तिमी,
कलेजोमा
यसरी जाक्कियौ
अझ भित्रहालूँ – दुख्छ !
बाहिर निकालूँ – दुख्छ !!
Tag: Nepali Poems Blog
Shiva Gautam – Naya Purana Bata Haru
शिव गौतम – नयाँ पुराना बाटाहरु
कहिले म,
कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा
आँफैलाई छर्दै हिंड्छु
आँफैलाई छोड्दै हिंड्छु
आँफैलाई राख्तै हिंड्छु
दृश्यहरुमा, सल्लाका सुसाईहरुमा
डाँडाका टु्प्पाका बादलहरुमा
बाटाका चिया पसलहरुमा।
अनि फेरि कहिले म,
पहिल्यै हिंडिसकेका उनै बाटाहरुमा
आफैलाई खोज्दै हिंड्छु
आँफैलाई बटुल्दै हिंडछु
उनै दृश्यहरुमा, उनै सुसाईहरुमा
उनै बादलहरुमा, उनै चिया पसलहरुमा।
तर हरेक पल्ट ठ्याक्कै उस्तै हुँदैन,
कतै न कतै, केहि न केहि फरक पाउँछु,
कतै नयाँ पहिरो
कतै नयाँ डढेलो;
कहिले डाँडामा बादल हुँदै हुँदैन
कतै आँफैलाई भेट्छु, कतै भेट्तै भेट्दिन;
जहाँ भेट्छु, जीवन्त अनुभव गर्छु
जहाँ भेट्दिन, जीवन-अन्त अनुभव गर्छु;
जहाँ भेट्छु, रमाउँछु
जहाँ भेट्दिन, आँखाभरी रसाउँछु।
(Sent to Sanjaal Corps Via Email)
Kumar Simkhada – Awahan
कुमार सिंखडा – आह्वान
देखें
यो धरातलको छाती देखें
घामको पहिलो किरण देखें
दिनको अन्तिम गोधूली देखें
भेटें
मनका धनी मित्र भेटें
पसिनामा रम्ने भेटें
आँधीसँग लड्ने भेटें
तैपनि
फर्कन्छु यही टाकुरामा
सुनगाभाको फुलबारीमा
मृग भुल्ने वन घारीमा
तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा
जीवन यो
ज्ञान खोज्ने कहानी हो
हरपल फुल्ने जवानी हो
बगिजाने पानी हो
त्यसैले
अमरज्ञानको ध्वनि बजाऊँ
पलपल गति जगाऊँ
शान्तिको सन्देश फैलाऊँ
मिलिजुली
आँसु झर्ने कोसीतिरमा
तोरी फुल्ने फाँट र भीरमा
धरतीको यो उच्च-शीरमा
तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा
आऊ
यी माटो मल्ने हात मिलाऊँ
अटुट अमर साथ मिलाऊँ
तिम्रो मेरो शक्ति मिलाऊँ
फुलाऊँ
प्रीत फुल्ने फूल फुलाऊँ
सदा खुसी मन फुलाऊँ
पौरखताले सुन फुलाऊँ
मिलिजुली
मधेशको फाँटफाँटमा
कर्णालीको गोठगोठमा
मुस्ताङ्को खोंचखोंचमा
तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा
Laxman Gamnage – Rastiryata..Ye Kata?
लक्ष्मण गाम्नागे – राष्ट्रिय ए…कता ?
कुर्सी यता, कमिशन यता
मुलूक डूबाउने मिशन यता
अदालत मालपोत र भन्सार यता
जाँडपानी र जूवातासको संसार यता
यता हो यता
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे !
कलेँटी परेका ओठ चाट्तै
काखीमा छेरपाटे लागेको छोरो च्यापेर कता ?
बडेबडे भुँडीहरू यता, भुँडीहरूको मिटिङ यता
सिटिङ इटिङ एण्ड ड्रिङ्किङ यता
तेरो अनूहार देखिने कार यता
चौरासी व्यञ्जनको खार यता
अमेरिका यता, जापान यता
डलरमा पोक्याएको मिठा पान यता
यता हो यता
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे !
हनुमान कट्टु हावामा हल्लाउँदै
मट्टितेलको रित्तो ग्यालिन बोकेर कता ?
राम यता, विभिषण यता
मान अलड्ढार र विभूषण यता
दरवार यता, तरवार यता
भ्रष्टशिरोमणिहरूको घरवार यता
पुरानो सत्ता यता, नयाँ सत्ता यता
दुवै सत्ताको साझा तलब भत्ता यता
झण्डा यता, डण्डा यता
सुनचाँदीका अण्डा यता
यता हो यता
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे !
पञ्चरङ्गी जुँगामा ताउ लगाउँदै
सुकेनास लागेकी स्वास्नीको हात समातेर कता ?
Yuddha Prasad Mishra – Bhoka Ra Nanga Utha
युद्धप्रसाद मिश्र – भोका र नांगा उठ
ए कंकाल दरीद्रता बीच डुबेका जाग भाइ अब
ए लाखौं झुपडी भई उठ लडका देशबासी सब
तोडी दुर्ग दिने महाप्रलयको दुधर्ष आँधी उठ
व्यक्तिवाद समूल नष्ट गरने ब्याधी उपाधी उठ
खोक्रा पेट अनाज भेट नहुने भोका र नांगा उठ
कोदाला उठ बञ्चरा र हँसिया नाम्ला र डोका उठ
साहूका करकापका कठिनता भोग्नेहरू हो उठ
ताकेका जिमिदारले युवतीका लोग्नेहरू हो उठ
बाँच्ने साधन अन्नपात लुटिएका ए दिवाला उठ
शोषेका अरुले रगत् र पसिना हड्डी र छाला उठ
हुर्मत छोप्न परेर केवल भिरेक जिर्ण टाला उठ
रित्ता वर्तन जाग जाग चुहने नङ्ला र डाला उठ
पाशो मस्किन राजनैतिक गई मर्नेहरू हो उठ
आर्थिक संकटले जुनी तल तलै झर्नेहरू हो उठ
गर्नु साग र सिस्नुबाट जिविका पर्नेहरू हो उठ
शत्रुका हितमा शरीर पसिना गर्नेहरू हो उठ
२०४०
(संकल्प पूर्णाङ्क ४८-५२)
Aryabiman Chitrakar – Marda Hun
आर्यविमान चित्रकार – मर्द हुं
म घमण्डी हुं, छु अभिमानी
लोकले जानुन,ती आफै अज्ञानी
यस्तै हुं म,एक स्वाभिमानी
जल्छु बरु झुकिन्न
बोल्छु बरु रुकिन्न
मर्द हुं थाकिन्न
छोरा मान्छे हुं
मार्छु बरु मरिन्न….
तेलमा भिजेको कपास हुं
आफु बल्छु तर
सबैलाई न्यानो दिन्छु
आंधी-तुफान हुं
आफ्ना अधिकार नभए
बरु खोसेरै लिन्छु
छोरा मान्छे हुं
आफ्नो पौरख जान्छु
एटलस हुं
धर्तीमा बसेर आकाश थाम्छु
शिव शंकर हुं
तिम्रालागि कालकुट निल्छु
आफु हारेरपनि केवल
तिमि जितेको हेर्छु
छोरा मान्छे हुं
आफ्नै हारमा रमाउछु……..
दन्केको आगो हुं
सीमाहीन मेरा आकार
तिम्रा एक ‘आत्था’ संग झस्किन्छु
रुद्र जब मेरा अवतार
तँलाई चुलोमा सल्काई
तेरै आहार पस्किन्छु
तर पनि मर्द हुं
आफै संयम हुन्छु…….
अमोघ वर्षा हुं
तिमि बाँझो हुन्नौ
हृदय मेरो बिशाल
एक पटक छुन्नौ??
हासेर माग,
आफ्नै मुटु पनि दिन्छु
चुनौती दिन्छौ..
तेरो कलेजो पनि खान्छु
छोरा मान्छे हुं
आफ्ना कर्तव्यलाई मान्छु
मर्द हुं, नडराऊ
सबै सम्हाल्छु !!!!!!
छोरा मान्छे हुं
आँशु लुकाएर पनि
हंसिदिएको छु
मर्द हुं
तिम्रा खुसीका लागि
आफैलाई मास्सिदिएको छु
रोएर पनि हासेको छु
हारेर पनि हासेको छु
घमण्ड गर्छु आफैमा
छोरा मान्छे भएको छु !!!!!!!!!!!!
Moti Ram Bhatta – Yeta Heryo Yetai Mera (Nepali Gajal)
मोतीराम भट्ट – यता हेर्यो यतै मेरा (गजल)
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।
यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा
जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।
त्रिलोक चौधै भुवन् माहाँ प्रभु प्यापक जहाँ ताहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा राम प्यारा छन् ।
रसीलो रामको नाउ भजन् तिन्को सधैं गाउ,
दरस्मो हर्बखत पाउ दयालू राम प्यारा छन् ।
पियारा भै हरी मेरा सधैं मन्मा रहुन् डेरा,
सबै संसारले भन्छन् र मातीराम प्यारा छन् ।
Nawaraj Subba – Bhir Ko Chindo
नवराज सुब्बा – भीरको चिण्डो
तेञ्जिङ शेर्पा खोज्दै
चुचुरो चढ्दा
यस्तो लाग्यो
यो त
भीर पो रहेछ
एउटा नमीठो पीर
जहाँ म जन्मे, बढें
र कहिले अलि माथि पुगें, हाँसे
घरिघरि लडें अनि रोएँ
तैपनि आजसम्म
भीरदेखि डराएर म कतै भागिन
माया मारेर अन्यत्र पनि लागिन
निरन्तर चढें, बढें, र
अन्ततः फलें
एउटा भीरमा
चिण्डो भएर
र अड्किएँ पीरमा
कसलाई थाहा होला ?
मेरो अवतरण या मेरो मृत्यु
अनि यो भीर या पीरमा
के फरक छ ?
अनि हाम्रो
गन्तव्य र चिण्डो
किन उस्तै उस्तै देखिन्छ ?
Asha Rai – Ma Euta Sojho Hali
आशा राई – म एउटा सोझो हली
म मेरो नामबाट कहाँ चिनिन्छु र ?
सादर भाब राखी मलाई को बाट बोलाइन्छ र ?
हात मुख जोर्न खर्चिन्छु पसिना म,
रात दिनै अर्काकै धर्तीमा..
जति दु:ख गरेनि मन खुशी पार्न गार्हो छ साहुको,
धनको धनी भएपनि म त साँचै गरीब छ उनको..
काम चाँही देख्दैनन्, दाममा भने आँखा गाँढेकै छ..
उस्तै हिजो थियो कम्लहरिको कथा,
आज पनि त्यस्तै दासीको ब्यथा सल्बलाइरहेकै छ..
समाज हुर्किरहेकै छ शोषित बर्गबाट,
जसरी तसरी गरीब निमुखाहरुलाई,
खुट्टा मुनि राख्ने चलन अझै पनि जारी नै छ।
लम्किन्छु हलो,जुवा र हँसियाका साथ बिहानी घामसगैँ,
र पाथी बोकी फर्किन्छु खरको छानामा,
जुनको उज्यालोसगैं भोलिको आशामा..
जहान बच्चा पर्खि बस्छन मलाई,
मुख ताकी बस्छन मेरो,पेटको भारी बिसाउनलाई..
म नहुँदो हो त, त्यो माटोको अगेना पनि
सुनसान भैइ टोलाइरहन्थ्यो होला..
अरु त त्यस्तै भयो,
भोकको तिर्सना पनि पानीले मेटाउदैं
निदरीको काखमा गुटुमुटु हुन नि धौ-धौ पर्थ्यो होला..
सुनेको छु,देखेको छु मैले पनि संसार,
मानिसहरु भब्य बंगलाहरुमा,
ती बिलासीताका बस्तुहरुसँग रमाइरहेका छन..
आफुलाई हेर्यौ यतै प्वाल्,उतै प्वाल,
बर्षामा पानी चुहिएर ठाउँ ठाउँमा
कुचिएका भाँडा थाप्नुपर्ने..
जाडोहरुमा ती कठोर शितहरुसगँ,
न्यानो कपडाहरु बिना काँपिरहनु पर्ने..
अरु बच्चाहरु कापी कलम च्यापी स्कुल जाँदै गर्दा,
कठै! मेरो नानीहरु त्यो भत्केको आँगनको डिलमा बस्दै
टुलुटुलु ओझेल नपरुन्जेल हेरिरहन्छन..
ति अबोध र निर्दोष बालपनलाई
मैले चाहेर नि सिङार्न नसक्दा,
मेरो मन त्यसै त्यसै भक्कानिन्छ..
गर्न सम्म दु:ख गरेकै छु, घाम्, पानी, जाडो केही नभनि
न चोरेको छु, न त कसैलाई ढाँटेर बाँचेको छु..
दिन प्रतिदिनको कथा उस्तै, ब्यथा त्यस्तै
दुई छाक टार्न पनि मलाई यस्तो पिर,
गर्न सक्दिन म पुरा यिनका आधारभुत आवश्यकताहरु..
म सोच्न वाध्य छु अहिले,
मैले थानेको थिएँ, यिनिहरु मै मेरो सामर्थ्य हुन..
तर मैले कसरी भुले मेरो कटु सत्य?
म एउटा मात्र बिबश हली..
जो बन्चित छ, समानताको आवाजहरुबाट
जो लुटिएको छ, आफ्नै जिन्दगी, सपना र रहरहरुबाट
जो कोसौ टाढा छ, सुख, शान्ती र सुनौलो भबिष्यबाट
जो गरिबिको रेखामुनि जिबन गुजारिरहेको छ..
जो सामन्तीहरुको थिचोमिचोमै पिल्सिरहनु परेको छ..
जो पसिनाको खोला बगाइ एक पाथी चामलकै निम्ती,
सारा जिबन ओझेलमा पार्नु परेकै छ..
र म बाँचिरहन्छु उस्तै गरी अनि मेरा सन्तानहरुले
मेरै बिडोँ नथामी कहाँ सुख पायो र ?
त्यही बाँच्नु र बचाउनुको पिडामा त अड्किरहनु परेको छ..
परिवर्तनका ढोकाहरु हाम्रो पहुँचमा कहाँ पुग्नु?
अझै आफ्नो पहिचान गुमाउनु छदैँछ..
उज्यालो गोरेटाहरुको सिर्जना कसरी गर्नु ?
म कालो अक्षर भैंसी बराबर जस्तै छु..
नियम कानुनका किताबहरु मलाई के थाहा?
त्यो एकमुठी सास धान्नमा नै म ब्यस्त हुनुपरेको छ..
जिबनस्तर उकास्ने बिभिन्न सैदान्तिक र व्याबहारिक
तरिकाहरुले मलाई कसरी छुन्छ र?
म केबल अरुको सुन्नु र आदेश मान्नुमा नै
कर्तब्यनिष्ठ ठहर्नु परेको छ..
अनि भनन मेरा अनन्त बिरह र बिलौनाहरु सुन्ने कसले?
जो अरुको निम्ती आजको एक्काइसौँ शताब्दीमा,
मात्र एउटा अनपढ, पाखे, झुत्रे गाउँलेको रुपमा चिनेको छ..
त्यसैले म सधैं झै ती निराशाका बादलहरुमा रुम्मलिदैँ,
कहिले चाहेर जिबन बाँच्न चाहन्छु..
र कहिले नचाहेर पनि हाँस्न चाहन्छु..
त्यही खेतका डल्लाहरुसँग..
त्यही हँसिया र कुटो कोदालो हरुसँग..
त्यही गाइगोरुका अपरिचित भाषाहरुसँग..
त्यही एकपाथी चामल पाउने आशासँग..
त्यही परिवारको खाँचो टार्ने सानो सपनासँग..
हो, म एउटा बिल्कुल सोझो हली ।।
Manoj Bogati – Najik Ko Prashna
मनोज बोगटी – नजिकको प्रश्न
एउटा दह्रो रेखा छ
त्यसलाई टेकेर निस्किएको छ उ
रावनबाट ज्ञान थाप्नु
शरीरमोह
च्वाट्ट चुट्टिएको छ
उसको जीवनको गुड्डीबाट।
खेल्नु त हो जीवन
खेलौं।
खेल भनेको हारजितको डोरीले बॉंधिएको बँधुवा खसी हो कि?
खेल्छ उ
अब उसको चेतना मात्र।
कहीं त भूल छ कि यो वाक्यमा
वा शब्दमा
कि अक्षरमा?
नर जस्तो बलियो हुँदैन कि
नॉंकेडोरी
र त फुस्कन्छ गाई, बाख्रा र सोत्तर पार्छ
बनाइसकेको खेत जस्तो संस्कार।
कुन्नी
चेतना भन्ने कुराले
नाङ्गो स्वास्नीलाई छोप्न सक्छ कि सक्दैन।
नत्र नाङ्गो नाङ्गै कविता
उत्पादन गर्न कुनै कम्पनीले घुरेनबारी मिच्दैन भनेर के ग्यारेन्टी छ?
धागोले आफूलाई छोप्नु
कि आगोले?
उसले सोधेको प्रश्न हो
भित्तालाई
भर्खर।
खासमा भित्ता र समयमा
कुनै फरक छैन।
हुन पनि तिनले आफ्नै मात्र एकलो धारणाले उठाएको महल
तिनकै मात्र भयो।
त्यहॉं उसको सत्ता र चेतनाको प्वॉंख काटियो
खन्याइदियो
छोराछोरी, लिपपोत र भन्साकोठामा
उसको जम्मै तरलता।
तिनको घरबाट निस्किएपछि उ
आफू भएको छ र
अहिले नजिकबाट प्रश्न आइरहेको छ-
तिमी-लाई र म-लाई छुट्याउने रेखा कसले बनायो?
रेखापथमा उसका प्रश्नहरू
लहर लागेका छन्।
तिमीले पनि सुन्यौ उसको प्रश्न?
Rakesh Karki – Durbar Ra Jhupro
इन्जिनियर राकेश कार्की – दरबार र झुप्रो
के दरबार अब झुप्रो बन्छ त ?
या झुप्रो दरबार जस्तै बन्छ त ?
आन्दोलन आयो हट्यो दरबार
अब झुप्रो चाहीँ के हुन्छ त ?
नाम बदलियो दरबारको
के झुप्रोको नाम पनि बदलिन्छ त ?
दरबारबाट निस्कनेलाई दिएको सुरक्षा
के झुप्रोमा बस्नेलाई मिल्छ त ?
इतिहास पढियो दरबारको
के झुप्रोको पाठ पनि पढाईन्छ त ?
छोडीएको दरबारभित्र अनगिन्ती
झुप्रोहरुलाई सजाइन्छ त ?
दरबारको भविष्य सकियो भन्छन्
झुप्रोको भविष्य कतातिर ?
दरबार निभेपछी झुप्रो बल्छ की
या दुबै जाने हो अन्धकार तिर ?
लस् एन्जेलस्
Durga Bahadur Shah – Yo Sharir
दुर्गा बहादुर शाह – यो शरिर
ढुङ्गा पचाउने
यो शरिर
योवनमा लज्जाउने
यो शरिर
न त जाउलो पच्यो
न त लाज नै
कस्तो शरिर
हेर्दा हेर्दै
बुझदा बुझदै
हिडदा हिडदै
भोग्दा भोग्दै
ठाऊँ न कुठाऊँ
जहाँ पायो Continue reading “Durga Bahadur Shah – Yo Sharir”
Bimal Nibha – Kati
कति एसिडका बोतलहरु,
चिसो सिमेन्टको कोठा
र विषकन्याहरु कति
कति हाडहरुका पिरामिड,
बौलाहा हात्तीको दौड
र कोतपर्वहरु कति
कति इलेक्ट्रिक सक,
शरीरमा नीला–नीला डाम
र कालरात्रिहरु कति
कति जङ्गली कुकुरहरु,
बर्बर युगको मारक मन्त्र
र शस्त्रागारहरु कति
कति अँध्यारा गुफाहरु,
अन्धो साइरनको आतंक
र धरापहरु कति
कति काला बुटहरु,
ग्याँस–च्याम्बरको यन्त्रणा
र बुलेटहरु कति
ओ लरखराइरहेको दमनकारी सत्ता !
कति मृत्युको इन्जेक्सन,
शवहरुका सामूहिक चिहान
र पुलिसहरु कति
(२०४६)
Rakesh Karki – Desh Aafu Bhaidiye
इन्जिनियर राकेश कार्की – देश आफू भैदिए (कविता)
आफ्नो माया त सबलाई रैछ
परिवारको पनि माया हुँदो रैछ
देश आफू भैदिए कस्तो हुन्थ्यो
परिवार देश भैदिए कस्तो हुन्थ्यो
देशको भविष्य नेताकै हातमा
बुद्धिजिवी, श्रमी छ छैन साथमा
निकै सोचि सम्झी रुपरेखा कोर
माया भए देशको, लोभ-लालच छोड
हतियारको नालमा नेपाली बर
नमान्ने नसक्ने जति जिउँदै मर
शान्तिले बाँच्न पाए कस्तो हुन्थ्यो
नेता पनि जनता भए कस्तो हुन्थ्यो
देशको रीतिथिति मिलाउने नै प्यारो
सोझासाझालाई हुन्नथ्यो होला गाह्रो
लुटे हप्काए तर्साए नेपालीको आँसु
नेपाली भए पक्कै पुछ्थ्यौ त्यो आँसु
ठूलो हाब्रे मुखनेर सानो देश खुल्ला
जरा काटे आफ्नो छिमेकी नै फुल्ला
कतिन्जेलको देश आफ्नो जति सके
नेता नेताले आफ्नै सोचमात्र बोके
Jagat Nabodit – Hami Bhari Bokirahechhaun
जगत नवोदित – हामी भारी बोकिरहेछौँ
(मधुपर्क २०६६ चैत)
समयको प्रत्येक पलसँग
विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ
निर्धो बस्तीमा
सन्त्रासको आगो सल्किँदैछ
कसरी शान्त भएर बस्न सक्नु हामी
जब एकताको सगरमाथा भत्किँदैछ
गएका वर्षहरू हामीले
खेतबारीभरि अशान्ति रोप्यौँ
र
ढुकुटीभरि शोक भित्रायौँ
हाम्रो बगैँचामा
केवल आसुँका दानाहरू फले
फूलबारीमा पनि उसै गरी
आसुँका थुँगाहरू फुले
हामीले हाँस्न खोजेको निरीह हाँसो
हाँस्नै नपाई हराएर गयो
शक्तिको इलाका वाजी मार्न
सक्नेहरूले साधुगाईलाई घोडा बनाए
आफूजस्तै मान्छेको हत्या गरेर
आफूलाई विजयी ठहर्याए
र
केही अधर्मी हत्याराहरू
सज्जनताको छाला ओढेर बसेका छन् ।
उफ्,
खसीको टाउको राखेर
कुकुरको मासु बेच्नेहरू
व्यापार दुर्गन्धित बनिरहेछ
अगाडि निगुरमुन्टी झुकेर
पछाडि कोखमा छुरा रोप्नेहरू
मानवता दङदङती गनाइरहेछ
वियरको चुस्की धोकेर
पानी पिएको रिपोर्ट लेख्नेहरू
जताततै अनियमितता बगिरहेछ
खोला धमिल्याएर
माछा मार्न अवसर छोप्नेहरू
सडकमा राजनीति नाङ्गरिहेछ
भावीले लेखिदिएको
भाग्य सम्झेर हामी गधाहरू
पुस्तौँपुस्ता हिँड्यौँ
खाली खुट्टा यो बगर
रिनको भारी बोकेर हिँड्यौँ
पीरको भारी बाकेर हिँड्यौँ
दुःख गरे सुख मिल्छ भनेर हिँड्यौँ
तर,
निर्घात् समयले कुल्चिएर
हिँडिरहृयो हाम्रो सपना
पीडा ओढेर निदाएका हामीलाई
पीडा थपेर हिँडिरहृयो समय
हुँदा-हुँदा एक हरक सास फेर्ने
अधिकारमा समेत
हामीलाई हस्तक्षेप गर्यो यो समय
समयको रङ फेर्न
के मात्र गरेनौं यो माटोमा ?
कहिले कालो कोठामा
हत्कडीसँग सङ्घर्ष गर्यौँ
कहिले घरबार त्यागेर
निर्वासित जङ्गली भयौँ
बलिदानीको के कुरा गर्नु ?
जीवन समर्पण गरेर सहिद भयौँ
कहाँ गयो हाम्रो रगतको मूल्य ?
कहाँ हरायो हाम्रो पसिनाको मान्यता ?
के हिसाबकिताब छ हाम्रो जिन्दगीको ?
र
यो माटोमा
यसरी भारीसँगै जन्मेर भारीसँगै मर्नुछ
हामी गधाहरू
सतीले सरापेको यो देशमा
अब च्यातेर धुजा-धुजा गलत इतिहासका पानाहरू
लेख्ने अठोट छ नयाँ इतिहास
हामी सदिऔंदेखिका गधाहरू
यतिबेला भारीसँगै आन्दोलनमा छौँ ।
लफ्याङ-४, खोटाङ
हालः स्टाफोर्डसायर, बेलायत
Nawaraj Subba – Satyam Shivam Sundaram
नवराज सुब्बा – सत्यम् शिवम् शुन्दरम्!
हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर Continue reading “Nawaraj Subba – Satyam Shivam Sundaram”
Pratima KC – Kasari Manaun Mothers Day
प्रतिमा के.सी. – कसरी मनाउँ ‘मदर्श डे’
बाल मानसपटलमा
चेतना अंकुराउने बिहानीदेखि
तिम्रो मातृत्वको छ्हारीबाट अपहरित भएर
अधुरा सपना र अपुरा भावनाको
छालहरुमा छचल्किँदै
आँसुको बन्दकीमा परेको
यो जिन्द Continue reading “Pratima KC – Kasari Manaun Mothers Day”
Laxmi Prasad Devkota – Mohodma
या अफीमको लठ बनाइद्यौ,
या प्रणाम ली अब बिदाइ द्यौ,
सुत्न खोज्छ जो मुद्छ लोचन,
समय स्थानको दूर गैकन ।
या बनाइद्यौ अब सचेतन,
चोट चोटको पटु विवेचन,
दिवसमा खुला, कदमको भला,
बन्न देऊ रे मनुज केवल !
Rajab – Asajilo Kavi
मरुटोलको एउटा गल्लीको
डेरा कोठामा जन्मिएको
रामानुज खरदारको छोरा ऊ
गल्लीको स्कुलमा पढ्दै खेल्दै
कवि बन्ने चेतनामा पो पुग्यो
रामानुज खरदारको छोरो ऊ
कवि बनेको
तीन दशक, तेस्रो हप्ता भयो
तर ऊ कवि बनेदेखि यता
उसले चारपटक जेल र
थुप्रै तिरस्कार पाएको छ
तैपनि छोडेको छैन
रामानुज खरदारको छोरोले
कविता लेख्न
रामानुज खरदारको छोरो ऊ
असजिलो कवि हो
वास्तवमा
सत्तालाई, क्रुरलाई
दलाललाई, गद्दारलाई
असजिलो हुन्छ इमान्दार कवि
Basanta Mohan Adhikari – Maya Lagera Aaunchha
माया लागेर आँउछ
म फूल
यो रङ्गीन संसार
शुन्दरता र शान्तिको
अद्भुत आन्नद
अमन चयन
केवल मेरो उपहार ।
यहाँ,चुसेर रस
दिनभरी
प्यास नलागे सम्म
वाह्य स्वरुपमा
भमरा र्डकादै हिड्छ ।
सताउँदा प्यासले
लागेर तलतल
लुकी Continue reading “Basanta Mohan Adhikari – Maya Lagera Aaunchha”