Acharya Prabha – Phuleko Jawani

प्रभा भट्टराई -आचार्य – फुलेको जवानी !
(असोज मधुपर्क, २०६८)

अहा ! जिन्दगीमा सुनौला पला ती
सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती
छँदा कोपिला, फक्रँदाका कहानी
छुटे, शेष भो लौ, फुलेको जवानी !
अनेकौँ कडा ग्रीष्मका तप्त राप
सही, शुष्क हेमन्तको दृष्टिपात
शरद्को उज्यालो, बसन्ती बिहानी
मुछी घामछायाँ, फुलेको जवानी !
सयौँ प्राप्तिका साथ, सन्तुष्ट आँखा
अझै तिर्सनामा डुलेका चनाखा
सयौँ मोड-घुम्ती, सयौँ लाभ-हानी
निफन्दै, नियाल्दै, फुलेको जवानी !
सयौँ शोकका तप्त गङ्गा नुहाई
अझै उत्ति हषर्ाश्रुमा छङ्छङ्गाई
नपाएर पत्तो, उसै जिन्दगानी
छचल्केर आयो, फुलेको जवानी !