Prakash Sapkota – Kina Bho Aago Ko Utpatti

प्रकाश सापकोटा – किन भो आगोको उत्पत्ति ??

किन भो मान्छे ?
किन भो आगोको उत्पत्ति ??
त्यतिबेला
मानव-मानव मिलेर
जितको अभिप्राय- हारको स्वीकार्य
बाँडीचुँडी
अर्थपूर्ण भोकका खातिर
ढुंगामा ढुंगा घोटेर
चट्टानमा धातु ठोकेर
दुर्लभ झिल्को निकाले
मरेका शिकार पोल्न
लाचार ! त्यो युगका मान्छेहरु
दहरियो- त्यो जंगली युगमा
यतिबेला
मानव-मानवबीच
जितको अभिमान- हारको अवसान
लुछाचुँडी
निरर्थक आवेगका खातिर
सुलभ राँको बाल्दैछन्
मानवीय समबेदना फाल्दैछन्
जिउँदा ज्यानहरु पोल्न
व्यभिचार ! यो युगका मान्छेहरु
कहलायो- यो आधुनिक युगमा
दोधारित एक मन छ मसँग-
को जंगली ?
को हो आधुनिक ??
अनुत्तरित एक प्रश्न छ मसँग-
किन भो मान्छे ?
किन भो आगोको उत्पत्ति ??
– (हाल: ट्रोम्सो, नर्वे)

प्रकाशित कृतिहरु:

उपन्यास: आस्था ओढेको मन – 2059
मुक्तक संग्रह: मनका आखाहरू- 2060
जानकारीमुलक: पनौती मकरमेला- 2066

सम्पादन:
– काभ्रे टाइम्स साप्ताहिक – भाषा सम्पादन/सह-सम्पादन
– जनमत साहित्यिक मासिक पत्रिकाको विशेषांकमा भाषा सम्पादन
– भुजंग (काभ्रे बहुमुखी क्याम्पसको स्मारिका), कारिका (काभ्रे माविको स्मारिका),बनेपा सहकारीको स्मारिकालगायतमा सम्पादकीय जिम्मेवारी बहन

वेवसाइट: www.paluwa.com