Bhupin Byakul – Ishwar Haru Ko Yuddha

भूपिन ब्याकुल – ईश्वरहरुको युद्ध

इतिहासमा कुनै एकदिन
रक्सि पिएर मातेको सूर्य
अन्तिम पटक उदाउनेछ क्षितिजमा
र धरमाराउँदै हिंड्नेछ
आकाशको गोरेटोमा पूर्ववत्

त्यस दिन पृथ्वीमा
मान्छेभित्र सपनाका ज्वालामुखीहरू
सम्भवत: अन्तिमपटक फुट्नेछन्
त्यस दिन पृथ्वीमा
मान्छेभित्र महत्वाकांक्षाका भूकम्पहरू
सम्भवत: अन्तिमपटक बिउँझनेछन्
र साँझसम्ममा
मन्दिर, मस्जिद, गिर्जा र गुम्बाबाट
इश्वरका आवाजहरु हाराएर जानेछन !

कालो रातभरि
कुमारी हातले लालटिन समाएर
कुनै बैंशालु जून उदाउनेछैन आकाशमा
र स्वयम् पृथ्वी नै छिर्नेछ
ब्ल्याकहोलको खुला ढोकाभित्र !

भोलिपल्ट बिहान
गोली लागेको सूर्य उदाउन सक्नेछैन
आकाशको किनारमा कतै पनि !

महाप्रलयको त्यस दिन
पृथ्वीमा इश्वरको युद्धसुरु हुनेछ

त्यही दिन
सम्पूर्ण मन्दिरहरु, मस्जिदहरू, गिर्जाहरु र गुम्बाहरु
युद्धशिविरमा रुपान्तरित हुनेछन्
र जहाँबाट
हातमा आत्याधुनिक हतियारहरु बोकेर
स्वयम् जिजस, अल्लाह र कृष्णहरुले
अन्धाधुन्ध गोली चलाइरहेका हुनेछन !

इश्वर्हरुले
आफ्नो अस्तित्वका निम्ति
हाम्रा घरहरु भत्काइरहेका हुनेछन
हाम्रा कटेराहरु जलाइरहेका हुनेछन
र हामीबाट
हाम्रो माटो खोसिरहेका हुनेछन्

त्यस दिन हामीले
ईश्वरहरुका मनभित्र
पापका महासागर बगेको देख्नेछौँ
र त्यही
क्रुर-प्रतिच्छायाहरु चल्मलाएको देख्नेछौं
र त्यही दिन हामीभित्र
अप्रत्याशित, ईश्वरीय बिस्वास
लास परेको हुने छ … … … !

ईश्वरहरुको युद्धमा
स्वभाविक
ईश्वरहरु मरिरहेका हुनेछन्
तर अस्वाभाविक
मान्छेहरु बाँचिरहेका हुनेछन् :
इतिहासमा कतै नबाँचिएको
एउटा नुतन जिन्दगी … … …!