Rajeshwar Devkota – Chari Ra Baaje Ko Sambaad

राजेश्वर देवकोटा – चरी र बाजेको संवाद
(मधुपर्क पुस, २०६७)

चरी, तैंले मेरो बाली सखाप पारिस्
जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस्
अनि बूढो मान्छे म के खाउँ ?
मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् ।
बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ
तालासाँचोको आविष्कार गर्‍यौ
मेरो पानी माटी तिमी बेचीखान्छौ
शिकार गर्न नसकेर शाकाहारी भएछौ कि ?
हामीले खाएको हेर्न नसकेर
तिमी बूढा त भएका होइनौ ?
धरतीमा उमि्रने वस्तु तिम्रो बाली भएछ
त्यो तिम्रो बाली भनी हामीलाई थाहा भएन
अब हामी तिम्रो अगाडि नआउँला है ।
सङ्गातीहरू कति नफर्किने गरी गए
चरी पनि आउन छाडे धरती नै चरहिन भयो ।
बूढा चिच्याए- चरीहरु, मैले भकारीको ताला खोलिदिएँ
म बूढो बचेरा भए कसैले मुखमा हालिदिए खाने भए
चारा खाई बचराले पङ्ख फड्फडाउँदाको गति हेर्न चाहन्छु
तिमीले मेरो बाली बचरालाई ख्वाउँदाको दृश्य हेर्न चाहन्छु
अब म आँखा देख्नसक्ने भएको छु
प्रेम र सौन्दर्य ग्रहण गर्नसक्ने भएको छु
यो संसार् त प्रेम र सौन्दर्यका दुईहातको अँजुलीमा अटाएजस्तो लाग्छ ।

Prakash Sapkota – Kina Bho Aago Ko Utpatti

प्रकाश सापकोटा – किन भो आगोको उत्पत्ति ??

किन भो मान्छे ?
किन भो आगोको उत्पत्ति ??
त्यतिबेला
मानव-मानव मिलेर
जितको अभिप्राय- हारको स्वीकार्य
बाँडीचुँडी
अर्थपूर्ण भोकका खातिर
ढुंगामा ढुंगा घोटेर
चट्टानमा Continue reading “Prakash Sapkota – Kina Bho Aago Ko Utpatti”

Dr. Mohan Prasad Joshi – Pandhra Minet Anautho Rahyo

डा. मोहनप्रसाद जोशी — पन्ध्र मिनेट अनौठो रह्यो

बेलुकीको टाइम थियो
सान्ध्य भ्रमण भइरहेको थियो
सूर्य भर्खर डुबेको थियो
सानो गोरेटो बाटो थियो
खोल्सो सँगसँगै बनेको थियो
पानीको कलकल आवाज थियो
हावा Continue reading “Dr. Mohan Prasad Joshi – Pandhra Minet Anautho Rahyo”

Pratima KC – Juni Katne Prem Milos (Nepali Gajal)

प्रतिमा के.सी. – जुनी काट्ने प्रेम मिलोस (गजल)

तन धन गौण बनी मन साट्ने प्रेम मिलोस
हाँसी खुसी संगसंगै जुनी काट्ने प्रेम मिलोस

जतातत्तै छताछुल्ल बिकाउमा छ माया आज
फुल मात्र हैन घाम जुन आट्ने प्रेम मिलोस

माया परेर धरौटीमा हत्या हिँसा बढेको छ
बिर्सिएर दुखहरु सुख बाट्ने प्रेम मिलोस

नछुटोस है जोडी कसैको नहोस बदनाम
फाटे पनि यो धर्ति दिल नफाट्ने प्रेम मिलोस

प्रेम दिवस
१४ फेब्रुअरी २०१२
रेडिंग, बेलायत

Yagyesh Dhwoj Karki – Ma Jangali Banna Chahanchhu

यज्ञेशध्वज कार्की – म जङ्गली बन्न चाहन्छु!

ईश्वरको सृष्टिमा
मानिसले टाङ् अडाएकोले
वसुदेवझैँ जीवनको कैदी बनेको छु,
आधुनिक्ता मेरो थुनुवा हो,
सभ्यता मेरो कंश हो,
मानिस मेरा दूारपाल हुन्,
त्यसैले मुक्तिको खोजिमा
म जङ्गली बन्न चाहन्छु!

आफ्नो देशको एक मुट्ठी माटो
हातमा खेलाउन चाहन्छु,
भूमीमा बलरामको हल चलाउन चाहन्छु,
बूढानीलकण्ठको खोजीमा
जानकी जन्माउन चाहन्छु!
म जङ्गली बन्न चाहन्छु!

म त्यहाँ जान चाहन्छु,
जहाँ मेरी किताब प्रकृती खुद हओस्,
भोटेकोशीको कलकलता र गौरीशंकरको आलीशानताको पानालाई
हावा झुल्दै झुल्दै आई पल्टाँउन्,
म भीरको डीलमा बसी,
मच्चिदै मच्चिदै आएको चिसो चिसो स्याँठलाई
अन्तरंगमा स्वागत गर्न चाहन्छु,
आफ्नो उद्धेश्य शीतल चन्द्रमामा ताक्न चाहन्छु,
म जङ्गली बन्न चाहन्छु!

शालीन पहाडको टाकुरामा,
हिउँ पग्लेर बगेझैँ,
ओरालीमा बिछ्याइएको सल्लाको पातका गुन्द्रीमा
हुस्सुको च्यादर ओडेर
गुराँसको जरा समाति, बेलपत्रको झरीसंगै
चिप्लेटी खेली
सललल बग्न चाहन्छु।
रातमा ताराहरु जिस्कँदै गलगल हाँसेको,
कहिलेकाहीँ,
पृथ्वीमा झर्न व्याकुल भई हाम्फालेको,
बादलसँग लुकामारी खेली
सन्ध्यामा,
सूर्यदेवको रथको गड्गडाहट्सँग तर्सितर्सि
कोलाहलमा आकाशमा लुक्न गई
साँझको प्रतीक्षा गरेको,
यो दिनहुँको ताराहरुको उपद्रव
म नियाँल्न चाहन्छु,
म ब्रह्माण्ड अँगाल्न चाहन्छु,
म जङ्गली बन्न चाहन्छु!

ए सभ्यताको परिभाषा बदल्नेहरू!
सुन! सुन!
कृत्रिमताको पाठशाला खोल्नेहरु,
तिमीहरु पनि सुन!
म टेलिभिजन होइन,
हावाको सुस्केरामा नाच्ने
पातपतिंगरका मुज्रा हेर्न चाहन्छु,
आणविक्ताको चमत्कारसँगै हरियालीको बलात्कार होइन,
हाहाकार होइन,
बागमतीको सत्कार, सृष्टिको जयजयकार! सुन्न चाहन्छु,
मानवको अमानावीयाताको कारण खोज्न चाहन्छु,
यदि सभ्यताको समाज यही हो भने
म जङ्गली नै बन्न चाहन्छु!

Govinda Singh Rawat – Prem Ko Interconnection

गोबिन्दिसंह रावत – प्रेमको ईन्टर कनेक्सन

मैले पाएको उपहार कसैबाट
श्रीमतीलाई नभनी तिमीलाई दिए
तिमीले मबाट पाएको उपहार
मलाई नभनि
आप्mनो प्रेमीलाई दियौं
प्रेमीले तिमीबाट पाएको सौगात
तिमीलाई नभनी
आप्mनो प्रेमीकालाई दियो
उसको प्रेमिकाले आप्mनो पोई रिझाउन
तिम्रो उपहार श्रीमानलाई दियो
उसको श्रीमान पनि चरुवा रहेछ क्यारे
त्यही उपहार
आप्mनो भईपरि आउने प्रेमीकालाई चढायो
उसको प्रेमिकाले पनि त्यही उपहार
आप्mनो अर्को प्रेमीलाई दियो
त्यही अन्तिम प्रेमीनै
मेरी श्रीमतीको नाठो रहेछ क्यारे
घुमीफिरी त्यही उपहार
प्यारो लोग्ने भएकोले श्रीमतीबाट मैले पाए
शायद त्यसैले होला प्रेम अन्धो हुन्छ भन्छन्
कसैले नदेख्ने भएकोले नै
एउटा हुँदाहुँदै पनि अर्कोसंग गर्छन् ।

क्यानडा

Bhojraj Baral – Manchhe Ra Yudhha

भोजराज बराल – मान्छे र युद्ध

मान्छे,
न बाढी, पहिरो छेक्न सक्छ,
न भूकम्प, ज्वालामुखी देख्न सक्छ,
अलिकति बादल मडारिंदा,
आफैं भित्र लुकेर बस्ने मान्छे,
ज्वार भाटा र सुनामीसंग
भाग्दै हिड्ने मान्छे,
निर्धा Continue reading “Bhojraj Baral – Manchhe Ra Yudhha”

Bhumi Raj Bastakoti – Malai Shanti Chahiyeko Chha

भूमिराज बस्ताकोटी – मलाई शान्ति चाहिएको छ

सजाय देऊ मलाई
मलाई शान्ति चाहिएको छ ।

चेतना दुख्छ सधैँ
मलाई ढाँट्न सक्दिनँ म
खाडलमा पुरिएको मानवता
यथार्थ यही हो मेरो युगको ।

म यस युगको सिखण्डी हुँ
मलाई Continue reading “Bhumi Raj Bastakoti – Malai Shanti Chahiyeko Chha”

Sharan Aansu – Manma Chha Khahare, Pani Chhaina (Nepali Gajal)

शरण आँसु – मनमा छ खहरे, पानी छैन

मनमा छ खहरे, पानी छैन
जान्थें म बगेर, बानी छैन !

यहाँ मान्छे सबै ढुंगा भए कि
कसैभित्र मायाँको खानी छैन !

छन् फूल यहाँ सबै फुलेका
तर त्यो रातकी रानी छैन !

उस्तै छ जून, उस्तै जूनकिरी
तिनमा हिजोको जवानी छैन !

धेरै प्यार दिन्छे मेरी प्रकृति
अरु क्वै ऊ जस्तो दानी छैन !

Sunil Limbu – Shabdakosh Jeevan Ko

सुनिल लिम्बु – शब्दकोश जीवनको

शब्दकोश जीवनको,
आधा किताब त सुरूमै रित्तै थिए,
कैयो शब्दहरू त्यसै बिलाए, र
अरू अर्थ समयले भुल्याए,
जिन्दगीमा ।

शब्दकोश जीवनको,
धेरै पन्नाहरू त दाउरा बने चुलाहका,
आगो बने कुनै जाडोमा, त
कुनै बने बत्ती अन्धकारमा,
जलेर ।

अब… रहेका केही कागजहरूमा,
शब्द-शब्द जोडेर,
टालेर, थुकले मेटाएर,
धमिलो अक्षेरले कोरेर, आदर्शलाइ साँस दिन्छु्
वा… किच्चाइ किच्चाइ डल्लो बनाइ फ्याँकी दिन्छु्,
या, हवाइ जहाज बनाइ छानोबाट झारी दिन्छु्,
उडेर जाओस वा गुडेर,
मतलब छैन मलाई,
शब्दकोश जीवनको ।

Yagyesh Dhwoj Karki – Aastha

यज्ञेशध्वज कार्की – आस्था

आस्था हृदयका कुनाकाप्चामा खोज, खोताल
मसीका मन्त्र, बोलीका प्रवचनमा होइन,
त्यहाँ सायद,
झुठा आश्वासनले बन्दी ईश्वर
मुक्तिकालागि तिम्रो प्रतिक्षा गरिरहेछन्।

Nawaraj Parajuli – Rajmarga Ka Khat Haru

राजमार्गका खतहरु

मेरो देश
साँचो अर्थमा
एउटा राजमार्ग,
एउटा सत्ता

एउटा बिध्वंस अगांल्छ ।

यो ‘मार्ग’,
किन ‘राजमार्ग’ भनियो,
मलाई थाहा छैन,
तपाईलाई थाहा छैन,
शायद
कसैलाई थाहा छैन;
नामाकरण सिद्धान्तका आधारहरु ।
रोडा टुक्रयाउने हर्कबहादुर,
अलकत्रा पगाल्ने रामलखन,
धुलो नुहाउने लछ्मनिया,
नक्सा कोर्ने पिटरसन
आदि–आदि
अनेक–अनेक नाम;
कुनै कोशे ढुंगामा छैन,
शिलालेखमा छैन,
सरकारि अभिलेखमा छैन ।
आखिर
दैनिक ज्यालादारहरु ।
राखिन्छ नाम ‘राजमार्ग’।
कस्तो राम्रो,
देशभक्तिपूर्ण अनि मिठो ।
होशियार!
हर्केको छोरो भर्खरको छ ठिटो ।

‘राजमार्ग’
मधेंसको छातिमा;
परेड खेल्छ,
चिरा पार्छ

सत्ता बोकिल्याउँछ ।

पूर्ब–पश्चिम,
उत्तर–दक्षिण,
बाहिर–भित्र,
तल–माथि,
जताबाट हेरे पनि,
जसरि हेरे पनि,
‘राजमार्ग’
कालो छ,
लमतन्न सुतेको छ,
खडेरिमा छ,
अर्थहिन छ,
उदासिन छ
र पनि क्रियाशील छ,
भारि बोक्न होईन, सत्ता बोक्न ।

राजधानि,
तराई,
पहाड
अनि
सेता–काला,
चुच्चे–थेप्चे,
होचा–अग्ला,
स्त्री–पुरुष,
साना–ठूला
सबै–सबै अधिकार, समानता र अंश माग्छन्,
राजमार्गसंग ।
राजमार्ग पोलिन्छ,
राजमार्ग टुक्रयाइन्छ,
राजमार्ग रोकिन्छ
र पनि
राजमार्ग शान्त छ,
निर्दोष छ ।

बर्षा लाग्छ,
पानी पर्छ,
अलकत्रा गन्हाउँछ राजमार्ग;
खडेरि लाग्छ,
सुख्खा हुन्छ,
पग्लन्छ राजमार्ग;
हिउँदसंगै,
हुस्सु लाग्छ,
झ्याप्पै हुसिन्छ राजमार्ग ।

राजमार्ग चोईटिएको छ,
टुक्रिएको छ,
लाखौं पाइला थिचिएको छ,
हजारौं पांग्रा गुडिएको छ ।
पोलेका दागहरु,
टुक्रयाइएका खण्डहरु
अनि
पुरिएका केहि खतहरु,
राजमार्गका खतहरु ।

देश
पट्टि लाउँछ,
खत मेटाउन,
खत छोप्न,
खत लुकाउन ।
पट्टिमा झन् स्पष्ट देखिन्छ खत ।
स्पष्ट पहिचानको छ खत;
लुक्दैन खत;
छाति फुकाएर बस्छ खत;
चिनिएको छ;
यात्रामा अबरोध गरिरहन्छ;
खड्यागं–खुडुगं,
गड्यागं–गुडुगं,
घ्याच्च–घुच्च ।
देश अभ्यस्त छ यो नियति,
यात्रु वाक्क छन् यो दुर्गति ।
कथा बोल्छ
पहाडको
तराईको
सम्पूर्ण देशको
खत राजमार्गको ।

धरान

Shreeshisha Rai – Chhori-Desh

श्रीशीशा राई – छोरी–देश

आँखाको डिलतिर उक्लिँदै गएको निन्द्रा

विपनातिर ओर्लिँदै गरेको सपना
दुवै सामुन्ने आईपुगेपछि थाहा भयो–
मध्यरात रहेछ
कतै सुनियो च्याँ…. आवाज–
छोरी रहीछ
‘बुबु…बुबु…’ भन्दै आमाको आङ तानिरहेको त्यो दृश्य
आफ्नै हस्तरेखा र निधारका धर्काहरुले कोरिएको
देशको मानचित्र जस्तै लाग्छ

छोटा छोटा निन्द्रा पिच्छे
छटपटी र भोकको कर्कस चिच्याहट
– ज¥याकजुरुक उठेर हेर्छु
छोरी– म र मेरी श्रीमतिको वीचमा
दुई ढुंगा बीचको तरुल सुतेकी छ –
चिसो लागेको छ नाक बन्द छ
शायद हाम्रो अस्वस्थताको तापले
चाकमा घाउ छ, खाना खाँदैन
सारा निन्द्राहरुलाई झुलवाट हटाएर
ब्युँझिएर पनि छोरी ओछ्यानमै छे
एकोहोरिएकी छे

उठेर
बेडको एकछेउ उभिएकी छोरी
भर्खर बाथरुम छिरेको आमा खोज्दै रुन्छे
ठुलो टाउको र जिङ्ग्रिङ्ग केश मुन्तिर
गलामा
आयातित पण्डितको मन्त्र र अनिश्चित भविष्यको
निश्चितता पोको पारेको बुटि झुण्ड्याएकी छे
कहिलकाँही
छोटा मसिना हातखुट्टा र
चाउरिँदो नाबालक अनुहारमा
विहानको किरण पर्दा पनि
आकारको सिमाना झन झन
अस्पष्ट, अस्थिर र कुपोषित बन्दैछ
अन्तद्र्धन्द्ध र द्धेषहरुका बीच
यसरी नै देश
यतै मसीना खुशीहरु भएपनि
अन्तै केही खोजीरहेछ

बाउ भएर पनि
केही गर्न सकेको छैन रे मैले छोरीका लागि
‘आमा भएर चैँ खै के गर्न सक्यौ त छोरीका लागि ?’
अहँ…………..
यस्ता तनाव, ग्लानी र आवेशहरुको रुख्याईमा एकछिन पनि बाँचेर कर्तव्य–सारङ्गी रेट्नुछैन
हामी छोरीलाई अब
छिमेकी–अनाथालयको जिम्मा लगाउँदैछौँ

धरान

Manoj Bogati – Aankha Akshar

मनोज बोगटी – आँखाक्षर

उसका आँखाहरू
अक्षरहरू हुन्‌।
ती अक्षरहरू जब भुँइमा खस्छन्‌
मीठो कविता बज्छ
घरमा।
घर स्वर्ग बन्छ।
त्यो संसारको सबैभन्दा मीठो सङ्गीत
जसले थामेको छ जीवनको गह्रौं गरिमालाई।

ती Continue reading “Manoj Bogati – Aankha Akshar”

Suren Upreti – Baba Ko Yaad Aaunchha

सुरेन उप्रेती – बाबाको याद आउँछ

एउटा सानो वालक जब बाका छातीमा
निर्धक्क भएर लपक्क टाँसिएर सुतेको देख्छु ।
कहिले काँधमाथि टाउको अड्याएर
मस्त सँग निधाएको देख्छु ।
त्यसवेला मलाई बाबाको याद आउँछ।

ससाना बच्चाहरुले बाका ढाडमाथि बसेर
त कहिले काँधमाथि चढेर
हट् हट र गिडियाक गिडियाक
भन्दै गर्दा ।
स्याँ स्याँ भएको
घोडाहुने मान्छेलाई देख्दा ।
त्यसवेला मलाई बाबाको याद आउँछ ।

बाबु आमा कारखाना भित्र गलैंचा बुन्दै गर्दा
धुलैधुलो भएर बाउलाले सिंगान पुच्दै
कारखाना बाहिर धुलो खेल्दै गरेका
स्कुल र पढाईबाट विमुख केटाकेटी
भेला गर्दै स्कुल खोल्न तम्सने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

कहिले
स्कुलबाट फर्किएका केटाकेटीकाहातमा
सिर्कनाका सूम्लाहरु र
घुँडामा निलडामहरु देख्दा
आक्रान्त भएको मानिसले
विधालयमा गएर
यातनाले पढ्न आउने भए
गोरुहरुले नै सब भन्दा धेरै पढेको हुने थिए
भन्दै अशिक्षकहरुलाई शिक्षा दिने मान्छे देख्दा
मलाई बाबाको औधिनै याद आउँछ ।

यस्तै साहित्यिक गोष्डीहरुमा
खेलकुदहरुमा अनि स्कुलहरुमा
आफ्ना छोराछोरीहरुले
प्रमाण पत्र र मेडल थाप्दै गर्दा
आँखा भरी आँशु बनाएर
तालिबजाउँदै उफ्रने मान्छे देख्दा ।
मलाई बाबाको याद आउँछ ।

कुनै गाउँमा पुग्दा
भोकलाग्यो भन्दै
साना बालबालिकाहरु
रुँदै गरेका हुन्छन् ।
परको ठाडो बाटो तिर देखाउँदै
बाबाले चामल लिएर आइ हाल्नु हुन्छनी
भन्दै आमा बच्चालाई फुल्याउँदै गर्दा
निधार भरी पशिना बनाएर
शाहुको गह्रुङ्गो भारी माथिबाट
सानो चामलको पोको निकाल्दै श्रीमतिलाई पोको
सुम्पने मान्छे देख्दा
मलाई साँच्चिकै बाबाको याद आउँछ ।

दिनभरी खेत जोतेर साँझमा
मुखिनीले खान दिएको एक टपरी भात
आधा खाएर
आधालाई अस्कोटको गोजीमा रहेको
प्लास्टिकको झोलामा
छोरा र छोरीकालागि भन्दै लैजाने
मान्छे देख्दा मलाई बाबाको याद आउँछ ।

कतै मिठो खानेकुरा देख्दा
छोराछोरीलाई सँम्झँदै आफु नखाएरै भए पनि
आफ्ना नानीहरुलाई ल्याई दिने
मानिसहरुलाई देख्दा
मलाई बाबाको याद आउँछ ।

कोही मान्छेले
आफ्ना छोरालाई
बाबु खाइस्योन भन्दै फकाउँदै गर्दा
छोरो घुर्कीलगाउँदै खाना नखाइ हिंड्छ ।
बाबुले कर गर्दै अलिकति त खाइस्यो
भन्दै अनुनयको भाकामा
माया बिसाउँदै गरेको देख्दा
मलाई बाबाको याद आउँछ ।

जग्गा नामसारी गर्ने सिफारिस माग्न
गाविसमा गएको बेला
फोनमा फेसबुक हेर्दै अलि पछी आउनु
भन्ने पब्लिक सर्भेण्टहरुले
पब्लिक बस हुँ भन्ठानेका बेला
थाहा छ । हामीले तिरेको करले तिमी तलब खाँदै छौ
भन्दै आगो हुने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

हाँडीमा भुटिंदै गरेको मकै झै भएर
खाडीको तातो बालुवामा भुटींएर
मर्दै र बौरंदैको अवस्थामा पनि
छोरा र छोरीहरु स्कूल गए सानी
स्कूलको फिस तिरेको छ भन्दै
चिन्ता व्यक्त गर्ने मान्छे देख्दा
बाबाको औधी याद आउँछ ।

कतै बलियाले निर्धालाई सताउँदा
ठूलाजात र साना जातको भेद चर्किंदा
कमशल सामान दिएर बढी पैसा अशुल्दा
बिरोधमा आवाज उठाउँने शाहसी मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

सन्तानको खुशि र सुरक्षित भविश्यका लागि
आफ्नो जीवनको सिङ्गो इतिहाँस
पद प्रतिष्ठा र जन्म मूमिनै छोडेर
जीवनको उत्तरार्ईमा प्रवासिन सक्ने
शाहशीमान्छेहरु देख्दा
मलाई बाबाको याद आउँछ ।

 

गोकर्ण औशी २०७५

अस्तु

Mani Raj Singh – Shahar

मणिराज सिंह – शहर

जताततै झिङ्गै झिङ्गा भन्किरहने
भित्रभित्रै धमिराले खाएर
आत्मग्लानीको ओढ्नेले मुख छोपेर
अग्निदहमा जलिरहेको
यो शहर
कंक्रिटको महलै महलको थुप्रोमा
कति समृद्ध
कति सुन्दर
र कति भव्य देखिन्छ ।

हृदयका भित्री सुन्दुकमा
उम्लिरहेको पानीझैँ
भँुवरी र सुनामीका भेलहरूमा
प्रवृत्ति र दृष्प्रवृत्तिले चिरा–चिरा परेर
एक मुठी हावा
र एक घुट्को पानी नपाएर
काकाकूलझैँ भौतारिदै
आत्मग्लानीले छट्पटाइरहेछ
भतभत पोलिरहेछ
इटाभट्टीको रापमा
अधकल्चा सपनाहरू काखी च्याप्दै
लथालिङ्ग जिजीविषा गाउँदै
छल कपटको बिकृतिले रङबङ्गिएर ।

पटक पटक भाँसिरहेछ
बेथितिहरूको अन्धकारमा
लाटोकोसेरोझैँ पखेटा फटफटाएर
लोडसेडिङ्को मारमा पिल्सिएर
फोहोर पानीमा डुबुल्की मार्दै
छताछुल्ल पोखिरहन्छ
शोकमा डुबिरहन्छ
भोकमा हराइरहन्छ ।

यो शहर
बनावटी लालसा छर्दै
इन्द्रेणीझैँ मुस्कुराइरहन्छ
रित्याएर आफैँलाई
प्रत्येक क्षण अग्लिरहन्छ
अभावैअभावले भत्किएर
लड्छ र उठ्छ पटक–पटक
मातेर वेस्सरी
आँधिवेरीको मुस्लोमा
रिस, राग र ईष्र्या देखाउँदै
विसङ्गति र व्यभिचारको पसल थापेर
आँगन, चोक र गल्लीहरूमा
निस्फिीक्री निदाइरहन्छ
फुस्रोधुस्रो अनुहार टाँसेर
रगतको छालमा नुहाइरहन्छ
निरासा, आक्रोस र असन्तुष्टीको
पर्खाल ठड्याएर
हड्ताल र जुलुशहरू जन्माइरहन्छ ।

Sajan Rai Upekshit – Samaya

साजन राइ ‘उपेक्षित’ – समय

थाह छ ? उनीसँगै हामी हुन्थ्यौ ।
मेरो बाल्यकालको सखी
कति कुराहरुको भलाकुसरी हुन्थ्यो ।
बयेली खेल्थ्यौ हामी एक डाँडा र अर्को डाँडा
समय एकनाशको हुँदैन रहेछ ।
हुदो हो त संसार सबैले आफ्नो अनुकुलमा कब्ज गर्ने थिए होला ।

हामी पनि हुत्तियौ ..
बहकियौ समयको परिवर्तनसँगै …….
चैत्रमासको हुण्डरीले…….
साउन भदौको दर्के झरी र भेलबाढीसँगै…
अथवा पौष माघको चिसो सिरेटोसँगै ….
खै समयको कुन शक्ती थियो त्यहाँ
जसले हामीलाई लापत्त बनाईदियो ।
सम्झनै नसक्ने गरी……… .

समय…….. समय……… समय…….
सबै आफ्नै समस्या र आवश्यकता
सबैको आफ्नै सँघर्ष,
दिनरातको चक्र जस्तै त्यो दिन पनि आयो कि
फेरी पनि हाम्रो भेट ….
बितेका कुरा…बाल्य कृयाकलापको अतितानुभुतिहरु
तर त्यहाँ भएर पनि त्यो थिएन ।
समय सँगै उनको गज्जबको परिवर्तन भएछ ।

आह ….!सखी
तिम्रो भागमा परेको लखपतिको नौटंकीसँगै
हाम्रो मित्रतालाई बिर्सिदिएछौ ।
सुख र सम्पन्नताको चरमोत्कर्षसँगै
हाम्रो सम्बन्धलाई कुल्चीदिएछौ ।
सोच्छौ होला के फाईदा होला र
बितेका कुरा सम्झेर ……
तर विगत बिना वर्तमानको सम्भव नै छैन ।

मलाई तिम्रो सम्पत्तिमा लोभ छैन ।
मलाई तिम्रो उन्नतिमा आँखा लागेको हैन ।
मैले तिम्रो भाग खोस्नु छैन पनि ।
मैले लामो अन्तरालपछिको हाम्रो भेटलाई
सम्झनाको तरेलीहरुसँग सँगाल्दै
सुदामा र कृष्णको झै बनाउन खोजेको मात्र हुँ ।

दिदिङ-१ बर्देउ संखुवा-सभा

Durga Prasad Pokhrel – Ma Janmeko Thaun Nera

दुर्गाप्रसाद पोख्रेल – म जन्मेको ठाउँनेर

म जन्मेको ठाउँनेर
एउटा ठूलो सिमलको रुख थियो
त्यसमा दमै चराको गुँड थियो
चराका बचेरा भर्खर जन्मेका थिए
जब म जन्मेकी थिएँ
मेरा बाले मलाई सुताउन कोर्को खोज्दै Continue reading “Durga Prasad Pokhrel – Ma Janmeko Thaun Nera”

Bhairab Nath Rimal – Mutuko Harek Nashama

भैरवनाथ रिमाल – मुटुको हरेक नशामा

मुटुको हरेक नशामा तातो साहस उमाली
प्रण गर्छौ सदा देशको निम्ति एक भै नेपाली
एक भै नेपाली

माटो र ढुंगा, बाहु र बलले सम्हाली राख्दछौं
गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं
हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको सुवास
नेपाली जाती हुदैन कहिले अल्छी र उदासी

हिमाल मेरो विशाल चुलि नदेख्ने को छ र?
यो कर्मभूमि बुद्धको जन्म बिर्सने को छ र?
नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कण-कणमा
पहारा गर्छौ धैर्य ले हामी दिएर सम्मान

शब्द – भैरवनाथ रिमाल
स्वर – नारायण गोपाल
संगीत – चन्द्रराज शर्मा

Bhupin Byakul – Ishwar Haru Ko Yuddha

भूपिन ब्याकुल – ईश्वरहरुको युद्ध

इतिहासमा कुनै एकदिन
रक्सि पिएर मातेको सूर्य
अन्तिम पटक उदाउनेछ क्षितिजमा
र धरमाराउँदै हिंड्नेछ
आकाशको गोरेटोमा पूर्ववत्

त्यस दिन पृथ्वीमा
मान्छेभित्र सपनाका ज्वालामुखीहरू
सम्भवत: अन्तिमपटक फुट्नेछन्
त्यस दिन पृथ्वीमा
मान्छेभित्र महत्वाकांक्षाका भूकम्पहरू
सम्भवत: अन्तिमपटक बिउँझनेछन्
र साँझसम्ममा
मन्दिर, मस्जिद, गिर्जा र गुम्बाबाट
इश्वरका आवाजहरु हाराएर जानेछन !

कालो रातभरि
कुमारी हातले लालटिन समाएर
कुनै बैंशालु जून उदाउनेछैन आकाशमा
र स्वयम् पृथ्वी नै छिर्नेछ
ब्ल्याकहोलको खुला ढोकाभित्र !

भोलिपल्ट बिहान
गोली लागेको सूर्य उदाउन सक्नेछैन
आकाशको किनारमा कतै पनि !

महाप्रलयको त्यस दिन
पृथ्वीमा इश्वरको युद्धसुरु हुनेछ

त्यही दिन
सम्पूर्ण मन्दिरहरु, मस्जिदहरू, गिर्जाहरु र गुम्बाहरु
युद्धशिविरमा रुपान्तरित हुनेछन्
र जहाँबाट
हातमा आत्याधुनिक हतियारहरु बोकेर
स्वयम् जिजस, अल्लाह र कृष्णहरुले
अन्धाधुन्ध गोली चलाइरहेका हुनेछन !

इश्वर्हरुले
आफ्नो अस्तित्वका निम्ति
हाम्रा घरहरु भत्काइरहेका हुनेछन
हाम्रा कटेराहरु जलाइरहेका हुनेछन
र हामीबाट
हाम्रो माटो खोसिरहेका हुनेछन्

त्यस दिन हामीले
ईश्वरहरुका मनभित्र
पापका महासागर बगेको देख्नेछौँ
र त्यही
क्रुर-प्रतिच्छायाहरु चल्मलाएको देख्नेछौं
र त्यही दिन हामीभित्र
अप्रत्याशित, ईश्वरीय बिस्वास
लास परेको हुने छ … … … !

ईश्वरहरुको युद्धमा
स्वभाविक
ईश्वरहरु मरिरहेका हुनेछन्
तर अस्वाभाविक
मान्छेहरु बाँचिरहेका हुनेछन् :
इतिहासमा कतै नबाँचिएको
एउटा नुतन जिन्दगी … … …!