Rajkumar Karki – Ma Hunu Ko Artha

राजकुमार कार्की – म हुनुको अर्थ

यो ब्रम्हाण्ड
मेरो लागि “अब्र्स्टयाक आर्ट” जस्तै भएको छ
म फगत एक्लो
ग्याँस च्याम्बरको नियती भोग्दैछु
मान्छेहरु एक हुल
पूर्व जान्छन्
अर्को हुल
पश्चिम जान्छन्
निरुद्देश्य,
म फुटबलजस्तै
कहिले ओल्लो गोल पोष्टमा
कहिले पल्लो गोल पोष्टमा
निरन्तर ठोक्किरहेको छु
हो,
मेरा दिनचर्याहरु यसरी नै
व्यतित भइरहेका छन्
म हुनुको अर्थ
यही कोलाहल, भीँड र बजारमा
खोजिरहेको छु
मेरो अस्तित्वमाथि
धावा बोलेर
कुलंगारहरुले
युद्ध जितिरहेका छन्
म भन्नु एउटा
फगत, विरोधको पर्याय बनेको छ
मेरो अस्तित्व भन्नु
फगत, रोमाञ्चक अतित बनेको छ
मैले होस गुमाएको बेला
मेरा जिजिविसाहरु विकेन्द्रीकृत हुन्छन्
जब होस् आउँछ
वर्तमानमा भोग्नुपरेको पीडा सम्झेर
कठै यी आँखाहरुबाट अविरल बग्छ इन्द्रावती
म पल प्रतिपल
मुर्दातुल्य भएको छु
यसैले हेरिरहन्छु निर्निमेष
म आफ्नै मृत्युको
मलामीमा सामेल भएको दृश्य।

Yuddha Prasad Mishra – Laage Jhalamala Gham

युद्धप्रसाद मिश्र – लागे झलमल घाम

बल्ल दबेको वर्ग हृदयमा
लागे झलमल घाम
हलो कोदालो हँसिया चम्के
जागे कृषक तमाम

ध्वस्त गर्राई दिने उठ्यो प्रण
शोषकहरूका छलछाम
झुपडीहरूका महासंघ भो
गर्न घोर संग्राम

लुटपाटको Continue reading “Yuddha Prasad Mishra – Laage Jhalamala Gham”

Biplav Pratik – Maanis Haru

बिप्लव प्रतिक – मानिसहरू

मानिसहरू
आआफ्नो जीवनको चुलोमा
आआफ्नै आग्रह, अनुभव र अनुभूतिका
दाउराहरू विचारले सल्काएर
मृत्युको जाउलो पकाइरहेछन्
र खाइरहेछन्
अनि आफ्नै मृत्यु मरिरहेछन् ।

२५ अप्रिल Continue reading “Biplav Pratik – Maanis Haru”

Hemanta Pardeshi – Ma Akshar Hoina

हेमन्त परदेशी – म अक्षर होइन

बिष=बिख ।
अर्थात “ष” ले “ख” र “य” ले “जे” उच्चारित हुनुपर्ने ,
अथवा, निराकार ब्रम्हा , बिष्णु र महेश्वरलाई समेत –
जबर्जस्ति “ॐ” को एउटै शब्द भित्र अटाउन बाध्य हुनुपर्ने ,
नियतिको शीकार ।
अर्थात , कसैको मनोखुशी उच्चारित हुने अक्षर होइन म ।

त्यसैले मेरो अस्तित्व माथि धावा बोल्न सक्दैन कसैले ,
न त मेरो बहावहरुमा बाँध बन्न नै सक्छ कोहि ।
अर्थात बग्नु मेरो स्वकीय धर्म हो ,
र निरन्तर बगिरहेकोछु यसरी नै ।

कहिले खहरे बनेर उर्लिन्छु ,
त कहिले फेवाको शान्त छाल बन्छु ।
अनि कहिले सुनामी बनेर फैलिन्छु ,
त कहिले आफैले आफैलाई शमन गर्छु ।
किन कि स्वकीयताको अधिपति ,
अर्थात , कसैको मनोकांक्षामा सजिलै लेखिने र मेटिने अक्षर होइन म ।

हो , समयको बहाव संगै यूग बद्लिँदो छ,
अनि बद्लिँदो यूग संगै समय ढल्दो छ ।
र यही परिवर्तित यूग सामु उभिएर म भन्दैछु –
मान्छे भन्दा श्रेष्ठ अरु कोहि हुन सक्दैन ,
अर्थात सृष्टि सापेक्ष यूगद्रष्टा मान्छे नै हो ।

मान्छे ! द्वन्दात्मक भौतिकबादको ब्याख्या गर्छ ,
मान्छे ! चरम बैज्ञानिक समाजबाद र साम्यबादको खाका कोर्छ ।
अनि मान्छे ! उच्चतम प्रबिधिको बिकाश संगै ,
धर्तिमा मात्रै नभएर-
चन्द्रमा र मङ्गल ग्रहमा समेत आफ्नो नयाँ संसार निर्माण गर्छ ।

नयाँ संसार !
आहा कति सुन्दर ?
मेरो परिकल्पनाको स्वप्निल संसार ।
र त ,
भुइँमा उज्यालो खसे देखि,
साँझमा बस्ती नसुते सम्म ,
निरन्तर गाइरहेको हुन्छु म नयाँ संसारकै गीत ।

नयाँ संसारको गीत !
अनायसै पुरानो हुन्छ मेरा लागि ,
अर्थात बासी समाचार-पत्र जस्तै बेअर्थको बन्छ मेरो गीत ।
कति गाउँनु अब?
कति सुनाउँनु अब?
धोबि चरीको गीत जस्तै ,
अर्थात बेमौसमी सारेगमपधनिसा ।
फेरि नयाँपनको खोजिमा –
भास्कोडिगामा र कोलम्बस बन्छु म ।
खोज्छु नयाँ संसार , नयाँ सोच र नयाँ बिचार ।
तर उहि पुरानै दृस्यहरु दृष्टिगोचर हुन्छन् मेरा आँखामा ।
अर्थात ष=ख र य=जे ।
बिभ्रमण र बिपर्यताले मितेरी लगाउँन खोज्छ ,
आफैले आफैलाई संहाल्छु म ।
अनि अक्षरहरुको नियतिबाट मोक्ष प्राप्त गर्न ,
सिङ्गो ब्रम्हान्ड भरि बितन्तु-सन्देश फैलाउँछु-
कसैको मनोखुशी उच्चारित हुने अक्षर होइन म ,
न त कसैको मनोकांक्षामा सजिलै लेखिने र मेटिने अक्षर नै हो म ।
अर्थात, मानव अस्तित्वको अनुप्राणितामा ,
सिङ्गो ब्रम्हाण्ड चाहारिरहेको मान्छे हुँ म , एउटा मान्छे ।

Shreeshisha Rai – Achanak

घूनहरुको अधिनस्थ हुन्छ मकैवारी,
हूरिको वेगमा फूत्किन्छन् छानाहरु,
दौरा काटिन्छ मूसाको प्रत्येक चिच्याहटमा ।
त्यसपछि हुनहुनाउँदै बग्न थाल्छन् खोलाहरु-
भल बोकेर पाखोभरि प्यास र डोकोभरि सपनाहरुको

चाहको घूम्तीमा टेकेको तोक्मा,
तोक्माले थेगेको जिन्दगी जस्तो भारी,
भारीलाई मायालूको चोट सम्झेर खेपेको धनमान
स्मृतिमा रुझ्दै
विहान र बेलूकीको हूरि जस्तै
हात र मूख जोरिन नसकेको
छोरा छोरीका आँखाको रंग हुँदै बग्छन् ।
सँधै किनारा खोज्ने खुशीहरु
बियोगान्त प्रेमकथाको अस्पष्ट शीर्षक बनेर
अक्करे भिरको पाउमा थुप्रिएर
अन्त्य हुन्छन् ।

कुनैवेला निधारमा खोपेको
वाग्मति खोला र पूलको तस्विर
आज आफ्नै शवयात्राको अघि लाग्छ ।
अनिष्टको संकेत स्वरुप आस्था रित्तिन्छ पाईखाना जस्तै
अचानक कोलाज हराउँछ जिजिविषाको ।

Laxmi Prasad Devkota – Chara Ko Bhajan

क.

पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा !
चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा
यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा
उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा,
उक्लन्छौं कहिले, लच्कन्छौं कहिले पङ्खका प्रयासमा,
गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा ।

ख.

सुन ए पन्छी ! नकराऊ चींचीं
आशाले उक्ल पङ्खलाई सींची,
बोल सधैं रे आशाका चूँचूँ,
ज्याति नभेटे राख रे छूँछूँ,
शिवजीले पिए गरलको भय,
संसार–मन्थनमा अँध्यारा गए,
कृष्णले अमृत–चुलीलाई दुहे,
चार दिशा नुहाई उज्याला भए,
सत्ययुगका कथा ऋषिले कहे,
यस्तो छ हुँदो, यस्तै छ हुने,
रात यौटा पिउँछ, प्रातः यौटा दुहुने
आजको बिहान उड्नु छ हाम्लाई उडानको विश्वासमा
शून्यको छाती चिरेर होहो ! ज्योतिको निकासमा
पङ्खमा फ्यारफ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ।

ग.

बचेरालाई पङखको पत्यार
दिलाउन उठ्छौं पूर्वको उत्तर,
चुलीका भज्दै फिलिङ्गा सुन्दर,
संसारभन्दा माथिका मन्दिर, यस दिनका आकाशमा,
स्वर्ग र धरा गानाले डोर्न,
स्वर्गको आगो जातिलाई चोर्न
उडानको सीमा हिजोका फार्न बिउँझाउँदो बतासमा,
“कनिको भन्दा उपरको धावा
क्या मीठो हुन्छ,” भनेर “बाबा ।”
वेद पुराणहरुका दावा राख्नलाई विश्वासमा,
पङ्खको फरफर पङ्खलाई तान्छ,
उमार्ने पङ्ख ज्योतिको थान छ,
धर्मको यात्रामा मर्मको कान छ,
विजयैभित्र विजयको शान छ, फर्कन्नौं हताशमा ।
बादल च्यारच्यार, शून्यलाई घ्यारघ्यार उडानको मिठासमा,
कलाका वारी चुलबुली चाली ज्योतिको आभासमा,
फरफर फुँफुँ ज्योतिको बन्धन हृदय–आकाशमा,
कृष्णझैं हुँहुँ शङ्करझै पिऊँ पिऊँ गरल विनाशमा !
पिलाऊँ पहिलो कृष्णको सिर्को हिउँको प्रकाशमा,
उडानको ध्येय उडानै भनी उँचाइको उल्लासमा,
पङ्खमा फ्यारफ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ।

Komal Shrestha Malla – Pratiksha

कोमल श्रेष्ठ मल्ल – प्रतिक्षा..

एका बिहानै
दुध ल्याउंछु भनेर हिडेको छोरा
सूर्यास्त हुदा पनी फर्किएनछ !?
आमाले हेरि रहेकी त्यो बाटो
नटुङ्गीने लामो ?
छोराको दुध किनाई सकिएनछ ????
उ कहा गयो ?
खोजीको निबेदन
आउंछ आउंछ मै
पर्ख पर्ख मै थन्किएछ ..??
ब्यथाहरुमा
पीडाहरुमा पर्खि रहेकी छ आमा
तर
जाँचबुझ
खोजतलास आयोग
जन्मिँदै मरि सकेछ !!
छोरा
आउने आशामा
आँसु आखा
निरन्तर बाटोमा
दौडी रहेछ दौडी रहेछ …..

Min Dwandi – Bulbul Ra Surkhet

बुल बुल… बुल बुल…
पानी बुल्बुलाउँछ जमिनबाट
धर्ती छेदन गरी उम्रिएको
अंजुलीभर पानीसँगै
बुल बुल… बुल बुल…
एउटा सुर्खेत बुल्बुलाउँछ ।
उद्यानमा लहरै ठडिएका फ्ूmल–बिरूवाहरू
निराश–निराश देखिन्छन्
उदास–उदास भेटिन्छन्
पूmलहरू त मुस्कुराउनु पर्ने हो
तर पूmलको मुस्कान पनि शायद चोरी भएछ
चोर–डाँकाहरूको बिगबिगी बढेको बेला
के भन्न सकिन्छ र यहाँ
कहिले के चोरिने हो ?
कहिले को लुटिने हो ?
स्वतन्त्र ज¨लका पूmलहरू
एउटा कारागारमा सजाइएकाछन्
मान्छेहरू आउँछन्
आँखै–आँखाले पूmलको सौन्दर्य चुसेर जान्छन्
कोही एकछिन
भावनाको लहरमा बगेर जान्छन्
तर कहिल्यै कोही
त्यस्तो मान्छे आएन यहाँ
जसले पूmलको स्वतन्त्रताको कुरा गरोस्
बोट विरूवाको प्राकृतिक अधिकारको पनि कुरा गरोस्
फलस्वरूप, पूmल–बिरूवाका
आंसु बुल्बुलाउँछ जमिनबाट
बुल बुल… बुल बुल…
एउटा सुर्खेत बुल्बुलाउँछ ।
अस्तित्व हराएझैं गरी काक्रे बिहार
बेस्वादको हाइ काढेर उँघिरहेछ
जमिनबाट थारूहरूको पसिना
वाफ बनेर आकाशतिर उठिरहेको दृश्यले
आकाशमा बकुल्लाको लहर पनि
अतालिएको देखिन्छ
यहाँ प्रत्येक बिहान एकमुठी हावा
देउती बज्यैको दर्शन गरी फर्कन्छ
प्रत्येक साँझ रानीमत्ता छिचोलेर
तातो हावा उपत्यकामा भित्रिन्छ
जंगली पहाडी पर्खालको चौघेरामा
सीमित सुर्खेत
बुल्बुलाउँछ बुल्बुलेमा
बुल बुल… बुल बुल…
हो, एउटा सुर्खेत बुल्बुलाउँछ ।

Rabindra Nath Thakur – Swachchha Patra Pushpa

स्वच्छ पत्र–पुष्प
देवता आजदेखि म आङ्खनो काँधमा आङ्खनो भार उठाउने छैन !
आजदेखि म आङ्खनो ढोकामा भिक्षा माग्न आउँदिनँ !
यो भारलाई तिम्रो चरणमा राखिदिन्छु, अनि बेफिक्री भएर विचरण
गर्छु,
चिन्ताग्रस्त झैँ Continue reading “Rabindra Nath Thakur – Swachchha Patra Pushpa”

Bikram Subba – Shir

अति प्रज्वलनशील
विचारहरूको प्याकेटजस्तो लागे पनि
काटिएका शिरहरू बिनागिँड दैडिरहेछन्
बुझिनसक्नुको मगज
चुपचाप कतै षडयन्त्रमा व्यस्त छ
जोर-टोडका भित्रबाट दु:खिया संसार हेर्दै
बसेकाछन् निसन्तान भाले-पोथी आँखाहरू ।

वताससँगै मिस्सिएर विरक्तलाग्दा सम्चार
फुर्लुङे-कानमा ठोक्किँदै भित्र पस्छन्
र मुटु फुटेर आमाको आँखाबाटै पहिरो झर्छन्
बहु-स्वाद फड्फडाउँने पुर्ख्यौली जिव्रो
दर्दनाक कथा वाचन गरेर थाकिसक्यो
अचेल ऊ, लाटो मृत्युको मुहानजस्तो अनुष्ठानबाट
ताजा रगतको पञ्चामृत चाट्न स्रापित छ
हाँसि नअघाउँने दन्त, ओँठ र स्वाशप्रस्वाशहरु
शिरकै भू-आकृतिमा
रैथाने आदिवासी र वातावरण हुन्
जसलाई रातभरि सकेट बमको त्रासमा कुहाएर
दिनभरि सुरक्षा-फौजको
असुरक्षित घाममा सुकाइन्छन्

शिर, सिंगो शरिरको नेता हो
जो सृष्टीमा सबैभन्दा पहिले टुसायो
र सबै मारिसकेपछि मात्र हार्नेछ यो शिर !
हाल यो शिर
हरेक युद्धभूमिदेखि विद्रोहका च्यासल चोकसम्म
देशको शिर उचो बनाउँने विशिष्ट संघर्षमा सामेल छ
जिउँदो-जाग्दो शिर मात्र सदा उचो रहन्छ
आफ्नै देशको शिरभन्दा उचो शिर
संसारमा कुनै शिर हुँदैन ।

Bhishma Upreti – Prawaha Kahilyai Rokera Rokiyeko Chha?

भीष्म उप्रेती – प्रवाह कहिल्यै रोकेर रोकिएको छ ?

यतिखेर मेरो परिवेशमा
एउटा अनौठो किसिमको बास्ना पोखेर
बतास चलिहेको छ,
बास्ना यस्तो मादक छ कि
लठ्ठएिर उसको मादकतामा
उसलाई पछ्याउनेहरुको भीड लागेको छ,
यतिखेर मेरो सतहमा
एउटा चोटिलो प्रवाह-लहर बगिरहेको छ
प्रवाह-चेतनाको/भावनाको
प्रवाह-चाहनाको/उत्सर्गको
र चारैतिर एउटा धून प्रवाहित भएको छ
आकाशमा बादल लागेकै छ यद्यपि
आफ्ना गीतहरुमा सपना घोलेर
चराहरु वेग लिँदै उडेका छन्
संभावनाको भाका फलाकेर सानो नानी
भर्खरै घरभित्रबाट
सपना गोड्नलाई आँगनमा निस्केको छ,
यतिखेर/ठीक यही समयमा
तिमीहरु केही छौ मेरो परिवेशमा
र असंख्य चिन्ताका धर्सा कोरेर अनुहारमा
समयको बेगलाई कुँजो बनाउने सल्लाहमा छौ
जटा बाँधेको समुन्द्र स्वयं
छालहरुमा उठेको यो समयमा
तिमीहरु बाँसका स-साना डण्डीहरु तेर्स्याएर
प्रवाहलाई रोक्ने विचार गर्छौ
खिया लागेको पुरानो फलामको आश्रममा
प्रवाहलाई थुन्ने सपना देख्छौ,
मेरो कविता जो समय बनेर बोलेको छ
ठीक यही अवस्थामा
तिमीहरुको विक्षिप्ततामा हाँस्ने गर्छ
तिमीहरुको विवेकशून्यताको उपहास गर्छ
र एउटा प्रश्न तेर्स्याउँछ तिमीहरुलाई महाशय
कि प्रवाह कहिल्यै रोकेर रोकिएको छ ?

Tanka Subba – Bidambana Bhitra Ko Ma

टंक सुब्बा – विडम्वनाभित्रको म

खुल्ला- खुल्ला परिवेश
उज्याला उज्याला दिनहरु
त्यसभित्रको म
बाटो हराएको बटुवा झैं
हराएको हुन्छु शून्यतामा
र समयको पावन्दीसंगै
बगिरहेको हुन्छु खोलाको पानी झैं

पीडा ग्रस्त छु आफैं
पिंजडाभित्रको सुगा झैं
तर म भाग्न अभ्यस्त छुइन
ब्रह्माण्ड भन्दा कहीं टाढा
माटोको प्रेमले हो कि ?
बेहोसी छु होसमा आखा खोले पनि
उज्यालो छैन अन्धकार ओछ्याएर पनि
आभाष छैन दिनहरु सारा बदलिए पनि
दिगभ्रम जस्तै लाग्छ
आफूले आफैलाई भुल्दा
हल्लै हल्ला झैं लाग्छ एकान्तमा ब्युझदा
विडम्वना छाएको हो कि कुन्नी ।
थाहा छैन
निर्मोही बनेका छन् आफन्तहरु
एक्लो बनेका छन् हुलमा रहने प्राणीहरु
उपस्थिति आफैमा दुष्ट बनेको छ ।

यहा
मान्छे हुनुको अर्थमा
पर्खाल अर्कै छ वास्तविकताको
अब कसरी साटौं विषम परिस्थितिमा भावनाहरु
अब कसरी टेकौं जोखिम ठाउमा पाइलाहरु
जहा सुरक्षति रहनको लागि
यताउति आखा डुलाउदा डुलाउदै
पर्दा खस्छ अध्यारोको
जसले छोपिरहन्छ मलाई
र सधैं छट्पटिहन्छु
विडम्वनाभित्रको म ।

Shrawan Mukarung – Huliya

‘मान्छे जूनमा पुग्यो’ भन्ने थाहा पाएपछि
हाम्रो ठूलेले पनि घर छोडेको छ ।

कञ्चनजङ्घाजस्तो छाती
गुरासँजस्ता आँखा
र रकेटजस्तो रहर बोकेर हिँडेको
कहाँ पुग्यो ?
कुनै खुटखबर छैन

कोही भन्छन्–
हिमाल चड्नेहरूका पैताला सुम्सुम्याउँदै
स्वाभिमानको हाँक दिँदैछ कि– सोलुखुम्बुतिर
कोही भन्छन्–
बयलगाडा चोराएर
चतुर गोर्खालीको परिभाषा फलाक्दै छ कि–बहादुरगञ्जतिर
चार–चौरास खोजेँ
पत्तो लागेन

अस्ति,
एउटा मान्छे
नुनको भारीसँगै सप्तकोशीमा झर्यो
धन्य ठूले होइन रहेछ
अर्को मान्छे–
खाडीमा मर्यो
धन्य ठूले होइन रहेछ
उस्तै–उस्तै मान्छे
जुलुसमा पर्यो
धन्य ठूले होइन रहेछ

कोही भन्छन्–
चारखालमा निहुँ खोज्दै होला– सरकारसित
कोही भन्छन्–
एयरपोर्टमा घुस खुवाउँदै होला– सरकारलाई
कोही भन्छन्–
सिंहदरबारमा सिन्दुर लगाउँदै होला– सरकारको

कञ्चनजङ्घाजस्तो छाती
गुराँसजस्ता आँखा
र रकेटजस्तो रहर बोकेर
जूनमा पुग्ने मान्छेको सेखी झार्न हिँडेको ठूले
तपाईंहरू कसैकामा भाँडा माझ्दै छ कि
खबर गर्नुहोला
हामीलाई साह्रै सुर्ता लागेको छ ।

Kishor Pahadi – Yojana

किशोर पहाडी – योजना

आफ्नो मनका केही दुःखहरु
पोल्टोमा बाँधेर
आऊ हामी आगो समाऔँ
आगोले बोल्ला
हत्केलाको भाग्यरेखा
आऊ हामी घाम समाऔँ
घामले डढाउला
हत्केलाको आयुरेखा
आऊ हामी हतियार समाऔँ
हतियार समाएर
अब छिया छिया पार्न थाल्छौ
रहरका शिकारहरुलाई
निर्द्वन्द
भालेहरु बास्न थाल्छन
आलीमा उभेर
सन्नाटालाई चिरेर
जब कराउन थाल्छन्
झयाउँकिरीहरु
सगोल
आँधी आत्तिन थाल्छ,
– विश्वास आज कुनै कठघरामा उभिन सक्दैन
– मोहमायाको तगारो कुनै प्रवेशद्वारमा तेर्सिन सक्दैन
आऊ हामी आगो समाऔँ
घाम समाऔँ
र हतियार समाऔँ
आज इच्छाहरु जुर्मुराएका छन् ।

Sarita Tiwari – Alikhit Itihas Ra Abhinav Jindagi

सरिता तिवारी – अलिखित इतिहास र अभिनव जिन्दगी

अलिखित इतिहासमा
तिमी थियौ
म थिएँ
उनीहरु थिएर सघन जंगलहरु थिए
हामी आपसमा प्रेम गर्थ्योँ
रुखहरु आनन्दविभोर हुन्थे
प्रफुल्ल बतास
हाम्रा खुशिनेरै बहन्थ्यो
हाम्रा Continue reading “Sarita Tiwari – Alikhit Itihas Ra Abhinav Jindagi”

Kshetra Pratap Adhikari – Mero Apaharan

क्षेत्रप्रताप अधिकारी – मेरो अपहरण
(मधुपर्क २०६६ मंसिर)

कसैले मलाई दागा धर्यो
र, मेरो अपहरण गर्यो
दस लाख फिरौती माग्यो
र, मैले दिन सकिनँ
अब मेरो हालत के हुन्छ !
अचेल म-
यस्तो सोचमा अल्झेको छु !
म किन अपहरण हुने ?
आफैँलाई सोधिरहेँछु
यसका पर्याप्त कारणहरू छन्
आफैँलाई भनिरहेँछु-
तैँले टनकपुरको विरोध गरिस्
पञ्चेश्वरको विरोध गरिरहेछस्
कालापानीले नपुगेर
नालापानीको सपना देखिस्
सुस्तामा सानो अतिक्रमण हुँदा
टिष्टाको घाउ लेखिस्
हो, तँ अपहरण हुने
पर्याप्त कारणहरू छन् ।
तँ अरूको कर्कलोबारी फाँड्छस्
ठूल्ठूला नेतालाई पनि
भ्रष्ट भस्मासुर भन्छस्
कति कोट्याएको धमिजाकाण्ड
कति होच्याएको अग्ला मान्छेलाई
ए पटमूर्ख क्षेत्रे !
तँ जसलाई देशद्रोही भन्छस्
देशमा त्यसकै ढलीमली छ
तेरो फतफत र
जनमतको अर्थ छैन
रिमोट-कन्ट्रोलबाट जे निगाह हुन्छ
त्यही आत्मसात् गर्
गर्न नसके मर् !
अब कुरो प्रस्ट भयो
मेरो अपहरण हुनुपर्छ
तर त्यो दस लाख फिरौती
सारै ठूलो रकम हो
म तिर्न सक्तिन
मलाई मार
तर बैनी ख्यातीलाई जस्तै
टुक्राटुक्रा नपार
नफाल, नगाड, नपोल
किनकि मैले
वीपी कोइराला प्रतिष्ठानलाई
मृत्युपश्चात् शरीरदान गरेको छु ।

Bhimnidhi Tiwari – Kamyo Lug Lug Tyo

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

Biplav Dhakal – Jal Devi Ko Geet

विप्लव ढकाल – जलदेवीको गीत
(मधुपर्क माघ, २०६७)

रातभरि
आँसुले नुहाइदिएर
सुकिलो बनाएको जून
कहाँ पुगिसक्यो !
कोक्रोमा सुताएर
तेल घसीघसी
हुर्काएका ताराहरू
कहाँ पुगिसके !
बिहानै डोलीमा राखेर
कलिलो बेहुलोजस्तो घामसँग
अन्माएर पठाइदिएको
माली चरो पनि
कहाँ पुगिसक्यो !
जलदेवी
नदीको बगरमा उभिएर
पानीले बगाइरहेको
आफ्नो छाया हेरिरहेको छ !
थाहै नपाई
माटोमा झरिसकेछ
शिरको गुलाफ !
निभ्नै लागेछन्
आँखाका जोरबत्तीहरू !
ओहो ! कसरी यति धेरै
चिरा परे अनुहारमा ?
पानीले पखाल्दा पखाल्दै
मेटिन लागेछ अनुहारको ज्योति !
शरीरबाट चुँडिएर
झर्नै लागेछन् हातहरू !
झर्नै लागेछन् खुट्टाहरू !
नदीको पल्लो किनारमा
सुताएर आएकी थिई
जूनकीरीजस्ती छोरीलाई
थाहै नपाई
शिरानीमा लुकिसकेछ
हरियो सर्प !
ढाकरमा नून
र मट्टतिेल बोकेका
अभागी भरियाहरू
आज आउँछन् कि आउँदैनन् ?
झोलामा सिन्की
र चिउरा बोकेका
गरिब बटुवाहरू
आज आउँछन् कि आउँदैनन् ?
कर्कटपाताको भारी
र पानीको पाइप बोकेका
थकित गाउँलेका लस्करहरू
आज आउँछन् कि आउँदैनन् ?
माथि पहाडबाट
परालको भारी बोकेर
बूढा गोरुहरूको बथान धपाउँदै
तराई झरिरहेका खरितेहरू
आज आउँछन् कि आउँदैनन् ?
कतारको मरुभूमिमा
ऊँट चराएर फर्किएका
परदेशी छोराहरू
आज आउँछन् कि आउँदैनन् ?
मलेसियाको सडक बनाउँदा
हात चुँडाएर फर्किएका
यो देशका नौजवानहरू
आज आउँछन् कि आउँदैनन् ?
शरीरको रातो रगत
पहेंलो बनिसकेपछि
रगतकै टाटाले भिजेको
पुरानो गुन्युँ लगाएर
सिमाना पारिबाट फर्किएका चेलीहरू
आज आउँछन् कि आउँदैनन् ?
र भन्छन् कि भन्दैनन् उसलाई मझिनी !
टाढा पुग्नु छ टाढा….
पुग्नु छ सपनाको गाउँमा
यो नदीजस्तो जिन्दगी
तारिदेऊ न हामीलाई !
कोही पनि आएनन्
आज अबेरसम्म !
हिजो त यही बाटो भएर
केही राजाहरू
जङ्गलबाट दरबारतिर गएका थिए
र केही राजाहरू
दरबारबाट जङ्गलतिर गएका थिए !
भरभराउँदो जवानीजस्तै
भरिएको थियो
जलदेवीको डुङ्गा
तर आज
ओहो ! फेरि कहाँ पहिरो गयो ?
धमिलो बनिरहेको छ
नदीको पानी !
कहाँबाट बग्दै आइरहेका हुन्
यी सिलबरका थालबटुकाहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी तीतेपातीले बारेका झुपडीहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी कोक्रोमा निदाएका नानीहरू ?
आएनन्
आज कोही पनि आएनन् !
थकित बटुवाहरू आएनन् !
हारेका परदेशीहरू आएनन् !
रित्तै छन् गाउँका कोखहरू
रित्तै छन् आमाका काखहरू !
कोक्रोमा सुताएर
तेल घसीघसी हुर्काएका
जूनताराहरू पनि आज आएनन् !
नदीको पल्लो किनारमा
सुताएर् आएकी जूनकीरी पनि
ब्यूँझिएर रोइसकेको होली !
नदीको ओल्लो किनारमा
जीवनजस्तै रित्तो डुङ्गामा बसेर
जलदेवी
पानीले बगाइरहेको

Biplav Pratik – Praman

बिप्लव प्रतिक – प्रमाण

युद्ध जित्नकै लागि
यदि हतियार उठाएको भए तिमीले
जाऊ एकपल्ट
योद्धाहरूको चिहानमा
र सुन रातको सुनसानमा
त्यहाँ गुन्जिएको मौनता ।

कुन मान्छेले कोसँग जितेर
कति सीमा र समयसम्म
आफ्नो जितको झन्डा फहराएको छ ?
मान्छेले जितेँ भनेर
कतिसम्म चिच्च्याउन सक्छ र !
जितको झन्डा लिएर
कुन युद्धपुरुष अहिलेसम्म जिउँदै छ ?

मान्छे केवल आफ्नो जितको उन्मादमा
मात्तिएर मुर्दा भएको
तिमीले हामी हिँड्दै गरेको
यही धूलोमा देख्न सकेनौ भने
कुनै अर्को धूलो छैन मसँग
प्रमाणका लागि ।
कुनै नयाँ चिहान छैन मसँग
सबुदका लागि ।

नयाँसडक, २८ जनवरी १९८७

Shrawan Mukarung – Aafnai Desh Sanga

बत्तीस वर्षअघि
म जन्मिएँछु,
सुश्री काली खवासले लिपेको हरियो भूइँमा
बाबाले रोप्नुभएको आलुचाको रुखभरि
पोखिएको पहेँलो घाम
र करेसाको लाहुरे फूल
आह !
मेरी आमाका सपनाका ती घुर्मैला क्षितिजहरू
बत्तीस Continue reading “Shrawan Mukarung – Aafnai Desh Sanga”