Biwash Bipra – Manchhe Sagarmathako Paridhi Bhitra 3

बिवश बिप्र – मान्छे – सगरमाथाको परिधि भित्र – ३
(Sent to Sanjaal Corps via Email)

मन र मान्छे
मन–एक जीवन्त अन्तरंग !!
मान्छे–धारिलो औजार कर्म-आरनको !!
सगरमाथा—–एक आस्था
आस्था–गगनचुम्बी नक्षेत्रहरु

उफ्फ्फ्फ……..
यो बिष्लेषण पनि ….
तराजु ———-एक जैविक इजलासको !
रगत——एक महिमा नदिहरुको !
नदि—–अमृत-फल प्रसमनको !
—————भेट्यौ
————————प्रवीर धड्कनहरु !!
—————-बिश्वास गर
——————–तिम्रो
————शालीक जन्मदैछ

Prakash Sayami – Jaanda Jaandai

प्रकाश सायमी – जाँदाजाँदै…

जाँदाजाँदै आज फेरि मन उधारै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो

छिचोलेरै पुगेको’थेँ कति आँखा बाधा थिए
चाहनाथ्यौ तिमी मेरो सपना पनि आधा थिए
खोलुँ भन्थेँ मनको ढोका सबै अपुरै रह्यो
ढोकासम्म पुगेर पनि पाइला संघारै रह्यो

काँढामाथि टेक्नु पर्यो त्यो पनि त सहेकै’थेँ
दुनियाँ नै वैरी हुँदा तिम्रो आफ्नो भएकै’थेँ
कुन सिमाना कोर्यौ दैव ! बोली अधुरै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो

Madhav Prasad Ghimire – Lagdachha Malai Ramailo Merai Pakha Pakhero

माधबप्रसाद घिमिरे – लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो

लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले

सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो

मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले

शब्द – माधबप्रसाद घिमिरे
स्वर – जनार्दम सम/लसमित राई, यशोदा पराजुली
संगीत – जनार्दम सम
एल्बम – गाउँछ गीत नेपाली

Ratna Shamsher Thapa – Joon Ko Chapari

रत्नशमशेर थापा – जूनको चपरी

सपना देख्छु तिर्खालु बाज
बकैनाको बुढो रुखमुनि
मेरो पैताला ठुँगिरहेछ ।

ब्युँझेर हेर्छु दलिनको कापामा
माकुरा निली जालो ओढेर
कालो माउसुली उँघिरहेछ ।

बाहिर तरकारी बारीमा
जूनको चपरी जुरोमा बोकी
कन्फट्टा साँढे रुँगिरहेछ ।

Lekhnath Paudyal – Satya Sandesh 1

लेखनाथ पौड्याल – सत्य सन्देश १

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी।
पत्नीको प्रेम दोषी अमृतमय मीठा बेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी बिधिवश छ भने आफ्नो दृष्टि दोषी।।

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।

भर्दाभर्दै हजारौँ बिषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पुर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा्
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिरदामा साथ जाने कुन-कुन चीज हुन्? सम्झ ती काम गर्दा।।

जस्तो मानी धनीका नगिच हर घडी तृपत जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात।
दु:खीका साथ उस्तै बिनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि ब्रत, जप, तपले स्वर्गको मोल तोल।।

मत्ता हात्ती हलुङ्गो, बितत जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो व्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।।

Bajra Kumar Rai – Jiundo Yo Lash Lai (Nepali Gajal)

बज्र कुमार राई – जिउँदो यो लाशलाई ढलाई देऊ बरु

जिउँदो यो लाशलाई ढलाई देऊ बरु,
चिन्तामाभन्दा चितामा जलाई देऊ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु,
आउ यो भौतिक शरीर बलाई देऊ बरु

वर्तमानमा बाटो छैन न भविष्य राम्रो,
पलपलको यो लाचारीबाट छलाई देऊ बरु

सधैं आँशु पिएर बाँच्नु व्यर्थ हुँदोरहेछ,
आउ आँशुमै बिष छरेर चलाई देऊ बरु

मेरो सम्पुर्णता तिमी कोसँग मागुँ ममता,
भैगो त्यो बहुरुपी माया नलाई देऊ बरु