Moti Ram Bhatta – Yati Samma Preeti Gari

मोतीराम भट्ट – यतिसम्म प्रीति गरी

यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें ।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें ।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें ।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें ।

Moti Ram Bhatta – Ma Timra Aghi Parna Layak Kahan Chhu

मोतीराम भट्ट – म तिम्रा अघी पर्न लायक् कहाँ छू
(शारदा मासिक अङ्क ११)

म तिम्रा अघी पर्न लायक् कहाँ छू,
त्यसैले अघी सर्न लायक् कहाँ छू ।

हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,
बिना मर्जि आँट गर्न लायक् कहाँ छू।

अरूका ऊपर आँखिभौँ तानि हाने,
म जावो हरे ! मर्न लायक् कहाँ छू।

जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,
तिनै झैँ नजर् तर्न लायक कहाँ छू।

सहडमै छ मन् हर्न सक्नू हरीले,
सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू।

Moti Ram Bhatta – Payar Ma Kada Chot Payera Aaye

मोतीराम भट्ट – पयर्मा कडा चोट पायेर आये

पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।

फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये ।

म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये ।

न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये ।

म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये ।

जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए ।

अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये ।

Moti Ram Bhatta – Yeta Heryo Yetai Mera (Nepali Gajal)

मोतीराम भट्ट – यता हेर्‍यो यतै मेरा (गजल)

यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्‍यो उतै मेरा नजर्मा राम प्यारा छन् ।

यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा
जता हेर्‍यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।

त्रिलोक चौधै भुवन् माहाँ प्रभु प्यापक जहाँ ताहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा राम प्यारा छन् ।

रसीलो रामको नाउ भजन् तिन्को सधैं गाउ,
दरस्मो हर्बखत पाउ दयालू राम प्यारा छन् ।

पियारा भै हरी मेरा सधैं मन्मा रहुन् डेरा,
सबै संसारले भन्छन् र मातीराम प्यारा छन् ।

Moti Ram Bhatta – Kahan Janma Payen

मोतीराम भट्ट – कहाँ जन्म पाएँ

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

– ‘प्रियदर्शिका’, नाटिका पृ १८

Moti Ram Bhatta – Dinko Pachas Ta Ke

मोतीराम भट्ट – दिनको पचास त के

दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।

रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।

नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।

वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।

मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।

तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।

मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।

तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।

सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।