Amar Nembang Limbu – Man

अमर नेम्बाङ लिम्बू – मन

आज म मात्र कोठामा सुतिरहेँ,
केवल मेरो मनमात्र
घुम्नगयो बाहिर ।
कुनै वेला मेरो मनले
बाहिर एउटा अग्लो रुखमा बसेर
चियाइरहेको हुन्छ संसार।
कुनै वेला मेरो मनले
बुर्कुसी मार्दै चुम्नपुग्छ
टाढा एकार्कामा अडेस लागेर
उभिएका म्लान पहाडहरूलाई ।
तर आज भने यो मन
टुक्रा टुक्रा भएर
उड्दैछ आकाशभरि
टुक्रा टुक्रा भएका कागजहरू जस्तै ।

टुक्रिएका कागजहरू कहिल्यै जोडिंदैनन्
न टुक्रिएका पातहरू नै
जोडिनुसक्छन परस्परमा ।
तर जति मन टुक्रिए पनि ,
जति मन भाँचे पनि ,
जति मन मरे पनि ,
जति मन भौंतारिए पनि ,
जति मनमा पहिरो गए पनि,
आखिर मनले मनलाई
खोजीरहेको हुँदोरहेछ
एकापसमा जोडिनुलाई।

जिउको छायाँ त सबैले देख्छन् ,
तर मनको छायाँ देख्दैनन् कसैले।
छायाँका पनि छायाँ हुन्छन् मनका।
यही छायाँ र उप-छायाँभित्र
एउटा मनले अर्को मनलाई
खोजीरहेको हुँदोरहेछ सधैं।
जिउँदो मान्छेबाट तात्तातै
सञ्चार भएको यो मन
जहाँ उडेर गए पनि,
जहाँ उफ्रेर आकाशमा ठोके पनि,
जहाँ लडेर प्रिथ्वीमा खसे पनि,
आखिर जीवनमा एक न एक दिन
जुन मनले एउटा मनसँग जोडिनुखोज्छ
त्यही मनसँग जोडिनुपुग्दोरहेछ यो मन ।

Amar Nembang Limbu – Ghantiharu

अमर नेम्बाङ लिम्बू – घन्टीहरू

धेरै वर्ष भयो एक दिन
तुम्लिङको उकालो बाटोमा
घत्र्याकघुत्रुक गर्दै
हिँडिरहेका थिए
तीनचार वटा खच्चरहरू ।
जति जति हिँड्दैजान्थे ती खच्चरहरू
उति उति ठोकिंदैजान्थे मेरा कानमा
तिनीहरूका घन्टीका आवाजहरू ।
आधा शरीर कुहिरोभित्र
आधा शरीर कुहिरोबाहिर पारेर
खुला ठाउँदेखि बाक्लो कुहिरोभित्र
क्रमिकरुपले
पसिरहेका थिए ती खच्चरहरू
मानुँ कुहिरोले
धमाधम निलिरहेका थिए तिनीहरूलाई
अजिङरले कुनै जनावरलाई निले झैँ।

त्यस दिन म कहाँ गइरहेको थिएँ ?
कोसँग गइरहेको थिएँ ?
केको लागि गइरहेको थिएँ ?
सबै बिर्सिसके अहिले ,
तर खच्चरहरूलाई चाहिँ
अझसम्म बिर्सेंको छैन मैले ।

सम्झनसाथ कस्तो उदासिलोरुपले
खुरहरू बजाउँदै कुहिरोभित्र
धमाधम पसिरहेका हुन्छन् ती खच्चरहरू !
कस्तो बिरहरुपले कुहिरोभित्र
बजिरहन्छन् ती घन्टीहरू !
त्यसरी नै आजतक यो सानो सम्झना
यो मनमा अझै टाँसिरहेको छ
कहिल्यै नमेटिने गरेर ।

Amar Nembang Limbu – Hamro Desh (Euta Rashtriya Geet)

अमर नेम्बाङ लिम्बू – हाम्रो देश (एउटा राष्ट्रिय गीत)

मेची र महाकाली हिमाल र तराइभित्रको यो देश
यो देश हाम्रो देश हो,
सधैँ जय होस् हाम्रो देशको।
युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू,
समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू,
मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू,
तराईभरि मनैभरि झुलिरहने धानका बालाहरू ।
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।
प्रकृतिको अनन्य वरदान हो यो,
सप्तरंगी इन्द्रेणीभित्र झरनाको आवाज हो यो
विभिन्न धर्मसंस्क्रितिको मूलुक हो यो
सम्पूर्ण नेपालीहरूको मुटुको धड्कन् हो यो ।
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।
आज लोकतन्त्रको यो नौलो नयाँ बिहानीमा,
स्वतन्त्रताको अमरदीप जलिरहेछ प्रत्येक घर-आंगनीमा,
सहिदहरूको सपना साकार पारी यो देशमा
नेपालको नाम सधैँ उच्च राखौँ यो विश्वमा
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।

न्यूयोर्क

Amar Nembang Limbu – Triveni Dobhan

अमर नेम्बाङ लिम्बू – त्रिवेणी दोभान

वर्षौँ पहिले
श्रावण महिनाको एक दिन
स्थानीय त्रिवेणी दोभानमा
जलाएको थियौँ हामीले
मेरी स्वर्गीय मुमाको लाश ।
मुमालाई दोभानमा झार्दा
कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर
ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले
वनको देवताको लागि भनेर ।
आमालाई जलाएर
माथि घरमा आइपुग्दा पनि
घरिघरि झझल्को आइरह्यो मलाई
त्यो सानो चल्लोको ,के भयो भनेर ।
हिजोआज पनि
जब आमालाई जलाएको सम्झना आउँछ,
एउटा सम्झना अर्को सम्झनासँग टाँसिए जस्तै
अनायास त्यो सानो चल्लोको पनि
सम्झना आउँछ मलाई ।

Amar Nembang Limbu – Nostalgia Ko Ukus Mukus Bata Udbodhit Euta Antarbedana

अमर नेम्बाङ लिम्बू – नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना

द्वन्दकालको एक भयानक रातमा
सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर
व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई
अतिक्रमण गर्दै
सर्वस्वसहित अस्मिता लुटिएको थियो
हाम्रो प्यारो घरको।
जुन घटनाको छाल-उपछालमा हुत्तिएर
जिउनपुगेका छौँ आज हामी,
टाढो भूगोलको एक कुनामा
सम्झनाको झोलामा
नोस्टाल्जियाको एक एक टुक्रा घर बोकेर।
यसरी नै छरपस्ट भएका छन्
हाम्रा सपना र् विपनाहरू ,
एक हेमन्तको रातमा
हावाले बेस्सरी उडाएका पातपतिंगरहरू जस्तै।
जहाँ जहाँ जान्छौँ हामी
त्यहीँ त्यहीँ बस्छौँ सम्झनाको घर बनाएर
चौरीमा एउटा तन्ना ओछ्याएर
एकछिन बसेजस्तै ।

परदेशमा हुँदा कहिले काहीँ
छातीमा छाम्छौँ हामी
हाम्रो प्रिय घर हरायो कि भनी ?
लाग्छ हामीले वाध्यतावश छोडेर आए पनि
सूर्यले अझै न्यानो राप
दिन छाडेको छैन होला
हाम्रो प्यारो घरलाई ।
अझै रातभर खेल्दैछन् होला
जून र ताराहरू
हाम्रा घरआँगनवरिपरि।
अझै प्रत्येक दिन त्यहाँ
थकाई मार्न आउँछन् होला
मोहनीमय गोधुली साँझहरू ,
हँसिला रसिला गाउँलेका मायाहरू ।
अझै बोलाइरहेछ हामीलाई
विपनामा र सपनामा पनि
हाम्रो प्यारो घर र देशले।
त्यसैले फर्कन चाहन्छौँ हामी
आफ्नै प्यारो जन्मभूमिमा
जहाँ अधुरो प्रेम र टुक्रिएका निद्राहरू जोडिएर
एउटा नयाँ सपना बन्नसकोस् ,
जहाँ सिलौटी पहाड र हिमाललाई
दिनदिनै हेर्नसकौँ हामी
जहाँ घोसे मुन्टो लाएर बसेको
हाम्रो बुढो घर फेरि जुर्मुराएर उठ्नसकोस्
जहाँ चल्लाहरूले आफ्ना माउमुनि ओतिएर
न्यानोपनको अनुभूति प्राप्त गरे जस्तै
हामीले पनि आफ्नो घरमा ओतिएर
सदा न्यानोपनको अनुभूति प्राप्त गर्नसकौँ
जहाँ हाम्रो जन्मभूमिमा
स्वतन्त्रता ,समानता र शान्तिको सास फेर्दै
युग युगसम्म बाँच्नसकौँ हामी ।

न्यूयोर्क

Amar Nembang Limbu – Euta Saanjh Ko Awasaan

अमर नेम्बाङ लिम्बू – एउटा साँझको अवसान

जिन्दगीको यो गोधुली साँझमा
फ्लिक्कर फोटो जस्तो देखिने
म बाँच्ने धरतीको यो कोलाजभित्र
जिन्दगीका थुप्रै पानाहरू
पल्टिसकेका रहेछन् यहाँ।
केवल लर्खराइरहेका छन्
मेरा झ्यालढोकावरिपरि
क्यान्भासमा कोरिएका
अस्थिपञ्जर रेखाचित्रहरू जस्तै
दिवंगत आफन्त र मित्रहरूका
धूमिल स्म्रितिका अवशेषहरू।
धेरै टाढा डाँडाँमा पुगिसकेका
सूर्यका असंख्य पहेंला रश्मीहरू
फर्केर पस्तैछन् मेरा झ्यालढोकाभित्र
अटेसमटेस गर्दै
कागहरूका आवाजसँगै
बास बस्न ओर्लिरहेको
गरुङ्गो रातको समाचार लिएर।
घोर एकाकीपनले लपेटेको
यो उदासिलो साँझमा
टुक्राटुक्रा भएर विलीन भएको
पाउँदैछु म आफैलाई यो महाशून्यतामा।
लाग्छ आजको यो साँझ
बिस्तार बिस्तार मर्दैछ
नजीकै बासिरहेका
झ्याउँकिरीहरूका आवाजसँग मिसिएर।
यसरी नै मैले जिएको एउटा संसार
हेर्दाहेर्दै मेटिसकेको छ यहाँ ।
केवल भावनामा ,
केवल कल्पनामा र
केवल सम्झनामा मात्र
बाँच्नुपर्ने छ त्यो संसार अब मैले यहाँ ।

Amar Nembang Limbu – Euta Tuwanlo Pareko Bhabishya

अमर नेम्बाङ लिम्बू – एउटा तुवाँलो परेको भविष्य

हजार सपनाहरूमद्ये एउटा सपनालाई
च्याप्प समातेर
यो जीवनलाई कच्याककुचुक पारेर
मुठीमा बोकी
भोलिका पुच्छरहरूलाई समात्दै
अघिअघि हिंद्डैछु म।
सागरका लहरहरू Continue reading “Amar Nembang Limbu – Euta Tuwanlo Pareko Bhabishya”

Amar Nembang Limbu – Shanti Ra Aananda Ko Aayu

अमर नेम्बाङ लिम्बू – शान्ति र आनन्दको आयु

एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको
त्यो सानो खोलोसँग सँगै
मनमा आएका पीर वेदनाहरूलाई पोख्दै
घन्टौँसम्म हिँडिरहेँ म ।
हिँड्दाहिँदै टाढा कतैतिरबाट
कसैले मलाई Continue reading “Amar Nembang Limbu – Shanti Ra Aananda Ko Aayu”