Bhairab Aryal – Aatma Sitar

भैरव अर्याल – आत्म-सितार

असँख्य प्रश्न-प्रश्नको समष्‍टि एक प्रश्न भै
तिमी कता लुकिदियौ मलाई अल्मलाउँदै
थियो कि कामना कसो – हराई जाउँ मै पनि
हताश, निःसहाय भै बिलाउँ शून्य नै बनी ।

म किन्तु के हराउँथे ? छ जोश, होश हिम्मत
मथेर व्यर्थता पनि म अर्थ झिक्छु शाश्वत
हजार युद्द हुन यहाँ, फुटून हजार नै बम
मलाई मेट्न सक्छ को? छु जो विनाश हुन्न म ।।

मलाई चिन्दछ्यौ तिमी ? म सिर्जना-सितार हूँ
अनन्तसम्म तन्किँदो अनादिको म तार हूँ
म बज्छु झन्झनाउँदै समस्त सौरम्ण्डल
जहाँ तिमी लुकिरहू म खिच्न सकछु त्यो दिल ।।

प्रचण्ड तेज हूँ म जो स्वयं दिमाग बाल्दछु
कुहिरिँदो आकाशमा म ज्योति-पंख चाल्दछु
म कान्त कान्तिको पनि सिन्दुर हाल्छु जूनमा
छु ईश ई्शको पनि, म पूर्ण बन्छु न्युनमा ।।

म एक खोज हूँ स्वयं छ ध्येय खालि खोजकै
म खोज्न छाड्द्थेँ र के? छ खोज रोज-रोजकै
तिमी जहाँ पुगे पनि, त्यहाँ म आइछाड्द्छु
तिमी जतासुकै रहू, म भोलि पाइछाड्द्छु ।।

(कविता वर्ष २,अँक २, २०२२)