Shyam Dahal – Mero Rampur

श्याम दाहाल – मेरो रामपुर
(मधुपर्क जेठ, २०६८)

नागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर
चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल
गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल
पानी वर्षेर माटाको, सुगन्धमय रामपुर
उच्च पर्वत मालाले, घेरेको छ उपत्यका
छाँगा सुन्दर झर्नाले, चारैतिर सुशोभित
हिमका कण बोकेर वायु घुम्छ सबैतिर
यिनकै काखमा जन्म्यो सुरम्य टार रामपुर
लेक-बेँसी घुमी पन्छी यसैभित्र रमाउँछन्
प्रकृतिका नयाँ भाका, घर-घरै पुर्‍याउँछन्
यहीँको पञ्चतत्त्वमा, बिउँत्यो सकल जीवन
शिवदूती बगिरहन्छिन् जीवन-मरण-साथमा
कोसौँ पाउ पसारेर, सुतेझैँ लाग्छ रामपुर
सबैका साथमा आशीष दिन्छन् उनका दुवै कर
बाहुन, क्षत्री, दमैं, सार्की, घर्ती, कामी, सबैतिर
जन्म-मरणका घाट, सबै हिन्दू बराबर
दिन-रात खियाएर, पौरखी कर्म-पाखुरा
पसिना फल्दछन् मोती भाग्य-रेखा बनी पूरा
दायाँ-बायाँ कर्म-नदी, सुसाई बग्दछन् जब
लाखौं तरङ्ग फालेर, जगाई दिने रामपुर
मनका भाव बिउँझेर, देखिन्छ दिव्य-सुन्दर
जेसे, पातले सोलाखर्क, थुम्की ककनीका वन
चिसापानी कटुँजेकै, थाप्ला छन् हिमका घर
ओर्लिन्छन्, दूधका छाँगा, मनमोहक सुन्दर
वन-पात सँगै हिंड्ने काम आफ्नो भए पनि
मन बोकेर अर्काको, आफैँभित्र लुकाउने
कहाँ-कहाँ ? पुगेका छन् ? गाउँ थियो एकै घर
सम्झनाका तरेलीमा उर्लिंदै आउँछ रामपुर

रामपुरटार, ओखलढुङ्गा

Rakesh Karki – Gaunle Haru

इन्जिनियर राकेश कार्की – गाउँलेहरु

रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरु
जति जोताए पनि मुस्काउने गाउँलेहरु
भोकभोकै बगेका पसिना सुकाउनेहरु
मन भरीको दुःख आफैभित्र लुकाउनेहरु
तर पनि भोलीको मिठो आशमा रमाएकाहरु
एक्कैछीन आनन्दले हातगोडा फिंजाएकाहरु
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।
मास्न सक्नेले शुरुमै जड्गल मासे
पशु पंक्षी अनि वन्य जन्तु नाशे
अहिले हेर गाउँलेहरु मासिदै छन्
गाउँ गाउँ निसास्सिदै छन् ।।
अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरु
मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरु
यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ
नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ
आफू जन्मेको गाउँ पुग्नलाई
आफू हुर्केको आँगन टेक्नलाई
भोकै भए पनि हातगोडा फिजाउनलाई
निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।।
निराशा छ गाउँलेसँग अब आशा छैन
मेलापातमा रमाउने पिरतीको भाषा छैन
पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ
विस्तारित परिवार अब सास धान्न गाह्रो छ
तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन
अलपत्र शहरको पेटीमा, भीख मागेको हैन
बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ
गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।।

लस् एन्जेलस्

Prakash Sapkota – Jasai Timro Hridaya Ko (Nepali Gajal)

प्रकाश सापकोटा – जसै तिम्रो हृदयको (गजल)

जसै तिम्रो हृदयको आकार बदलियो
सोच्यौ होला तिमीले यो संसार बदलियो

सम्झन्छु नानाथरिका कसम, किरिया ती
हो, छैन फाइदा अब जो पत्यार बदलियो

गाउँछु, गाउँछु नि जिन्दगीको गीत अझै
त्यो अर्कै कुरा हो, सहसा झन्कार बदलियो

जिउँछु जिन्दगि, सकार्छु भोगाई अनौठा
फरक यत्ति हो, जिउने आधार बदलियो

– ट्रोम्सो, नर्वे (05.11.2012)

Tanka Subba – Manchhe Lai Manchhe Bata Banchit Garnuma

टंक सुब्बा – मान्छेलाई मान्छेबाट बञ्चित गर्नुमा

एउछा मान्छेलाई
मान्छेबाट बञ्चित गर्नु भनेको
खेल होइन दैवको
दोष होइन भाग्यको
कर्म होइन भावीले लेखेको
श्राप होइन सतिले दिएका
निर्विवाद
खेलवाड हो दोस्रो मानवको ।

एउटै पङ्तीमा उभिएको मान्छे
एउटै संसारमा जन्मेर हुर्केको मान्छे
किन ठूलो र सानो हुन्छ
किन घृणा र माया हुन्छ
किन अधिकार जन्मसिद्घ खोसिन्छ
मान्छे एउटै हुनु पर्ने हो
किन मान्छेबाट वञ्चित गरिन्छ
निर्विवाद
दुष्टचाल हो दोस्रो दानवको ।

स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार
किन स्वतन्त्र छैनन् जीवनहरु
किन निरीह छन् मनहरु
किन वर्वादीमा छन् खुशीहरु
किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु
त्यसैले
एउटा मान्छेलाई
मान्छेबाट वञ्चित गर्नु भनेको
खेल होइन दैवको
दोष होइन भाग्यको
कर्म होइन भावीले लेखेको
श्राप होइन सतिले दिएका
निर्विवाद
महाजाल हो दोस्रो महामानवको

Bhupi Sherchan – Naya Barsha

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक्
निस्तेज Continue reading “Bhupi Sherchan – Naya Barsha”

Laxmi Prasad Devkota – Saghan Tamisra Prati

क.
ए आलोक–विलोपिनी ! घन–कजली निशि !
लाश दिवसकी निस्पद !
रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई,
ध्वान्तजटा बाक्ला बिखरी,
विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध,
विलीन हिमाली डाँडामा ?
महामृत्युकी छाया सरि ए !
विशाल शून्य झैं साकार !

ख.
त्रासोत्पादक छायाहरुको तहबह मिसीकन बाक्लो तमको
पारावार सदृश तिमी, आनाकधरा,
हाम्रा चेतन–चट्टानहरुमा ठक्कर दिन्छयौ, प्रतिक्षण, प्रतिक्षण,
झस्काई बराबर,
भूबालब बिचरा !

ग.
ए महानिद्रा झरेकी, निश्चल पदमा, जग ढाकी !
यमलोकी ए शून्यालोक !
तिम्रो भीषणताका समक्ष आँखा चिम्ली जीवहरु
मूर्छा पार्छन् चैतन्य !

घ.
यत्तिकै हो रङ्गीचङ्गी विविधतायुत जग इतिहास ?
अनुसन्धान आशा, अभिलाषा ?
मूक रहस्यकी मुटु ! ए अदुष्य !
बोल ! तमिस्रा ! निश्वास !
महाशून्य मात्रका अश्रुत छालले ठोस किनारा खान्छन् सारा ?
बैरी, उक्ली, तमका धारा ?
जीवनको यो भाँडोभरि के ? शून्य भरिन्छ ?
आह ! सारा ?

ङ.
ओ मट्टी ! ओ मट्टी !
रायो–दाना थिचिएँ ! थिचिएँ ! किचिएँ ! लौन !
तालुपट्ट छु ! निस्पट्टी !

च.
आलोककणी झैं स्वकीय पिलपिल–अस्तित्व उपर अशङ्क,
निसास्सीँदो छु, तिमिरक्षारमा,
त्यो क्षुद्र उडु झैं घन–धाँजामा, सानो, मानो
आशाहीन !

छ.
ए मेरा हराएका धनकी चोर्नी !
गतवस्तुकी ए काली कारा !
चिरिई फुट् तँ निजी, निठुर उर
फारी !
हेर् तँ ! तमिस्रा निश्चेता !
भित्र छ तारा, तारा !!!

Shekhar Dhungel – Eutai Chiso Chhat

आफ्नो जीवन आफ्नै हुन्छ
सुन्दिन म तिम्रो बात
भन्छ्यौ भने मायालु
किन चाहियो हामीलाई अब
अँध्यारो रातको लागि मात्र
यो एउटै चिसो उही एउटै चिसो छत

दु:ख जति आँफै बोकी
सुख दिए तिम्रै भागमा
रुनु परे Continue reading “Shekhar Dhungel – Eutai Chiso Chhat”

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 008 – Hamro Bhet Hundaina Ho Ki Kahilyai

नेपाली हरिया पहाड वनका यी घाम–छायाहरु
हामी दम्पति, शान्ति कान्ति कलिला, यी मोह–मायाहरु
यो संयोग जुटाउने कुन थियो कल्ले बिगार्यो अनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

पृथ्वीमा अबदेखिलाइ Continue reading “Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 008 – Hamro Bhet Hundaina Ho Ki Kahilyai”

Rabindra Nath Thakur – Mandir [From Geetanjali]

मन्दिर
पुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमि
सबैलाई एकातिर राखिदेऊ ।
ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ ?
आङ्खनो मनको अन्धकारलाई लुकाएर बसिरहेछौ, तिमी कस्तो
पूजामा एकचित छौ ?
आँखा खोलेर Continue reading “Rabindra Nath Thakur – Mandir [From Geetanjali]”

Sushma Manandhar – Chha Ki Chhaina (Nepali Gajal)

सुषमा मानन्धर – छ कि छैन (गजल)

हाँगा हाँगै पालुवा झुले
फूलको डाली छ कि छैन

रोपेर मात्र हुन्न फूल
हुर्काउने माली छ कि छैन

भर्यौ होला मनका कुना
कतै खाली छ कि छैन

कति गर्छौ रीसै मात्र
दिने Continue reading “Sushma Manandhar – Chha Ki Chhaina (Nepali Gajal)”

B J Bantawa Rai – Buwa

बि. जे. बान्तवा राई  – बुबा!

बुबा!
कतै तिम्रा सन्तानहरुको मायाबाट
ओझेलिएका त छैनौ, तिमी?
सबैले आमा सम्झिदा आमासँगै
लहरिने बुबालाई बिर्सिंदा, तिमीलाई
पिंडाले भतभती पोलेको त छैन?
लाग्दो हो तिमीलाई, मैले कहिल्यै माया
मेरो सन्तानलाई दिन सकेनछु ताकी
आज म मेरै सन्तानको माया बाट,
सम्झना बाट क्षितिज भित्र थुनिएको छु।
लाग्दोहोला कहिलेकाहीं तिमीले गरेका
सबै दुख तिम्रा सन्तानहरुले देखेनन।
लाग्दो होला तिमीले एकान्तमा रुएका
आँशुहरु कसैले देखेनन अनी तिम्रा
ति फोका उठेका हातका निशानीहरु
तिम्रा सन्तानले देखेनन, लाग्दो होला
कतै तिमी एक्लै त छुईन यहाँ भनेर,
सुम्सुम्याउदो होलाउ तिम्रो पिल्सिएको
पिठ्युँ, अनी तिम्रा तालुहरु जहाँ
सन्तानको भारले किचिएका,
अनी पटक पटक कर्तब्य बोक्नुको पिंडा,
त्यसै त्यसै छटपटी हुँदोहोला,
डाको छोडी रोऊँ भने हुतीहारा भन्ने डर,
नरोऊँ भने आज बैंशले डाँडा काट्दा
सन्तानहरुले आमा च्यापी बिर्सिंदाको
पलहरु तिमीलाई धेरै दुख्दो हो,
तिम्रा ति पाईतलाहरुमा अझै
ति तिखा काँढाको डोबहरु होलान,
हिंजो सन्ताहरुको लागी त्यो उकालो ओरालो
अनि भञ्ज्याङ चौतारी गर्दै
बिताएका क्षणहरु कतै तिम्रा
ति मस्तिष्कमा कालोबादल झैं
मडारिएका त छैनन?
तर,,,, तर,,,,
यदी तिमी यी सोंचहरु सँग
निस्सासिएका छौ भने,
अनी यी कालामन सँग आत्तिएका छौ भने,
आजै त्यागी देऊ सबै ति तिम्रा
शंकाहरु, तिम्रा सन्तानहरु तिम्रा लागी
मात्र मौन छन, तर तिम्रो महत्व
त्यहाँ छ, स्वास र जिबन झैं
तिम्रा सन्तानहरु तिमी बिना
अनी तिमी तिम्रा सन्तान बिना
कहिल्यै कहिल्यै पुरा हुन सक्दैनौ।
तिमीलाई मौनतामा छोडेर कहिल्यै
भाग्न सक्दैनन तिम्रा सन्तानहरु,
उनीहरुलाई थाहा छ, तिमीले दिएको ओतहरु
तिमीले पिएका चोटहरु, अनी तिमीले मेटाएका
दुखका खोटहरु, तिमी त्यो अँध्यारो जलिरहने
एउटा दीप हौ, मोतीको उज्यालो केवल
अँध्यारोमा देखिन्छ रे, तिमी त्यो मोती हौ,
जुन युगौंयुग असल पिता बनेर उभिएका छौ
नि-सन्देह, नि-संकोच अटल सगरमाथा झैं
अटल हिमालय झैं

Saroj Dhital – Aanshu Ra Utsav

सरोज धिताल – आँसु र उत्सव

सक्नेहरू भन्छन्
उत्सव हो जिन्दगी– रमाऊ
हावामा उडिरहेछन् अवसरहरू
हात बढाऊ
र च्याप्प समाऊ ।

आँखामै अल्झिन्छु एकछिन् भन्दा पनि
मुहारमै टल्किन्छु एकछिन् भन्दा पनि
आश्रय Continue reading “Saroj Dhital – Aanshu Ra Utsav”

Yuddha Prasad Mishra – Janaghosh

युद्धप्रसाद मिश्र – जनघोष

हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने
बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने
खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब
खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब

आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना
हाम्रो के अब झुक्न सक्छ र यहाँ विज्ञानवादी फना
उठ्दैछन् हँसिया हलो र खुकुरी खुर्पी खुँडा बञ्चरा
उठ्दैछन् नवचेतना सजग भै आत्मा भएका दरा

पथ्र्यो के जनमुक्तिको विजय श्री अध्यात्मदेखि तल
टथ्र्यो के बदला नलिकन त्यसै हाम्रो रगतको भल
दिन्छौं पारि सखाप नै प्रतिक्रियावादीहरूको हठ
उम्लेको छ असह्य भै हृदयको हाम्रो व्यथा उत्कट

धर्तीमा सुखशान्तिका किरणले र्छाईदिने लक्ष्यका
हामी न्याय उचाल्न वीरगतिको बाटो लिने पक्षका
पीडाग्रस्त बनी गई शरणमा पर्दै ठूलाका मुनि
सच्चाइसित थर्र थर्र डरले नार्मदको के जुनि ?

(युगज्योति २०४६)

Bikram Subba – Basanta

खैँचेर ताँदो हिमालले
शिशिरका सिरेटा फटाफट प्रहार गर्‍यो
वृन्दावनका पहेँला पातहरु पटापट ढले..
बोट विरुवाहरु बेवस्त्र नाङ्गा भए
घात प्रतिघातपछि हारेका रुखका हाँगा-हाँगा…
र उमेर पुगेका यौवना विरुवाहरुलाई Continue reading “Bikram Subba – Basanta”

Saroj Dhital – Samjhana

सरोज धिताल – सम्झना

चकचके बादल
जबर्जस्ती छेक्न खोज्छ
पूर्णिमाको जूनलाई

मायाले
विस्तारै पन्छाएर जतनका साथ
झलमल्ल लाग्छ जून
र मुसुक्क हांस्छ मतिर हेर्दै

जसरी–
वर्षौं पहिले
शिवरात्रिका दिन
बाटो छेकेर बसेका बच्चाहरूलाई
मायाले
विस्तारै पन्छाएर जतनका साथ
सुस्तरी अघि बढेकी थियौ तिमी
र मुसुक्क हांसिथ्यौ मतिर हेर्दै ।

नोभेम्बर २००१

Shyamal – Cosmos Koniya

गुडबाई कोनिया
फेरी भटौंला ।
फेरि भेट हुनु अघि
ओहो, केही ठेगान छैन
के—के हुने हो
तिम्रो—मेरो फेरि भेट हुनुअघि !
सरकारले दिएको पानीले
म मर्न सक्छु
म मर्न सक्छु
बजारमा राखिएका विषाक्त
औषधीहरुले
पुस्तक पसलमा सजाइएका
कानुनका किताबहरुमा
लेखिएको छ मृत्युदण्ड !
आफ्नो कोटको खल्तीभित्र लुकाएको छ
सरकारले ‘मृत्यु‘
डलरझै बिलकुल डलरझै
यद्यपि तिम्रो शुभकामना लिएको छु
कोनिया, म गायब हुन सक्छु ।
गुडवाई कोनिया,
फेरि भेटौला ।
फेरिन थालेका छन् मेरा शब्दहरु
निःशब्द उभिएका
क्रूद्ध जेलका अमानवीय ढोकाहरुमा
गएर बज्रनेछ
शब्दहरुको आवाज
ज्वरमग्न छु म
अग्निशमन गर्न असमर्थ
न्यू ओतानीको पच्चीसौ तलाको
एउटा कोठामा ।
गुडबाई कोनिया,
फेरि भेटौला ।
उदाङ्ग परेका रहस्यहरुमाझ
भित्तामा नारा कोर्दैछ एउटा युवक
परम्पराले हिर्काएर
छियाछिया भइसकेको उसको अनुहारमा
तिम्रो पनि अनुहार छ
डलरले हिर्काउँदा—हिर्काउँदै कुरुप पारेको
पपुआ न्यूगिनी झैं
के भन्न सकिन्छ र
फेरि भेट हुनुअघि ?
गुडवाई कोनिया,
फेरि भेटौंला ।
खोज्दैछु अर्थहरु
कि देश भनेको के हो ?
के हो प्रजातन्त्र ?
पुलिसले चुट्तै लगेकी एक युवतीको
चिच्याहटमा लुकेको
कुनै कविताको शीर्षक के हो ?
अर्थविहीन शब्दहरुविरुद्ध चालू छ युद्ध
चालू छ निरन्तर एक धर्मयुद्ध
म कहाँ छु कुन्नि, भयानक अग्निमा छु
जहाँ छु म भाउन्नमा छु
कोनिया,
चलाख छ प्रजातन्त्रको बन्दुक
हाम्रो भेट हुनुअघि
म निदाउन सक्छु ।
गुडवाई कोनिया,
संसारको कुनै पनि छेउमा
भरसक फेरि भेटौंला ।

Rakesh Karki – Timro Sandhai Jit Kasto (Gajal)

इन्जिनियर राकेश कार्की – तिम्रो सधैँ जित कस्तो (गजल)

तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो
आयो जवानी या उन्को मन पराइले मार्यो

व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत
छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो

बस्दा नबोलेरै केही पश्चातको सम्झौता
झन् आँसु टिलपिल गहमा थोपा झराइले मार्यो

टाँस्सेर पश्चाताप गर्दै सास लामो फेर्दै
फुर्काउने लाडे मीठो बात गराइले मार्यो

अङ्कुश सुरू भइगो झट्टै फेरि यो गर् त्यो गर्
मन्जुर छ मान्या मान्यै तिम्रो अराइले मार्यो

(बहर : मुतकारिब मुसद्दस् अस्लम मुदाइफ
सूत्र : मुस्तफ्इलुन्++ + +म‌फ्ऊलुन् +‍ मुस्तफ्इलुन् + म‌फ्ऊलुन्++++
SSIS SSS SSIS SSS)

Hangyug Agyat – Ma Hongkong Bhai Sakechhu

हांगयुग अज्ञात – म हङकङ भइसकेछु

सातिन र हेप्पीभ्यालीमा दौडिने
बाजीको घोडाजस्तै
अथवा जमिनमुनि दौडिने
रसआवरको रेलजस्तै
यो एसियाको विश्वसहरमा
श्रम बेच्न दौडेको पनि
थाहै नपाई
एक दशक भएछ
र हिजो बेलुकी
जब माया सेलुनमा
ऐना अगाडि उभिएँ
तब देखेँ
फुल्न थालेका रहेछन्
कनसिरीमा कपालफूलहरू
ओहो ! देश फर्किन्छु भन्दाभन्दै
म त हङकङ भइसकेछु,

ताइमोशान र मंकीहिलको जङ्गलमा
चासोक, साकेवा र ल्होसार मान्दामान्दै
बिबिक्यूमा पोलिपठाइएछ उमेरको पखेटा
इन्डियाक्लव र कङ्गनको बफेमा
पुलाउ र पर्ककरी पस्किादापस्किदै
कतिबेला रित्तो पारिएछ मस्तिष्कको प्लेट
कतिबेला रेड वाइनले कुल्ला गरिएछ
आदर्शको फट्फटाइरहने जिब्रो
कतिबेला बियरले पखालिएछ
देशको तस्बीरलाई मनको कुनाबाट र
कतिबेला टोस्ट गरिपठाइएछ कायाकल्पको नाममा
आफ्नो सर्वहारा पृष्ठभूमिको गरूङ्गो मुट्ठी !

ओ, मेरा साथीहरू हो,
युनलङ थियटर र चुनवान टाउनहलमा होस्
अथवा कम्युनिटी हल यायातेइमा होस्
थाहै नपाई मैले बिर्सेछु
मेरो रगत, पसिना र आँसु ! अथवा,
नाचघरमा कम्मर मर्काउँदामर्काउँदै
कतिबेला भुाडीले आकास ताक्न थालेछ
र आँखाका चेपबाट
रेखाहरू तन्किन थालेछन्
मार्कसिक्सको सपनाबाट ब्यूँझेर
हिजो बेलुकी
जब उभिएँ माया सेलुनमा
तब देखेँ घामले डढेको
आफ्नो दिक्कलाग्दो अनुहार
ओहो ! देश फर्किन्छु भन्दाभन्दै
म त हङकङ भइसकेछु,

ओ, मेरो देश
म हङकङ भइसकेछु
तेसैले मेरो काखीमा हिजोआज
डुङ्डुङ्ती समुद्र गन्हाउन थालेको छ
मेरो नङमा गन्हाउन थालेको छ
लापसाप
मेरो हातमा गन्हाउन थालेको छ
इनामेल
मेरो ढाडमा गन्हाउन थालेको छ
बासीभात
मेरो खुट्टामा गन्हाउन थालेको छ
बाह्रघण्टा
मेरो मुखमा गन्हाउन थालेको छ
तिउलेलम्बू
मेरो छातीमा गन्हाउन थालेको छ
नेपोइः
हो, म हङकङ भइसकेछु !
मेरो सिङ्गो शरीरमा
गन्हाउन थालेको छ आइडी,

तेसैले ओ मेरो देश
अब इमेल नगर तिमी
नपठाऊ तिम्रा दुःखहरू
यहाँ तिम्रो गोर्खा छोरा
यहाँ तिम्रो कवि छोरा
हङकङ भइसकेको छ
र तिमीले
लाहुरेको गफमा सुनेजस्तो
यो हङकङ साँच्चैमा सुन्दर
र सुखी छैन,

यहाँका अग्ला भवनहरूमा
धेरै होंचा विचारहरू बस्तछन्
यहाँका सफा सडकहरूमा
धेरै फोहरी नियतहरू हिँड्दछन्
तेसैले ओ मेरो देश
तिम्रो इमेलको जवाफमा
म सुखहरू पठाउन सक्दिनँ
म शान्तिहरू पठाउन सक्दिनँ
मात्र पठाउन सक्छु
अहङ्कार, इर्ष्या र जलनहरू !
हो, कति चाँडै
म हङकङ भइसकेछु

देश फर्किन्छु भन्दाभन्दै
देशको नामै बिर्सिसकेछु
म त हङकङ भइसकेछु

म त हङकङ भइसकेछु ।

Manoj Kafle (Mansoon) – Angana Deshki Gahana

अङ्गना देशकी गहना दास हुन नआऊ
खाडीका अजनबीसंग बास हुन नआऊ

अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआऊ

बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवना तिम्रो लास हुन नआऊ

लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआऊ

गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआऊ

मनसुन

Rajab – Gum

शताब्दी परिवर्तनको खेल हेर्ने
उसको उत्कट चाह
एक्काइसौँ शताब्दीसम्म आइपुगेन

बीसौँ शताब्दीभित्रै
पृथ्वीसँग
बिदा भयो
वास्तवमा
उसका आँखाहरू
बेलाबेला
आफ्नै शैलीमा बोल्थे
र अरू बुझ्थे
ऊ एक्काइसौं शताब्दीसम्म
बाँच्न चाहन्छ
तर उसको
यो
चाह
उसको सम्पत्ति
उसको डाक्टर
उसको कुनै पनि उपचार, याचना र प्रार्थनाले सुनेनन्
र ऊ
बीसौँ शताब्दीको भयावहभित्रै गुम भयो
र उसको कल्पनाको
शताब्दी परिवर्तनको आकार
यो शताब्दीको डिपार्टमेन्टल स्टोरबाट आएन