Dr. Suraj Niraula – Corona, Kamilaa Ra Adhikaar

डा. सुरज निरौला – कोरोना, कमिला र अधिकार ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
शक्तिशाली राष्ट्रहरुका सिर झुकायौ।
कत्तिको दुवै हात उठायौ त,
कत्तिको घुँडा टेकायौ ।
एकको विपत्तिमा,
अर्का तमाशा हाँस्नेहरुलाई
गोलो पृथ्वीमा सबैको पालो
घुमेर आउने पाठ पढायौ ।
पृथ्वीमा पापको घडा भरिए सङ्गै
मानिस आफूले नैं प्रलय र विनाश
निम्त्याउने शिक्षा दिलायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
कोरोनाको त्रासले कोठै भित्र
कुँजिएर पटक पटक अाफ्नै
अनुहार हेरायौ अनि
आफैलाई चिनायौ ।
केही हप्ते लकडाउन मै
आफ्नै ओैकात पनि प्रस्ट्यायौ ।
घर भित्र पुरुष, नारी भन्दा
कति असक्षम छन् भन्ने देखायौ ।
रेष्टुरेन्टका मिष्ठान परिकारमा अनि
व्यवसायिक महलका
कचमच खानामा रतिनेहरुलाई,
घरको दुई छाक भातको महत्व दर्शायौ ।
जागिरलाई बेचेको समयको भन्दा,
परिवारसँगको पल
कति मूल्यवान् रहेछ भन्ने सिकायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
पैसाको लागि जीवन बाजी थाप्नेहरु
भूईभरि पैसा छरे नी, वितेको जीवन
कहिल्यै नफर्किने ज्ञान दिलायौ ।
के धनी, के गरिब ! एक अर्काका करिब ।
के ठूला, के साना ! अाफैले फुटाएका भू-सिमाना ।
के गोरा, के काला ! तुच्छ सोचका मतवाला ।
के पूर्व, के पश्चिम ! सब् सिमाना विहिन ,
एउटै भूमण्डलका, एउटै मानव प्राणी
भन्ने प्रमाण दर्शायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
मलाई पैतालोमा सिद्रो कुचल्ने,
हे, भीमकाय मानव !
सानो जीवनको मूल्य अहिले थाहपायौ ?
म भन्दा नि सूक्ष्म जीवाणु कोरोनाको
खबर मात्रले लकडाउन् भित्रै
आज जिन्दगी गुम्स्यायौ ।
अभिमानी तिमी! अभिमानी तिमी,
आफ्नै कारण कैयौं जीवन गुमायौ।
हर जीव, पंक्षी, धर्म, जाती, पेशा, वर्ग
र हर मानव यहाँ समान र शक्तिशाली छन्
भन्ने कोरोना तिमीले पाठ सिकायौ।
म एक सानो कमिला !
के म एक सानो कमिला,
यो धरतीमा हिडने मेरो अधिकार होइन र?
जे होस् ! जे होस् , मेरो अधिकारको पनि
आज अनुभूति गरायौ ।
सर्वश्रेष्ठ प्राणी, मानव प्रति नै अाज,
मेरो चोरी अौंला ठड्यायौ ।
सब मनुष्यलाई कोठै भित्र
आज लकडाउन गरायौ ।
साधुवाद् छ कोरोना तिमीलाई ।
धन्यवाद ।
(वी.पी.को.स्वा.वि.प्र., धरान )

3 thoughts on “Dr. Suraj Niraula – Corona, Kamilaa Ra Adhikaar”

  1. निकै राम्रो कविता / पढेर खुसि लग्यो /

Comments are closed.