Bhupin Byakul – Aawiskaar

भूपिन ब्याकुल – आविस्कार

भक्तहरुले सोधिरहे ईश्वरलाई
उज्यालोको रङ्ग कस्तो हुन्छ ?

कस्तो हुन्छ
हामीलाई दिने बाचा गरेका रङ्गीन स्वर्ग
कस्तो हुन्छ ?

ईश्वरले भनिरह्यो
भजन गाउँदै यहि अंध्यारोमा बसिराख
म स्वर्ग खसाल्छु !

नसोच
भक्तहरुको दिमाग सोच्नका लागि हैन
नहाँस
भक्तहरुको ओठ हाँस्नको लागि हैन
तिम्रो लागि म सोचिरहुँला / हाँसिरहुँला

ख्याल गर कि म मसिहा हूँ
तिमीलाई पापबाट मुक्त गर्न जन्मिएको
र तिमी प्रायश्चित गर्न जन्मिएका हौ – मेरो राज्यमा !
अढाई सय वर्षसम्म
अनुहारमा फुल्न खोज्ने हाँसो चुडाएर
मुखको ओडारमा खेलिरहेको सत्य
र आँखाहरुमा पोखिरहेका किरणहरु खोसेर
भनिरह्यो ईश्वरले
प्रिय भक्तहरु
यहि अंध्यारोमा पर्खिराख
म स्वर्ग खासल्छु !

राज्यको मलीन चेहरामा
उज्यालोमा दुर्गम रङ्गहरुले पनि आत्महत्या गरेपछि
भक्तहरुले क्रान्ति गरे
र बिस्थापित गरे इश्वरको छली सत्ता
र भने
अब हाम्रो बिस्वास छैन
अर्को जन्म, स्वर्ग र स्वयम् तिमीमा
ओ शक्तिहीन ईश्वर
हामी चाहन्नौ
अब अर्को ईश्वरलाई प्रतिस्थापित गर्न
हामी पर्खिरहेछौं
तिम्रो दरबारबाट आगोलाई मुक्त गर्ने
र चिसा बस्तीहरुमा न्यानो बाँड्ने प्रमिथसहरु !

अब हामी यही जन्ममा
किरणहरुको लठ्ठी टेकेर उभिन चाहन्छौं
रङ्गहरुको उज्यालो आविस्कार गर्न चाहन्छौँ !

Komal Shrestha Malla – Kharani Utsav

कोमल श्रेष्ठ मल्ल – खरानी उत्सव

बदलीको उत्सब
करोडौंको पर्खाई
तर यो उत्सब
बाचाले
कसमले
ईमानले
धर्मले स्वास फेर्न बिर्सिएन भने
सायद राग
बैरागबाट बदलिएर
एउटा लठ्ठीमा सगरमाथा हुन्थ्यो कि ?
तर
जुवाडेहरुको खालमा मक्किंदै गरेको देश
घिटीघिटीको स्वासमा
प्रदेश प्रदेश चाहर्न
बाघ र बाख्रीको खेलमा पर्नु

हिंस्रक पासामारहरु
परिवर्तनको बर्दीमा
समाबेसीको लौरो बोकेर
शिर ढाल्दैछन ??
आ आफ्नै बाचा कसम किरीयामा
बिस्तारै …
बिस्तारबादीका लागी !!
भाषा भेष भूषा नयाँ नयाँ
जात जाती नयाँ नयाँ
उत्सव उत्सव नयाँ नयाँ
सिङ्गै देश जलेको खरानीमा
चेतना भया !!!

Govinda Singh Rawat – Aswabhawik Yathartha

गोविन्द सिंह रावत – अस्वभाविक यथार्थ

दिनभरीको कार्य थकाईले
साँझ सोफामा टुप्लुक्क पल्टे पछि
कष्टमय वर्तमानलाई बिर्सन
सुखमय भूतको कल्पनामा हराउन खोज्छु
अनि अन्धकारमय भविष्यको परिकल्पनामा
आफैलाई सान्त्वना दिन थाल्छु
न सोचेको अमीलो सत्यतामा
जीवनको परिभाषा पहिल्याउन
असफल प्रयास गर्दागर्दै
थाकेको म विचारा
सुखको झिनो आसमा
डुबुल्की मार्दै
त्यसमै निदाउने प्रयत्न गर्छु
एउटा मीठो सपना देख्नलाई
क्षणिक सुखको अगाडी
अस्वभाविक यथार्थता खोज्न थाल्छु।

Bhupin Byakul – Kabi Nabhayeko Bhaye

भूपिन ब्याकुल – कवि नभएको भए

कबि नभएको भए
मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ
वा पागलपनका अन्तिम सीमानाहरुमा
ईश्वरलाई गीत सुनाइरहेको हुने थिएँ !

प्रिय भावकहरु
तपाईंहरुझैं आम मान्छे बन्नलाई
मैले दुबै बाटाहरु त्यागिदिएँ

कबि नभएको भए
मेरो आत्माको एउटा बन्द ढोका
जीवनभरी कहिल्यै खुल्ने थिएन
मेरो आँखा हजारौं सपनाहरु जेल बस्ने
पागलखाना बन्ने थियो
मेरो हृदयमा प्रेमको धून यसरि बज्ने थिएन
मेरो खुट्टामा यात्राको यति लामो नदि बग्ने थिएन

म जीवनको क्रुरतासंग पराजित भएर
क्रुरतालाई प्रेममा बदल्न असमर्थ हुने थिएँ

म समयको हमालसँग भयभित भएर
समयलाई गीत बनाएर गाउन असमर्थ हुने थिएँ

पीडा र अभावका रङ्गहरुलाई
सबैभन्दा सजीव पेंटिंग बनाउन असमर्थ हुने थिएँ
पाउना बस्न आउने स-साना खुसीहरूलाई
धन्यबादसम्म भन्न सक्ने थिईनँ

छिनालेर हृदयका असंख्य जराहरु
कुनै अपराधीझैं
मा उभिएको हुने थिएँ – जीवनको छेउमा

सबेरै
एउटा प्रिय पागलपनको सुर्यास्त हुने थियो

न ईश्वरलाई मनपरी गालि गर्न सक्थें
न मानिसहरुलाई यतिबिध्न माया गर्न सक्थें

कवी नभएको भए
मैले उहिल्यै आत्महत्या गरिसकेको हुने थिएँ
वा पागलपनका अन्तिम सीमानाहरुमा
ईश्वरलाई गीत सुनाइरहेको हुने थिएँ !

Bijaya Sagar – Man Khuleko Chhaina

विजय सागर – मन खुलेको छैन
(Source: मधुपर्क असार, २०६७)

हिजोआज
आकाश खुले पनि
मन खुलेको छैन
बम, बारुद र गोलीका आवाजहरू
रगतका पोखरी र फोहराहरू
आफन्तका गीँड र लाशहरू
मनमा यत्रतत्र छरिएका छन्
धम्कीका आवाजहरू र वल मिच्याइँहरू
मनबाट अझैँ हराएकै छैनन्
अनि मित्र !
आकाश खुले पनि
मन कसरी खुल्छ र ?
श्रवणकुमारहरूको हत्या गर्दै-धुन्धकारीहरू
चेत-अचेत अवस्था जहिले पनि
विध्वंश मच्चाइरहेछन्
पाइलैपिच्छे संत्रासहरू फैलाएर
भुँइचालो भइ थकाएर
घरभित्र बाहिर
जहाँतहीँ आतङ्क मच्चाईंरहेछन् ।
भन त मित्र !
यस्तो भयावहबीच
अकाश खुले पनि
मन कसरी खुल्छ र ?
प्यारा मित्र !
कोठाभित्र खुम्चिएर लुकेका हामी
हातमा हात मिलाएर
सन्त्रास र आतङ्कको
हुर्मत लिने गरी
जब गोला र बारुद भएर निस्कने छौँ
त्यो बेला
आकाश कालो-नीलो बादलले धपक्क ढाके पनि
हाम्रो मनचाहिँ खुला हुनेछ !

– हात्तीवन, काठमाडौँ

Shiva Prakash – Rawan Kaurav Yuddha

शिव प्रकाश – रावण कौरव युद्ध

कुरुक्षेत्रको धर्मयुद्ध होइन, र्
धर्मसस्थापनार्थ लडिएको
त्रेतायुगको सत्ययुद्ध पनि होइन,
असत्यमाथि सत्यको विजय भएको
यो युद्ध !
अधर्मको युद्ध/असत्यको युद्ध
अहंकारको युद्ध/आदिम संस्कारको युद्ध
घमण्डको युद्ध/क्रोधको युद्ध
लोभको युद्ध/मोहको युद्ध
अज्ञानताको युद्ध/अन्धकारको युद्ध !
रावण-कौरवको युद्ध हो,
यो युद्ध !
यो युद्धमा
रावण र रावणगण एकपक्षमा हुन्छन्
कौरव र कौरवगण अर्कोपक्षमा हुन्छन्
गणनायकहरु युद्धको दुन्दुभि बजाउछन्
गणहरु आपसमा शस्त्रअस्त्र वर्षाउछन्
यो युद्धमा
युद्धको दुन्दुभि बजिरहन्छ
युद्धको संक्रमणमा मारकाट चलिरहन्छ
रगतका खोलाहरुले धरतिलाइ बगाउन थाल्छ
सन्त्रास ! कोलाहल !
आर्तनादका शब्दध्वनीहरु मच्चिइरहन्छ
रावण-कौरवगणहरु
यसलाई मंगलधून ठान्छन्
अधर्मगामी र असत्यमार्गी
रावण-कौरव एउटै सिक्काका दुइपाटा हुन्
त्यसैले रावण-कौरव युद्धमा
युद्धको कुनै नियम हुदैन
त्यहाँ निशस्त्र स्वतन्त्रताहरु मारिन्छन्
अस्मिताहरु बलत्कृत हुन्छन्
विचारहरु ढालिन्छन्
आस्थाहरु किचिन्छन्
आदर्शहरु बाँधिन्छन्
निष्ठाहरु भत्काइन्छन्
सभ्यताहरु लुटिन्छन्
विवेकहरु बन्दी हुन्छन्
विश्वासहरु धाइते हुन्छन्
अधर्म र असत्यको
रावण-कौरव युद्धमा
जसले जिते पनि
जित अधर्म र असत्यकै हुन्छर्
धर्म र सत्यको जित त अब
तब मात्र हुन्छ
जब राम र अर्जुन फेरि जन्मछ ।

हरैंचा/मोरङ , हालः बोष्टन/अमेरिका

Tanka Subba – Ma Ra Manchhe

टंक सुब्बा – म र मान्छे

सजिव मांसपेसीले छोपीएको
जीवित अस्थिपञ्जर

मान्छे
केवल एउटा मान्छे हुनु भन्दा पर
अरु साइनो छैन केहि
मान्छेले ग्रहण गर्नु पर्ने त्यो जीवन
म संग विल्कुलै छैन
खोक्रो अत्यान्तै खोक्रो
केहि नभए जस्तो
शुन्यतामा पाइरहेछु आफैलाई
जो हुनु पर्ने सुन्दर जीवन
जो पाउनु पर्ने अशल जीवन
म मात्र देख्छु
वारम्वार देखिरहन्छु
तर त्यो आफ्नो वन्दैन
अथवा म हुदैन त्यो
केवल छचल्किरहन्छ मेरै नजरको सम्मुख
र कता हो कता वतासिन्छ
म भन्नु मात्र प्रतीक भएको छु
मान्छेको
म मै बाट वाहिरीए पछि
म मै बाट हराए पछि
म मान्छे देखिनु
केवल त्यो मान्छे भएर मात्र हो

मान्छे भएर
मैले चाहे जस्तो जीवन कहाँ पाएको छु र?
मात्र जीवन जीएकोछु
त्यसैले अहिले सम्म मैले
मान्छे हुनुको अनुभव गरेको छैन
म भित्र भएको मान्छेलाई
खोज्दै हिड्दा
कुल्चेको छु मैले
समयका अप्ठ्यारा लेकवेसी र कुइनेटाहरु
र सहेको छु त्राणको लागि असैह्य पीडाहरु
तर खोई त्यो मैले खोजेको मान्छे ?
काहा छ ?
वरु खोज्दा खोज्दै म
हराएकोछु आफैसंग
कराएकोछु आफैसंग
नपाउनुको चोटले
घाइते भएकोछु आफैसंग
तर मैले देखेको छु
मान्छेले आफ्नो जीवन पाएको
सुन्दर
सुखी
हुन सक्छ जस्ले त्यस्तो जीवन भोगेकोछ
उसलाई जीवन जस्तो नलाग्न सक्छ
त्यो त थाहा भएन
किनकी मैले उसको जस्तो जीवन पाएको छैन
अथवा मेरो जस्तो जीवन उसले देखेको छैन
मात्र त्यो मेरो अन्दाज हो
कि त्यो जीवन यस्तै होला भनेर
त्यसैले
म मात्र म हु
सजिव मांसपेसीले छोपीएको
जीवित अस्थिपन्जर

मान्छे
केवल एउटा मान्छे हुनु भन्दा पर
अरु साइनो छैन केहि
तर पनि धुइपताल खोजीरहन्छु
म भित्रको मान्छे
अथवा मान्छे भित्रको म

Acharya Prabha – Phuleko Jawani

प्रभा भट्टराई -आचार्य – फुलेको जवानी !
(असोज मधुपर्क, २०६८)

अहा ! जिन्दगीमा सुनौला पला ती
सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती
छँदा कोपिला, फक्रँदाका कहानी
छुटे, शेष भो लौ, फुलेको जवानी !
अनेकौँ कडा ग्रीष्मका तप्त राप
सही, शुष्क हेमन्तको दृष्टिपात
शरद्को उज्यालो, बसन्ती बिहानी
मुछी घामछायाँ, फुलेको जवानी !
सयौँ प्राप्तिका साथ, सन्तुष्ट आँखा
अझै तिर्सनामा डुलेका चनाखा
सयौँ मोड-घुम्ती, सयौँ लाभ-हानी
निफन्दै, नियाल्दै, फुलेको जवानी !
सयौँ शोकका तप्त गङ्गा नुहाई
अझै उत्ति हषर्ाश्रुमा छङ्छङ्गाई
नपाएर पत्तो, उसै जिन्दगानी
छचल्केर आयो, फुलेको जवानी !

Yuddha Prasad Mishra – Balidan Uthyo

युद्धप्रसाद मिश्र – बलिदान उठ्यो

रक्तक्रान्तिको ज्वालामुखिमा
आज उठेको यो बलिदान
श्री नढलेका युवा युवतीको
हृदय हृदयको स्वाभिमान
आज उठेको…………

सानो एक झिल्कोबाट
बढ्दै जान्छौं लाख जवान
न्याय बचाउन देश उचाल्छौं
गर्दै जान्छौ अर्पण प्राण
आज उठेको………..

युवा रगतले अतिक्रमणको
तोड्न उठेका छौं अभिमान
सक्छौं हामी गर्न महलका
ठाउँलाई घोर मसान
आज उठेको……….

क्रूर दमनकन धक्का मार्छौं
काला कानुन धुस्नो पार्छौं
देश मुक्तिमा हुने अगाडि
युवा रगतको शान
आज उठेको यो……….

लड्दै जान्छौं बढ्दै जान्छौं
वीरगतिमा चढ्दै जान्छौं
रक्त पिपासुहरूको हामी
गर्न प्रतिज्ञ छौ एक चिहान

(हातेमालो अंक १२, २०४५)

Nawaraj Subba – Ke Yo Kurukschetra Ho

नवराज सुब्बा – के यो कुरुक्षेत्र हो

जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछ
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँकहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै–मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही
बोल्दैछ कि बर्बराउँदैछ
सबै मुकुन्डोधारीहरू
साना प्वालबाट दुनियाँलाई
नियाल्छन् र प्रहार गर्छन्
लाखे नाचेको भन्दै
दुनियाँ तर्साइरहन्छन् ।
ओहो !
कत्रो छलछाम रहेछ
यो अभिनयमा
कति बेइमानी रहेछ
यो युद्धमा
जसले जति राम्रो
मुकुन्डो भिर्‍यो
जित उसैको हुँदोरहेछ
जसले मुकुन्डो
जति धेरै लगायो
युद्ध उसैले जित्दोरहेछ ।
अचम्म !
मुकुन्डाका ती साना प्वालबाट
मान्छे चिथोर्न गजब हुँदोरहेछ
मुकुन्डाको आडमा लुकेर
भुक्न अझ मजा आउँदोरहेछ
यसरी आफूखुसी डस्न मात्र हैन
मुकुन्डो लगाएपछि त
नाङ्गिएर मच्चीमच्ची नाच्न पनि मिल्दोरहेछ ।
यसैले होला
मान्छे प्रायः
मुकुन्डो भिर्ने गर्छन्
युद्धको नियम मिच्दै
छेलिँदै प्रहार गर्छन्
सायद

अघोषित युद्धमा धकेलिएको छु
बच्नलाई अर्थात् बाँच्नलाई नै
मुकुन्डाबाट लखेटिएको छु ।

Sarubhakta – He Barai

सरुभक्त – हे बरै

म अग्निपर्खाल चढेर
संसदीय चोरबाटासम्म आइपुगेको छु
वायोनिक – यान्त्रिक माछाहरु
रोयल डिस्कोका भिडन्तहरु
आउ, मुखमा सुइरो रोपी हिडौं
सांघातिक आक्रमणहरु सामान्य छन्
वेरुजुमा परेको देशः कथित वन्दहरु खुल्ला छन्
हामी मिशनरीहरुका मिशनहरु
देशमा के–के अफापसिद्ध भएको छ
फापसिद्धहरु ?
हुइयाँ ! हुइयाँ !
हामी ऐतिहासिक डार्विनवादीहरु
राजाको काम कहिलेजाला घामवाट
जनताका काम सवै मेरो मामतर्फ
विवर्तित छौं
अँधियाँ जिन्दगी ः खोई के गर्दैछन् जिव्रो
काटिएका भक्तराजहरु ?
थुक्क नियती ! धेरै भएपछि अग्निपरीक्षापनि
पानीपरीक्षा हुन्छ हौ
संकटग्रस्त इजलासः टाउकाका ताराहरु सस्तै छन्
जाउँ, छापामार तालिमगर्न
खेतमा मुसाहरुको विगविगी छ
‘जिमजाने होइन सोम के हत्याहिंसा पढिरहेको !’
यो कुरा स्वयंसिद्ध छः पृथ्वीमा शोषणको
अन्त्य हुँदैन शोषणको रुपमात्र फेरिन्छ
हे बरै झलकमान !
कस्ले पो सोध्लिन् र खोई को–को
के–के भन्लिन् ? …

Manoj Kafle (Mansoon) – Marchhu Baru

मनोज काफ्ले मनसुन – मर्छु बरु

जीवनभरि तिम्रो नाम बुन्दा बुन्दै मर्छु बरु
कलकलाउँदो यो जवानी थुन्दा थुन्दै मर्छु बरु

चन्द्रमाको मुस्कान सरी हाँसीहाँसी बोलिदिन्छौ
बाचुन्जेल तिम्रो नाम गुन्दा गुन्दै मर्छु बरु

निदरीमा सताउने कल्पनामा झल्किदिने
सुहागरातको फूलको माला उन्दा उन्दै मर्छु बरु

मिठो मुस्कान दन्ते लहर लजालु ती नयनहरू
कलेजीमा तिम्रो माया तुन्दा तुन्दै मर्छु बरु

एकान्तमा तिम्रै सामु पोखाएर चाहाना यी
किन लाग्छ तिम्रो बोली सुन्दा सुन्दै मर्छु बरु

मनसुन

Lakshmi Mali – Gaun Khane Katha

लक्ष्मी माली – गाँउखाने कथा

घरको
हरेक उत्सवमा
सम्झन पर्ने,
हरेक खुशियालीमा
बोलाउन पर्ने
नयाँ उपहार दिनुपर्ने
भोजभतेर ख्वाउनु पर्ने
उनीहरु
जो रिसाउलान कि भनेर
डराइरहनु पर्ने
इष्र्या गर्लान कि भनेर
जोगिरहनु पर्ने
सफलता सुनाउन नमिल्ने
विफलता बताउन नसकिने
लौ भन त
को हुन उनीहरू ?
भन्न सकेनौ ?
लौ सुन अर्को
विपत्तिमा औधि रमाउने
बिनासित्ति त्यसै रिसाउने
मृत्यु पर्ूब कामै नलाग्ने
मृत्युपछि नभइ नहुने
को हुन उनीहरू ?
जन्मिनु अघि सम्बन्ध छैन
जन्मपछि नबोलाइ नहुने
श्राध्दका साथीहरु
पास्नीका पाहुनाहरु
बिबाहका जन्तीहरु
लौ भन-भन त
को हुन उनीहरू ?

Pratima KC – Maya Dekhen Maile (Nepali Gajal)

प्रतिमा के.सी. – माया देखें मैले (गजल)

उनको नजर भित्र किन माया देखें मैले
आँखाबाट जीवनलाई झार्नु रैछ ऐले

प्रित फुल्ने सारा संसार जीत आफ्नै लाग्थ्यो
उनको मेरो मन मुटु एकै भाथ्यो जैले

जीवनभरी Continue reading “Pratima KC – Maya Dekhen Maile (Nepali Gajal)”

Mahesh Regmi – Thankot Katna Sakdina

महेश रेग्मी – थानकोट काट्न सक्दिनँ
(मधुपर्क २०६५ फागुन)

नेपाल सरकार
म थानकोट काटेर जान सक्दिनँ
थानकोटबाहिर मेरा सपनाहरु वर्जित छन् ।
काठमाडौँको हाँगोमा गुँड लगाएको छु
शरणार्थी चराले जस्तो
सपना Continue reading “Mahesh Regmi – Thankot Katna Sakdina”

Bimal Nibha – Afulai Bechisake Pachhi

एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो
त्यसपछि उसले हात बेच्यो
र किन्यो एउटा न्यानो पन्जा
खुट्टा बेच्यो
र किन्यो एउटा चम्किलो बुट
निधार बेच्यो
र किन्यो एउटा टीका
छाती बेच्यो
र किन्यो एउटा तक्मा
दृष्टि बेच्यो
र किन्यो एउटा चस्मा
शरीर बेच्यो
र किन्यो एउटा पोशाक
चेतना बेच्यो, गौरव बेच्यो,
विश्वास बेच्यो, आशा बेच्यो,
गति बेच्यो, आत्मा बेच्यो
र किन्यो थुप्रै–थुप्रै चीजबीचहरु
जसको लिस्ट उसले बनाइसकेको छैन
सारा सामानहरु ड्रइङरुममा
सजाइसकेपछि
एकदिन उसले सोच्यो
यी सबै चीजबीजहरु कसका लागि ?
किनभने उसले त आपूmलाई बेचिसकेको छ
(२०४२)

Rupesh Rai – Shabda Byapar

रुपेश राई – शब्द-व्यापार

अरे… उऽऽऽ
घटाउनुमात्र जान्ने…।

भाग् लगाउन,
भर्खर सिक्दै थियो रे…। हन! कसरी
व्यापारतिर लाग्यो रे…?

क, ख, ग पनि नसिकेको…
अस्ति पारी गाउँको, उपल्लो भाग्
उड़ाएर ‘कटा’ बनाएछ रे…।

कति यहाँ…
खैनी चुनाको व्यापार चल्यो। रातोहरूको योग्दानले।
शब्द-व्यापारमा उसको पनि भण्डार छ रे…।

अक्षरहरू सुत्न पनि नपाउने। वल्लो गाउँमा,
पल्लो गाउँमा। कति अक्षरहरू घटाए,
कति विवादास्पद। शब्दहरूको राज चल्यो रे…।

व्यापार यस्तै हो…
जसको कलम ठीक छ, उसैसँग कारोबार चल्छ रे…।

कारोबार वाक्यलाई के थाह??

Bimal Giri – Haiku Haru

कति सुन्दरी
पुर्णिमाको जून झै
पुरै फक्रेकी

सुत्केरी भत्ता
सामंसदहरूलाई
काट्टो सरह

सिथिल भए
अङग बेढंगसँग
कहाँ बिसाउ

रुनु न हाँस्नु
बनायो पिरतीले
प्रेम गरेर

नगर इर्ष्या
सके गर आँफैले
पछुताउला

निको नहुने
भित्र दुखिरहने
प्रेम सागर

कुर्सीको मोह
लाचारीहरूलाई
जुत्ताको माला

पती प्रदेश
श्रीमती घरदेश
यता न उता

अंकल हो र ?
होइन भने को त?
सोध न बाबु

नेतालाई के?
उपहारको लागि?
जुत्ताको माला

नाकको फुली
नाइटोमा झरेछ
तल नझार

उदास मन
झरी पछी को घाम
तिम्रै यादमा

सुत्केरी भत्ता
जनताको भोटमा
फुपूको श्राद्ध

Rupesh Rai – Romantic Fact

रुपेश राई – रोम्यान्टिक फ्याक्ट

जवानीको कामुक्ता,
गाँजाले फुक्दै गरेको धुवा
सचेत समाजको कुनामा,
रुमलिरहेको साधु धारा।

कलकल आवाज आइरहेथ्यो।

छ्याप्छ्याप्ती नसाका
ठुटाहरू, मिउनिसिप्यालटीका कटेरा,
अनि Continue reading “Rupesh Rai – Romantic Fact”

Durga Lal Shrestha – Ichchha [Bal Kabita]

फूलसँगै खेलूँखेलूँ
लाग्छ मिलेर,
रमूँरमूँ लाग्छ मलाई
सँगै झुलेर !

फुलूँफुलूँ लाग्छ मलाई
फूलै भएर,
डुलूँ डुलूँ सुगन्धको
यान चढेर !

दिनरात काँडालाई
साथ लिएर,
घाम-पानी, आँधी-हुरी
सबै पिएर !

हाँसो लिई, अरुलाई
हाँसै दिएर,
जाऊँजाऊँ लाग्छ जुनी
चोखो जिएर !

२०५८ चैत १२