Chanki Shrestha – Bhairab Rath Yatra

एउटा गौरवमय
परम्पराको प्रदर्शनी चलिरहेछ
अनौठो प्रतिष्ठा र प्रतिस्पर्धाको
साक्षी छन् बाबा भैरव र अष्टमातृका
र, छन् रथका गजुर र ध्वजापताकाहरू ।

सडकमा/झयालमा/बार्दलीमा बसेर
असीम उत्साह जगाइरहेछन् दर्शकहरू
रथ तान्नेहरूको अदम्य जोश
ध्वजापताकाले सजिएको रथ
मानौ पौराणिक युग नै फर्किएको छ यहाँ ।

विधिपुर्वक सुरु गर्‍यौँ रथ तान्न हामीले
कहिले तलतिर
कहिले माथितिर
कहिले दुवैतिरको तानातानमा स्थिर र क्षत्रि्रस्त हुँदैछ रथ
जब अलि बढी तानियो रथ तलतिर
एक्कासि बर्सिए माथिबाट ढुँगामुडा र हतियारहरू
रथ फेरि तानियो माथितिर
उसैगरी तलबाट बर्सिए ढुंगामुडा र हतियारहरू
कोलाहाल, हानाहान र मारामार चलिरह्यो
गोली चल्यो
केही विभत्स घाउहरू आए
केही विभत्स मृत्युहरू आए
अबिर र फूलपातीले सजिएको भुइँ
छोपियो क्षणभरमै रगतले ।

हामी अझै आतुर छौँ रथ तान्न आ-आफ्नो पक्षमा
मानौ देशको अर्को नाम नै रथ हो
हामी निरन्तर रथ तानिरहेछौँ
र, प्रदर्शनगरिरहेछौँ आ-आफ्नो गौरव र वीरता ।