Bhupin Byakul – Aawiskaar

भूपिन ब्याकुल – आविस्कार

भक्तहरुले सोधिरहे ईश्वरलाई
उज्यालोको रङ्ग कस्तो हुन्छ ?

कस्तो हुन्छ
हामीलाई दिने बाचा गरेका रङ्गीन स्वर्ग
कस्तो हुन्छ ?

ईश्वरले भनिरह्यो
भजन गाउँदै यहि अंध्यारोमा बसिराख
म स्वर्ग खसाल्छु !

नसोच
भक्तहरुको दिमाग सोच्नका लागि हैन
नहाँस
भक्तहरुको ओठ हाँस्नको लागि हैन
तिम्रो लागि म सोचिरहुँला / हाँसिरहुँला

ख्याल गर कि म मसिहा हूँ
तिमीलाई पापबाट मुक्त गर्न जन्मिएको
र तिमी प्रायश्चित गर्न जन्मिएका हौ – मेरो राज्यमा !
अढाई सय वर्षसम्म
अनुहारमा फुल्न खोज्ने हाँसो चुडाएर
मुखको ओडारमा खेलिरहेको सत्य
र आँखाहरुमा पोखिरहेका किरणहरु खोसेर
भनिरह्यो ईश्वरले
प्रिय भक्तहरु
यहि अंध्यारोमा पर्खिराख
म स्वर्ग खासल्छु !

राज्यको मलीन चेहरामा
उज्यालोमा दुर्गम रङ्गहरुले पनि आत्महत्या गरेपछि
भक्तहरुले क्रान्ति गरे
र बिस्थापित गरे इश्वरको छली सत्ता
र भने
अब हाम्रो बिस्वास छैन
अर्को जन्म, स्वर्ग र स्वयम् तिमीमा
ओ शक्तिहीन ईश्वर
हामी चाहन्नौ
अब अर्को ईश्वरलाई प्रतिस्थापित गर्न
हामी पर्खिरहेछौं
तिम्रो दरबारबाट आगोलाई मुक्त गर्ने
र चिसा बस्तीहरुमा न्यानो बाँड्ने प्रमिथसहरु !

अब हामी यही जन्ममा
किरणहरुको लठ्ठी टेकेर उभिन चाहन्छौं
रङ्गहरुको उज्यालो आविस्कार गर्न चाहन्छौँ !