Suwas Khanal – Antim Geet

सुवास खनाल – अन्तिम गीत

आफ्नो उचाइ नछुँदै फुटेको
एउटा हाइड्रोजन बेलुनझैँ
समयको कुनै आकृति
कहिलेदेखि यो भितामा झुन्डियो ?

कुनै रोबर्टजस्ता मान्छेहरू
ग्यालरीमा यही तस्वीर हेर्न
आइरहेछन्

बेपता छ
ध्यानमग्न ,शान्त र स्निग्ध बुद्धको आकृति

चौथो विश्वबाट झिकाइएजस्ता
लिलिपुट मान्छेहरू
शासन गरिरहेछन् समयमाथि

घण्टाघर
समय ढिलो नापिरहेछ
समय उल्टो नापिरहेछ

तेस्रा
लिलिपुटहरूको
एउटा विरोधजुलुस
कुनै विन्दुमा पुगेर
अकास्मात परिवर्तन हुन्छ
विजयजुलुसमा
यहाँ हार्नेहरू हामी छौँ

नयाँ छानो हाल्ने
गुलाबी सपना बुन्दाबुन्दै आएको
हूरीपछिको छानोविहीन घरको कथा हो समय
कुनै नयाँ मार्गको परिकल्पनामा
पहिरो गएको इतिहास हो समय
मानौँ
कहीँ कतै नभएको
एब्सेन्ट समय हो –यो समय

प्रारम्भकालीन पाठशालामा
कुनै अबोध बालकले लेख्ने
किरिङमिरिङ अक्षरजस्ता
सुकोमल र सुषुप्त
अनुहारहरू मान्छेका
खै कहाँ हराए ?
र,
उपस्थित छन्
स्क्यान नभएको
कम्प्युटर फाइलजस्तो दिमाग
बोकेका मानिसहरू

हो,
मलाई
परिभाषाका अन्तिम पृष्ठहरू सम्म पनि
मान्छेको परिभाषा मनपर्ने साँचो हो
र,
मान्छेकै अजीव सम्मोहनले
आजसम्म बाँचिरहेछु

आवाजहरूको
गाउँ ,सहर वा कुनै राजधानी हुँदो हो त
सायद म यतिखेर त्यहीँ हुने थिएँ
कुनै बर्बाद इतिहासको
सुल्टो कथा सुनाउादै
र,
गाउँदै हुने थिएँ
परिवर्तनको अन्तिम गीत ।

छतिवन –८,पावस,मकवानपुर; हाल: भरतपुर,चितवन