बिकु लामा – देश खोजिरहेछु
गौंथलीका बच्चाहरू
गुँड छाडेर कतै
अस्थायी बसाइँ सरेका छन
गुँड छाडनु अघि
चराले पनि मन दुखाउँदो रहेछ ।
जस्तो कि
आँखाबाट सपना हराउँनु
मनबाट समवेदना हराउँनु
गीतबाट लय हराउनु
शायद लाग्दो हो मलाई जस्तै
जुन र घामको झैं दुरीको आभास
देशछाडी जानेहरूलाई
अब ऊ
देशको नक्साबाट ओझेल पर्दैजान्छ ।
यो सपनाको शहर
मेरो घर जस्तो लाग्दैन मलाई
घरवार बिहिन भएकोछु म तिम्रो देशमा
तिम्रो गगनचुम्वी महलहरूको देश
तिम्रो समुन्द्र नै समुन्द्रको देश
मलाई कहिल्यै छुदैनन यी कृत्रिम सौन्दर्यताले
हो यतिबेला
म मेरै देशको
सगरमाथा सम्झेर रोइरहेकोछु ।
तिम्रो आधुनिक शहरमा
कहिल्यै फुल्दैनन लाली गुँरास
कहिल्यै उड्दैनन शान्तिका परेवा
कहिल्यै बज्दैन सदभावको गीत ।
एउटा सपना पुरा गर्न पनि
हजारौ सपनाहरूको विनिमय गर्नुपर्छ यहाँ
तिम्रो देशमा त
पत्थर जस्ता मान्छेहरू
मेरा पीडामाथी अट्टाहस गर्छन्
कागजका फुल जस्तै मान्छेहरू ।
अव म,
हतारिएको छु देश फर्कन
राष्ट्रियता भन्दा ठुलो
हैन रहेछ सुनको दरवार
हैन रहेछ पैसाका बिछ्यौना
झिलिमिली रोबर्ट्को देशबाट
देखिरहेकोछु म हरेक रात
मेरी आमाको सपना
साँच्चै म यो परदेशबाट
मेरो देश खोजिरहेछु ।