Rabindra Nath Thakur – Madhur Swapna [From Geetanjali]

प्रियतम ! त्यहाँ सबै भन्दा पछि बसेर,
त्यो अँध्यारो छायाको आडमा किन उभिरहेछौ ?
तिनीहरुले तिमीलाई धूलाले पूर्ण बाटामा मिल्काइदिन्छन्, अघि बढ्छन् ।
म तिम्रो पूजा गर्नलाई पुष्प–पात्र लिएर यहाँ कहिलेदेखि प्रतीक्षा गर्दै बसिरहेछु !
यात्रीहर आउँछन् र मेरो पुष्प–पात्रबाट एक–एक फूल रोज्दै लान्छन् ।
मेरो पुष्प–पात्र रित्तो भएको छ !

प्रभातको समय बितिसक्यो, मध्यान्ह पनि बित्यो ।
संध्याको छायामा मेरा परेला निद्राले झुल्न थाले ।
घर फर्किरहेका मानिसहरुले मतिर हेर्छन् अनि व्यंग्यको हाँसो हाँसिदिन्छन् ।
म लाजले शिर निहुराउँदछु ।
म यहाँ एउटी भिक्षु–ठिटीझैं दरिद्रताको पछयौराले चेहरा ढाकेर बस्दछु ।
मानिसहरुले सोद्धछन्, ‘के चाहिन्छ ?’
म चुपचाप शिर निहुराउँछु, जवाफ दिन्न ।

हरे !मैले उसलाई ‘म तिम्रो प्रतीक्षा गर्न यहाँ बसिरहेछु’ पनि भन्न पाइनँ,
‘तिमीले आउने बचन दिएका थियौ ।’
यसो सुनाउँदा मलाई लाज लाग्दछ,
यो दरिद्रताले भरिएको झोला मैले बादशाहका सत्कारको लागि राखेको छु ।
हरे ! यो गौरवलाई म मेरो ह्दयमा,अन्तरलमा लुकाएर राख्नेछु ।

आज यी हरिया घांसका मैदानमा बसेर आकाशतिर एकोहोरो हेरिरहेछु
अनि तिमी एक्कासि आइपुगेकोमा यमि सपनाले मन खुशी पारिरहेछु :
सारा दीपक झिलिमिली भए, तिम्रो रथको स्वर्णध्वजा फरफरायो,
आफ्नो रथबाट ओह्र्लेर तिमीले मलाई धूला–मैला टारबाट उठाएर रथमा राख्यौ :
फाटेका लुगा लगाउने, मलिन, अभिमान र लाजले काम्दै गरेकी
भिक्षु–ठिटीलाई आफ्नो आँचलले छोपिदियौ,
यस्तो देखेर मानिसहरु चूप भए ।
तर यो स्वप्न, स्वप्न नै रह्यो ।
समय बित्दै गयो ।
तिम्रो रथका पांग्राका शब्द पनि सुनिएन ।
बाटामा सहस्र जुलूस जय–जयकारका युद्ध–कोलाहल गर्दै गए ।
केवल तिमी मात्र तिमीहरुका छायाका सबभन्दा पछाडि उभिएर
आफ्ना आँसुहरुमा ह्दयको व्यथालाई धोई–पखाल्नुलाई बसिरहेको छु !