Yuddha Prasad Mishra – Balidan Uthyo

युद्धप्रसाद मिश्र – बलिदान उठ्यो

रक्तक्रान्तिको ज्वालामुखिमा
आज उठेको यो बलिदान
श्री नढलेका युवा युवतीको
हृदय हृदयको स्वाभिमान
आज उठेको…………

सानो एक झिल्कोबाट
बढ्दै जान्छौं लाख जवान
न्याय बचाउन देश उचाल्छौं
गर्दै जान्छौ अर्पण प्राण
आज उठेको………..

युवा रगतले अतिक्रमणको
तोड्न उठेका छौं अभिमान
सक्छौं हामी गर्न महलका
ठाउँलाई घोर मसान
आज उठेको……….

क्रूर दमनकन धक्का मार्छौं
काला कानुन धुस्नो पार्छौं
देश मुक्तिमा हुने अगाडि
युवा रगतको शान
आज उठेको यो……….

लड्दै जान्छौं बढ्दै जान्छौं
वीरगतिमा चढ्दै जान्छौं
रक्त पिपासुहरूको हामी
गर्न प्रतिज्ञ छौ एक चिहान

(हातेमालो अंक १२, २०४५)