Suren Upreti – Baba Ko Yaad Aaunchha

सुरेन उप्रेती – बाबाको याद आउँछ

एउटा सानो वालक जब बाका छातीमा
निर्धक्क भएर लपक्क टाँसिएर सुतेको देख्छु ।
कहिले काँधमाथि टाउको अड्याएर
मस्त सँग निधाएको देख्छु ।
त्यसवेला मलाई बाबाको याद आउँछ।

ससाना बच्चाहरुले बाका ढाडमाथि बसेर
त कहिले काँधमाथि चढेर
हट् हट र गिडियाक गिडियाक
भन्दै गर्दा ।
स्याँ स्याँ भएको
घोडाहुने मान्छेलाई देख्दा ।
त्यसवेला मलाई बाबाको याद आउँछ ।

बाबु आमा कारखाना भित्र गलैंचा बुन्दै गर्दा
धुलैधुलो भएर बाउलाले सिंगान पुच्दै
कारखाना बाहिर धुलो खेल्दै गरेका
स्कुल र पढाईबाट विमुख केटाकेटी
भेला गर्दै स्कुल खोल्न तम्सने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

कहिले
स्कुलबाट फर्किएका केटाकेटीकाहातमा
सिर्कनाका सूम्लाहरु र
घुँडामा निलडामहरु देख्दा
आक्रान्त भएको मानिसले
विधालयमा गएर
यातनाले पढ्न आउने भए
गोरुहरुले नै सब भन्दा धेरै पढेको हुने थिए
भन्दै अशिक्षकहरुलाई शिक्षा दिने मान्छे देख्दा
मलाई बाबाको औधिनै याद आउँछ ।

यस्तै साहित्यिक गोष्डीहरुमा
खेलकुदहरुमा अनि स्कुलहरुमा
आफ्ना छोराछोरीहरुले
प्रमाण पत्र र मेडल थाप्दै गर्दा
आँखा भरी आँशु बनाएर
तालिबजाउँदै उफ्रने मान्छे देख्दा ।
मलाई बाबाको याद आउँछ ।

कुनै गाउँमा पुग्दा
भोकलाग्यो भन्दै
साना बालबालिकाहरु
रुँदै गरेका हुन्छन् ।
परको ठाडो बाटो तिर देखाउँदै
बाबाले चामल लिएर आइ हाल्नु हुन्छनी
भन्दै आमा बच्चालाई फुल्याउँदै गर्दा
निधार भरी पशिना बनाएर
शाहुको गह्रुङ्गो भारी माथिबाट
सानो चामलको पोको निकाल्दै श्रीमतिलाई पोको
सुम्पने मान्छे देख्दा
मलाई साँच्चिकै बाबाको याद आउँछ ।

दिनभरी खेत जोतेर साँझमा
मुखिनीले खान दिएको एक टपरी भात
आधा खाएर
आधालाई अस्कोटको गोजीमा रहेको
प्लास्टिकको झोलामा
छोरा र छोरीकालागि भन्दै लैजाने
मान्छे देख्दा मलाई बाबाको याद आउँछ ।

कतै मिठो खानेकुरा देख्दा
छोराछोरीलाई सँम्झँदै आफु नखाएरै भए पनि
आफ्ना नानीहरुलाई ल्याई दिने
मानिसहरुलाई देख्दा
मलाई बाबाको याद आउँछ ।

कोही मान्छेले
आफ्ना छोरालाई
बाबु खाइस्योन भन्दै फकाउँदै गर्दा
छोरो घुर्कीलगाउँदै खाना नखाइ हिंड्छ ।
बाबुले कर गर्दै अलिकति त खाइस्यो
भन्दै अनुनयको भाकामा
माया बिसाउँदै गरेको देख्दा
मलाई बाबाको याद आउँछ ।

जग्गा नामसारी गर्ने सिफारिस माग्न
गाविसमा गएको बेला
फोनमा फेसबुक हेर्दै अलि पछी आउनु
भन्ने पब्लिक सर्भेण्टहरुले
पब्लिक बस हुँ भन्ठानेका बेला
थाहा छ । हामीले तिरेको करले तिमी तलब खाँदै छौ
भन्दै आगो हुने मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

हाँडीमा भुटिंदै गरेको मकै झै भएर
खाडीको तातो बालुवामा भुटींएर
मर्दै र बौरंदैको अवस्थामा पनि
छोरा र छोरीहरु स्कूल गए सानी
स्कूलको फिस तिरेको छ भन्दै
चिन्ता व्यक्त गर्ने मान्छे देख्दा
बाबाको औधी याद आउँछ ।

कतै बलियाले निर्धालाई सताउँदा
ठूलाजात र साना जातको भेद चर्किंदा
कमशल सामान दिएर बढी पैसा अशुल्दा
बिरोधमा आवाज उठाउँने शाहसी मान्छे देख्दा
मलाई बाबाको याद आउँछ ।

सन्तानको खुशि र सुरक्षित भविश्यका लागि
आफ्नो जीवनको सिङ्गो इतिहाँस
पद प्रतिष्ठा र जन्म मूमिनै छोडेर
जीवनको उत्तरार्ईमा प्रवासिन सक्ने
शाहशीमान्छेहरु देख्दा
मलाई बाबाको याद आउँछ ।

 

गोकर्ण औशी २०७५

अस्तु

Suren Upreti – Aama

सुरेन उप्रेती – आमा

आमा तिमी कौशलताले, धर्ति सजाउने
आविष्कारकी जननी हौ, संसार बनाउने
बिना तिमी यो धरतिमा, सिर्जन्नथ्यो केही
तिमी कति महान छौ, धरा वोल्छ यही

आफुलार्इ मेटाएर ,सन्तानका लागी
भोक तिेर्खा निन्द्रा थकान, सबैलार्इ त्यागी
दिन रात बाह्रैमास, सोच्छिन उनकै खातिर
सुख अनि संबृद्दिका ,निम्ति हुन्छिन हाजिर

पढोस बढोस नाम राखोस् ,स्वस्थ बनोस भन्दै
सातै बारमा ब्रत बस्छिन, दीर्घायूहोस भन्दै्
केहि खानु भन्दा पहिला ,सन्तान सम्झिएर
गाँस निल्न गाह्रो पर्छ ,याद बल्झिएर

मिल्ने भए नानी भित्र लुकाएर राख्छिन्
मुटुभित्र छाती भित्र छुपाएर राख्छिन्
पिलाउँछिन् अमुल्य रस छाती सुकाएर
उज्यालोमा राख्छिन् सन्तान आफु जलाएर

सन्तान दुष्ट खराव हुन्छन ,राग लिन्नन् आमा
सबै पिडा आफैं लिइ ,झुक्न दिन्नन् आमा
चोट खोट सबै सहने ,सागर हुन है आमा
ममताले धरति पोत्ने ,महासागर हुन है आमा

मातातिर्थ औशि २०७३

Suren Upreti – Swatantrata

सुरेन उप्रेती – स्वतन्त्रता

मैले मेरा आँखालार्इ छलेर
सुटुक्क अर्का तिर नियाँले
कानले नसुन्ने गरी
साउती गरेर भने
हेर आज म
कति स्वतन्त्र छु
यी दुवै आँखाले
मलार्इ सताउन सम्म
सताएका थिए
उनीहरुले डोर्याएको दृश्यमात्र
हेर्न विवश थिएँ
उनीहरुले मनपराएकालार्इ
राम्रो भन्नु पर्थ्यो
रमेको अभिनय गर्नु पर्थ्यो ।

यी कानले कैदी बनाएका थिए
म सम्म आउन नदिइ
भँगालो फटाएर आवाजहरुलार्इ अर्कैतिर
मोडिदिएका थिए
विना रोकटोक आवाजलार्इ
मेरो मष्तिष्क सम्म पुग्न
कहिलै दिएनन्
सोच्न र श्वरको रश्वादन गर्न
अँह कहिलै पाइन ।
मन पर्ने धुनमा रमेर
कहिलै आनन्दित बन्न पाइन
तर आज बल्ल
यिनीहरुलार्इ छक्याएर
रभणिय दृष्यको
बे रोकठोक अवलोकन गर्दै छु ।

खुल्ला आकाशमा
स्वतन्त्र उड्ने चरी झैं
वादलका थुँगाहरुमा
कावा खाँदै
आफैं हराउँदै र
भेटिंदै गर्ने रहरहरु
पूरा भएका छन्
मेरा अझै बाँच्ने जीजिबिषाहरु
बढेका छन् ।

हो रहेछ
हरेक प्राणिहरु
स्वतन्त्रता मन पराउँछन्
स्वतन्त्रताका लागि
सार्वभौमका लागि
बर्षौं युद्ध लड्नेहरुले
यसको सहि अर्थ महत्व र मर्म
राम्रो सँग बुझेको हुन्छ
त्यसैले त जीवनको पर्वाह नगरी
आफन्त र पृयजनको वास्ता नगरी
फेरि उदाउँने आशामा
निभ्न समेत पछि पर्दैनन्।
मात्र स्वतन्त्रताका लागि ।।

Suren Upreti – Dhantyou Timi Le

सुरेन उप्रेती – ढाँट्यौ तिमीले

पटक पटक ढाँट्यौ तिमीले पत्याउँदै बस्यौं
पकाएको तिमीलई दिइ हामीले पेट कस्यौं
भोली घाँम लाग्छ भन्दै लग्यौ हाम्रो बर्को
नेता भयौ चिन्न छोड्यौ गर्छौ झर्को फर्को

संसारमा दुई जाति छन् पुरुष नारी भन्थ्यौ
शोषित शाषित दुई बर्ग छन् सँधै भन्ने गर्थ्यौ
अहिले आइ धेरै जाति थुप्रै बर्ग ल्यायौ
कसले दियो तिमीलाई महल के श्रम गर्दा पायौ

धर्म कर्म नाम लिँदै राज्य चाहियो भन्छौ
मन्दिरका मूर्ति बेच्दै दिनमा पैसा गन्छौ
रातभरी नशा भित्र दिंउशो देशको चित्र
कस्तो राज्य बन्ने होला मलाई पोल्छ भित्र

नामले विकाश हुने भए सिंगापुर राख
अर्को राख स्विजर्लयाण्ड नर्वे लण्डन राख
अमेरिका क्यानडा अष्टे्लिया नै राख
सबै भन्दा ठूलो कुरा महान सोच राख

वन्धुवान्धव लड्न छोडी विकाशमा लागौं
मानवता हो ठूलो धर्म हत्या हिंसा त्यागौ
सबै जनाले काम गरे देशै बन्छ श्वर्ग
आफैं भाग्छ भोक रोग हट्छन् सबै बर्ग ।।

Suren Upreti – Sapana

सुरेन उप्रेती – सपना

विहान तीन बजे देखि नजिकैको
मस्जीदबाट छाना नै उचालौंला झैं गरेर
विरक्तलाग्ने धुन आउन शुरु गर्छ ।
म कोल्टे फेरेर निदाउन खोज्छु ।
अहँ निन्द्रा पर्दैन ।
झन लामो स्वरमा आवाज चर्किन्छ ।

दिंउसो गर्मिमा आफुले गर्नु पर्ने काम सम्झन्छु ।
५० डिग्रीको तातोमा
सेफ्टीबुट पन्जा र हेलमेट लगाएर
बिस तला माथि चढेर
फलामका रड जोडेर फर्मा कस्नु पर्छ ।
रेड सीबाट आएको तातो हावाले हान्दा
शरिरको रगत नै सुकेजस्तो हुन्छ ।
शरिर वैलाएको साग जस्तो बन्छ ।
उफ्
तातोले गर्दा जीउ नै लल्याक लुलुक हुन्छ ।
केहीकथम उँगियो मात्र भने ।
इहलिला समाप्त हुन्छ ।
अस्तिको वंगाली केटाको जस्तै

रातिपनि सुत्न ढिला भयो
एउटै कोठामा ६जनाको बसाईछ
सबैका आफन्तको फोन आउँछ
झन यो चाडपर्वका बेलामा त
कुना कुनामा रुवावासी चल्छ ।
छोरीले आउने हैन बाबा भन्छे

छोरो कहिले आउने बाबा ! भन्छ
बा पनि ,अब आइज, अब आइज भन्छन्
आमा ठूले जसो परे पनि एतै आइज भन्छिन्
उनको वोली पूरा हुँन पाउँदैन
घकानिएको आवाज र सुँक्क सुक्क मात्र सुनिन्छ ।
दिदी र बहिनी पनि आएका रहेछन्
यो बर्ष दिनको चाडमा पनि आउन नमिल्ने
कस्तो जागिर हो तेरो !
भो आइज भाइ हामी पनि तँलाई भेट्न
भने पछी गला अबरुद्ध भएर वोल्न सक्दैनन् ।
श्रीमतिको पालो आउँदा रातको
एक बज्नै लागिसकेछ ।
आउँने भन्दा भन्दा दसैंमा पनि मिलेन
तिहारमा त मिल्छ होला भन्नु हुन्थ्यो
सबै दिदीबहिनीहरु आएकाछन् ।
मेरो पनि भाइ टिकालाउन आएकोछ ।
उनको वोली अड्कियो ।
फोन काटियो ।
गाउँका अतितहरु सम्झनामा हराउँन थाले
घर सिंगारेको देखि रोटेपिङ र
लिंगेपिङ लगाएको ।
क्लब बनाएर देउसी भैलो खेलेको
पाटी डाँडाका छेउमा पिंङ र डाइस
खेल्नहरुको रमाइलो ।
दिदी बहिनीले दियो
कलश र तेलले छेकेको
दीर्घायूको कामना गर्दै ओखर फोरेको
सप्त रंगी टिका सयपत्री
र मखमलीको माला लगाइ दिएको !
थालभरी फलफूल सेलरोटी मिठाइ राखेर
रंगिन रुमालले ढाकेर दिएको ।
उपहारहरु दिंदै दिदीबहिनीका
गोडा ढोगेका क्षणहरु
तँछाड मछाड गर्दै आए ।
तर म त यो खाडीमा
हाँडीमा भुट्दै गरेको मकै झैं
मेरो कार्यक्षेत्रको योकुना र
त्यो कुना हुँदै छट्पटाउँदै छु ।
मेरो एउटै सपना छ ।
अर्को सालसम्ममा
सग्लो शरिरमा
आफैं हिंडेर स्वदेश जान सकौं
बन्दबाकसमा कैदी बनेर फर्कनु नपरोस्
फेरी पहिलाका झैं
डम्फु र मादल बजाउँदै
देउसी र भैलो खेल्दै हिंड्न पाउँ ।

Suren Upreti – Harmo Gaun Ma

सुरेन उप्रती – हाम्रो गाँउमा

एक पटक हाम्रो गाउँमा
अचम्मको घटना घट्यो
दिन रात झैं भयो
रात दिन झैं भयो ।

घरको रक्षक भनाउँदाले
घरकैलाई भुक्न थाल्यो
आफ्नैलाई टोक्न थाल्यो
पराई आउँदा पुच्छर हल्लाउँदै
लुट्पुटींदै घुम्न थाल्यो ।।

श्याल उसको मित्र बन्यो
फ्याउरा र व्वाँसा त लगौटिया यार बने
रात भरी हराउँन थाल्यो ।
दिन भरी कराउँन थाल्यो ।

मान्छेहरुले आ आफ्नै लखकाटे
कसैले समयको माग हो भने
कसैले घरपालुवाको त्याग हो भने ।
उसको आँट र शाहसको कदर गरे ।

बाख्रा बाघ सँग मिल्यो
कुखुरा चिलसँग मिल्यो
भ्यागुत्तो सर्पसँग टाँस्सियो
परेवा बाज सँग गाँस्सियो
एक अर्कालाई नखाने
सम्झौता भयो ।

आठ दस महिना यसरी नै चल्यो
सबै सामान्य भयो
हल्ला खल्ला केहि भएन
छिमेकी देखि नाता गोता
कसैलाई पनि अनौठो लागेन
कोही चूँ पनि वोलेन ।

एकाएक मौसम बदलिए झैं
चलचित्रको दृश्य फेरिए झैं
हाम्रो गाउँको दृश्य बदलियो
स्वर र तालहरु फेरिए

मान्छे त्राहिमाम बन्न थाले
अदृश्य भयले गाउँलाई ढाक्यो ।
श्यालहरुको हुँइ्या झैं
वारी पारी सम्म
विरक्तिका गाना गाउँन थाले ।
अपसगुनका श्वरहरु निकालेर
देश प्रदेशमा कोकहलो हुन थाल्यो

अब प्रलय हुने भो भनेर
डंको पिट्दै रुनेहरुको जुलशलाग्यो
कतिको त निन्द्रा गुम्यो
भोक र प्यास गुम्यो ।

श्यालहरुले गाँउ गाँउपसेर
रुवावासी गरे ।
नहुने कुरा हुन लाग्यो भनेर
लालेर तारे मिलेरे भनेर
पाङग्रे र पाँडुले मिल्ने रे भनेर
गोठका र घरका मिले रे भनेर

परेवा र कुखुरा मिलेकोमा
चिन्तित बन्यो दुनियाँ
बाख्रा र गाई नजिकिएकोमा
त्रशित बन्यो दुनियाँ
अब रंग बदलेर कुखुरा चोर्न नमिल्ने भयो भनेर
कन्याउँदैकन्याउँदै आन्द्रा थुत्ने खेल नहुने भो भनेर
भजनमा लट्ठबनाएर मूर्ति उठाउने नसोचे भो भनेर
रोजगारीको नारा छरेर उधोग बेच्ने त कुरै भएन भनेर
आजकाल पुरै चिन्तित भएकोछ हाम्रो गाउँ ।

Suren Upreti – Kahan Jaane

सुरेन उप्रेती – कहाँजाने

रंगले कालो या सेतो , पहिचान हैन, बनाउने
मेचीकाली हिमाल बेंशी ,तरार्इले, फरक हुने
चेतना हो सबको श्रेष्ठ ,भेद भाव, प्रगेलने
चेतनाकै जलाउँ दियो, पशुभन्दा, फरकहुने

फोडेर पहाडलार्इ , टुक्र्याएर, हिमाल अनि
धुजा पारेर माटोको, उपत्यका ,तराइ पनि
हुँदैन कसैको हित ,हामी आफैं, हराउँछौ
विश्वनै एक बन्दै छ, किन फुट्न ,जुर्मुराउँछौ ।

हिंसाछन् घर भित्र नै, पालेकाछौं, सबै मिली
त्यो हिंसा हटे मात्र, देश हुन्थ्यो, झिलिमिली
जातिय नामका भेद,अछुत छुत, छुट्याउने
कामका नाममा भेद, उच निच, गराउँने

लिंगका नाममा भेद,छोरा छोरी, छुटाउने
कोख फोरेर एउटै, रजविज ,अंकुराउने ।
कति सम्म, झर्दछ मान्छे कस्तो स्वार्थ, पलाउने
दहेज कमि भयो भन्दै, मान्छेलाई ,जलाउने

धामी बोक्सी भनि मान्छे ,मान्छेलार्इ, सताउने
जंगली यूगको जस्तै, पशु कै श्वभाव, आउने
किन खुल्दैनन् यी आँखा, संसार कता, पुगीसक्यो
किन दुख्दैनन् यी मुटु, मानवता नै, जली सक्यो

प्रेम हो मनको देव, दैंत्य हो, रीसराग चैं
दानहो कर्मको पुण्य, श्वर्ग हो मन, तृप्ती चैं
नर्क हो झगडा क्लेश, रीस राग , उही पथ
धर्म हो परपोकार , सत्य हो, जप औ तप

नम्रता शीलता पूजा ,सुन्नु चैं , अनि बन्दना
करुणा भाव हो भक्ती ,एकाग्रता ,हो उपाशना
धैर्यता हो जीवन मोक्ष, शान्त भै , जब संकट
आइपर्दा सहज लिन्छ, उपायछन्, असंख्यक

चित्त शुद्दि भए मात्रै ,सत्भाव अंकुराउँछ
सबैमा शान्ति पोखेर ,हरियाली लहराउँछ
विष वृक्ष अनि हट्छ, एक एक हराउँछ।
धर्ति नै बदली यहाँ ,श्वर्ग लोक कहलाँउछ ।

पराय रहन्न कोही ,सबै नै बन्धुवान्धव
जसरी मिलेर बस्थे, त्रेतामा पाँच पाण्डव
आफैंमा छ सबै शक्ती ,दैंत वा देव के हुने
हिंडाउने कुन हो पथमा ,झर्ने या माथि उक्लने ।

Suren Upreti – Bhukampa Ma (Nepali Gajal)

सुरेन उप्रेती – भुकम्पमा

भुकम्पमा करोड अरब ,सहयोग देशमा आयो भन्छन्
जनतालार्इ दिंए भन्दै , त्रिपाल कम्वल खायो भन्छन्

दाल चामल राख्दा राख्दै , गोदाममानै सड्यो अरे
पहुँच हुँदा कर्कटपाता, मन्त्रीले नै छायो भन्छन्

पानी झरी हिंउदे चिसो ,पालले कति छेग्न सक्छ
ओत छैन खान छैन फेरी, दसैं लायो भन्छन्

चिसो लाग्दै छोरी मरी , खोक्दा खोक्दै बावु विते
घर नढल्ने शाहुले मात्रै, सहयोग रकम पायो भन्छन्

कतै सरकार भेटभो भने, हाम्रो व्यथा सुनाइ दिनु
छोरा छोरी लुग्लुग काम्दै ,अर्को हिंउद आयो भन्छन्

ओत छैन खाने छैन ,महामारीमा दबाइ छैन
निर्माण झण्डै भ्याइयो भन्दै ,सरकार विदेश धायो भन्छन्