Suren Upreti – Baba Ko Yaad Aaunchha

सुरेन उप्रेती – बाबाको याद आउँछ

एउटा सानो वालक जब बाका छातीमा
निर्धक्क भएर लपक्क टाँसिएर सुतेको देख्छु ।
कहिले काँधमाथि टाउको अड्याएर
मस्त सँग निधाएको देख्छु ।
त्यसवेला मलाई बाबाको याद आउँछ।

ससाना बच्चाहरुले बाका ढाडमाथि बसेर
त कहिले काँधमाथि चढेर
हट् हट र गिडियाक गिडियाक
भन्दै गर्दा ।
स्याँ स्याँ भएको
घोडाहुने मान्छेलाई देख्दा ।
त्यसवेला मलाई बाबाको याद आउँछ ।

बाबु आमा कारखाना भित्र गलैंचा बुन्दै गर्दा
धुलैधुलो भएर बाउलाले सिंगान पुच्दै
कारखाना बाहिर धुलो खेल्दै गरेका
स्कुल र पढाईबाट विमुख केटाकेटी
भेला गर्दै स्कुल खोल्न तम्सने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

कहिले
स्कुलबाट फर्किएका केटाकेटीकाहातमा
सिर्कनाका सूम्लाहरु र
घुँडामा निलडामहरु देख्दा
आक्रान्त भएको मानिसले
विधालयमा गएर
यातनाले पढ्न आउने भए
गोरुहरुले नै सब भन्दा धेरै पढेको हुने थिए
भन्दै अशिक्षकहरुलाई शिक्षा दिने मान्छे देख्दा
मलाई बाबाको औधिनै याद आउँछ ।

यस्तै साहित्यिक गोष्डीहरुमा
खेलकुदहरुमा अनि स्कुलहरुमा
आफ्ना छोराछोरीहरुले
प्रमाण पत्र र मेडल थाप्दै गर्दा
आँखा भरी आँशु बनाएर
तालिबजाउँदै उफ्रने मान्छे देख्दा ।
मलाई बाबाको याद आउँछ ।

कुनै गाउँमा पुग्दा
भोकलाग्यो भन्दै
साना बालबालिकाहरु
रुँदै गरेका हुन्छन् ।
परको ठाडो बाटो तिर देखाउँदै
बाबाले चामल लिएर आइ हाल्नु हुन्छनी
भन्दै आमा बच्चालाई फुल्याउँदै गर्दा
निधार भरी पशिना बनाएर
शाहुको गह्रुङ्गो भारी माथिबाट
सानो चामलको पोको निकाल्दै श्रीमतिलाई पोको
सुम्पने मान्छे देख्दा
मलाई साँच्चिकै बाबाको याद आउँछ ।

दिनभरी खेत जोतेर साँझमा
मुखिनीले खान दिएको एक टपरी भात
आधा खाएर
आधालाई अस्कोटको गोजीमा रहेको
प्लास्टिकको झोलामा
छोरा र छोरीकालागि भन्दै लैजाने
मान्छे देख्दा मलाई बाबाको याद आउँछ ।

कतै मिठो खानेकुरा देख्दा
छोराछोरीलाई सँम्झँदै आफु नखाएरै भए पनि
आफ्ना नानीहरुलाई ल्याई दिने
मानिसहरुलाई देख्दा
मलाई बाबाको याद आउँछ ।

कोही मान्छेले
आफ्ना छोरालाई
बाबु खाइस्योन भन्दै फकाउँदै गर्दा
छोरो घुर्कीलगाउँदै खाना नखाइ हिंड्छ ।
बाबुले कर गर्दै अलिकति त खाइस्यो
भन्दै अनुनयको भाकामा
माया बिसाउँदै गरेको देख्दा
मलाई बाबाको याद आउँछ ।

जग्गा नामसारी गर्ने सिफारिस माग्न
गाविसमा गएको बेला
फोनमा फेसबुक हेर्दै अलि पछी आउनु
भन्ने पब्लिक सर्भेण्टहरुले
पब्लिक बस हुँ भन्ठानेका बेला
थाहा छ । हामीले तिरेको करले तिमी तलब खाँदै छौ
भन्दै आगो हुने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

हाँडीमा भुटिंदै गरेको मकै झै भएर
खाडीको तातो बालुवामा भुटींएर
मर्दै र बौरंदैको अवस्थामा पनि
छोरा र छोरीहरु स्कूल गए सानी
स्कूलको फिस तिरेको छ भन्दै
चिन्ता व्यक्त गर्ने मान्छे देख्दा
बाबाको औधी याद आउँछ ।

कतै बलियाले निर्धालाई सताउँदा
ठूलाजात र साना जातको भेद चर्किंदा
कमशल सामान दिएर बढी पैसा अशुल्दा
बिरोधमा आवाज उठाउँने शाहसी मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

सन्तानको खुशि र सुरक्षित भविश्यका लागि
आफ्नो जीवनको सिङ्गो इतिहाँस
पद प्रतिष्ठा र जन्म मूमिनै छोडेर
जीवनको उत्तरार्ईमा प्रवासिन सक्ने
शाहशीमान्छेहरु देख्दा
मलाई बाबाको याद आउँछ ।

 

गोकर्ण औशी २०७५

अस्तु

Krishna Kattel – Pahad Ra Mera Baa

कृष्ण कट्टेल – पहाड र मेरा बा

असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छात्तिमा हुर्किएर
स्याहारिरहेछन् त्यहि पहाडलाइ ।

शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा
अनि लगाउछ हरियो लाली
देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।

त्यहि पहाड हो
मेरा बा को सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोती भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।

कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो
पर्खाल लगाउछन् मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउछन्
रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ,यो देशलाई ।

सिटिजन एफएम, महाराजगंज काठमाण्डौ ।

– मगलबार, 4 कार्तिक, 2071