Binod Giri – Ma Madiraa Mateko Dekhchhu

बिनोद गिरी – म मदिरा मातेको देख्छु

हो आजकल म मदिरा मातेको देख्छु
जता जान्छु, मदिरा मातिरहेको हुन्छ
कुनै योवनले भरिएकी सुन्दरी
अथवा अधबैंसे महिलालाई देखेर
सधैं मातिरहेको देख्छु मदिरा

सायद यो समय यस्तै भएर होला
जो कोहि मदिरामा चढिरहेको देख्छु
बुई बोकिरहेको देख्छु
मनको बह पोख्न होस्
वा लाली चढेको योवन देखाउन
जो कोहि मदिराको लतमा लागेको देख्छु
त्यसैले त आजकल म मदिरा मातिरहेको देख्छु

सुन्छु गाउँघर भट्टीहरुले ढाकिएको छ रे!
धनसँग तनहरु साँटिएका छन् अरे!
चोक चोकमा बसेर तन्नेरीहरु,
सिटि फुक्छन अरे!
बैंस चढेका तरुनीलाई देखेर,
आफ्नो स्वार्थ पूरा गर्न,
त्यसैले त म आजकल मदिरा मातिरहेको देख्छु

पिउन देखि हाकिमसम्म ल्वाठ्ठ हुन्छन् अरे
एकदुई प्याक लगाएर
स्वास्नी पिट्न पल्किएका धृष्टहरु
त्यही मदिरालाई जीवन ठान्छन् अरे
त्यसैले त म आजकल मदिरा मातिरहेको देख्छु

गाउँगाउँमा सहरसहरमा जताततै
दिनरात स्वदेशी विदेशी ब्राण्डका
खैरे, काले, गोरे, सबैलाई मिल्ने
कहिले कक्टेल बनाएर,
कहिले रम, व्हिस्की, बियर, वाईन
एक एक चुस्की लगाउँदै,
साथमा लोकल कुखुराको सितन लिएर
गाउँघर, सहरबजार मातिरहेको हुन्छ अरे
त्यसैले त आजकल म मदिरा मातिरहेको देख्छु।

चुनाव ताका दलका नेताहरुले
फ्रीमा खुवाएर मत माग्छन् रे,
मदिरामा बिक्ने मेरो समाज
कहिलेसम्म बिक्री हुनेछ हेर्न बाँकी नै छ
तर आजसम्म जति बिक्यो त्यसको परिणाम
तपाईं, मेरो सामु छर्लङ्ग स्वच्छ जल जस्तै छ
भ्रष्ट शासक अनि भ्रष्ट जनता मदिरामै मग्न देख्छु
त्यसैले त आजकल म मदिरा मातिरहेको देख्छु

नाम:-बिनोद गिरी (२०७६/१२/२३)
ठेगाना:- धादिङ बेेशी
लकडाउनका दिनहरु