Bhairab Aryal – Mero Kukur Swarge Bho

भैरव अर्याल – मेरो कुकुर स्वर्गे भयो !

घुक्ने काम उसको अखवारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कसिए
झै-झगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्
या बिरालाले त्यसकमा सिंहदरबार सेकाउन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरुले समुद्र तारुन्
या सयौं बाज मिलेर एउटा परेवा मारुन्
मेरो कुकुरले चियो गर्ने छैन
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोक सभा गरौं
शोक प्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टमेट छ
मामा भानिज हो ! लौ अब एउटा टेण्डर देओ
स्मारक कालिमाटीको भए पनि हुन्छ
तर माटो किन्न हङकङ जानै पर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरुले
अलि-अलि पर्साद खानै पर्छ
जाने त गयो गै गयो
मेरो कुकुर स्वर्गे भयो !

कि ए वीर नेपाली हो आओ अब
यो मृत कुकुरको जुँघा उखेलौं
हामी सबका बिरामहरु लुकाउन
यो मूर्दाको टाउको फोरौं
साँच्चै भनेको मैंले, नपत्याए सी.आइ.डी. ज्यूलाई सोध्नोस्
बडा हाकिमले घूस ज्यूनार हुँदा
यसले रिकावी टोकेको थियो
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यति मात्र कहाँ हो र ?
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्य गँवारले ख्वाङ् ख्वाङ् खोकेको थियो
अझ भनूँ भने पाण्डवहरु बैकुण्ठ जाँदा
यही कुकुरको जिजु बाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भ मुनि गुँडुल्किएर
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रर
बफादारीको विगुत लगाउने यो खिच्चो
साँच्चै मूर्ख थियो महामूर्ख
त्यसैले त पुण्यात्माहरुको शिकार भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !

Bhairab Aryal – Aatma Sitar

भैरव अर्याल – आत्म-सितार

असँख्य प्रश्न-प्रश्नको समष्‍टि एक प्रश्न भै
तिमी कता लुकिदियौ मलाई अल्मलाउँदै
थियो कि कामना कसो – हराई जाउँ मै पनि
हताश, निःसहाय भै बिलाउँ शून्य नै बनी ।

म किन्तु के हराउँथे ? छ जोश, होश हिम्मत
मथेर व्यर्थता पनि म अर्थ झिक्छु शाश्वत
हजार युद्द हुन यहाँ, फुटून हजार नै बम
मलाई मेट्न सक्छ को? छु जो विनाश हुन्न म ।।

मलाई चिन्दछ्यौ तिमी ? म सिर्जना-सितार हूँ
अनन्तसम्म तन्किँदो अनादिको म तार हूँ
म बज्छु झन्झनाउँदै समस्त सौरम्ण्डल
जहाँ तिमी लुकिरहू म खिच्न सकछु त्यो दिल ।।

प्रचण्ड तेज हूँ म जो स्वयं दिमाग बाल्दछु
कुहिरिँदो आकाशमा म ज्योति-पंख चाल्दछु
म कान्त कान्तिको पनि सिन्दुर हाल्छु जूनमा
छु ईश ई्शको पनि, म पूर्ण बन्छु न्युनमा ।।

म एक खोज हूँ स्वयं छ ध्येय खालि खोजकै
म खोज्न छाड्द्थेँ र के? छ खोज रोज-रोजकै
तिमी जहाँ पुगे पनि, त्यहाँ म आइछाड्द्छु
तिमी जतासुकै रहू, म भोलि पाइछाड्द्छु ।।

(कविता वर्ष २,अँक २, २०२२)

Bhairab Aryal – Karinda

भैरव अर्याल – कारिन्दा

उठ्
पुछ्
खा
चुठ्
दुगुर्–दुगुर्
स्वाँ–स्वाँ
बस् धस्
हस् हजुर
लुखुर–लुखुर
स्याँ–स्याँ
तिहुन तमाखु थप
पापाको संसार
ऐजन ऐजन लम्पसार ।

Bhairab Aryal – Khol

भैरव अर्याल – खोल

अस्पतालको सगाल पलङमा
सेतो सुकिलो ओच्छ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा विच्छौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम
खोपीभित्रको शैय्या जस्तो ।

तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।

ती सुकिला खोलहरूभित्र
कति थाङ्ना ती सिरह डसना
टाल्दैतुन्दै छोप्पिरहेको,
सयौं वर्षको अवशेषपना
छ्या! छ्या!! देख्दै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिन लाग्दो
दिशापिशाबले कुहिँदा पाटा
देख्दछ जब यो रोगी
अनि पो खुल्दछ उसमा भित्री पोल
नब्य झैँ लाग्ने, भव्य झैँ लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगी
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।

तर नारी समाई भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाइले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।