षत्रि्रस्त हुँदैछ रथ
जब अलि बढी तानियो रथ तलतिर
एक्कासि बर्सिए माथिबाट ढुँगामुडा र हतियारहरू
रथ फेरि तानियो माथितिर
उसैगरी तलबाट बर्सिए ढुंगामुडा र हतियारहरू
कोलाहाल, हानाहान र मारामार चलिरह्यो
गोली चल्यो
केही विभत्स घाउहरू आए
केही विभत्स मृत्युहरू आए
अबिर र फूलपातीले सजिएको भुइँ
छोपियो क्षणभरमै रगतले ।

हामी अझै आतुर छौँ रथ तान्न आ-आफ्नो पक्षमा
मानौ देशको अर्को नाम नै रथ हो
हामी निरन्तर रथ तानिरहेछौँ
र, प्रदर्शनगरिरहेछौँ आ-आफ्नो गौरव र वीरता ।