Suwas Khanal – Antim Geet

सुवास खनाल – अन्तिम गीत

आफ्नो उचाइ नछुँदै फुटेको
एउटा हाइड्रोजन बेलुनझैँ
समयको कुनै आकृति
कहिलेदेखि यो भितामा झुन्डियो ?

कुनै रोबर्टजस्ता मान्छेहरू
ग्यालरीमा यही तस्वीर हेर्न
आइरहेछन्

बेपता छ
ध्यानमग्न ,शान्त र स्निग्ध बुद्धको आकृति

चौथो विश्वबाट झिकाइएजस्ता
लिलिपुट मान्छेहरू
शासन गरिरहेछन् समयमाथि

घण्टाघर
समय ढिलो नापिरहेछ
समय उल्टो नापिरहेछ

तेस्रा
लिलिपुटहरूको
एउटा विरोधजुलुस
कुनै विन्दुमा पुगेर
अकास्मात परिवर्तन हुन्छ
विजयजुलुसमा
यहाँ हार्नेहरू हामी छौँ

नयाँ छानो हाल्ने
गुलाबी सपना बुन्दाबुन्दै आएको
हूरीपछिको छानोविहीन घरको कथा हो समय
कुनै नयाँ मार्गको परिकल्पनामा
पहिरो गएको इतिहास हो समय
मानौँ
कहीँ कतै नभएको
एब्सेन्ट समय हो –यो समय

प्रारम्भकालीन पाठशालामा
कुनै अबोध बालकले लेख्ने
किरिङमिरिङ अक्षरजस्ता
सुकोमल र सुषुप्त
अनुहारहरू मान्छेका
खै कहाँ हराए ?
र,
उपस्थित छन्
स्क्यान नभएको
कम्प्युटर फाइलजस्तो दिमाग
बोकेका मानिसहरू

हो,
मलाई
परिभाषाका अन्तिम पृष्ठहरू सम्म पनि
मान्छेको परिभाषा मनपर्ने साँचो हो
र,
मान्छेकै अजीव सम्मोहनले
आजसम्म बाँचिरहेछु

आवाजहरूको
गाउँ ,सहर वा कुनै राजधानी हुँदो हो त
सायद म यतिखेर त्यहीँ हुने थिएँ
कुनै बर्बाद इतिहासको
सुल्टो कथा सुनाउादै
र,
गाउँदै हुने थिएँ
परिवर्तनको अन्तिम गीत ।

छतिवन –८,पावस,मकवानपुर; हाल: भरतपुर,चितवन

Suwas Khanal – Sambodhan

सुवास खनाल – सम्बोधन

यो सम्बोधन
तिम्रै निम्ति हो
ए मान्छेहरू
जो बोल्नै निम्ति
ओठ खोलेर ठीक परिरहेका छन्
यो सम्बोधन
तिम्रै निम्ति हो
ए रहरहरू
जो हावाको मसिनो झोक्काजस्तो
मनको कुनाहरूमा बयेली खेल्छ
यो सम्बोधन हिसाबकिताब नभएका
अथाह सपनाहरूलाई पनि
जुन क्षितिजमा उदाउँछ
एउटा हैसियतवाल सूर्य

सम्बोधनै सम्बोधन
यो मौनजस्तो समयलाई
जसमाथि उफ्रिरहेछ
एउटा लठैत वर्तमान

पैह्रो खसिरहेको पहाड
बहिरहेको आँधिको एक लप्को
फक्रिँदै गरेको फूलको सुगन्ध
पँखेटा फडफडाउँदै उडिरहेको पुतलीको लयमग्न नृत्य
हजार गुणा सम्बोधन
साराका सारा प्रकृतिवत चञ्चलतालाई

यो मान्छेहरूको सहरमा
म दोभासे कविता पढ्न आएको होइन

म मल्हमजस्तो
घाउहरूमा लेपिन चाहन्छु
म सुख वा दुखजस्तो
मान्छेहरूसँगै डुल्न चाहन्छु
बोली नहुनेहरूलाई
मौनताको अन्तिम अर्थहरू बुझाउन चाहन्छु
दृष्टि नहुनेहरूलाई
मनको दियालो बालिरहन भन्छु
मेरो सम्बोधन
युगयुग हिँडिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
युगयुग कुरिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
काँडाहरूलाई पनि हो
मेरो सम्बोधन
फूलहरूलाई पनि हो
मेरो सम्बोधन
जीवन गीतका गाउन बाँकी
हजारौँ हजार लय र धुनहरूलाई नै हो
मेरो सम्बोधन
सम्बोधित हुन योग्य
साराका सारा सम्बोधनहरूलाई नै हो

हे सम्बोधित सम्बोधनहरू
लेखिदिऊँ न एउटा समयको शाश्वत कथा
जसको बाटैबाटो
हिँडिरहोस् अनन्तसम्म यो युग
र यो युगका सारथीहरू ।

Suwas Khanal – Adim Hawako Katha

सुवास खनाल – आदिम हावाको कथा

चराहरू
कुन महाप्रदेश
ताकेर बसाइँ गए खै ?
यहाँ
आदिम हावाको कथा
सारङ्गी रेट्दै गाइरहेछ समय

सेता घोडाहरू टाप
बजार्दै कुदिरहेछन्
चोकचोकमा

बन्द घडिमा
सुइहरूको अन्तिम दौडमा सामेल समय
उल्टो हावाको्
इहलीला
पढिरहेछ

भूमरी खेल्दै आएको
हूरीको बदमास कर्तुत
कुनै वर्णित
राक्षसका कथाहरू भन्दा कमजोर छैनन्

उल्काहरूले खाएको क्षितिज
अक्टोपसहरूको खुट्टामा बेरिएको
अर्धचेत पृथ्वी
रोबर्ट बनाउँदा बनाउँदै
मुटुको रक्तप्रवाह मेटिएर
रोबर्ट बनेको मान्छे
आकाश छेड्दै गरेको
कुनै अल्ट्राभाइलेट किरणले
बनाएको भयावह पोर्टे«ट
हो यति देखेपछि

हावाले गाउँदै हिँडेको
गीतसँग रमाउन सक्दिन

यो आदिम हावा

यसको आदिम कथा
किन दोहोरिरहन्छ पटकपटक ?

यसले किन जानेन सुल्टो चल्न ?

चोटाकोठा चहारेर
फर्केकी कुनै नवदुलहीझैँ
मौनता दगुरिरहेछ
प्रश्नका ठेलीहरू बोकेर
जहाँतहीँ

यो एकोहोरो
सुसेलीरहेको मनोटोनस
हावाको कुनै विकल्प छैन र ?
यो एकोहोरो उल्टै बग्ने
जीवनसँग
कतिपटक हिसाबकिताब माग्ने ?

म अपलक
कुनै समुन्द्र भेट्न आतुर
नदीको वेग सम्झिरहेछु
किन उसलाई बग्नु छैन उल्टो ?
किन उसलाई रोकिनु छैन कुनै क्षण ?

सपनाका चिठीहरू
खसालेर फर्केपछि
कति अनिदा रातहरू बित्छन्
हिमाललाई थाहा हुँदो हो
हिउँले छाडेर गएपछिको पीडा
रूखहरू सोच्छन्
शायद्
हावाले पातहरू खसालेर गएपछि

यो
बस्ति
शायद् कुरिरहेछ
उसले खामबन्दि गरेर पठाएको
सपनाको जवाफ

कुरिरहेछ
नयाँ सिरसिर
बतास बोकेर डुल्ने वसन्त ।

Suwas Khanal – Dummy Haru

सुवास खनाल – डम्मीहरू

कुनै म्याराथुन धावकजस्तो
मानव अस्तित्वको पछिपछि
हो उसैलाई भेट्टाउन
शायद् म दगुर्दै थिएँ
को थियो ऊ ?
थाहा भएन

इतिहासका पानाहरूमा
प्रशस्त बर्जित ऊ
कुनै अराजक समय लखेट्दै आइपुग्नेछ
एक दिन तिम्रो छेऊ

आकासमा कोरेको
कुनै अनाम भुगोलको अनन्त नक्सा
हो ,उसले देखाउनेछ

तिमीले सक्छौ भने स्वीकार गर्नू
ऊ तिम्रै नामहरूको
सजीव सपना हो

दिगमिग लागेर
डम्मी मान्छेहरूसँगको
कृतिम सम्बन्ध
हो, ऊ
आवाजहरूको कुनै देश पुग्यो शायद्

लेख्दै होला
स्वतन्त्रताका झन्डाहरूमा
आफ्नै पसिनाको साहसी गान

डम्मीहरू
मान्छेजस्तै,
तर मान्छेहरू होइन रहेछन्
डम्मीहरू
मुक् हुँदारहेछन्
खतराहरू वा बेखतराहरू सबैसँग
डम्मीहरू
चुपचाप चुपचाप
उभिँदारहेछन्
खुसीहरूमा वा बेखुसीहरूमा

यो
बर्सिरहेको
विरही झरी

आँखाहरूमा मूल फुटेको ओस
यो
हूरीले उडाउँदै ल्याएको समय

ढल्दै गरेको आशाहरूको कुन्यूँ
— ऊ नआइपुग्नुका परिणतिहरू हुन्

जीवन
बिस्कुनहरूमा फिँजाएर
पारिलो घाममा निर्धक्क सुतेको
कुनै रक्सीले मातेको
मान्छेजस्तो देशमा
तिमीले
कुन कोमल सपनाको कुरा ग¥यौ ?
तिमीले आमाको
कुन फाटेको चोलीको कुरा निकाल्यौ ?
कुन अयोग्य घोषित
रहर र आशाहरू सम्झियौ ?
यहाँ
यी सबैसबै वर्जित छन्

कुनै एउटा सस्तो कथाको
फिल्मजस्तो अखबार पढेर
रातभर बेचैन रहने
नियमितताहरू
चोकचोकमा बिक्री भइरहेछ

दिनभर सुतेर फेरि
सुत्नै एकछिन जागा भएको
असली कुम्भकर्णजस्तो
वर्तमान
बजाइरहेछ आफ्नै डम्फू

मन्दिरहरूमा बजिरहेछ
एकोहोरो शङ्ख

यसक्षण,
कसरी म निदाउन सक्छु निर्धक्क ?

तर हेर
डम्मीहरू निदाइरहेछन्
बेपर्वाह !
निर्धक्क !

छतिवन ८,पावस, मकवानपुर, हाल: भरतपुर, चितवन

Suwas Khanal – Bancheko Samaya

सुवास खनाल – बाँचेको समय

स्वभाविक छ
भत्किनु
तर अस्वभाविक छ
भत्किनु , भत्किनु र भत्किरहनु

प्रश्न जाहेज छ
भत्काइरहनु मात्र ठीक हो भने
निर्माण किन आवश्यक छ ?

अहिले पत्रिकाहरू
भत्केका तस्विर छापिरहेका छन्
टेलिभिजन
भत्किनु ठीक वा बेठीक बहस चलाइरहेछ
कोलम्निस्टहरू
भत्किनुकै पक्ष, विपक्षमा
विचार विमर्श गरिरहेछन्
चित्रकार
कोरिरहेछ भविष्य भत्किरहेको
भयावह चित्र
फोटो पत्रकार सबभन्दा बिकाउ
फोटो खिच्ने धुनमा छ –भत्काइकै

फरक फरक भत्काइका
आयोजक ,समर्थक
नेताहरू
कार्यकर्ताहरू
कुन भत्काइ ठीक
कुरा उठाइरहेछन्

हो सबैसबैसँग
भत्काइकै आग्रहहरू छन्
हो सबैसबै अलापिरहेछन्
भत्काइका
ससाना साम्प्रदायिक धुनहरू

हो भत्किनुनै ठीक हो भने
बन्नु किन आवश्यक थियो ?
हो चर्किनु नै सुन्दरता हो भने
कुरुपता के को अर्थ हो ?

यो अहिलेको युग
बेचिरहेछ संवेदना
जोगाइरहेको छैन
यो अहिलेको समय
टुक्रिरहेको छ क्षणक्षण
जोडिइरहेको छैन

तर एउटा घर
पूर्ण निर्माणले राम्रो देखिन्छ
न कि एकएक इँट्टा इँट्टामा ।