Prakash Sayami – Ma Apad Ma Timi Sita Hinde [Nepali Gajal]

म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो
म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा
त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ
म आहतमा तिमीसित हिँडे

Prakash Sayami – Ke Magchhu Ra Timi Sita [Gajal]

के माग्छु र तिमीसित घामपानी सिवाय
के नै दिन सक्छौ अनिँदो बिहानी सिवाय
मेरो कसम तिम्रा निम्ति कति जुठो भो
चोखो त क्यै छैन तिम्रो जवानी सिवाय
नबुझाउ पहेली मनको म बुझ्दिन खै
स्पष्ट त क्यै भएन उही बानी सिवाय
सपना देख्छु रंगीविरंगी मन त त्यै हो
बदल्छु सारा चीज त्यै सिरानी सिवाय
भित्ताको तस्वीरले रगतको रंग भन्छ
के नै भन्ला शहीदको कहानी सिवाय
यै जीवन काल कोठरी भो नानू
जिन्दगी क्यै हैन पुरानो बानी सिवाय

Prakash Sayami – Kunai Bato Ma

कुनै बाटोमा तिमी एक्लै
कुनै बाटोमा म एक्लै
आकाश त एउटै छ हाम्रो
तर धर्ती बेग्लाबेग्लै

तिमी नदी भई बग्छौ
म पहाड भई छेकिन्छु
तिमी पहाड हुँदा
म मैदानमै रोकिन्छु
अस्ताइरहेछ घाम-जून
साँझ बिहान एक्लैएक्लै

उच्छ्वासहरु उठेका
शून्य निस्तब्ध पथमा
हिँडिरहेछ जीवन
चक्कै छुटेको रथमा
पुग्छौँ कहाँ कहाँ खै
छलेर आफैलाई

पत्थरको चोट भन्दा
नमिठो एक्लोपन छ
साथी छुटेर यात्रा
दुखिरहेको मन छ
कहाँ थियो म जानु
फर्कें कहाँ म एक्लै

आकाश त एउटै छ हाम्रो
तर धर्ती बेग्लाबेग्लै

२४ माघ२०६५

Prakash Sayami – Paribhasha

धेरै कुरा बद्लिएको छ
यो मानवशालामा ।
नबद्लिएको एउटा कुरा छ यो
त्यो हो परिभाषा ।
परिभाषा ।

सबैका दुइटा भएको छ ।
नया र पुरानो ।
दरबार नया
सडक नया
कानुन नया
संविधान नया
तर मान्छे पुराना भएका Continue reading “Prakash Sayami – Paribhasha”

Prakash Sayami – Bato Bhari Aashai Aash Chhan [Geet]

बाटोभरि आशैआश छन्
आँखाभरि प्यासैप्यास छन्
दुवै भाव मिल्न सके
भाव एउटै हुनसके
हाँस्न सके हाँसिदिन्थेँ
रुन सके रोईदिन्थेँ
दुई मन एउटै भए अरु पनि के के हुन्थेँ

वरिपरि साँझैसाँझ छन्
तिमीसित मातैमात छन्
दुवैलाई गाँस्न सके
जिन्दगी नै जुठो पार्थेँ
हार्न सके हारिदिन्थेँ मर्न सके मरिदिन्थेँ
एकलाश जिन्दगीमा अरु पनि के के हुन्थेँ

Prakash Sayami – Shunya Ko Ghau

कवि हुँ म
कहिलेकाहिँ सरकार प्रमुखको प्रतिज्ञाले भन्दा
कविताले सताउँछ मलाई
र छटपटिन्छु पानाभरि भरि
कहिलेकाहिँ
सेनाका बन्दूकले भन्दा
आफ्नै कलमले तर्साउँन्छ मलाई
र पछुताउँछु अक्षरभरि भरी

आजकाल Continue reading “Prakash Sayami – Shunya Ko Ghau”

Prakash Sayami – Jahan Bhamar Chha Tyahi Timro Simsar [Nepali Gajal]

जहाँ भामर छ त्यही तिम्रो सिम्सार
तिमी विना चल्दैन मेरो पनि संसार

मन हो गीत कुन मसीले लेखूँ ?
सबै सपना कुन धागोले जोडूँ ?
तिम्रो हाँसो मेरो परिवर्तनको धार

नदेखेको सपना प्यारो भो सानु
नहिँडेको बाटो एक्लै कहाँ जानू
तिमी नै मेरो जीवनको आधार

जहाँ भामर छ त्यही तिम्रो सिम्सार
तिमी विना चल्दैन मेरो पनि संसार

Prakash Sayami – Phool Bhaye Pani Ramro Kaanda Bhaye Pani Ramro (Gajal)

प्रकाश सायमी – फूल भए पनि राम्रो काँडा भए पनि राम्रो (गजल )

फूल भए पनि राम्रो काँडा भए पनि राम्रो
विना शर्त माया गरेँ टाढा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

म विनाको एउटा संसार देख्यौ आज तिमीले
सँधै समतल कहाँ हुन्छ डाँडा भए पनि राम्रो

ढुँगा सम्झी टेक्यौ, थुँगा सरि फ्याँक्यौ फेरि
नविक्ने त हैन म, थोत्रो भाँडा भए पनि राम्रो

आधा सिरानी थियौ सँधै तिमी विहानीमा गयौ
अधुरो थेँ हिजो पनि , आज आधा भए पनि राम्रो

Prakash Sayami – Jindagani [Geet]

कहिले देखे घाम मैले कहिले देखे पानी
आधाआधी भिजेपछि सुक्छ जिन्दगानी

नापतौल के गर्नु र ढकतराजुको के भर
धरौटीमा परेको मन बाबु बाजेको के थर
अलिअलि बुझेपनि पुग्छ जिन्दगानी

तिम्रो बाटो छेकीछेकी आफ्नो बाटो खोजेँ
स्वर्गै तिमी हौ भनी मनको साटो रोजेँ
कतिकति भुलेपछि फुल्छ जिन्दगानी

कस्तो हुन्छ सपना त्यो मनबाट सर्दा
सपना पनि साक्षी बस्ला तनमन झर्दा
पछि पछि बुझेपनि रम्छ जिन्दगानी

Prakash Sayami – Bicharadhin

यो समय
केवल मेरो हृदय जान्दछ
म किन घर फर्किन चाहन्छु ?

यतिबेला विस्तारपूर्वक
भन्नुको अर्थ
अझ अस्पष्ट हुन सक्छ

यतिबेला पछिल्लो वाक्यले
अघिल्ला वाक्यसित
कुनै मेल राख्दैन

भन्ने नै हो भने
यतिबेला
एकको संवेदनाले
अर्कोसित
सहानुभूति राख्दैन
म यसकारण
घर फर्किन चाहन्छु

यतिबेला म कमजोर छु
रुग्ण र नग्न भइरहेछु
तर
मसँग घरको सम्पूर्ण अर्थ छ
……जसरी सारा घर छोडेर गएकाहरु
फर्किन पाएनन्

हराए

घर बाहिरका सारा दृश्य नष्ट छन्
घरभित्र पनि सम्भवतः
नष्ट नै होलान्
तर पनि
म घर फर्किन चाहन्छु
जबकि त्यो मेरो गन्तव्य होइन

त्यहाँ मलाई पर्खिरहेका कोही छैनन्
यतिबेला
मेरो घर जत्ति सुरक्षित
यो देश पनि छैन ।

Prakash Sayami – Timilai Dekheko Samaya

तिमीलाई देखेको समय
मभित्र मौन उज्यालो खस्छ
अथाह वेग लिएर
तिमी समक्ष मेरो सामुदिक मनले
कविताको
भूगोल बनाउँछ
यत्र तत्र ।

चूपचाप तिमी कतै
चूपचाप म कतै
दुई अपरिचित जहाजजस्तै
हामी नाइल नदीको किनार भएर
वगिरह्यौँ
समय एक स्थिर स्वर भएर पर्खिरहेछ –
हामीलाई – चूपचाप ।
सिमानाको बाटो भएर बसेका
तिम्रा अचल नयनमा
असमान जुलुस देख्छु
आमन्त्रणको ।

म नतस्मतक
ऐना सम्मुख
सिँदूरको प्रतोलिका लिएर
उभिएकी विधवा झैँ
तिम्रा आँखाका गुफामुनि
आत्मसमर्पित छु
प्रिय !

हामी कविताका दुई पंक्ति झैँ
किनार किनार छौं
हामी कविताका दई मुद्रा झैँ
अधर अधर छौँ
तिमीलाई देखेको समय
मैले मेरो ईश्वर मरेको घोषणा गरेँ
तिमीलाई देखेको समय
मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ ।

Prakash Sayami – Maunatapurbak

धेरैपछि
यो सडकमा म
अर्को एउटा समानान्तर सडक हिँडिरहेछु

मेरो उपस्थितिमा
आश्वस्त हुँदैन यो सडक
र मलाई
एक्लै छोडेर अघि लाग्छ

किनारमा लामबद्ध रुखहरु
संभवतः
मेरो एक्लोपनको मौन-धारणमा
समवेदनाग्रस्त टोलाइरहेछन्
म फर्केर हेर्छु-
सबैभन्दा माथि छन् पालुवाहरु
केही तल छन् हरिया पातहरु
र छन् सबैभन्दा तल
मेरो बैठक कोठामा न्यानो सम्´नाले भरिएका
रित्ता चियाका कपहरुजस्तै
आबद्ध कामनाले पाकेका
पहेँला पत्रावशेषहरु
अनायासै !
न्यून हुन्छ श्वासको लय
कम हुँदै जान्छ पुरानो जुत्ताको पदचाप
मोडिएर मेरो एक्लो मन
मजस्तै निशस्त्र
मेरो घरतिर फर्किन चाहन्छ

पर एक जुलुस हिँडिरहेछ
राता-निला तुलहरु छन्
र हल्लिरहेछन्
तुलमा टाँगिएर
अनगिन्ती सपनाहरु

मभित्रको रङ्गहीन सपना
विपनाको गोरेटो खोजिरहेछ- यो सडकमा
उप्किँदै गएका
ढलान र रोडाहरु
थाक्दै गएको म
उदास धावक
त्यही गोरेटो भएर
प्रवेश गर्न चाहन्छु
र साँ´ पर्नु अगावै
खोल्न चाहन्छु मेरो घरको ढोका

मौनतापूर्वक पर्खिरहेका
ती आत्मीय पुस्तकहरुमा
रङ्गाउन चाहन्छु मेरो अन्तरको स्पर्श
र एकाकार हुन चाहन्छु फेरि
मेरो पुस्कालय-घरमा ।

Prakash Sayami – Shakuntala Number Dui

तिलस्मी दाँतलाई
कृत्रिम माजनले चमक दिएर
एक अस्वभाविक मुस्कानकासाथ
फोसिल उडेको बेल्जियमी ऐनामा
आफ्नो अनुहारको भूगोल हेर्दै
हठात् अाजलीले आफ्नो हराएको औंठी सम्झी
त्यो औंठी
उनले पोखरीमा कतै पोखरामा हराएकी थिई
मनमा उत्ताल पोखरीहरु पौडिरहेको बेला
अाजली त्यो औंठीसित खेल्थी र भन्थी-
म कदापि शकुन्तला बन्न चाहन्नँ ।
समयले उनलाई
आज शकुन्तलाको अर्को रुप दिएको छ
औठी हराएकी शकुन्तला
स्वर वर्णमालाको पहिलो अक्षरमा नाम धारण गरेकी
अक्षरी
कक्षा कोठामा
क्लास टीचरले हाजिरीकापी
पल्टाउने बित्तिक्कै उठ्थी
र ऊ बस्दा
अरु उठ्ने क्रममा हुन्थे
सदैव
कक्षा कोठामा उनी रोलनम्बर एक थिई
र त्यो नै तिनको परिचय थियो
आज इतिहासले
तिनलाई रोलनम्बर दुई बनाइदिएको छ ।

नजीर भन्छ –
ऊ गाउनको लागि होइन
ऊ गुन्गुनाउनको लागि जन्मिएकी हो
सँधै ऊ बिहानीमा घिमिरेको हिमालकी छोरी बन्थी
तर समय सरगमले
आज उनलाई
गीतमा होइन गणितमा अल्झाइदिएको छ ।

Prakash Sayami – Mofasal Ma

कारिन्दाको कुर्सिमा छु
गृहस्थीको सपना छाउँछ टेबुल भरि
घरको पलङ्गमा छु
हाकिमको सपनाले तर्साउँछ रात भरि
यो मुलुकमा म बाहेक अरुको एक्लो छ ?
म सोध्छु- आफैलाई घरिघरि
निरुत्तर उभिन्छु
आफ्नै तस्विर अगाडि
ऐना भएर ।

छियाछिया भएर सजिन्छु
विधवाको सिउँदो भरि
यो मुलुकमा मभन्दा कमजोर को होला र ?
एउटा सिङ्गै गाउँ सुतेको छ मभित्र
र जतै म जान खोज्छु त्यो ब्युँझिन खोज्छ
र जतै म भाग्न खोज्छु त्यो पछ्याइरहन्छ
एउटा अर्को पनि गाउँ छ- मेरो आँखामा
जो भत्किनै लागेको छ
पूर्वमा घाम नफुटदै
यसको मन फाटिसक्छ
आवाजहरुको रङ्गीन जङ्गलमा
खोजिरहन्छ यो आफ्नै आवाज
विज्ञापनको भाषामा
अखबार खोजिरहेछ
आफ्नो आवश्यकता
एउटा अनुहार बोकेर आएको छ- चिठ्ठी
एउटा चिठ्ठी बोकेर आएको छ आमाको अनुहार
धेरै कुरा देखिन्छ- आमाको अनुहारमा…।

पहिरोमा डुब्दै गरेको गाउँ
सपनामा भत्किँदै गरेको गाउँ
एक्लो/दुर्बल/कमजोर
त्यो गाउँमा एउटा पहाड पनि छ
एक्लोपनको पहाड !

म त्यो गाउँमा अब पुग्न सक्दिन
एउटा गाउँ नै बोकेर आएको छ चिठ्ठी
एउटा चिठ्ठी बोकेर आएको छ- गाउँ ।

Prakash Sayami – Jaanda Jaandai

प्रकाश सायमी – जाँदाजाँदै…

जाँदाजाँदै आज फेरि मन उधारै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो

छिचोलेरै पुगेको’थेँ कति आँखा बाधा थिए
चाहनाथ्यौ तिमी मेरो सपना पनि आधा थिए
खोलुँ भन्थेँ मनको ढोका सबै अपुरै रह्यो
ढोकासम्म पुगेर पनि पाइला संघारै रह्यो

काँढामाथि टेक्नु पर्यो त्यो पनि त सहेकै’थेँ
दुनियाँ नै वैरी हुँदा तिम्रो आफ्नो भएकै’थेँ
कुन सिमाना कोर्यौ दैव ! बोली अधुरै रह्यो
ढोकैसम्म पुगेर पनि पाइला संघारै रह्यो