क्रमश
जीवन फूल जस्तै
ओइलीएर
झर्छ पात जस्तै
फूल जस्तै।।
मिठो मृत्यु
स्वदिलो
स्तब्ध, स्पन्दन मुटुको।।
अनिल
अमर अनन्त
अविनाशी आत्माको।।
ज्योति
जीवन हो
जग कान्तिको कालो।।
फगत जीउनु
मृत्युञ्जय जीवन
ढोकामा।।
क्रमश जीवन
फूल जस्तै फक्रीएर। ।
नेपाली कविता को बिशाल संग्रह
क्रमश
जीवन फूल जस्तै
ओइलीएर
झर्छ पात जस्तै
फूल जस्तै।।
मिठो मृत्यु
स्वदिलो
स्तब्ध, स्पन्दन मुटुको।।
अनिल
अमर अनन्त
अविनाशी आत्माको।।
ज्योति
जीवन हो
जग कान्तिको कालो।।
फगत जीउनु
मृत्युञ्जय जीवन
ढोकामा।।
क्रमश जीवन
फूल जस्तै फक्रीएर। ।
बिकु लामा – देश खोजिरहेछु
गौंथलीका बच्चाहरू
गुँड छाडेर कतै
अस्थायी बसाइँ सरेका छन
गुँड छाडनु अघि
चराले पनि मन दुखाउँदो रहेछ ।
जस्तो कि
आँखाबाट सपना हराउँनु
मनबाट समवेदना हराउँनु
गीतबाट लय हराउनु
शायद लाग्दो हो मलाई जस्तै
जुन र घामको झैं दुरीको आभास
देशछाडी जानेहरूलाई
अब ऊ
देशको नक्साबाट ओझेल पर्दैजान्छ ।
यो सपनाको शहर
मेरो घर जस्तो लाग्दैन मलाई
घरवार बिहिन भएकोछु म तिम्रो देशमा
तिम्रो गगनचुम्वी महलहरूको देश
तिम्रो समुन्द्र नै समुन्द्रको देश
मलाई कहिल्यै छुदैनन यी कृत्रिम सौन्दर्यताले
हो यतिबेला
म मेरै देशको
सगरमाथा सम्झेर रोइरहेकोछु ।
तिम्रो आधुनिक शहरमा
कहिल्यै फुल्दैनन लाली गुँरास
कहिल्यै उड्दैनन शान्तिका परेवा
कहिल्यै बज्दैन सदभावको गीत ।
एउटा सपना पुरा गर्न पनि
हजारौ सपनाहरूको विनिमय गर्नुपर्छ यहाँ
तिम्रो देशमा त
पत्थर जस्ता मान्छेहरू
मेरा पीडामाथी अट्टाहस गर्छन्
कागजका फुल जस्तै मान्छेहरू ।
अव म,
हतारिएको छु देश फर्कन
राष्ट्रियता भन्दा ठुलो
हैन रहेछ सुनको दरवार
हैन रहेछ पैसाका बिछ्यौना
झिलिमिली रोबर्ट्को देशबाट
देखिरहेकोछु म हरेक रात
मेरी आमाको सपना
साँच्चै म यो परदेशबाट
मेरो देश खोजिरहेछु ।
महामारी लड़ाईं र सपनाहरु
समय जंजीरले बाँधेर बन्द कोठामा थुनिएको छ
गोलो सिसाको बन्द बाकसभित्र
किलामा थुनिएका घडीका सुईहरु झैं,
मान्छे मन्द महामारीको त्रासमा रुमिएको छ
युद्धका घुवॉको छायामा रुमिएका
बालबालिका र बुढाबुढीहरु झैं ।
समयकै सांग्लोमा ऊसंगै बाँधिएर
बन्द कोठाका झ्यालहरुबाट
चियाउँदै, ति ज्यान हत्केलामा राखेर
लड्न महामारीसंग
डिउटीमा खटिएका सुरक्षाकर्मीहरु,
चिकित्सक, स्वयंसेवकहरु, संचारकर्मीहरु
जो महान छन्, आफैमा महान ।
महामारी भुसको मन्द आगोझैं
फैलिरहेछ चारैतिर
उसको देशबाट तिम्रो देश
तिम्रो देशबाट मेरो देश
उसको देशभरी
तिम्रो देशभरी
र मेरो देशभरी
हामी सबैको देश सबैको साझा देश, संसारभरी ।
टेलीभिजनको पर्दामा देखाईएका
पुर्दै गरेका लाशहरुका ढेरहरु
रेडीयोको तरंगबाट सुनाईएका
बढ्दै गरेका मृतकका गणनाहरु
देखेर, सुनेर
आत्तिन्छन् मनहरु
निसासिम्छन् हौंसलाहरु ।
तर हार्ने छैनो
डटी लड्ने छौं एकजुट भएर
यो रोगका बिरुद्ध
यो महामारीका बिरुद्ध
यो धर्तीको माटोमा हाम्रो स्वामित्वका निम्ति
यो मानवजातिको अस्तित्वका निम्ति
र एक दिन अवश्य परास्त गर्नेछौं ।
अनि हिंड्नेछौं, बिन्दास हाम्रा बाटाहरुमा
गुड्नेछौं, निर्वाध हाम्रा सडकहरुमा
र उड्नेछौं, निस्फिक्र हाम्रा हवाईमार्गहरुमा
जो भर्नुछ लाखौं सपना बोकेका
करोडौं ज़िन्दगीहरुले
हजारौं मिलको उडान ।
भैरव अर्याल – आत्म-सितार
असँख्य प्रश्न-प्रश्नको समष्टि एक प्रश्न भै
तिमी कता लुकिदियौ मलाई अल्मलाउँदै
थियो कि कामना कसो – हराई जाउँ मै पनि
हताश, निःसहाय भै बिलाउँ शून्य नै बनी ।
म किन्तु के हराउँथे ? छ जोश, होश हिम्मत
मथेर व्यर्थता पनि म अर्थ झिक्छु शाश्वत
हजार युद्द हुन यहाँ, फुटून हजार नै बम
मलाई मेट्न सक्छ को? छु जो विनाश हुन्न म ।।
मलाई चिन्दछ्यौ तिमी ? म सिर्जना-सितार हूँ
अनन्तसम्म तन्किँदो अनादिको म तार हूँ
म बज्छु झन्झनाउँदै समस्त सौरम्ण्डल
जहाँ तिमी लुकिरहू म खिच्न सकछु त्यो दिल ।।
प्रचण्ड तेज हूँ म जो स्वयं दिमाग बाल्दछु
कुहिरिँदो आकाशमा म ज्योति-पंख चाल्दछु
म कान्त कान्तिको पनि सिन्दुर हाल्छु जूनमा
छु ईश ई्शको पनि, म पूर्ण बन्छु न्युनमा ।।
म एक खोज हूँ स्वयं छ ध्येय खालि खोजकै
म खोज्न छाड्द्थेँ र के? छ खोज रोज-रोजकै
तिमी जहाँ पुगे पनि, त्यहाँ म आइछाड्द्छु
तिमी जतासुकै रहू, म भोलि पाइछाड्द्छु ।।
(कविता वर्ष २,अँक २, २०२२)
मीत बाउलाई चिना देखाउदा
मन्त्री हुन्छस छोरा भन्थे
जिम्वल काकाको बगैचाको
अंबा चोर्दा
फलफूल पसले हुन्छस भन्थे ।
आमाको थैलीबाट
बटारिएको नोट सुटुक्क झिक्दा
नम्बरवान्को पकेटमार बन्छस भन्थीन्
न मन्त्री बनियो,
न फल फूल पसले भैयो
न पाकेट्मार नै भैयो
कप्तान बाजेलाई
गोरु नार्न सघांउदा
हली पो बन्छस कि क्याहो भनेर हकार्थे
स्कुल नगै-नगैकन
ठाडो खोल्सामा पौडी खेल्दा
पौडीबाज बन्ने भै’चस छोरा भनेर बाउले छरी लगाउथे
(न पाकेट्मार, हली न पौडीबाजनै भैयो)
आज्कलत पण्डित पनि भन्छन कसै कसैले
तर आफ्नै चीना हेर्न सकिरहेको छैन मैले
आज्कलत कागको फुल चोर्ने
कोइली पनि भन्छन कसै कसैले
तर कसैको ओथाराको फुल देख्या छैन मैले !
(बरु, यी माथिका एउटा न एउटा बनेको भए सवैले चिन्थे होलान)
वेक्कारमा कविमा पनि बेस्कन लुते कवि बनिएछ l
यी आज खै: न कसैले चिन्छन्
न कसैले कतै बोलाउछन !
कोमल श्रेष्ठ मल्ल – शान्तीको स्वास चलाएर देखा
बन्द कोठाबाट
क कस्लाई शुभकामना पठाउ
नया बर्ष २०७७ को ?
म आफै
शुभकामना कुरेर
लोभि मान्छे भएको छु
त्यसैले
कोरोना त
यो संसार छोडेर जा
कतै कहि
कहिल्यै फर्केर नआ
नया बर्ष २०७७
कोरोनालाई जलाएर देखा
शान्तीको स्वास चलाएर देखा …
कोरोना
बन्दकोठामा बस्न
बााध्य पार्ने त
मान्छेहरु मारेर
मसान र
चितामा लासहरु थुपार्ने त
यो धर्ति बिगार्दै
विश्व चाहार्ने त
त्यसैले
कोरोना त मरेर जा
यो संसार छोडेर जा
कतै कहि
कहिल्यै फर्केर नआ
त्यसैले
नया बर्ष २०७७
कोरोनालाई जलाएर देखा
शान्तीको स्वास चलाएर देखा …
मन्दिर
मस्जिद
चर्च
गुम्बामा
बाच र बचाउको घण्ट बजा
मात्र शान्तीको स्वास चलाएर देखा …
नया बर्षमा
शान्ती र आरोग्यताको
मंगलमय शुभकामना !!!
कोमल श्रेष्ठ मल्ल – कोरोनालाई जितेर म बाचेको मान्छे
कसम खाउ
कुन कसम खाऊ
भागेर जाउ
कुन ठाउ जाऊ ?
ढोकाको चुकुल लगाएर
जहान परिवार संग
म छुट्टिएर बसेको मान्छे
तर
म रूनू रोएर
म हासेको मान्छे
कोरोनालाई जितेर
म बाचेको मान्छे
छिन छिनमा खोकेर
बिषम ज्वरो भोकेर
स्वासको जाल तोडेर
थकानलाई मोडेर
कोरोना हारेर
म बिजयमा
फर फर गर्दै शिखरमा
जीवन हासेको मान्छे
कोरोनालाई जितेर
म बाचेको मान्छे
स्वासको करेसामा
विस्वासको भरोसामा
सहास र धैर्यतामा
अदृस्य आतंककारि
अदृस्य आत्यन्तिक बिध्वन्सक
अदृस्य हत्याराको युद्दमा
कोरोनालाई जितेर
म विजय चुमेर
म बाचेको मान्छे
भरिया दाई
मधेस पहाड हिमाल मिली बनेको नेपाल,
हरियो बन झरझरी झरना चंकेको हिमाल ।
खोला र नाला उकाली भन्ज्याङ्ग कती हो कती हो,
झन उता गयो झन भिन्न दृष्य सकिन्न कहिले यो ।।१।।
धरैछन यहाँ सुन्दर रुप प्राकृतिक दृष्यको,
भरिया दाईले जिवन धान्न भारिमा बोकेको ।
कसले देख्ने भरिया दाईलाई परेको भारत्यो,
एक पछि अर्को बोकेर भारी जिन्दगी बीतेको ।।२।।
झुपडि घर पाखाको बारि उब्जनी हुदैन,
खडेरि पर्छ त्यसमा पनि गुजारा हुदैन ।
कुदेर गयो तराई छेउमा उठायो त्यो भारी,
मान्दैनन दुखः हिउद बर्षा पुरुष र नारी ।।३।।
पहाड को बाटो बोकेर भारी ति ज्यादै घुम्दछन,
मुस्कीलले एक दुई महिना मात्र घरका बस्दछन ।
पिठमा भारि बोकेर हिडदा बाटामै भयो घर,
कहाहो बास आजको भनि हुदैन तिनको भर ।।४।।
ह्ेर्दामा जती सजिलो हुन्छ सजिलो हुदैन,
भरिया दाईको चित्रन गर्न सब्दले मिल्दैन ।
तै पनि आफनो अनुभव जोेडि प्रयास गर्ने छु,
भरीया दाई को मनको ब्यथा सब्दमा कोर्नेछु ।।५।।
ए बाबा अब कहीले जाने छौ भारी उठाउन,
नबिर्सीकन ल्याउनुहोला मलाई लगाउन ।
आमाले भन्या म पनि अब स्कुल जानेरे,
कापी र कीताब किनेर ल्याउनु म पनि पढनेरे ।।६।।
छोरीको कुरा सुनेर माने मुसुक्क हास्दछ,
हे कान्छी म त भोलिनै जाउकि भनेर भन्दछ ।
म भरे गई साईला र ठुले जान्छन कि सोध्नेछु,
बिहानै गई सबेरै गरी ति संगै कुदनेछु ।।७।।
तुरुन्त गई ति माने दाई सुर्तिहै तानेर,
आउछन भेटि गाउँले लाई सरसल्ला गरेर ।
डोका र नाम्लो खकन रैछ पिडिकै छेउमा,
तोकमानी रैछ सिउरेर राखी रहेको दलीनमा ।।८।।
हे खासम ताप्के पन्यु र कराई डोकैमा राख्नेछु,
खोर्सानी नुन गुन्द्रुक पिठो पोकैमा पार्नेछु ।
बिहानै जानु हुनेछ होला मलाई उठाउनु,
थाल र अनि भुलेको चिज दिउँला लिजानु ।।९।।
दिएछन भने धरैनै पेस्की ल्याउनु कपडा,
रुनेछे सानी नभए नत्र गर्ने छे झगडा ।
बासमा बस्दा होस गर्नु होला ठेगानमा बसनु,
एक जोडि बर्को लिएर जानु सम्हाली राखनु ।।१०।।
भोलि बिहानै उठनुछ भन्दै सोचेर सुत्दछन,
अनेक कुरा आउदछ फेरि मनमा गुन्दछन ।
दुई दिन मात पुग्नेछौं हामी छीटैनै गईन्छ,
अहीले त त्यहा तुरुन्तै भारी पाईनै हालीन्छ ।।११।।
कहिले काईत बिदेसि चाहिको भारि पो पाईन्छ,
धेरैमा पैसा आउने मात कर्म पो चाहिन्छ ।
के बिधि पैसा हुनेपो रैछ बिदेसि संगत,
नाइ नास्ती गरी बोक्नत सबै लगाउछन मनत ।।१२।।
पाईप र छड च्यादर बोक्दा पाईन्छ केहि बढी,
अप्ठ्रयारो बाटो पाईन्छ दुःख आईन्न नमरी ।
सिमेन्ट बोक्न सजिलो हुन्छ हुदैन दुःखनी,
दुई चार पैसा गरेर लोभ के दुःख पाउनी ।।१३।।
चामलको भारी पनि त कहीले काईत पाईन्छ,
दोकान को भारी दरमार्दो हुन्छ तै पनि ल्याईन्छ ।
छिटो मा भारी पाईन्छ ज्यहि खुरुक्क ल्याईन्छ,
बसेर त्यहा खानुमा भन्दा चाडैनै आईन्छ ।।१४।।
यस्तैमा कुरा मनमा लिदा भाग्दछ निन्द्रानी,
कुखुरा बास्छ चारबजेतिर उठने छन अनि ।
उठेर पहिले बुढिलाई गई हे कान्छी भन्दछन,
गएम अब सबैको बिचार गरनु भन्दछन ।।१५।।
फर्केर आउदा यही वाटो परे घरमा आउँला,
सामल केही ठिक पारी राख्नु लिएर जाउँंला ।
अर्कैमा बाटो परेछ भने पछिनै आउँला,
तराईको सस्तो चामलै किनी थपेर खाउँला ।।१६।।
अब म गए तिम्लेनी अब उठेनी भैहाल्छ,
नजानु टाढा कान्लाको घास ल्याएनि भैहाल्छ ।
आवाज सुनी सानीले पनि हे बाबा भनिछन,
निन्द्राको जोड नसकि उठन निन्द्रामै परीछन ।।१७।।
याद गर्नु यस्को नराख्नु भोकै बिचार गरनु,
नजानु गाउ बेलुकि पख घरमै रहनु ।
सानेको पनि स्कुल बाट चिठी त आउला,
म आई हेरि सामान जुटाई चाडैनै पठाउँला ।।१८।।
साईला चाहि भेटिए छन बाटामै निस्केका,
फर्केछन ठुले घरमा फेरी तोकमानै बिर्सैका ।
खालि छ डोको मसिना पोको हलुका भैहाल्यो,
जोडले हिडे डौडेझै गरी त्यो बाटो गैहाल्यो ।।१९।।
हेमाने मत चाडैनै आउछु जेभारी पाएनी,
रासन छैन घरमा धेरै खानत प¥योनी ।
धेरै दिन गयो बोकिन भारी मईले सकिन,
छोरा र छोरी भोकै पो भए खान लाई देखिन ।।२०।।
ठीकै छ ठुले जे पाय पनि संगै नै आउँला,
नगरेस चिन्ता अप्ठेरो परे म पनि सकाउँला ।
यस्तै छ हाम्रो जिन्दगी भाई बिरामी परीँन्छ,
जगेडा राख्न हुतिमा छैन भोकैनी परीन्छ ।।२१।।
तैलेत साइला छोरालाई पनि लिएर आईछस,
सानैे छ छोरा किन पो ल्याइस दुःख पो पाइछस ।
किल्याइस आफनो छोरालाई पनि तराई देखाउन,
कि लागिस अब बिस्तारै भारी बोकर सिकाउन ।।२२।।
जाभन्दा स्कुल मान्दैन पढ्रन भारीनै कोकने भो,
ठिकैछ अब मलाई चाडै सकाउन थाल्नेभो ।
सानो चाहि पढ्रछु भनेर स्कुल दिनहु गैहाल्छ,
हेर्नुनै प¥यो दुईचार बर्ष न पास भैहाल्छ ।।२३।।
सघाउने मलाई एैछोरा रैछ काम गर्न भैहाल्छ,
घुम्दैर फीर्दै बाटामा हाम्रो जिन्दगी गैहाल्छ ।
रहर गर्छ मपनि जान्छु बाबाको साथैमा,
ससाना भारी पाउँला नभे पकाउँला बाटैमा ।।२४।।
ती माने दाइलाई यो कुरा राम्रो चितमा बुझेन,
के भन्नु अब भन्नुनै प¥यो नभनी भएन ।
हे ठुले सुनेस मैले चाहि छोरा छोरीलाई बोकाउन्न,
जसरी पनि पढाउछु तिनलाई भन्दीन सकाउन ।।२५।।
जिन्दगी हाम्रो बित्नेभो यसै भारीमा बोकेर,
साहुको भारी उचाल्यौ काधमा निकैनै जोखेर ।
तैपनि हाम्रो यै हाल भयौ छैननी उज्यालो,
पढाउछु मत सन्तानलाई जलाउछु दियालो ।।२६।।
के छर थाहा बुढेस कालमा जान्छ पो दुखःकी,
नभए पनि सन्तानको पिठमा पर्दैन भारीनी ।
मेरोत एउटैे सपना हेरो यहिहो पु¥याउछु,
सपना यहि साकार पार्न भारी म उठाउछु ।।२७।।
कुरै करामा ओराली झर्दै खोलामा पुग्दछन,
झोलुङ्गे तरी उकाली लाग्दा घाममा पर्दछन ।
उकाली बाटो बिहानी घाम पुगेछ माथिनै,
भोक पनि लाग्छ पाउछन पानी तिजले पकाउनै ।।२८।।
केथियो तिनलाई बनाउनु धेरै गुन्द्रुक ढिडोहो,
थकाई मात त्यो पनि ज्यादै लाग्दछ मिठो पोे ।
झटपट पकाई चटपट खाई लाग्दछन अगाडी,
काट्रनुनै पर्छ भन्ज्याङ्ग भन्दै लम्कन्छन बेसरी ।।२९।।
भन्ज्याङ्ग काटदा भमक्क हुन्छ देखिन्न आँखानी,
नजिकै आउछ सिँपाने गाउँ बस्दछन बासनी ।
यस्तै रिुतले पुग्दछन तिनी तराईको मुखमा,
घुम्दछन पहिले बजारमाहा तिनले सुखमा ।।३०।।
ए भरीया दाई हो बोक्नेहो भारी भनेत आउ है,
बोलाउदा रहेछन ठेकेदारले हाम्लाइ हेरौन जाउहै ।
केको हो भारीे जानेहो काहा के दिन्छौ ज्यालानी,
के कती दिन्छौ पेस्की पहिले अनिपो जाउँलानी ।।३१।।
सिमेन्टको भारी मुकाम जाने दिउला ३ सय,
१ सय पेस्की दिउला एहि खानलाई खुसभय ।
चिनेको छैन के ठेगान तिम्रो छाडनेछौ बिचैमा,
यसैले पेस्की दिन्नहै धेरै दिउला मुकाममा ।।३२।।
सात दिन लाग्छ पुग्न हैै मुकाम के गर्नु ३ सय,
जादैनौ हामी बोकेर तिम्रो भारी चाहि यसैले ।
बढाई देउ आदामा सय जाउला अनिपो,
पाउछ भारी अरुमा पनि मान्नेमा होला को ।।३३।।
ठिकै छ जाओ पाउनु धेरै सकनुनी घुमेर,
नपाए कही आउनु यहा मलाई चुनेर ।
दुई चार पैसा होलाकी भनी ठेक्कामा लिएको,
भरीया दाई आफनैहो भनी ३ सय दिएको ।।३४।।
भरीया दाई हो बोक्छौ कि भारी पोलिथिन पाईप,
भनेर फेरी सोध्नेछन अर्का हाकीम सायब ।
ति पर माझी गाँउमा जाने २ सय पाउछौ,
दुई दिनमा पुग्छौ १ सय पेस्की अहिले पाउछौ ।।३५।।
जादैनौ साहेब २ सय मात टाढानै जाने छौं,
तिन चार सय सजिलै संग हामिले पाउनेछौंं ।
हाम्लाई साहेब नजिक टाढा भनेर हुदैन,
धेरैमा पैसा पायमा जान्छौ थोरैले पुग्दैन ।।३६।।
मुर्ख हो तिम्रो बुद्धिमा चाहि आउदैन कहिल्यै,
सोचने सक्ती तिमीहरुले खाएछौ पहिल्यै ।
भैगोहैे जाओ खोजाँैला अरु पाईन्छ अहिल्यैै,
आउन्न यस्तो काममा अब मचाहि कहिल्यै ।।३७।।
आउछन अर्को साहेब फेरी सोधन भनेर,
बोक है भारी फलामे छड २ सय भनेर ।
दिउला बाकि ३ सय पछि अफिसका पुगेर,
आउछु पछि म पनि सबै भारीमा सकेर ।।३८।।
हे साईला के हो राम्रैछ पैसा आट गर्नै भए गर,
जान्न म भन्छन ति माने दाई त मर्ने भए मर ।
अप्ठेरो बाटो पाईन्न हिडन जिउ सोझो गरेर,
के हुने होर १ सय जाबो हामिलाई बढेर ।।३९।।
हेदाई भनी आउछन फेरी ति अर्का साहेब,
दुई चार भारी बाकि छ सिमेन्ट जाने भे आयस ।
चार सय मिल्छ दुई सय पेस्की अहिले दिउला,
किनमेल भय चाडैनै गर्नु बिहानै जाउँला ।।४०।।
हुन्छनी साहेब जाउँला हामी पेस्की चाहि पाउन,
हामी त साहेब सोझामा साझा भाग्ने चाहि होइन ।
हामीले धेरै बोक्याछौं भारी बिदेशी काममा,
बिहानै जान्छौं नमान्नु धन्दा खुशिछौं दाममा ।।४१।।
ति माने दाई पहीले किन्छन सानीको कपडा,
किनेर अरु सामान बाकी पचास जगेडा ।
बोक्दछन भारी बिहानै उठि कान्छा चाहि खाली भो,
बोक्दछ उस्ले दुई सय महा झोला चाहि साहेबको ।।४२।।
फुर्तिमा हिड्डा चाडैनै पुग्छन पहाडको फदैमा,
पाइदैन अब अगाडि खान खानु छ बेलैमा ।
रुपैया दश अरुलै खादा पन्द्रमा तिनलाई,
किनरे भन्दा धेरैमा खान्छन जानेछ चामलै ।।४३।।
यहात भाई नगरौं दुःख पकाउन खानाहै,
गर्मी छ फेरी खानु छ खाना हामीले दोकानमै ।
ति थोत्रा दोकान सडेको सब्जी तिनलाई मोजैभो,
ताजामा खान नपाय पनि तिनलाई भोजैभो ।।४५।।
उचाली भारी लौ लागौं भन्दै चल्दछन अगाडी,
उकाली लाग्छन जङ्गल बिचमा तराई पछाडी ।
गाउछन गित सुरुमा जोस पिठमा छ भारी,
थाक्दछन पछी उकाली लाग्दा भन्दछन हाईपनि ।।४६।।
उकाली तेर्सो वराली गर्दै बगर पुग्दछन,
ओराली मात दुख्दछन घुडा बस्नलाई खोज्दछन ।
पस्चिम हेर्दा छेननी सुर्य गयछ दिनपनि,
बस्नलाई राम्रो यहिछ ठाउँ मनले न भनी ।।४७।।
है साईला अब यहि बसौ बास भनेर बस्दछन,
बिसाई भारी दाउरा पानिको खोजिमा पस्दछन ।
गुन्द्रुक तिउन भलुकै पारी उमाली हाल्दछन,
आजत खाउँ चामलै भनी पकाउन थाल्दछन ।।४८।।
पत्कर माथि फिजाई बर्को घुप्लुक्क पल्टन्छन,
क्या मिठो निन्द्रा थाकेका सबै नतिनी चल्दछन ।
तिमाने दाईको सपनी मात सानीपो आईछ,
खोई बाबा मेरो किताब भन्दै सोधन लाइछ ।।४९।।
बिहानी पख मिरमिरै महा ल उठो भनेर,
जुरुक्क उठि चल्दछन भेरी सामान बोकेर ।
सिरसिर हावा सितलु छायाँ क्यामजा आउदैन,
बायामा रुख दायामा नदि कसले गित गाउदैन ।।५०।।
निधार थाक्छ राख्नलाई भारी ठाउत हुदैन,
एकछिन भारी थाम्नलाई भारी बस्ननी हुदैन ।
टेकाइ दिन्छन तोेकमा लाई डोकाको पिधमा,
पर्दैन भारी केहिपनि फेरी तिनको काधमा ।।५१।।
आउछ दुःख सुखको कहिले आउछ ठटेउली,
कहिले आउछ गितको भाका कहिले झयाउरी ।
कहिले गर्छन ठेकेदारको कुरा कहिले साहेबको,
कहिले गर्छन भारीको कुरा कहिले ज्यालाको ।।५२।।
भारीको ज्याला सरकारी रेटमा छ सय आउछरे,
बकिका पैसा सबैनै तिनले आफैपो पाउछनरे ।
के गर्नु बाबै कामछैन हाम्रो सकदैनौ नाई भन्न,
बध्यछौ हामि तिन चार सय दियको लाई मान्न ।।५३।।
तै पनि बाटो आउछहै भन्छन छुटने भो काम,
दुई चार पैसा कमाइ हुन्थ्यो आएन त्यो दाम ।
मरेनी भयो हामिले अब पुग्दैन खेतिले,
भारीमा आउछ गाडीमा अब बितायो तेतिले ।।५४।।
हे मुर्ख साईला के भन्या तैले गयकै रहेछस,
के गाडिमात्र आउछ भन्ने सोचेको रहिछस ।
बिकास पनि आउछ अब पाईन्छ काम जती,
सजिलै संग बसेर गर्ने पाईन्छ काम जती ।।५५।।
हे ठुले साईला तेइ मात्र हैन धेरैछन इलम,
गाई र भैसि पालांैला फैरी दुध बिक्छ या झन ।
बिदेशी मल र बिउपो आउछ गाडिमा खुरुरु,
सस्तैमा पाईन्छ खेतिमा लगी छरौला हुरुरु ।।५६।।
हाम्रात त छोरा र छोरी जान्छन स्कुल क्यम्पस,
गाडिमा जान्छन बिहान तिनी बेलुका घर बास ।
पर्दैन खेपी सहरमा बसी पढाउनलाई अब,
हुदैनौ हामी ती कप्तान बाबै भन्दामा कम अब ।।५७।।
हे माने दाई क्या मिठो कुरा ग¥यौनी तिमीले,
बाटो त हाम्रो मित्र पो रैछ बुझयौं ल हामिले ।
हाम्रो त उमेर बितेर गयो झाक्री र धामिले,
डाक्टर पनि आउछन होला देखौंला हामिले ।।५८।।
अब त कान्छा तईले पनि यो डोको फाल्ने भो,
गरेर काम बिकाश महा पाइन्ट हाल्ने भो ।
कहिले आउला त्यो मोटर गाडी कहिले देखौंला,
कहिले काई रनन गरी घुमन जाउँला ।।५९।।
उकाली तेर्सौ गड तिर गर्दै रात पो परीगो,
चौतारी रैछ तेई पर अनि यही बास हुने भो ।
थुप्रेनै हुन्छन चौतारी यहा धेरैले बनाको,
आफन्त मर्दा संझना स्वरुप तिनले बनाको ।।६०।।
अबत खोला नजिक छैन भिर पनि गहिराईमा,
सानोछ बाटो अप्ठेरो हुन्छ सुत्ननी जंगलमा ।
तयार हुन्छ तुरुन्त खाना सिस्नाको साथमा,
चिप्लोमा हुन्छ खानलाई मिठो लि ढिडो हाथमा ।।६१।।
यस्तैमा रीतले सुस्त सुस्त गरेर सात दिनमा,
पुग्दछन तिनी लिएर भारी साहेबको मुकाममा ।
बिसाई भारी हेर्दछन कोहो भारी मा बुझने,
पर्छ है रात पुग्नु छ घर डर हुन्छ लडने ।।६२।।
चाडैनै हुन्छ बुझने काम ठोक्डछन सहिछाप,
बुज्दछन बाकि रकम अनि चल्दछन टप टप ।
अनपढ छन बिचरा हरु थाहाछैन के गरे,
नियम कानुन यस्तै नै होला भनेर भन्ठाने ।।६३।।
हे माने दाई साहेब को भारी बुझाउदा अफिसमा,
दुई दिन बित्थ्यो बुझाई भारी रकम बुझदामा ।
आज चाहि चाडै भैहाल्यो काम जाउन घरतिर,
गैहालौं बजार चाडै गरेर झरौन तलतिर ।।६४।।
बेलुकि पख घरमा पुग्छन ति भरीया दाई,
देख्दैनन कतै यतार उती कान्छीर सानीलाई ।
का गय होलान भनेर हेर्दा तिपर आउदछन,
तिपर झाक्री हेरेर आको सुचना ल्याउदछन ।।६५।।
साईला दाईले निकै पो रक्सी खाएर आएछन,
छैननी चिन्ता घरको चाहि के कती पाएछन ।
बाउछोरा मिली चार सय मात्र मुकाममा पायमो,
छलेर हाम्लाई एक सयको रक्सीनै खायको ।।६६।।
हिजो नै मात्र गयो नि छोरो बाबा लाई पर्खेर,
चाडै नै अए जानेछु भनि बाबा लाई भेटेर ।
खुशि छौं खसम चाडै नै आयौ के छ नि खबर,
भोक लाग्यो होला रात पनि प¥यो जाउन लौ घर ।।६७।।
पकाई हाल्छु भातमा म त आराम गरनु,
बाउर छोरी भितर बसि गफसफ गरनु ।
कपडा पनि ल्याएको रैछ हाम्रीत सानीलाई,
भोलीनै दमाई कहा म जान्छु खुशिनै हुनेभै ।।६८।।
अबत पानी पर्छ नै हाला खेतिनी गरौला,
धेरै दिन बसी सबै काम सकी फेरी पो जाउँला ।
अबत सानी भन के छ खबर न्यास्रोपो लाग्योकी,
आमाले कती माया हो गरी गालीपो गरीकी ।।६९।।
तिमी लाई मात्र छोरीको माया लाग्छकी कसोहो,
जाउन खाना खानलाई अब तयार भयो पो ।
के कस्तो भयो बाटाको बास मिल्यो के खानलाई,
डरपो लाग्छ त्यो लामो बाटो संझेर मलाई ।।७०।।
नगरेस चिन्ता के के भो सबै जे भयो ठिकेैभो,
भरियाको जिबन धेरै को छनी हुने नै यस्तैहो ।
कतिपो होला बोकने भारी छुटलानी एकदित,
अवस्य पनि सन्तानको पिठमा देखदिन ।।७१।।
मलाई खसम कुरामा सुनी खुशीपो लाग्दछ,
लाग्दैन निन्द्रा मनमा के के खुल्दुली लाग्दछ ।
के हाम्रो छोरा सुट प्यन्ट लाई जागिर खालात,
हामिलाई पनि संगसंगै सहर घुमाउन लालात ।।७२।।
हम्रो त छोरा हाकिम हुन्छ नमान्न तपिर,
निदान अब बिहानै उठि जानु छ लेकतिर ।
तगाईत शहर मै लिई जाउँला कहिले जानेहोस,
एकसय मैले बचाइै ल्याछु सम्हाली राखिलेस ।।७३।।
………….समाप्त ………………
पुस्कर बिष्ट – भ्रम
यो सृष्टिकै कुरुप सिर्जना मान्छे हो जस्तो लाग्छ
मस्तिष्कको भ्रममा
विवेकको भ्रममा
चेतनाको भ्रममा
मान्छे यहाँ मान्छे हुन बिर्सेको छ
उधारेर आँखाहरुको झिल्ली
हावाको सतहमा रोप्ने प्रयत्न गर्दैछ मान्छे यतिखेर सपनाका भ्रमित फूलहरु ।
पक्रिएपछि भ्रमको आँचल
मान्छे इश्वर बन्छ
मान्छे सैत्तान बन्छ
पुरानो कुनै रुखको टोड्कामा देख्न
थाल्छ आफ्नै सभ्यताका अबशेषहरु र
बजाउन थाल्छ बेसुरो धून
जस्तो कि
दुर्योधन बजाइरहेथ्यो
महाभारतमा बाहुबलको भ्रमित मुर्च्छना
जस्तो की
दु:शासन खिचिरहेथ्यो
पांचालीको भ्रमित लाजको फेरो
भ्रमकै सिहासनमा बसेर
खाक गरेथ्यो रावणले आफ्नो लंका ।
भ्रमको चस्मा लगाएपछि
मान्छे रहँदैन मान्छे जस्तो
बिर्सिन्छ आफै उभिएको धरातल
पोैडन थाल्छ मिराजको सतहमा
जस्तो कि
म कविता लेख्नुको भ्रममा
गरिरहेको छु भावावेगको आत्महत्या
यार यस्तो लाग्छ भ्रम अन्तिम सत्य हो ।
सल्यान नेपाल
डा. सुरज निरौला – कोरोना, कमिला र अधिकार ।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
शक्तिशाली राष्ट्रहरुका सिर झुकायौ।
कत्तिको दुवै हात उठायौ त,
कत्तिको घुँडा टेकायौ ।
एकको विपत्तिमा,
अर्का तमाशा हाँस्नेहरुलाई
गोलो पृथ्वीमा सबैको पालो
घुमेर आउने पाठ पढायौ ।
पृथ्वीमा पापको घडा भरिए सङ्गै
मानिस आफूले नैं प्रलय र विनाश
निम्त्याउने शिक्षा दिलायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
कोरोनाको त्रासले कोठै भित्र
कुँजिएर पटक पटक अाफ्नै
अनुहार हेरायौ अनि
आफैलाई चिनायौ ।
केही हप्ते लकडाउन मै
आफ्नै ओैकात पनि प्रस्ट्यायौ ।
घर भित्र पुरुष, नारी भन्दा
कति असक्षम छन् भन्ने देखायौ ।
रेष्टुरेन्टका मिष्ठान परिकारमा अनि
व्यवसायिक महलका
कचमच खानामा रतिनेहरुलाई,
घरको दुई छाक भातको महत्व दर्शायौ ।
जागिरलाई बेचेको समयको भन्दा,
परिवारसँगको पल
कति मूल्यवान् रहेछ भन्ने सिकायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
पैसाको लागि जीवन बाजी थाप्नेहरु
भूईभरि पैसा छरे नी, वितेको जीवन
कहिल्यै नफर्किने ज्ञान दिलायौ ।
के धनी, के गरिब ! एक अर्काका करिब ।
के ठूला, के साना ! अाफैले फुटाएका भू-सिमाना ।
के गोरा, के काला ! तुच्छ सोचका मतवाला ।
के पूर्व, के पश्चिम ! सब् सिमाना विहिन ,
एउटै भूमण्डलका, एउटै मानव प्राणी
भन्ने प्रमाण दर्शायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।
भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
मलाई पैतालोमा सिद्रो कुचल्ने,
हे, भीमकाय मानव !
सानो जीवनको मूल्य अहिले थाहपायौ ?
म भन्दा नि सूक्ष्म जीवाणु कोरोनाको
खबर मात्रले लकडाउन् भित्रै
आज जिन्दगी गुम्स्यायौ ।
अभिमानी तिमी! अभिमानी तिमी,
आफ्नै कारण कैयौं जीवन गुमायौ।
हर जीव, पंक्षी, धर्म, जाती, पेशा, वर्ग
र हर मानव यहाँ समान र शक्तिशाली छन्
भन्ने कोरोना तिमीले पाठ सिकायौ।
म एक सानो कमिला !
के म एक सानो कमिला,
यो धरतीमा हिडने मेरो अधिकार होइन र?
जे होस् ! जे होस् , मेरो अधिकारको पनि
आज अनुभूति गरायौ ।
सर्वश्रेष्ठ प्राणी, मानव प्रति नै अाज,
मेरो चोरी अौंला ठड्यायौ ।
सब मनुष्यलाई कोठै भित्र
आज लकडाउन गरायौ ।
साधुवाद् छ कोरोना तिमीलाई ।
धन्यवाद ।
(वी.पी.को.स्वा.वि.प्र., धरान )
बिनोद गिरी – म मदिरा मातेको देख्छु
हो आजकल म मदिरा मातेको देख्छु
जता जान्छु, मदिरा मातिरहेको हुन्छ
कुनै योवनले भरिएकी सुन्दरी
अथवा अधबैंसे महिलालाई देखेर
सधैं मातिरहेको देख्छु मदिरा
सायद यो समय यस्तै भएर होला
जो कोहि मदिरामा चढिरहेको देख्छु
बुई बोकिरहेको देख्छु
मनको बह पोख्न होस्
वा लाली चढेको योवन देखाउन
जो कोहि मदिराको लतमा लागेको देख्छु
त्यसैले त आजकल म मदिरा मातिरहेको देख्छु
सुन्छु गाउँघर भट्टीहरुले ढाकिएको छ रे!
धनसँग तनहरु साँटिएका छन् अरे!
चोक चोकमा बसेर तन्नेरीहरु,
सिटि फुक्छन अरे!
बैंस चढेका तरुनीलाई देखेर,
आफ्नो स्वार्थ पूरा गर्न,
त्यसैले त म आजकल मदिरा मातिरहेको देख्छु
पिउन देखि हाकिमसम्म ल्वाठ्ठ हुन्छन् अरे
एकदुई प्याक लगाएर
स्वास्नी पिट्न पल्किएका धृष्टहरु
त्यही मदिरालाई जीवन ठान्छन् अरे
त्यसैले त म आजकल मदिरा मातिरहेको देख्छु
गाउँगाउँमा सहरसहरमा जताततै
दिनरात स्वदेशी विदेशी ब्राण्डका
खैरे, काले, गोरे, सबैलाई मिल्ने
कहिले कक्टेल बनाएर,
कहिले रम, व्हिस्की, बियर, वाईन
एक एक चुस्की लगाउँदै,
साथमा लोकल कुखुराको सितन लिएर
गाउँघर, सहरबजार मातिरहेको हुन्छ अरे
त्यसैले त आजकल म मदिरा मातिरहेको देख्छु।
चुनाव ताका दलका नेताहरुले
फ्रीमा खुवाएर मत माग्छन् रे,
मदिरामा बिक्ने मेरो समाज
कहिलेसम्म बिक्री हुनेछ हेर्न बाँकी नै छ
तर आजसम्म जति बिक्यो त्यसको परिणाम
तपाईं, मेरो सामु छर्लङ्ग स्वच्छ जल जस्तै छ
भ्रष्ट शासक अनि भ्रष्ट जनता मदिरामै मग्न देख्छु
त्यसैले त आजकल म मदिरा मातिरहेको देख्छु
नाम:-बिनोद गिरी (२०७६/१२/२३)
ठेगाना:- धादिङ बेेशी
लकडाउनका दिनहरु
वैद्यनाथ उपाध्याय – लॉकडाउनको आत्ममन्थन
देश र दुनियामा
जति नै लॉकडाउन भए पनि
मनभित्र कुनै लॉकडाउन
नहुँदो रहेछ।
समयले क्वारान्टाइनको
पाहाड उक्लदैं गरेको बेला
बिबिध आशंकाहरू पस्कँदैछन
समाचार माध्यमहरू
गरिबीको चोट झेलिरहेका
निमुखाहरूको दुख
कोरोना र लॉकडाउन बीच
हिंडिरहेछ बाटोभरी।
दुखमाथि
दुखै थपिएर धुमिल बनेको
मेरो आकाश
थाह छैन के सोचिरहेको होला!
हाम्रो विश्वास
मान्छे निश्चय सबल भएर
निस्कने छ
लॉकडाउनको आत्ममन्थनबाट…..
भोक
महामारीको सुतक परेको
यो घडीमा
पीर घनीभूत भएर
आकाश धस्किएको छ
मेरो आँगनभरि
झुल्के घाम सँगै
छाक टार्ने सामलको खोजिमा
भोकको जुलुस निस्किरहेछ
लॉकडाउनको छातिभरि
हामीले विश्वायनको
ऊकालो चढदै गरेको बेला
बुनियाद धस्किएर
लॉकडाउनमा घरभित्रै
आएर हामी समेटिएका छौं।
विश्वत्रास
कोरोना महामारी खनिएको
यो विकट स्थितिमा
हामी चिराचरित
भोक सँगनै लडिरहेका छौं।
खै,
मानव सभ्यताको विकास!
न्यूयर्कका वैभवशाली
अट्टालिकाहरूमा महामारीले
मान्छेको औकात
छामिरहेको बेला
हामी नेताहरूको आश्वासन
चपाएर
भोक टार्ने प्रयासमा छौं !
वैद्यनाथ उपाध्याय – पहल
दुनिया का असंख्य
पीडितहरू माझ
म आफ्नो पीडाको बोझ खोलेर
कस्लाई देखाउँ
सबै दुखी छन
सबै पीडित छन
यो दुख र पीडाको छछल्कोमा
को पो सग्लो छ र !
सबैलाई आ आफ्नै दुख
भारी छ।
सँधै आफ्नै दुख र पीडालाई
अधिक ठान्ने
यो मान्छेको जमातमा
आऊ! दुख,पीडा, लाचारीहरू सबै
हामी आपस्तमा
कुनै यस्तो पहल गरौं
जीवनलाई कुनै
सरल बाटोतर्फ डोऱ्याँऊ!