Dr. Suraj Niraula – Corona Le Lockdown Jindagi

डा. सुरज निरौला – कोरोनाले लकडाउन जिन्दगी

जीवहरुमा सर्वश्रेष्ठ प्राणी,
यो झालझेल, यो लुछातानी
अनि भागदौड,
कहाँ पुग्नलाई तिमी दौडिदैछौ ।
मैले तिमीलाई लगे पनि,
अरु नै वाहानाले ताने पनि
सबै त्यही नै त पुग्दैछौ ।
अाधुनिकता सगैँ किन
अाफुले अाफुलाई भुल्दैछौ ?
त्यसैले त मानिस अाज
मानिस देखि लुक्दैछौ ।

चिकित्सकहरू व्यापार गर्छौ,
विरामीलाई ग्राहक बनाउछौ ।
उपचार सेवा छोडेर राजनीति गर्छौ ।
व्यापारीहरु नाफा कुम्ल्याएर
राजनीति थाल्छौ र देश चलाउछौ ।
अनि,
बुद्धू नेताहरु टेवलमुनि लेनदेन गर्छौ,
बुद्धिजिवीहरुको नेतृत्व गर्छौ,
देशलाई विकास गर्छु भन्छौ ।
जनताको सेवा चाहिँ कहिले गर्छौ ?
भो अब,
तिम्रो व्यापार बन्द गर
तिम्रो सेवा बन्द गर ।
तिम्रो राजनीति पनि बन्द गर ।
तिम्रा स्वार्थी जमातहरु फुटाऊ,
जाउ घरै भित्रै बन्दी बन।
अाफूलाई एक कैदी बनाऊ ।
तिम्रो गतिविधि रोक्न परेको छ ।
किनकी यहाँ लकडाउन चाहिएको छ ।

ज्यादती तिम्रो चुलिएर अकासियो,
तिम्रो चलखेल धेरै बढ्यो,
सक्छौ भने
घडिको सुई धरि लक गरिदेऊ ।
दुरी त पहिले देखि नै
टाढा थियो मानिसको,
म अाए, झनै टाढिने भयौ ।
खबरदार !
जो जहाँ छौ, त्यही रोक,
टक्क टक्क !
एकपटक सोच, अाफूलाई धिक्कार ।
केही नगर, बस् तिमी
अन्तरमनको यात्रा गर ।

अाफ्नै अनुहार हेर,
अाफूलाई परिवर्तन गर,
मानिस बन, सर्वश्रेष्ठ बन ।
अाफ्नो जस्तै अरुको
जीवनको मूल्य सम्झ ।
सहयोगी बन, अरुको कदर गर ।
शुद्ध मनले मानव सेवा गर ।
तिम्रो मुल्याङ्कन गरिने छ ।
जब म हार्ने छु,
तिम्र‍ो लकडाउन खोलिने छ ।
भोलि फेरि मानवता फिर्नेछ ।
म आफै हराउने छु ।
कोरोना एक ईतिहास बन्ने छ ।
कोरोनाले लकडाउन जिन्दगी
फेरि चल्ने छ ।
धन्यवाद ।
(वी.पी.को.स्वा.वि.प्र., धरान )

Baidyanath Upadhyaya – Lockdown Ko Aatma Manthan

वैद्यनाथ उपाध्याय – लॉकडाउनको आत्ममन्थन

देश र दुनियामा
जति नै लॉकडाउन भए पनि
मनभित्र कुनै लॉकडाउन
नहुँदो रहेछ।

समयले क्वारान्टाइनको
पाहाड उक्लदैं गरेको बेला
बिबिध आशंकाहरू पस्कँदैछन
समाचार माध्यमहरू

गरिबीको चोट झेलिरहेका
निमुखाहरूको दुख
कोरोना र लॉकडाउन बीच
हिंडिरहेछ बाटोभरी।

दुखमाथि
दुखै थपिएर धुमिल बनेको
मेरो आकाश
थाह छैन के सोचिरहेको होला!

हाम्रो विश्वास
मान्छे निश्चय सबल भएर
निस्कने छ
लॉकडाउनको आत्ममन्थनबाट…..

Baidyanath Upadhyaya – Bhok

भोक

महामारीको सुतक परेको
यो घडीमा
पीर घनीभूत भएर
आकाश धस्किएको छ
मेरो आँगनभरि

झुल्के घाम सँगै
छाक टार्ने सामलको खोजिमा
भोकको जुलुस निस्किरहेछ
लॉकडाउनको छातिभरि

हामीले विश्वायनको
ऊकालो चढदै गरेको बेला
बुनियाद धस्किएर
लॉकडाउनमा घरभित्रै
आएर हामी समेटिएका छौं।

विश्वत्रास
कोरोना महामारी खनिएको
यो विकट स्थितिमा
हामी चिराचरित
भोक सँगनै लडिरहेका छौं।

खै,
मानव सभ्यताको विकास!

न्यूयर्कका वैभवशाली
अट्टालिकाहरूमा महामारीले
मान्छेको औकात
छामिरहेको बेला
हामी नेताहरूको आश्वासन
चपाएर
भोक टार्ने प्रयासमा छौं !