Baidyanath Upadhyaya – Bhok

भोक

महामारीको सुतक परेको
यो घडीमा
पीर घनीभूत भएर
आकाश धस्किएको छ
मेरो आँगनभरि

झुल्के घाम सँगै
छाक टार्ने सामलको खोजिमा
भोकको जुलुस निस्किरहेछ
लॉकडाउनको छातिभरि

हामीले विश्वायनको
ऊकालो चढदै गरेको बेला
बुनियाद धस्किएर
लॉकडाउनमा घरभित्रै
आएर हामी समेटिएका छौं।

विश्वत्रास
कोरोना महामारी खनिएको
यो विकट स्थितिमा
हामी चिराचरित
भोक सँगनै लडिरहेका छौं।

खै,
मानव सभ्यताको विकास!

न्यूयर्कका वैभवशाली
अट्टालिकाहरूमा महामारीले
मान्छेको औकात
छामिरहेको बेला
हामी नेताहरूको आश्वासन
चपाएर
भोक टार्ने प्रयासमा छौं !